Tuesday, May 28, 2013

एमाओवादीलाई सिध्याउने गोप्य तयारी, प्रचण्डभन्दा वैद्य पक्ष बलियो रहेको रिपोर्ट

Prachand
काठमाडौं। संविधानसभाको निर्वाचन तत्काल गरिहाल्ने या वातावरण बनाएर गर्ने भन्नेमा प्रमुख चार राजनीतिक दलहरूबीचको विवाद सतहमा आएको छ। एमाओवादी र मधेसवादी मोर्चा निर्वाचनको घोषणा गराइहाल्ने पक्षमा छन् भने नेपाली कांग्रेस, एमाले र राष्ट्रपतिसमेत वातावरण बनाएर मात्र निर्वाचन गर्नुपर्ने पक्षमा छन्। राष्ट्रिय परिस्थिति र एजेण्डालाई ध्यान दिएर भन्दा पनि एमाओवादीका शीर्षनेताहरू दलीय स्वार्थमा बढी केन्द्रित रहेका छन्।

शक्तिको भन्दा पनि एजेण्डा बोकेका हिसावले एमाओवादी सबैभन्दा बढी नेकपा-माओवादीसँग डराएको देखिन्छ। जुन मुद्दा उठाएर र जुन शक्तिको आडमा विगतको संविधानसभाको निर्वाचनमा प्रचण्डको पार्टीले चुनाव जितेको थियो, त्यो यतिबेला वैद्यले नेतृत्व गरेको पार्टीसँग छ। रेखा थापा, रामचन्द्र झा, उर्मिला अर्याल, नारायणकाजी श्रेष्ठ, नवराज सुवेदी, डिलाराम आचार्य, लीलामणि पोखरेलहरूको प्रवेश वा अभिव्यक्तिले मिडिया र माथिल्लो राजनीतिमा तरंग ल्याए पनि ग्राउण्डमा धेरै फरक पार्ने अवस्था नरहेको कुरा सुरक्षा निकायको विश्लेषण रहेको थाहा भएको छ।
संविधानसभाको विघटन, जनसेनामाथि अपमान, पूर्वलडाकुको अर्बौं रुपैयाँको हिसावकितावको हिनामिना, नेताहरू र तिनका परिवारहरूको विलासी जीवन, राष्ट्रघात गरेको लगायत थुप्रै मुद्दाहरूको एमाओवादीका नेता र उम्मेदवारहरूलाई ग्राउण्डमा जवाफ दिन धेरै गार्‍हो पार्ने गरी वैद्य माओवादी तयारी हालतमा रहेको पनि थाहा भएको छ। वैद्यले नेतृत्व गरेको माओवादी र त्यससँग जोडिएको मोर्चाले चुनाव लड्यो भने सबैभन्दा घाटा एमाओवादीलाई हुनेछ। हजारौं पूर्व लडाकुहरू एमाओवादीलाई चुनाव हराएर बदला लिन स्वयंसेवी भएर वैद्य माओवादीको पक्षमा जाने सम्भावना छ।
एक सरकारी रिपोर्टले पनि रोल्पा लगायत अधिकांश मध्यपश्चिमका जिल्लामा प्रचण्डको भन्दा वैद्यको माओवादी बलियो रहेको देखाएको थाहा भएको छ। वैद्य समूहले निर्वाचनमा भाग लिएमा सुदूर पश्चिममा पनि नेपाली कांग्रेस र वैद्य माओवादीको बीच नै मुख्य प्रतिस्पर्धा हुने कुरा एमाओवादीकै शीर्षनेताहरू अनौपचारिक छलफलमा स्वीकार्छन्। उपत्यकामा पनि पुराना, इमानदार माओवादी नेता तथा कार्यकर्ताहरू माओवादीमै छन्। माओवादीको संरचनामा रहेको ताम्सालिङ र कोचिलामा मात्र माओवादीभन्दा एमाओवादी बढी बलियो रहेको बताइन्छ। मधेसमा आक्रामक ढंगले एमाओवादी गए पनि नारायणकाजी श्रेष्ठको आधार नटेक्ने हो भने अवध वाहेक एमाओवादीका लागि मधेसमा राम्रो अवस्था नरहेको रिपोर्ट पनि प्राप्त भएको छ। त्यसैले प्रचण्ड र एमाओवादीका शीर्ष नेताहरू सकेसम्म वैद्य पक्षले निर्वाचनमा भाग नलिओस्, लिए पनि एजेण्डा सिध्याएर घिसारिएर आओस् भनेर वातावरण नबनाई निर्वाचनको घोषणा गर्न दबाब दिइरहेको छ।
अभावमा बाँचेकालाई पैसा दिएर र पुराना सभासदहरूलाई निर्वाचनमा टिकट दिने आश्वासन दिएर तान्न सकिने सोचमा प्रचण्ड समूह देखिएको छ। राज्यसत्ताको शक्ति र पैसा भने एमाओवादीको विगतको निर्वाचनमा भन्दा धेरै छ। नेपाली कांग्रेस, एमाले, सरकार र राष्ट्रपतिले वातावरण नबनाई नगर्ने भनेपछि एमाओवादी निकै छटपटाएको पाइन्छ। नेकपा–माओवादी निर्वाचनमा आएमा एमाओवादी कुनै पनि बहानामा चुनावबाट भाग्न खोजिरहेको छ। यो कुरा कांग्रेस र एमालेका शीर्ष नेताहरूले पनि बुझेका छन्। वैद्य नेतृत्वले भाग लिएमा र यदि एमाओवादी निर्वाचनबाट भाग्यो भने एमाओवादीको अवस्था नाजुक हुने बुझेर यसपटक एमाओवादीलाई नेकां र एमालेका शीर्षनेताहरूले धेरै महत्व दिएको पाइँदैन। विचार, मुद्दा बोकेर एमाओवादी पार्टीका नेता–कार्यकर्ताहरू अब निर्वाचन लड्ने अवस्था छैन। प्रचण्डको माओवादीले नलड्ने र वैद्य पक्षले लड्ने हो भने धेरैजसो वैद्यको नेतृत्वको माओवादीमा टिकट लिन पुग्ने अवस्था समेत देखिन्छ।  प्रचण्ड लगायत एमाओवादीका शीर्ष नेताहरूको यतिबेलाको अर्जुनदृष्टि भनेको संविधानसभाको निर्वाचन नभएर कांग्रेस, एमाले, माओवादीका नेता तथा कार्यकर्ताहरूलाई आफूतिर तान्ने। यसका लागि उसले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई बलिदान दिएर भए पनि त्यो पक्षलाई टिकट दिने, आर्थिक सहयोग गर्ने बचन दिन विभिन्न आन्तरिक च्यानल प्रयोग गरेर लागिरहेको पनि थाहा भएको छ।
दोस्रो, तेत्तीस दलहरूमा फुट पार्ने। मात्रिका यादव, मणि थापाहरूलाई आफ्नो पार्टीमा ल्याउने, नभए वैद्य माओवादीहरूसँग एकता वा सहकार्य गर्न भाँड्ने। एमाओवादीको अर्काे निशाना भनेको एमालेलाई तोड्ने, फोड्ने र मान्छे चोर्ने। केही हदसम्म यो मामिलामा एमालेभित्र सफलता पनि पाइसकेको छ। केहीलाई चोरेको छ र केही चोर्ने तयारी गरिरहेको छ। प्रचण्ड र एमाओवादीको रवैयालाई वैद्यका नेता कार्यकर्ताले नजिकबाट राम्रोसँग चिनेकाले प्रचण्डले निकै प्राथमिकता दिएपनि वैद्य माओवादीलाई धेरै नोक्सान पुर्‍याउन सकेको देखिंदैन। यदि प्रचण्ड र एमाओवादीको रणनीतिलाई बुझेर नेकां, एमाले र राष्ट्रपतिले असफल बनाइदिने हो भने प्रचण्ड र उनको पार्टी अत्यन्त कमजोर अवस्थामा पुग्नेछ। एमाओवादी पार्टी विचार र आदर्शभन्दा पनि तत्काल स्वार्थका लागि निर्माण भएको अस्थायी मोर्चा जस्तो दहीचिउरे देखिएको छ। एमाओवादी विचारवानहरूको दलभन्दा पनि लोभीपापी, अवसरवादीहरूको जमघटको थलो जस्तो देखिएको छ। एमाले, कांग्रेस र राष्ट्रपतिको कमजोरीबाटमात्र उसले क्षणिक लाभ लिइरहेको देखिन्छ।

No comments:

Post a Comment