के स्वाभिमानको कुरा गर्ने नेताहरुले भारतमा रोजगार पाएका ८५ लाख नेपालीहरुलाई फिर्ता बोलाऊने ?
- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार रामाशीषसँग मंगोलभिजन साप्ताहिकका सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
हामीले सुने-जाने बमोजिम तपाईं भारतीय नागरिक हुनुहुन्छ र नेपालको राजनीतिक र पत्रकारिता क्षेत्रमा धेरै वर्षदेखि सकृय हुनुहुन्छ । त्यसैले मेरो सामान्य जिज्ञासा छ तपाईं कसरी नेपालसित परिचित हुनुभयो र नेपाललाई कहिलेदेखि र किन आफ्नो जीवनको बहुमूल्य समयमा आफ्नो कर्मक्षेत्र बनाउनुभयो?
मेरो जन्मस्थल नेपालको धनुषा र महोत्तरी जिल्लाको सुप्रसिद्ध तीर्थ जनकपुर र जलेश्वरधाम पारि बिहारको सीतामढी जिल्लाको सुरसंड गाउँ जसलाई सुरसर पनि भनिन्छ । हो र ती दुवै पवित्रस्थल निकटतम् हिन्दू तीर्थस्थल भएकोले मेरो वैष्णव आमा-बुवाले मलाई सानैदेखि काखी च्यापी रामनवमी, जानकी नवमी, विवाह पंचमी, श्रावण-झूला, कार्तिक पूर्णिमा स्नान र शिवरात्रि आदि पर्व-तिहारको विशेष अवसरमा आयोजित मेला- महोत्सवहरुमा दर्शन-पूजनक लागि जनकपुर र जलेश्वर लैजाने गर्नुहुन्थ्यो ।
आफ्नो गाउँ र वरिपरिको क्षेत्रको यस प्राचिन परम्परामा हुर्के-बढेकाले म भन्न सक्छु कि म शिशु अवस्था देखि नै नेपालको वर्तमान क्षेत्रबाट परिचित छु । किनकि त्यसबखत हाम्रो गाउँ र वरिपरिको इलाकामा त भगवान् पशुपतिनाथको मन्दिर भएको स्थललाई नै नेपाल भन्ने गरेका थिए काठमाण्डू नाउँ त सुनेकै थिएनन् । धार्मिक विश्वास त के रहँदै आएको छ भने बिहारको सीतामढी सीताले पृथ्वीबाट अवतीर्ण हुने (घटकलश निस्किने)पवित्र ठाउँ हो । जबकि अहिलेको जनकपुरधाम राजा जनकको प्राचीन राजधानी थियो ।
राजर्षि जनकले आफ्ना राज्य र प्रजालाई भीषण अनिकालको संकटबाट मुक्त गराउनका लागि आफ्नो राज्यको जुन ठाउँको खेतमा हलो चलाए र जहाँ अड्केको हलोको जडोबाट सीता रहेको गागरी निस्क्यो त्यो स्थल सीतामढी निकटको ‘पुनौरागाउँ’ हो, जुन अहिले पनि धार्मिक तीर्थस्थलको रुपमा पूजनीय स्थल हो । त्यसैले आजको भौगोलिक राजनीतिक सीमानाको कुरा गरौं भने म बाल्यकालमै नेपालसित परिचित भएँ र प्राइमरी स्कूलमा भर्ना भएपछि नेपालीसीमानाका बाल-बालिकाहरुसित परिचित भएँ । म आफ्नो गाउँ सुरसरको प्राइमरी स्कूलमा पढ्दा मेरो गाउँ पारिको अर्थात् मधेशका गाउँहरुबाट केही बालकहरु मेरो स्कूलमा पढ्ने गरेका थिए जसलाई मेरो स्कूलका शिक्षकहरुले गुरुजीहरुले भन्ने गरेका थिए ‘यी त ओई पानीके छै’ अर्थात् यो त सीमापारिको हो । मलाई यो भन्न गौरव लाग्छ कि मेरो गाउँ सुरसरमा सन् १९१७ मा स्थापित हाईस्कूल अहिले पनि कायमै छ जसमा छैटौँ कक्षादेखि ११औँ कक्षासम्म पढाई हुन्थे र हाईस्कूल पास गर्नेलाई मेट्रीक पास भएको भनिन्थ्यो । सामान्यतया प्राइमरी स्कूलबाट पास गरेपछि त्यहीँ आर.एच.ई. स्कूलमा भर्ना लिने परम्परा थियो ।
प्रथम भारतीय स्वतन्त्रता दिवस समारोह (१५ अगस्त १९४७) प्राइमरी स्कूलमा मनाएपछि सन् १९४८ को जनवरीमा मेरो नाउँ पनि तिनै हाइस्कूलमा दर्ता भए जहाँ महोत्तरी जिल्लाको डाम्ही गाउँ निवासी महेश्वर सिंह,महावीर सिंह, मनरा कट्टी गाउँको राम विभिषण सिंह, भटौलिया गाउँको गणेश महासेठ, मधवा गाउँको शिवचन्द्र झा, सुशील झा र बलवा सरपल्लो गाउँको राम खेलावन मण्डल आदि विद्यार्थी मेरो कक्षामा भर्ना भए । बथनाहा निवासी प्रद्युम्नलाल र मधवा गाउँ निवासी शिवचन्द्र झा आदी मभन्दा अघिका ब्याचमा पढ्दै थिए । मेरो स्कूलबाट पास गरेका प्रायः ती सबै सहपाठीहरु पछि नेपालका नेता, मन्त्री, हाकिम-हुकुम र डाक्टर, इन्जीनियर भए ।
यसको अतिरिक्त महोत्तरीको तत्कालीन बडाहाकिम परिवारका केही बालिकाहरु पनि मेरै गाउँको कन्या विद्यालयमा भर्ना भए । तिनीहरुलाई कन्या विद्यालयकी शिक्षिका मेरी दिदी शिवदेवीले पढाउने गर्नुभएको थियो । यस नाताले म आफ्नो दिदीसित शिवरात्रिको अवसरमा जलेश्वर जाँदा जलेश्वरको बडाहाकिम परिवारले हामीलाई निकै स्वागत-सत्कार गर्ने गरेको थियो । मेरो गाउँको त्यही स्कूलमा म भन्दा धेरै अघिका ब्याचमा पढ्नेहरुमा त नेपालको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, नेपाली कांग्रेसका नेता रामनारायण मिश्र, श्यामनन्दन मिश्र, भद्रकाली मिश्रजस्ता सैयौँ व्यक्तित्वहरुले मैट्रीकसम्मको शिक्षा ग्रहण गर्नुभएका थिए । स्मरणीय के छ भने यो स्कूल त्यसबखत मेरो गाउँमा राजा कहलिएका (जमिन्दारलाई पनि राजा नै भने चलन थियो) ।
सर सीपीएन सिंहको पूर्वजद्वारा स्थापित थिए र सीपीएन सिंहले पनि त्यही स्कूलबाट हाईस्कूल सम्मको शिक्षा ग्रहणगर्नुभएको थियो । पछि त्यही सर चन्दे्रश्वरप्रसाद नारायण सिंह अर्थात् अंग्रेज शासकद्वारा ”सर’को मानपद्वीबाट विभुषित सीपीएन सिंह पटना युनिभर्सिटीको भाइस-चान्सलर अर्थात् उपकुलपति बनाइए र भारत स्वतन्त्र भएपछि भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले चन्द्रेश्वर बाबूलाई नेपालको राजदूत पदमा नियुक्त गरी काठमाडौं पठाउनुभयो । त्यही सीपीएन सिंहको साहस र सकृयतामा नेपालको शाहवंश राजिसंहासन र तत्कालीन राजा त्रिभुवन राणाहरुको १०४ वर्षको कब्जा र जेलजीवनबाट मुक्त भए राणाहरुको जहानियाँ शासनको सन् १९५० मा अन्त भयो र नेपालमा प्रजातन्त्रको स्थापना भयो । नेपालको यस व्यथा-कथाबाट बितेको करिब छः दशकमा नेपालका जिज्ञासु नागरिक, विद्वत् वर्ग र राजनीतिकर्मीहरु राम्ररी परिचित भइसकेका छन् ।नेपालमा भूमिगत रुपमा संचालित राणाविरोधी प्रजातान्त्रिक आन्दोलन होस् अथवा नेपाली कांग्रेसको सशस्त्र क्रान्तिको विकट समय मेरो गाउँ सुरसर सदा-सर्वदा नेपालको लागि एउटा महत्वपूर्ण केन्द्र र नेपाली क्रान्तिकारीहरुका लागि सुरक्षित शरणस्थल रहँदैआएको छ ।
जहाँसम्म एउटा पत्रकारको रुपमा मेरो नेपाल प्रवेशको कुरा हो वास्तवमा १९७१ मा भारतको नयाँ दिल्ली मुख्य कार्यालय रहेको हिन्दूस्थान समाचार नामक समाचार एजेन्सीको नेपाल प्रतिनिधिको रुपमा नियुक्त हुनुपूर्व म बिहारको एउटा प्रकाशन संस्थाबाट प्रकाशित पुस्तकहरुको प्रचार-प्रसारको सिलसिलामा वा भनौं प्रकाशन-प्रतिनिधिको रुपमा सन् १९६३ मा पहिलो पटक काठमाण्डू प्रवेश गरेका थिएँ । त्यसबखत पटनाको पुस्तक भण्डार, मुजफ्फरपुरको पुस्तक भवन र बनारसका केही प्रकाशन संस्थाहरुबाट प्रकाशित पुस्तकहरु नै नेपालका स्कूलहरुमा पढाइने गरेको थियो । वास्तविकता त के छ भने त्रिभुवन विश्वविद्यालयको स्थापना भन्दाअघि त नेपालको हाईस्कूलदेखि कलेजसम्मको परिक्षा संचालन पटना विश्वविद्यालयबाटनै हुने गरेको थियो जसको पठन-पाठनको माध्यम हिन्दी र अंग्रेजी हुने गरेको थियो । मलाई निकै सम्झना छ अमेरिकी सहयोगबाट पुस्तक प्रकाशन संस्था’ शिक्षा सामग्री केन्द्र’को स्थापनापछि त्यही केन्द्रद्वारा १९६५ मा प्रकाशित प्रथम स्कूली स्लेबल्सबाट पहिलो पटक ‘हिन्दी’ भाषाको पुस्तकहरुको पठन- पाठनमाथि प्रतिबन्ध लगाइएको थियो । तैपनि मैले प्रवेश गरेको १९६३ देखि १९६५ सम्म त के तराई, के पहाड प्रायः सबै स्कूलहरुमा हिन्दी किताबहरु नै चल्ने गरेका थिए । अमेरिकी सल्लाहकार र राजा महेन्द्रको शासनद्वारा लागू गरिएको नयाँ शिक्षा योजनाअन्तर्गत नै दरबार र बाहुन-क्षेत्रीहरुको परिवारमा बोल्ने पर्वते गोर्खाली भाषालाई ‘राष्ट्रभाषा नेपाली’को दर्जा दिइयो र नेपाली भाषामा पुस्तकहरुको प्रकाशन-मुद्रणको अभियान शुरु भयो । तैपनि नेपालमा पुस्तक छाप्ने मेशिनहरुको अभावमा कैयौँ वर्षसम्म कलकत्ता पटना र बनारसको सक्षम प्रेसहरुकै सहारा लिनुपरेको थियो ।
हाम्रो प्रकाशन संस्थापुस्तक भवनको वीरगंजस्थित ‘राष्ट्रिय प्रकाशन’ र काठमाडौंस्थित ‘पशुपती पुस्तक भवन’ले पनि नेपाली लेखकहरुद्वारा लिखित स्कूली पुस्तकहरुको हस्तलिखित पाण्डुलिपी बनारसमा छपाएर मंजूरीका लागि शिक्षा बिभागमा पेश गर्ने गरेका थिए । तर योभन्दा अघि त ‘नवनियुक्त जिल्ला विकास शिक्षा निरिक्षकहरुको (विजिशिन) अनुमतिले गाउँ-घरका स्कूलहरुमा हाम्रै हिन्दी पुस्तकहरु नै पढाइने गरेको थियो । त्यसैले विभिन्न जिल्लाहरुका स्कूल इन्स्पेक्टरहरुबाट आफ्नो प्रकाशन संस्थाको पुस्तक उहाँको अन्तर्गतको स्कूलहरुमा लगाइदिने प्रयासको सिलसिलामा मलाई भोजपुर, पोखरा, कुस्मा,बाग्लुङ्, स्याङ्जा, धरान, बराहक्षेत्र, त्रिवेणी, भोजपुर, आदि पहाडी क्षेत्र र वीरगंज, मलंगवा, गौर आदि दर्जनौँ पहाड-तराईका क्षेत्रहरुको भ्रमण गर्ने अवसर मिल्यो । त्यसबखत समस्या स्कूल इन्स्पेक्टरहरुको अनुमतिको मात्रै थिएन समस्या त ती पहाडी कुना-काप्चामा पुस्तक समयमा पुर्याउने पनि थियो जहाँ पुस्तक पसलहरुको अस्तित्व नै थिएन । तैपनि हामी प्रकाशन एजेन्टहरु दुर्गम गाउँहरुमा पनि कुनै चिया अथवा अनाज पसलेहरुलाई किताब बेच्ने जिम्मा दिएर फर्कने गरेका थियौं । मेरा लागि आश्चर्यको विषय त के थियो भने ती बिचरा निरक्षर चिया पसलेहरु कति इमानदार थिए भने पुस्तक बेचेर पाँच-सात महिनापछि नै किन नहोस् तर पैसा कुनै भरियामार्फत् काठमाडौंको भोटाहिटीको हाम्रो पसलमा पठाउने गरेका थिए । मैले देखेको थिएँ ती भरिया पुस्तक पसलमा पुगेपछि एउटा कागजको पोको हाम्रो पसलेलाई दिँदै भन्थे हेर साहू मलाई केही थाहा छैन यसलाई गनेर हाम्रो साहूको खातामा हाल्देऊ र अरु किताबहरु देऊ मेरो साहूले यही भनेको छ । मैले यी भ्रमणहरुकै सिलसिलामा नेपाली भाषा पनि बोल्न-लेख्न सिकेँ ।
मैले पहाडका गाउँहरु हुँदै दुई-तीन बजे रातिसम्म पनि लामो-लामो यात्रा गरेँ तर कहीँ पनि कुनै डर भय लागेन स्वच्छ मनको गाउँलेहरुका स्नेह-श्रद्धा नै पाएँ । कुनै पनि घरको ढोकामा पुगेर भन्थेँ यहाँ बास पाइन्छ र जवाफ आउँथ्यो किन न पाइने लः बस्नुस् । राति पनि तिनीहरु मकै, भटमास, च्यूरा, कोदो अथवा भात, कालो दाल र तोरीको साग प्रेमले पस्केर ख्वाउने गर्थे । बाहुन परिवार भए बूढी आमाहरु सोध्थे- ए साहू तिमीसँग पुराण छ, गीता छ, हनुमान चालिसा छ तिमी कहाँबाट आएको म भन्थेँ काठमाडौंबाट । उनी फेरि सोध्थे काठमाडौं कहाँ हो अनि मलाई याद आउँथ्यो ए मैले त नेपाल भन्नुपर्ने थियो अनि म जब भन्थेँ म नेपालबाट आएको- यति सुन्नेबित्तिकै त ती बूढी आमादेखि लिएर छोरा-छोरी-बुहारी र परिवारका अन्य सदस्यहरु पनि अति नै श्रद्धापूर्वक मलाई ढोग्न लाग्दथ्यो र भन्थे । ए … तिमी भगवान पशुपतिनाथको ठाउँबाट आएको हो म कति भाग्यमानी मैले आज भागवान भएको ठाउँको मानिसलाई ढोग्ने मौका पाएँ । त्यसबखतको पहाड यात्राको स्मरण गर्दा मलाई के सम्झना आउँछ भने मलाई त्यो ‘जुनेली शीतल रात होस् अथवा दिउँसोको घाम-बादलले लुका-छिपी गरिरहेको अन्यन्त मनोरम स्वच्छ-शान्त वातावरणको पग-यात्रा वा निश्छल-स्वच्छ हृदय गाउँलेहरुको मायाले भरिएको व्यवहार- ती सबै अवस्थामा पग-पग क्षीण-क्षीण देव दर्शन हुने गर्थ्यो देवभूमि नेपाल र देवपुत्र भगवानको साक्षात्कार हुन्थ्यो । यसै क्रममा एउटा बडो मर्मस्पर्शी घटनाको सम्झना आउँछ । म एकपटक वीरगंजबाट बसमा काठमाडौं आएँ सुन्धारानिर मोटर रोक्यो र सबै यात्रीहरु त्यहाँबाट निस्केर आ-आफ्नो गन्तव्यतिर लागे ।
म पनि आफ्नो ब्याग हातमा लिएर ओर्लें र भोटाहिटीको डेरातिर लागी हालेँ । राति विश्राम गरेर बिहानै एकजना मान्छेको स्वर सुनाई दियो ए साहूनी तपाईंकहाँ कुनै मुगलानिया साहू कुनै देशी मान्छे आएको छ म बसेको घरको साहूनीले झट् तलको हाम्रो कोठमा आएर मेरो साथीलाई सोधिन् तिम्रो कुनै पाहुना आएको छ उसले भन्यो हो । अनि ती साहूनीले तल कराइराखेको भरियालाई रोकेर सोधिन् किन कराएको भरियाले भन्यो हिमालय कम्पनीको मोटरबाट एकजना देशी झरेको थियो उसले आफ्ना गुन्टा मोटरमै बिर्सेर हिँड्या छ अनि मोटरको गुरुजी ड्राइभर ले मलाई यो गुन्टा-साहूलाई खोज्ने जिम्मा लगाएको छ । म रातभिर सुतेको छैन र ती मोगलानियालाई खोज्दै हिँडेको छु ।त्यसपछि ती साहूनीले मलाई तल पठाई भरियासित कुरा गर्न भनिन् । मेरो आश्चर्यको ठेगाना रहेन किनकि त्यो गुन्टा बेडिंग त मेरो थिए । मैले आफ्नो गुन्टा भरियाबाट लिएँ र सुन्धारादेखि भोटाहिटीसम्मको ज्याला र बख्सिसको रुपमा त्यो भरियालाई तीन रुपैया दिएँ तर भरियाले त्यो पैसा लिन मानेन । मलाई लाग्यो शायद कम्ती भयो कि अनि मैले पाँच रुपैयाँ दिएँ त्यो पनि लिन मानेन अनि मैले सोधेँ ल भन्नुस् यति नजिकको कति ज्याला हुन्छ भरियाले भने ज्याला त एक मोहर नै छ र यदि यो भन्दा बढी पैसा लिएँ भने मलाई पाप लाग्छ त्यसैले मलाई एक मोहर मात्र देऊ । त्यसबखत काठमाडौंमा ५ रुपैयाँमा एक पाथी राम्रो चामल किन्न पाइन्थ्यो । तैपनि त्यो गरिब भरियाले मात्र एक मोहर अर्थात् पचास पैसा लिन स्वीकार गर्यो किनकि बढी ज्याला लियो भने उसलाई पाप लाग्थ्यो । यस घटनाको स्मरण गर्दा त के लाग्छ भने वास्तवमा नेपाल देवभूमि थियो । नेपाल-भारतका सामान्य जनताबीच त कुनै रिस-इबी-वैमनस्य भाव नै थिएन मधेशबाट राजधानी आउने मानिसहरुलाई मोगलानिया या देशी भन्ने चलन थियो र भारतीय करेन्सी नोटलाई ‘कम्पनी रुपैयाँ’ भन्ने चलन थियो । यस्तै नेपालका पहाडी गाउँहरुबाट मेहनत-मजदूरीका लागि मानिस कलकत्ता, पटना, लखनउ, कानपुर आदि शहरहरुमा जाने गरेका थिए ।कसैको मनमा यो लाग्दैनथ्यो कि उ भारत अथवा इण्डिया जाँदै छ । तर नेपालमा स्थापित प्रजातन्त्रको हत्या गरेपछि राजा महेन्द्रको आक्रोशलाई साकार पार्न सरकारी स्तरमा भारत विरोधी घृणा र विषवमन् अभियान प्रारम्भ भइसकेको थियो ।
नेपालका सरकारी अखबारमा ‘भारतको नयाँ दिल्ली, भारतको कलकत्ता, भारतको लखनउ, भारतको कानपुर, भारतको मद्रास’ आदि शब्दहरुको नियमित प्रयोग र प्रकाशन-प्रसारण प्रारम्भ भएपछि मात्र राजधानीलगायत पहाडी गाउँ-शहरका पढे-लेखेका मानिसहरुमा भारत विरोधी भावनाको प्रस्फुटन प्रारम्भ भएको थियो । यद्यपि सैयौँ वर्षदेखि बन्द नेपालको काठमाडौं ढोका विश्वका लागि खुला गर्ने भारतद्वारा निर्मित त्रिभुवन राजपथ र भगवान पशुपतिनाथको पवित्रभूमि काठमाडौंलाई बिजुलीको प्रकाशबाट झिलीमिली पार्ने त्रिशुली जलविद्युत परियोजना निर्माणको सिलसिलामा भएको विकासले सामान्य जनतालाई राम्रै प्रभावित र आकर्षित गरेको थियो । दुवै मुलुकका जनताबीच घृणा र दुश्मन भाव नहुनुको एउटा प्रमुख कारण यो पनि थियो कि पहाड अथवा तराईका गाउँहरुका लागि छाक टार्न र परिवार पाल्नको एकमात्र स्थान सीमापारिको मुगलान अर्थात् भारतीय शहर कलकत्ता-पटना-बनारस र लखनउ-प्रयाग-नैनीताल-मसूरी आदि शहरहरु नै थिए ।जबकि अलि सुकिला-मुकिला सम्पन्न परिवारका लागि तीर्थ बनारस र शिक्षा प्राप्तिका लागि पटना विश्वविद्यालय, वाराणसी विश्वविद्यालय र कलकत्ता विश्वविद्यालय नै प्रमुख केन्द्र थिए । जहाँसम्म नेपाललाई आफ्नो कर्मभूमि बनाउने निर्णयको प्रश्न छ यसको पछाडि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ र राष्ट्ररक्षामा आफ्नो प्राणको आहूति दिने संस्कारबाट संस्कारित मन-मस्तिष्क भएकै कारणले ‘भारतको शत्रु राष्ट्र चीन-पाकिस्तान गतिविधिको अखाडा बनिसकेको नेपाललाई आफ्नो कर्मक्षेत्र बनाउने निर्णय गरेँ । भारतको समाचार एजेन्सी हिन्दूस्थान समाचार त नेपालमा प्रजातन्त्रको स्थापनापछि नै समाचार सेवा (न्यूज सर्भिस) प्रारम्भ गरिसकेका थिए । हिन्दूस्थान समाचारको तत्कालीन नेपाल प्रतिनिधि श्याम खोसलाजीसित मेरो परिचय पटनामा भएको थियो र काठमाडौंमा निकटता बढेको थियो । खोसलाजीले नै मलाई प्रकाशन क्षेत्रबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने प्रेरणा दिनुभयो ।मैले १९६६ को सेप्टेम्बरमा हिन्दुस्थान समाचारको पटना कार्यालयमा प्रशिक्षार्थी पत्रकारको रुपमा कार्य प्रारम्भ गरेर प्रशिक्षणकै सिलसिलामा मलाई हिन्दूस्थान समाचार कलकत्तामा पठाइयो । कलकत्तामा तीन महिनाको प्रशिक्षणपछि १९६७ मा मलाई हिन्दूस्थान समाचारको मुख्यालय दिल्ली स्थानान्तरित गरियो र सफल प्रशिक्षणपछि पत्रकारको रुपमा नियुक्ति गरियो ।
हिन्दूस्थान समाचारको मुख्य कार्यालयले मेरो नेपाल-अध्ययन-अनुभवको मध्येनजर गर्दै १९७१ मा पहिलोपटक हिन्दूस्थान समाचार नेपाल शाखाको इन्चार्जको रुपमा काठमाडौं सरुवा गरे । नेपाललाई तस्करहरुको स्वर्ग बनाउने काम राजा र कम्युनिष्टहरु बाट भयोप्रश्न : तपाईं पहिलोपल्ट नेपाल आउँदाको र अहिलेको नेपाल-भारत बीचको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ ?उत्तर : मैले अघि नै भनी सकेँ नेपाल र भारतका जनताबीच कस्तो सम्बन्ध थियो भन्ने । मैले अघि नै भनेँ नि नेपालको धरतीमा खुट्टा टेक्नासाथ सामान्य भारतीय नागरिक अथवा तीर्थयात्रीलाई ‘नेपाल पुण्यभूमि, देवभूमि भएको महसुस हुने गर्थ्यो चाहे त्यो भूमि तराईको जनकपुरधाम होस् अथवा भगवान पशुपतिनाथको पवित्र स्थान काठमाडौं । त्यस्तै नेपालका सामान्य मानिस स्वर्गारोहणपूर्व गया, राजगीर, जगन्नाथधाम, गंगासागर, प्रयाग, काँशी, अयोध्या, मथुरा-वृन्दावन हरिद्वार, ऋषिकेश, बद्री-केदार र रामेश्वरम आदि तीर्थदर्शन गर्ने अभिलाषा राख्ने गर्थे भने नेपालका बुद्धमार्गीहरु सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको भारतीय पवित्रस्थल बोधगया र सारनाथ, बनारस दर्शन गरेर नै स्वर्ग सिधार्ने आकांक्षा राख्दथे । जबकि वर्तमान अवस्थामा जुन ‘नेपाल-भारत सम्बन्ध’ भनेर कुरा गरिन्छ नि म त्यसलाई नेपाल र भारतको सत्तारुढ सरकार र शासकहरु बीचको सम्बन्ध भन्छु । जहाँसम्म दुवै देशका जनताबीचको सम्बन्धको कुरा छ त्यो त नंग र मासुको सम्बन्ध रहेको थियो अहिले पनि कायम छ र भविष्यमा पनि कायम रहने छ यो मेरो अटल विश्वास हो ।यदि हामी शासकहरु बीचको सम्बन्धकोसिंहावलोकन गरौं भने भारतका स्वतन्त्रताप्रेमी नेता र सामान्य जनताले स्वाधीनता र लोकतन्त्रको लडाईं लामो समयसम्म लडे तर एउटा निकटतम छिमेकी भएर पनि नेपालका तत्कालीन राणा शासकहरुले पूरै स्वतन्त्रता संग्रामको दौरानमा भारतीय जनताको साथ कहिले पनि दिएनन् बरु भारतलाई गुलाम बनाएर राखेको अंग्रेजहरुलाई नै सघाए । इतिहास साक्षी छ कि सन् १८५७ को प्रथम स्वतन्त्रता संग्रामलाई सिपाही विद्रोह दबाउन नेपालका तत्कालीन तानाशाह जंगबहादुर राणाले आफ्नो १२ हजार फौज लिएर भारत पसेका थिए र बिहारको जगदीशपुरदेखि लखनउसम्मको सैयौँ गाउँमा आगो लगाएर लुटपाट मच्चाएका थिए । त्यति मात्र होइन भारतको महान् स्वतन्त्रता सेनानी र कानपुरको शासक नाना साहेब पेशवाले अंग्रेजी फौजको आक्रमणबाट ज्यान जोगाउन नेपाली सीमाको जंगलमा शरण लिँदा जंगबहादुर राणाले अंग्रेजी हुकुमतको बफादारीमा ‘नाना साहेबलाई हत्या गरे र उहाँको चित्ताबाट संकलित हड्डीका टुक्राहरु अंग्रेजी शासकको दिल्ली दरबारमा बुझाएका थिए ।
त्यति मात्र हो र जंगबहादुरले नेपालमा शरण लिन आएकी नाना साहेबकी धर्मपत्नी काशीबाईसहित दुईवटी महारानीलाई बलात्कार गरेर उनीहरुसित बाँचेका बहुमूल्य नौलखा हार कब्जामा लिएको थियो । भारतीय स्वतन्त्रता संग्रामको महान् सेनानी नाना साहेब पेशवाका महारानीहरुद्वारा निर्मित भवन तथा मन्दिर अहिले पनि राजधानीको थापाथली प्रसूतिगृह निर दयनीय अवस्थामा विद्यमान छ ।जंगबहादुर राणाको यसै भक्तिबाट खुशी भएर नै अंग्रेजहरुले भारतको एउटा महत्वपूर्ण क्षेत्र ‘बाँके, बर्दिया, कंचनपुर र कैलाली नेपाली शासक जंगबहादुर राणालाई बक्सिसको रुपमा प्रदान गरे । त्यसलाई नयाँ मुलुक नामाकरण गरे । इतिहासको पाना पल्टाउँदा त्यसै बेलादेखि नेपाल-भारत सम्बन्धमा तनाव उत्पन्न भयो र सन् १९५० मा जब राजा त्रिभुवनले राणाहरुको घेराबन्दीबाट फुत्केर भारतमा शरण लिए दिल्ली सम्झौता गरेर राणाहरुको जहानियाँ शासनको अन्त गरे त्यसै बेलादेखि राणाहरु भारतप्रति झन् आगो रहँदै आएका छन् । शाहवंशीय राजा त्रिभुवनको साहस र भारतकै सहयोग-समर्थनले सन् १९५० मा नेपालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो र बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणाली अन्तर्गत १९५९ मा पहिलो पटक आम निर्वाचन भयो दुई-तिहाई बहुमत प्राप्त बीपी कोइरालाको नेतृत्वमा सरकार पनि गठित भयो तर त्यो शिशु प्रजातन्त्र धेरै समयसम्म टिक्न सकेन । किनकि राजा त्रिभुवनको अत्यन्त महात्वाकांक्षी छोरा युवराजाधिराज महेन्द्रले राजगद्दीमा विराजमान हुनेबित्तिकै सैनिक कारवाही गरी शिशु प्रजातन्त्रको हत्या गरे तख्तापलट गरे र शासनको बागडोर आफ्नो हातमा लिए निरंकुश तानाशाह शाहवंशीय राजाको प्रत्यक्ष शासनको प्रारम्भ भयो । यस पाली नेपालका प्रजातन्त्रवादी नेताहरु भारतको शरणमा गए र त्यहीँबाट राजा महेन्द्रका विरुद्ध सशस्त्र क्रान्तिको प्रारम्भ गरे । परिणामस्वरुप ‘भारत’सित बदला लिने आक्रोसमा राजा महेन्द्रले भारत विरोधी ‘हेट इण्डिया’ अभियान व्यापक रुपमा प्रारम्भ गरे तथा सन् १९६२ मा चीनले भारतमाथि हमला गरेपछि त दुवै देशबीचको सम्बन्ध निकै बिग्रीयो ।यस हेट इण्डिया अभियानलाई बुझ्न यसको ऐतिहासिक पृष्ठभूमिमा जानुपर्छ । राजा त्रिभुवनको एउटा धेरै नै निकट सहयोगीले बताएअनुसार त्रिभुवनले आफ्नो जेठो छोरा महेन्द्रलाई राजगद्दीको उत्तराधिकारी बनाउन चाहेका थिएनन् किनकि त्रिभुवनको इच्छा विपरीत राणाहरुको षड्यन्त्रमा फँसेर राज परम्परालाई तोड्दै महेन्द्रले आफ्नै मातहतका राणा जनरलको छोरीसँग बिहे गरेका थिए ।
अर्को कुरा के थियो भने महेन्द्र जन्मजात अपाङ्ग थिए बाङ्गे आँखा थिए यसकारणले उनी हिन्दू परम्पराअनुसार राजिसंहासनको उत्तराधिकारी बन्न अयोग्य थिए । राजा त्रिभुवनको यस मानसिकताको सुईंको पाउनेवित्तिकै युवराज महेन्द्रले अनशन गरे र राजा त्रिभुवनबाट राजगद्दीको उत्तराधिकारी बन्ने अधिकार पाए । तर यसपछि त आफ्ना राणा ससुरालीको मिलोमतोमा आफ्ना बुबा त्रिभुवन र उहाँले अत्यन्तै श्रद्धा गर्ने मुलुक भारतका विरुद्धु पनि भूमिगत मोर्चा बनाइहाले । राजा र राजदरबारमाथि हावी राणावंशी कमाण्डर र भाई-भारदारहरुको मन-मस्तिष्कमा सत्ता गुमाएको आक्रोश पहिलेदेखि नै थियो । जबकि राजा महेन्द्रले राजगद्दीमा बसेपछि त स्वाभाविक रुपमा राजा र राणाहरुको भारतप्रति संगठित ‘भारत-विरोधि’ प्रारम्भ भए । अनि जब राजा महेन्द्रले १९५९ को प्रथम आम निर्वाचनमा दुई-तिहाई बहुमतले विजयी ‘नेपाली कांग्रेसको सरकार’ र नेपालमा गठित प्रथम संसदलाई बर्खास्त गरी नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला, वरिष्ठ नेता गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईसहित सैयौँ नेता र कार्यकर्ताहरुलाई अनिश्चित कालका लागि जेल चलान गरे स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री पं. जवहारलाल नेहरुले राजा महेन्द्रको यस कारवाहीको भारतीय संसदमै विरोध गरे । उनले भारतीय संसदलाई सम्बोधित गर्दै भने ‘आज नेपाल में स्थापित एक शिशु प्रजातन्त्र की हत्या कर दी गई’- भारतीय प्रधानमन्त्रीको यस वक्तव्यले राजा महेन्द्र झन् आगो भए । नेपाली राजनीतिको त्यही डाँबाडोल अवस्थामा बिहारको राजधानी पटनामा आयोजित नेपाली कांग्रेसको संकटकालीन अधिवेशनमा शाही सेना र पुलिसको आँखाबाट फुत्केर भारतीय सीमाना पस्न सफल भएका नेपाली कांग्रेसका वरिष्ठ नेता सुवर्ण शमशेरसहित भारी संख्यामा नेता-कार्यकर्ताहरुले भाग लिए जसमा राजा महेन्द्रका विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय भयो । साथै सशस्त्र क्रान्तिको संचालनको लागि सुवर्ण शमशेरलाई ‘चीफ डिक्टेटर’ र सभापति बनाइएको घोषणा भयो ।
नेपाल अधिराज्यभरि सशस्त्र क्रान्ति साहस र भारी उत्साहका साथ चल्दै थिए कि यसै बीच चीनले भारतमाथि हमला गरिहाल्यो र फलस्वरुप सुवर्णजीले आफै बसेको कलकत्तामा सशस्त्र क्रान्ति स्थगित गर्ने घोषणा गर्नुभयो । उहाँले घोषणामा भन्नुभयो ‘हाम्रो मित्र देश भारतमाथि हमला भएको छ भारत संकटमा छ यसैले हामी आफ्नो सशस्त्र क्रान्ति स्थगित गर्छौं । चीनीयाँ आक्रामणपछि नै नेपालका राजा महेन्द्रद्वारा चाइना कार्डको खेल शुरु गरियो । नेपालभरि ‘चीन जिन्दावाद’को नारा लाग्न थाल्यो ।राजा र राजदरबार नियन्त्रित तत्कालीन शासनतन्त्र राजदरबार-पालित पंचायती र कम्युनिष्ट नेताहरुद्वारा कलेज-हाइस्कूलदेखि प्राइमरी स्कूलसम्मका बच्चाहरुको दिमागमा एउटै नारा भर्ने अभियान प्रारम्भ भयो । ‘भारत बदमाश छिमेकी देश हो र उसले नेपाललाई निल्न चाहन्छ खान चाहन्छ’ अतः वर्तमान संकटमा राष्ट्रको अस्तित्व र राष्ट्रियता जोगाउन नेपालका हरेक नागरिक र बच्चा-बच्चाको प्रथम कर्तव्य हो । यति मात्र होइन राजा महेन्द्रपछि राजा वीरेन्द्रको शासनकालमा पनि भारतका प्रति दुर्भावना फिँजाउने अभियानमा कुनै कमी आएन । भारतमाथि आक्रमण गर्ने चीन, पाकिस्तान र भारत-सोभियत संघको मैत्रीबाट आक्रोशित विश्वका अन्य महाशक्ति देशहरुले पनि भारत विरोधी अभियानको आगोमा घिउ नै थपे ।
यस प्रकारले राजा महेन्द्र र आक्रोशित राणाहरुले भारत विरोधको जुन जरा रोपे त्यसलाई कम्युनिष्ट र कहिलेकाहीँ नेपाली कांग्रेसले पनि अहिलेसम्म मल-जल र हावा दिँदै आएको छ । ठीक छ राणाहरुको आक्रोशको त एउटा कारण बुझ्न सकिन्छ कि तिनीहरुका १०४ वर्ष पुरानो शासनको अन्त गर्नमा भारतले सहयोग गर्यो तर शाहवंशीय राजाको त १०४ वर्षको जेलवीवनबाट भारतले नै मुक्त गराएको थियो । अर्थ स्पष्ट छ कि आफ्नो गद्दीमा खतरा महसुस गरी बैगुनी शाहवंशीय राजाहरु पनि भारतविरोधी अभियानमा लागि रहे ।राजा महेन्द्रका छोरा राजा वीरेन्द्र पनि मृत्युपर्यन्त राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा भारतविरोधी विषवमन गरे तथा भारतको दुश्मन राष्ट्र र भारतमा आतंकवादी गतिविधिमा संलग्न भारतको आतंकवादी र भारतविरोधी बाह्य शक्तिहरुसँग हात मिलाएर भारतलाई क्षति पुर्याउने सक्दो प्रयास गरे नेपाललाई तस्करहरुको स्वर्ग र भारतविरोधी आतंककारीहरुको अड्डा बनाउनमा पनि कहिले पनि कुनै कसर छाडेनन् । यो पनि सर्वविदितै छ कि राजा वीरेन्द्र वंशको हत्यापछि नेपालको राजगद्दीमा बस्ने राजा ज्ञानेन्द्रले पनि ‘विनाशकाले विपरीत बुद्धि’ अर्थात् अन्तिम समयमा आफ्नो भारतविरोधी घृणित र आत्मघाती स्वरुप देखाइ नै हाले ।
भारतले तीन करोड नेपाली नागरिकलाई भारतको स्थायी दुस्मन ठानोस ?
नेपाली कांग्रेसले प्रजातन्त्रको हत्यारा राजा महेन्द्रको तख्तापलट (मिलिट्री-कू) विरुद्ध संचालित सशस्त्र क्रान्ति किन स्थगित गर्नुपर्यो ?
उत्तर : किनकि जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासहित नेपाली कांग्रेसका अधिकांश नेताहरुलाई राजा महेन्द्रले जेल हाल्न लगाएपछि पनि भारत पसेका अन्य नेता तथा कार्यकर्ताहरुले भारतीय सीमामा क्याम्प स्थापित गरी सशस्त्र क्रान्तिको संचालन गर्दै थिए । वास्तवमा भनौं भने भारतलाई अप्ठ्यारो नपार्ने उद्देश्यले नै नेपाली कांग्रेस नेता सुवर्ण शमशेरले राजाको ‘तख्तापलट’ कदमका विरुद्ध संचालित सशस्त्र क्रान्तिलाई स्थपित गर्ने घोषणा गर्नुभयो । भारतमाथि चाइनीज हमलाको फाइदा उठाएर नै राजा महेन्द्रले नेपाली कांग्रेसको सशस्त्र क्रान्तिलाई विफल पार्न सफल भए र सबै राजनीतिक पार्टीहरुलाई प्रतिबन्ध गरी निर्दलीय पंचायती शासन प्रणाली थोप्न पाए ।
भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरु, भारतको सरकार तथा भारतीय जनता चीनियाँ आक्रमणबाट हतप्रभ (डिमोरलाइज्ड) भइसकेका थिए र त्रसित-भयभित भारतलाई राजा महेन्द्रको विचलित-आक्रोशित-सनकी दिमागको भय थियो कि यदि राजा महेन्द्रले चीनियाँ सेनालाई नेपालमा अड्डा बनाउने अनुमति दिए भने भारत थप अप्ठ्यारोमा पर्न सक्छ भारतले नेपाल-भारत सीमामा पनि थप मोर्चा खोल्न पर्न सक्छ र उसले करिब १७ सय किलोमिटर लामो भारत-नेपाल सीमानामा पनि चाइनीज हमलाको मुकाबिला गर्न पर्न सक्छ । ‘हिन्दी-चीनियाँ भाइ-भाइको नारा घन्काउने तथा चीनियाँ हमलाबाट मर्माहत भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरुमाथि भारतलाई यस संकटको भुमरीमा पुर्याउने आरोप लाग्दै थियो ।
आरोप त यतिसम्म लाग्यो कि ‘नेहरुले आफू विश्वशान्ति दूत बन्ने महत्वाकांक्षामा भारतीय सेनाको हतियार बनाउने कल-कारखानाहरुलाई जुत्ता कारखानामा परिणत गरेका थिए । त्यसैले जब चीनियाँ हमला भयो भारतले ‘पछि हात-हतियार पठाउँछुको आश्वासनका’ साथ निहत्था भारतीय सेनालाई अत्याधुनिक हात-हतियारले सुसज्जित विशाल चाइनीज सेनाको मुकाबला गर्न भारत-तिब्बत सीमामा पठाएका थिए र जसको परिणामस्वरुप हजारौँ-हजार भारतीय जवानहरुले भेडा-बाख्रासरह ज्यान गुमाउनुपरेको थियो ।
यहाँ एउटा सन्दर्भ बताउन मन लाग्यो कुरा १९७१-७२ को हो काठमडौंको एउटा पत्रिकाले प्रजातन्त्रको हत्याका प्रमुख पात्र डा. तुलसी गिरीको इन्टरभ्यू प्रकाशित गरेको थियो । जसमा डा. गिरीले के भनेका थिए भने ‘भारतमाथि चीनले हमला गर्छ भन्ने कुराको जानकारी हमलाको एक सप्ताहअघि नै राजा महेन्द्र र मलाई थियो ।’ यहाँ म के भन्न खोजेको हुँ भने डा. गिरीले इन्टरभ्यूमा भनेको कुरा सत्य थियो वा थिएन- यस विवादमा नगए पनि एउटा कुरा त नेपालको तत्कालिन राजनीतिक नेताहरुले स्वीकार गर्दछन् कि, ‘चीनले भारतमाथि हमला गर्नमा एक हप्ता ढिलो गरेको भए नेपाली कांग्रेसको सशस्त्र क्रान्ति सफल हुन्थ्यो तथा राजा र राजगद्दीको अस्तित्व त्यसै बखत मेटिन्थ्यो ।’
साँच्चै भन्नुहुन्छ भने यस घटनाले त यो प्रमाणित गर्छ कि ‘तानाशाह राजा महेन्द्रलाई बचाउन र नेपालबाट प्रजातन्त्रको जरो उखेल्नलाई नै चीनको आततायी कम्युनिष्ट नेता माओत्से तुंगले भारतमाथि भीषण हमला गरे ।’ अवस्था त के थियो भने एकातिर भारतमाथि चाइनिज आक्रामणको पूरापूर लाभ राजा महेन्द्रले उठाए र अर्कोतिर पूँजीपति राजा र राजतन्त्रलाई जनताको कट्टर शत्रु ठान्ने तथा आफूलाई पूँजीपति राजा र राजतन्त्र उन्मूलन गर्ने जनदूत बताउने नेपालका यी कम्युनिष्टहरुले सधैँभरि निर्दलीय शासन प्रणालीको नाउँमा थोपारिएको तानाशाही पंचायती शासन र नेपालको नवोदित प्रजातन्त्रलाई धुलो पार्ने तानाशाह राजा महेन्द्रलाई नै सहयोग-समर्थन गरे । मैले त यो पनि सुनेको छु कि तिनीहरुमा चाहे नेपालमा कम्युनिज्मको जरा गाड्ने पुष्पलाल र केशरजंग रायमाझी होउन् अथवा मनमोहन अधिकारी वा त्यस बेलाका विद्यार्थी नेता सीपी मैनाली, राजाकृष्ण मैनालीहरु नै किन न होउन् यी सबै कठमुल्ला कम्युनिष्टहरुले राजा महेन्द्र तथा त्यसपछि गद्दीमा बस्ने राजा वीरेन्द्रलाई नै सघाए ।
निर्दलीय पंचायती शासनलाई नै दशकौँसम्म फुल्न-फलाउन सहयोग गरे । दरबारको ‘भिटामिन-एम (मनी) बाट पालित-संचालित कम्युनिष्टहरुले त जेल-सजाय पाएको नाटक गरेर पनि जेलमा बसेको डेमोक्रेट नेताहरुबारे राजा र राजदरबारलाई रिपोर्टिंङ् गर्दथे । एउटा पनि कम्युनिष्टले निर्वासनमा भारत पस्नु परेन जबकि नेपालका सबै डेमोक्रेट खासगरी नेपाली कांग्रेसका नेतादेखि साधारण कार्यकर्तालाई पनि ज्यान जोगाउन दशकौँसम्म भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो तिनीहरुको सर्वस्वहरण भएको थियो । राजाको पुलिसले त भारतीय सीमामा पसेर पनि नेपाली कांग्रेसका नेता सरोज कोइरालासहित अनेकौँ कांग्रेसीहरुलाई गोली हानेको थिए नृशंस हत्या गरेका थिए । जबकि कुनै पनि कम्युनिष्ट नेता राजा महेन्द्र र वीरेन्द्रको पुलिसको गोलीबाट मरेको उदाहरण पाइँदैन । कुन कम्युनिष्ट नेताले भारतमा निर्वासित जीवन बिताउनुपर्यो वा उसले सर्वस्वहरणको सजाय पायो यस्तो एउटा पनि उदाहरण पाइँदैन ।
तपाईं गएको आठ-दश वर्षको माओवादी कम्युनिष्टहरुका चालालाई नै हेर्नुस् न । राजा वीरेन्द्रको वंशविनाश गर्ने हत्याकाण्डपछि ‘सुकिला-मुकिला विद्वान् दर्शनशास्त्री उदारवादी भारतका प्रति नरम यथार्थपरक’- आदि दर्जनौँ संज्ञाले विभूषित बाबूराम भट्टराईले वीरेन्द्रवंश हत्याकाण्डलगत्तै स्थानीय कान्तिपुर दैनिकमा प्रकाशित गराएको एउटा लेखमा ‘राजदरबारसित’ ‘आफ्नो’ तथा ‘आफ्नो पार्टीको’ सम्बन्ध रहेको’ त स्वीकारेकै थिए । बिडम्बना त के छ भने राजा महेन्द्र र आक्रोशित राणाहरुले भारत विरोधको जुन जरा गाडे त्यसलाई कम्युनिष्ट र कहिलेकाहिँ कांग्रेसले पनि अहिलेसम्म मल-जल दिँदै आएका छन् ।
यहाँ राणाहरुको भारत विरोधको कारण त बुझ्न पनि सकिन्छ । किनकि तिनीहरुका सय वर्ष पुरानो शासनको अन्त गर्नमा भारतको सहयोग थियो तर शाहवंशी राजालाई त १०४ वर्षको राणा-जेलबाट भारतले मुक्त गराएको थियो । तैपनि शाहवंशी राजाहरुले गद्दीनशीन रहुन्जेल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि भारत विरोधका डंका पिटे । राजा महेन्द्रले नै चीनको गुणगान गर्नेलाई राष्ट्रवादी र नेपाली जनमानसको धर्मभूमि-पूण्यभूमि भारतप्रति रगतको नाताले पनि आदरभाव राख्ने भारत प्रशंसकलाई ‘भारतको दलाल’ भने । त्यसपछिको गद्दी उत्तराधिकारी उनको छोरा राजा वीरेन्द्रको कार्यकालमा पनि यस नाराले निरन्तर मल-जल पायो ।
त्यति मात्र होइन नेपालमा बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणालीको स्थापना पश्चात् पनि नेपालका शासकहरुले राजा महेन्द्रको त्यही भारतविरोधी नाराको सहारा लिए तथा अहिले पनि त्यसै आशयको प्रवृत्ति कायम नै छ । राजा महेन्द्रको भारतविरोधी अभियान त यहाँसम्म पुग्यो कि १९६२ को चाइनीज आक्रमणबाट उठ्न नपाएकै अवस्थामा सन् १९६५ र १९७१ मा दुई पटक भारतले पाकिस्तानी हमलाको सामना गर्नुपर्यो र दुवै युद्धको दौरान राजा महेन्द्रले खुल्लमखुल्ला पाकिस्तानलाई साथ दिए । सन् १९६५ को युद्धका बेला लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री थिए र ठीक त्यही युद्ध संकटको अवस्थामा राजा महेन्द्र भारतको सदभवना भ्रमणमा हिँडिहाले । भारत भ्रमणको प्रारम्भ बिहार प्रान्तको पटनाबाट भयो र दक्षिण भारतका तीर्थस्थलहरुको यात्रा गर्दै राजा महेन्द्र नयाँ दिल्ली पुगेका थिए । भारत सरकारको परेशानी त के थियो भने एकातिर ‘चाइनीज आक्रामणबाट जर्जर भएको भारतमाथि अमेरिकी-सेबरजेट र पैटनटैंकबाट पाकिस्तानी सेना गोला बर्साउँदै थिए र अर्कोतिर राजा महेन्द्र भारत भ्रमणको सबै शहरमा आफ्नो मन्तव्यमा आफूलाई सुपर-तटस्थ देखाउँदै भन्दै थिए- ‘भारत र पाकिस्तान’ दुवैले बसेर युद्धको शान्तिपूर्ण समाधान गर्नुपर्छ’ ।
पाकिस्तानलाई सघाउने राजा महेन्द्रको यस भाषणबाट प्रधानमन्त्री लालबहादुर शास्त्री भारी चिन्तित भए । फलस्वरुप नयाँ दिल्लीको रामलीला मैदानमा राजा महेन्द्रको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा शास्त्रीजीले राजा महेन्द्रलाई कुटनीतिक जवाफ दिनुपर्यो । शास्त्रीजीले आफ्नो सम्बोधनमा अत्यन्तै भावविह्वल भएर भन्नुभयो- ‘आज जब पाकिस्तान हमारे उपर बम बरसा रहा है हम युद्ध-संकट में घिरे हैं ऐसी अवस्था में हमारे बन्धु हमारे हमदर्द पडोसी देश नेपाल के महाराजाधिराज महेन्द्र इस विपत्ति में हमारी सुधि लेने यहाँ आए हैं’ । – शास्त्रीजीको यस अभिव्यक्तिले राजा महेन्द्रको ‘तटस्थता’ लाई हावामा उडाइदियो र तत्कालिन मिडियाले राजा महेन्द्रको भारत-भ्रमणलाई के भनेर चित्रित गरे भने ‘युद्ध-संकटको समयमा भारतलाई समर्थन र भारतको साहस र मनोबल बढाउनका लागि नै राजा महेन्द्रले भारतको वर्तमान भ्रमण गरेका छन् ।’ शास्त्रीजीको यस भाषण र मिडिया टिप्पणीले राजा महेन्द्रलाई ‘निकै डिमोरलाइज’ गरेको थियो । तर यसपछि पनि राजा महेन्द्रले भारत विरोधी आफ्नो अभियान जारी नै राखे किनकि जेलबाट मुक्त भएका नेपाली कांग्रेस नेता विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेत अधिकांश कांग्रेसी भारतमा निर्वासित जीवन बिताई राखेका थिए र समय-समयमा राजा विरोधी कार्यक्रमहरुका आयोजना पनि गर्ने गरेका थिए ।
भारतीय भूमिबाट भारतीय विमानको अपहरण र पाकिस्तानी विमानस्थलमा त्यस सार्वजनिक रुपमा आगो लगाउने तथा त्यसपछि पाकिस्तानद्वारा कलकत्तामा भारतीय विमान खसाल्ने पाकिस्तानी कारबाहीपछि भएको १९७१ को भारत-पाक युद्धको दौरान पनि राजा महेन्द्रले फेरि खुल्लमखुल्ला पाकिस्तानलाई साथ दिए । पाकिस्तानी सैनिक शासक जनरल याह्या खान यस्तो पहिलो राष्ट्राध्यक्ष थिए जसलाई राजा महेन्द्रले आमन्त्रित गरी नेपाल बोलाए र ‘गैर-हिन्दू-निषेधित’ नारायणहिटी राजदरबारमा विशेष पाहुनाको रुपमा राखे । लगातार तीन दिनसम्म भारतविरोधी मन्त्रणा गरे रणनीति तैयार गरेर चौथो दिन याह्या खानले स्वदेश फर्कनेबित्तिकै ‘पूर्वी पाकिस्तान (बंगलादेश)’ माथि मिलिट्री क्रैकडाउन भयो । ‘बंगला-भाषी पाकिस्तान’ र ‘पंजाबी-भाषी पाकिस्तान’ बीच करिब नौ महिनासम्म घमासान युद्ध भयो । युद्धको दौरान भारतले ‘पश्चिमी पाकिस्तान’ र ‘पूर्वी पाकिस्तान’- दुवै मौर्चामा लड्नुपर्यो लगभग २० लाख बंगाली मुसलमानले पश्चिमी पाकिस्तानको पंजाबी मुसलमानबाट ज्यान गुमाउनुपर्यो ।
युद्धमा पाकिस्तानको हार बंगाली जनताको जीतपछि जुन दिन राजा महेन्द्रले नवोदित राष्ट्र ‘बंगलादेश’लाई ‘रिकगनिशन दिए त्यही दिन राजा महेन्द्रलाई हर्टअट्याक भयो र उनी मरे । त्यति मात्र होइन राजा वीरेन्द्रको शासनको दौरान नेपालले कहिले पनि राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मंचमा भएको भोटिंगमा भारतको साथ दिएन र वीरेन्द्रवंशको हत्यापछि राजा ज्ञानेन्द्रले भारत विरोधमा के गरे यो त अहिलेको नयाँ पिँढीको मिडिया र राजनीतिकर्मीहरुका सामुन्ने छर्लंगै छ । सम्भवतः त्यही ‘भारत विरोधी-अक्सिजनमा पालिएर बढेका’ ‘बाहुन-नेतृत्वको नेपाली कांग्रेसका नेताहरुद्वारा पनि समय-समयमा भारत विरोधी आक्रोश’ बाहिर आएकै हो । शायद चीनियाँ-क्रान्तिको नाउँमा लाखौँ निरीह चीनियाँ जनतालाई मौतको निँद सुताउने महान् चीनीयाँ नेता माओत्से-तुंगको भक्ति गर्दै नेपाललाई ‘प्रजातन्त्रमुक्त-राजामुक्त तथा नेपालीलाई सबै कष्टबाट उन्मुक्ति दिलाउने नाउँमा हजारौँ निर्दोष नेपालीको हत्याको जिम्मेदार बाहुन-नेतृत्वको माओवादीहरुद्वारा संचालित भारतविरोधी घृणा अभियान पनि त्यही राजा र राजदरबारद्वारा चलाइएको कार्यक्रमको एउटा कडी हो ।’
तर पनि विगतको चार दशकमा देखे-सुनेका घटनाक्रमहरुलाई नियाल्दा मैले के महसुस गरेको छु भने नेपालमा संचालित राजनीतिक पार्टीहरुमा ‘सकृय-अतिसकृय-होलटाइमर’ नेता-कार्यकर्ताहरुको संख्याको अनुमान गरौं भने त्यो पच्चीस-तीस हजार छैन होला । त के भारत विरोधी पेशामा लागेका यी पच्चीस-तीस हजार नेपाली-राष्ट्रवादीहरु द्वारा लगाइएको ‘भारत-मुर्दावाद-जिन्दावाद’को नाराको प्रतिकृयामा भारतले लगभग साढे दुई- तीन करोड निर्दोष नेपालीलाई भारतको स्थायी दुश्मन ठानोस् माओवादीद्वारा संचालित भारत विरोधी अभियान र भारतीय राजदूतमाथि घोर अपमानपूर्ण आक्रमणका घटनाहरुपछि भारतप्रति सकारात्मक विचार राख्ने व्यक्तिहरुले मलाई सोध्ने गर्छन् ‘यति हुँदाहुँदै पनि भारतले किन नेपालको विकास कार्यमा यत्रो ठूलो पूंजी लगाई राखेको छ उनीहरुलाई म फेरि त्यही उल्टै प्रश्न गर्छु कि के यो राजनीतिक-पेशामा लागेका विभिन्न देशको आर्थिक लहलहैमा लागेका मान्छे र आ-आफ्नो सिद्धान्तको लागि काम गरिरहेका पच्चीस-तीस हजार मान्छेले भारत मुर्दावादको नारा लगायो भने भारतले सिंगो नेपाल र नेपाली जनतालाई नै भारतको दुश्मन ठानोस् यस मामिलामा मेरो आफ्नो एउटा बेग्लै व्याख्या के छ भने भारत-नेपाल शासक र शासनहरुको बीचको सम्बन्ध र दुवै देशका जनताको सम्बन्ध दुवै फरक छन् ।
जहाँसम्म जनताको सम्बन्धको कुरो छ त आजको मितिमा भारतबाट जुन तथ्यांक-डाटा मैले पाएको छु त्यसबमोजिम ८० देखि ८५ लाख नेपालीले अहिले भारतमा आफ्ना जीविका चलाई राखेछन् त्यो पनि मधेशिया बाहेक किनभने त्यहाँ पनि मधेशीलाई नेपाली मान्दैनन् । अनुहारको कारणले मधेशीहरुलाई यहाँ पनि नेपाली मान्दैनन् र त्यहाँ पनि मान्दैनन् । अब हेर्नुस् नेपालका नेताहरु जुन भारत विरोधी नारा लगाई राखेका छन् त के यसको रिएक्शनमा भारतले ती सबै ८०-८५ लाख नेपालीहरुलाई लखेटेर नेपाल धपाई देओस् यसो भयो भने यहाँ के स्थिति हुन्छ?
No comments:
Post a Comment