- शरद रसाइली, अध्यक्ष अखिल क्रान्तिकारी
० नहुने स्ववियु चुनाव तपाईंहरूलाई खुब लागेको छ है ?
० नहुने स्ववियु चुनाव तपाईंहरूलाई खुब लागेको छ है ?
- लोकसेवा आयोग र शिक्षा सेवा आयोगको परीक्षालाई ख्याल नगरी जेठ १३ का लागि निर्वाचनको मिति तोक्नाले घोषित मितिमा निर्वाचन नहुनेमा कुनै शंका छैन । तर, त्यसको मतलव चुनावै हुँदैन भन्ने पनि होइन । जेठको २६ वरिपरि निर्वाचन गर्ने गरी लगभग सहमति हुने देखिन्छ । ढिलो-छिटो चुनाव हुने कुरामा शंका नरहेपछि त्यसका लागि तयारी गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ ।
० तपाईंहरूको माउ पार्टी नेकपा-माओवादी संविधानसभाको चुनावमा भाग नलिने, तपाईंहरूचाहिँ स्ववियुमा भाग लिने, यस्तो विरोधाभाष किन ?
संविधानसभाको निर्वाचन र स्ववियु चुनावमा धेरै भिन्नता छ । स्ववियु पञ्चायतकालमा राजनीतिक पार्टीहरू प्रतिबन्धमा परेका बेला राजनीतिक दलहरूको आवाजलाई जनतासम्म पुर्याउने फोरमका रूपमा क्रियाशील थियो । बहुदल प्राप्तिपछिका दिनमा यो विस्तारै भ्रष्टाचार र गुन्डागर्दीको अखडा बनाउन थालियो । हामी त्यस्ता गलत प्रवृत्तिविरुद्ध लड्न पनि स्ववियु चुनावलाई उपयोग गरेर जानुपर्छ भन्नेमा छौँ ।
० एमाओवादीसम्बद्ध अखिल क्रान्तिकारीलाई हराउन मात्रै स्ववियु चुनावमा भाग लिइरहनुभएको भन्ने आरोप पनि लागेको छ नि ?
त्यसो भए त नेविसंघ र अखिलले पनि चुनाव लड्नु भएन । किनभने सरकारी भजनमण्डलीमा फेरिएको एमाओवादीसम्बद्ध सरकारी अखिललाई उनीहरूले धेरै ठाउँमा हराउँछन् । कसैलाई चुनावमा जित्न छाडिदिनका लागि हामीले भाग लिन नपाउनुपर्ने हो ? हामी आफ्ना एजेन्डा लिएर, शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिविरुद्ध नयाँ शैक्षिक प्रणाली र पद्धति विकासका माग लिएर विद्यार्थीकहाँ अनुमोदनका लागि जाँदै छौं । सरकारी अखिल क्रान्तिकारी इतिहासको ब्याज खाने र सहिदहरूको रगतले पोतिएको रातो झन्डालाई दलाली र संशोधनवादीहरूको गुलामीमा दुरुपयोग गर्ने लाइसेन्स बनाउन चुनावमा आउँदै छन् । नाममा बाहेक अब उनीहरू र मण्डले लुटेराहरूबीच कुनै भिन्नता छैन भन्ने बुझाउन र भण्डाफोर गर्न पनि हामी चुनावमा भाग लिँदै छौँ ।
० तपाईंहरूको शैक्षिक एजेन्डा के हो ?
राज्यले तय गरेको पाठ्यक्रम पढिसकेपछि विद्धार्थी आफ्नो सीपका आधारमा जीवन तय गर्न सक्ने खालको शिक्षा छैन । दुःखजेलो गरेर पढेको पढाइले जीवनलाई आधार नदिएपछि नगरिक सर्टिफिकेट ट्याङ्कामा थन्क्याएर अरबमा भेडा हेर्न जानुपर्ने अवस्था छ । यस्तो किन भइरहेको छ त भन्दा हाम्रो शिक्षा प्रणाली साक्षरमुखी छ ज्ञानमुखी छैन । पढ्नसक्ने तर पढेका कुरालाई जीवनमा अनुवाद गर्न नसक्ने पाठ्यक्रम छ । यसले मान्छेको जीवनलाई पूरै बर्बाद बनाएको छ । यही पाराले गर्दा हामी विदेशीका लागि साक्षर नोकर उत्पादन गर्ने कारखानामा फेरिएका छौँ । अब यो तरिकाले हुँदैन । हामी अब ठूला कुरा गर्दैनौं, केबल भन्छौँ जीवनमुखी, व्यवहारवादी पढाइका लागि सोहीअनुरूपको पाठ्यक्रम तय गरेर नगरिकले प्राप्त गरेको शैक्षिक योग्यताका आधारमा रोजगारी पाउनुपर्छ भन्ने हाम्रो प्रमुख एजेन्डा हुनेछ ।
० तपाईंहरू एक्लैले चुनाव जित्न नसक्ने भएपछि अन्य संगठनसँग तालमेल गर्ने भनेर मरिहत्ते गरेर लागिरहनुभएको छ रे है ?
चुनावै नभई कसले जित्ने कसले हार्ने भन्ने भविष्यवाणी गर्नेहरू पनि होलन् हामीकहाँ । त्यसो त सडकमा बसेर हात हेरेर भविष्यवाणी गरेको आधारमा दैनिकी चलाउने समाज न हो हाम्रो । कतिपय स्थानमा आवश्यकता र अनुकूलता हेरेर तालमेल गर्ने कुरा स्वाभाविक हो । हामीले भर्खरै गरेको अगुवा विद्धार्थीहरूको राष्ट्रिय भेलामा प्राप्त रिपोर्टिङका आधारमा हामी अन्य विद्धार्थीको तुलनामा त्यस्तो कमजोर छौँ भन्ने लाग्दैन ।
० त्यस्तो कार्यगत एकता कोसँग हुने हो ? एमाले अखिल, नेविसंघ या एमाओवादी विद्धार्थी संगठन ?
हिमाल शर्माले नेतृत्व गरेको अखिल अब उतिधेरै जनपक्षीय विद्धार्थी संगठनका रूपमा बाँकी छैन । त्यहाँ हेर्नुभयो भने सबैजना कसरी पैसा कमाउने, कसरी राम्रा मोटरसाइकल र मोबाइल जोड्ने भन्ने होडमा लागेका छन् । विद्धालय, क्याम्पसलाई आन्दोलनको धम्की दिएर फिरौतीको शैलीमा चन्दा उठाउने आवाराहरूको झुन्डका रूपमा त्यो बद्नाम भइसकेको छ । सिंगो संगठन र त्यसको माउ पार्टी नै दलालहरूको पनि दलालमा फेरिएपछि त्यहाँभित्र रहेका इमानदार क्रान्तिकारीहरू त्यत्तिकै हराएका छन् । एमाले अखिलसँग या अरू कुनै संगठनसँग केन्द्रीयरूपमै घोषणा गरेर कार्यगत एकता या तालमेल गर्ने भन्ने हाम्रो निर्णय भएको अवस्था होइन । स्थानीय स्तरमा आवश्यकता र प्रभावकारिता हेरेर तालमेल हुन्छ र त्यसका लागि केन्द्रले हस्तक्षेप गर्दैन ।
० स्वतन्त्र विद्धार्थी युनियन विद्धार्थीहरूको कल्याणकारी फोरमभन्दा बढी भ्रष्टाचार र गुन्डागर्दीको अखडा बन्दै गइरहेछ, अहिलेको सन्दर्भमा स्ववियुको औचित्य के छ ?
पछिल्लो समय देशको राजनीति नै नैतिकताभन्दा ज्यादा तिक्डम र हाइफाईमा चलेको छ । जसले बढी भ्रष्टाचार गर्न सक्यो, जनता ढाँट्न सक्यो ऊ बढी ठूलो र क्रान्तिकारी नेता हुने होड चलेको छ । जेपी गुप्तादेखि प्रचण्डहरूसम्म सबै जना चोरको डाँको ठूलो भनेझैँ गरी ठुल्ठूला कुरा गर्दै हिँडेका छन् । राष्ट्रिय राजनीतिले विद्धार्थी आन्दोलनलाई प्रभावित पर्ने कुरा पनि सामान्य मान्नुपर्ला । फेरि हामी सबै कुनै न कुनै राजनीतिक दलसँग सम्बद्ध छौँ । पार्टीको विचार र दर्शन राजनीतिक व्यवहारमा प्रदर्शन हुने नै भयो । जस्तो विचार उस्तै व्यवहार । हामीचाहिँ त्याग, बलिदान र संघर्षबाट स्थापित भएर यहाँसम्म आइपुगेका छौँ ।
सहिदहरूको रगतले देखाएको बाटो र सपनामा गद्दारी हुन थालेपछि हामीले नवसंशोधनवादी गुटसँग सम्बन्धविच्छेद गरेर क्रान्तिकारी आन्दोलनको पुनर्गठन गर्दै अगाडि बढेका छौँ । हिजोका संसदीय फोहोर खेतीमा लाग्ने हो भने हामीले चुनौती र जोखिम मोल्ने बाटो रोज्ने नै थिएनौँ । हामीलाई त्यो सब स्वीकार नभएकाले यो बाटो हिँडेका हौँ । यसै कारण स्ववियुलाई हामी क्रान्तिकारीले विद्धार्थी आन्दोलनका विषयवस्तुलाई उठाउने वैधानिक फोरमका रूपमा उपयोग गर्ने, विगतका भ्रष्टाचारलाई भण्डाफोर गर्ने, विद्धार्थीका समस्यालाई समाधान गर्ने र शैक्षिक पुनःसंरचनाको मुद्दालाई लिएर विद्धार्थी आन्दोलन उठाउने फोरमका रूपमा स्ववियुलाई लिनुपर्छ भनेर लागिरहेका छौं ।
No comments:
Post a Comment