Thursday, May 9, 2013

जवाफदेहीपूर्ण र भ्रष्टाचारमुक्त प्रहरी सेवा बनाउनेमा मेरो ध्यान केन्द्रित हुने छ"

-कुबेरसिंह राना, नवनियुक्त प्रहरी प्रमुख
सरकारले प्रहरी प्रमुखका तीन उम्मेदवारमध्ये वरिष्ठता र कार्यक्षमताका आधारमा रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नु भएको छ । 

काठमाडौं, भाद्र २८ - कुबेरसिंह राना नेपाल प्रहरीका  २३ औँ महानिरीक्षक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ठ हुन् । उनी महानगरीय आयुक्त कार्यालयका प्रमुख थिए ।

'वरिष्ठता, क्षमता, इमान्दारिता र जनजाति पनि भएकाले 

उहाँलाई छानिएको हो'

राजकिशोर यादव, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री

उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले तेस्रो बरियताका भीष्म प्रसाईँलाई आईजीपी बनाउने अडान नछाडेपछि एक महिनासम्म नियुक्ति अड्किएको बताईएको थियो । सरकारले कामु तोक्न नसक्दा आईजीपी रविन्द्रप्रताप शाह बिदामा बस्न पाएका थिएनन् । उनी एक महिनाअघि नै बिदामा बस्नुपर्ने थियो । शाहले शुक्रबार अवकास पाउने भएपछि सरकारलाई बिहीबार नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने दबाब थियो ।
मन्त्रिपरिषद् बैठकपछि संवाददाताहरूसँग सरकारका प्रवक्ता यादवले नयाँ प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नभएको दाबी गरे । मन्त्रिपरिषद् बैठकअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री गच्छदारबीच छलफल भएको थियो ।
नवनियुक्त आईजीपी रानालाई बिहीबार नै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । अवकास प्राप्त आईजीपी शाहको पनि बिहीबार नै बिदाइ गरिनेछ ।
'पारदर्शी, जवाफदेहीपूर्ण, सुचनामा आधरित प्रबिधियुक्त प्रहरी कार्य, अनुसन्धान र नियन्त्रण, भ्रष्टाचारमुक्त प्रहरी सेवा बनाउनेमा मेरो ध्यान केन्द्रित हुने छ'
कुबेरसिंह राना, नवनियुक्त प्रहरी प्रमुख
प्रहरी संगठनमा ब्यबसायिक छवि बनाएका रानालाई प्रधानमन्त्री भट्टराईले साथ दिएपछि महानिरिक्षक बन्न सफल हुनुभएको हो । प्रहरीमा रहँदा अधिकांश समय प्रशासनिक क्षेत्रमा काम गरेका राना आर्थिक अभियोगमा नमुछिएका अफिसरमा पर्नुहुन्छ ।
माथिल्लो निकायको आदेश मान्ने र सहज ढंगले काम गर्ने उहाँको बिशेषता हो । मानविकी संकायमा स्नातक गरेका रानाले प्रहरी अधिकृत विशेष तालिम, अपराध अनुसन्धान, प्रशिक्षक प्रशिक्षण, भीभीआईपी सुरक्षा कमाण्ड तालिम लगायतका तालिमको अनुभव छ । उहाँले अमेरिका, वेलायत, भारत लगायतका १८ मुलुकबाट अनुभाव वटुलेका राना सार्क सेवा, प्रसिद्ध सेवा, गोर्खा दक्षिणबाहु, युएन पदक लगायतका ११ बटा प्रतिष्ठित पदकबाट विभुषित हुनु भएको छ । विकट जिल्लाहरुमा उत्कृष्ट कार्य गरेकोमा रानाले दुर्गम सेवा पदक समेत पाउनु भएको छ ।

'आईजीपी रानाको कार्यकाल चुनौतीपूर्ण'

काठमाडौं, भाद्र २९ - कुवेरसिंह रानालाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आईजीपी नियुक्तिमा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच करिब एक महिनादेखि चलेको रस्साकस्सीपछि बिहीबारको  मन्त्रिपरिषद् बैठकले रानालाई नियुक्त गरेको हो । प्रधानमन्त्री भट्टराईले रानालाई नै महानिरीक्षक बनाउन चाहेका थिए भने गच्छदार पहिले तेस्रो वरीयताका भीष्म प्रसाईं र पछि दोस्रो वरीयताका नवराज ढकालका पक्षमा थिए ।
अन्तिम घडीमा कुन सर्त वा तर्क टेकेर गच्छदार रानाका पक्षमा राजी भए भन्ने अर्थपूर्ण रूपले हेरिएको छ । बिहीबारको वार्तामा गच्छदारले भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग रानाकै नाममा सहमति जनाए पनि गृह मन्त्रालय गइसकेपछि धारणा बदलेका थिए । भट्टराईले फेरि एक पटक फोनबाटै उनलाई सम्झाउनुपरेको थियो । स्रोतका अनुसार रानाका नाममा सहमति जनाउन तयार नभए प्रधानमन्त्रीले ठाडो प्रस्तावबाटै निर्णय गर्ने तयारी गरेका थिए ।
६० हजारभन्दा बढी जनशक्ति भएको नेपाल प्रहरीका २३ औं महानिरीक्षक भएका रानाको कार्यकाल १४ महिना हुनेछ । २०४० मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका राना व्यावसायिक छविका अधिकृतका रूपमा चिनिन्छन् । आफ्नो ब्याचको वरिष्ठतामा एक नम्बर उनका लागि संगठन प्रमुख बन्नु सजिलै चाहिँ भएन ।
रानालाई नै गृह मन्त्रालयकै प्रस्तावबाट अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षकमा स्वभाविक बढुवा गर्न भट्टराई, एनेकपा माओवादी अध्यक्ष दाहाल र गच्छदारबीच बिहीबार बिहान अबेर विशेष वार्ता भएको थियो । सञ्चारमन्त्री राजकिशोर यादवले बैठकको निर्णय सार्वजनिक गरेसँगै सरकारको गठबन्धनलाई नै चुनौती हुने गरी चर्केको नियुक्ति विवाद सुल्झिएको छ ।
त्यतिबेला नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक रवीन्द्रप्रताप शाह प्रहरी मुख्यालयमा बिदाइ सम्मान खाँदै थिए ।
५२ वर्षीय राना मानविकी संकायका स्नातक हुन् । उनले अपराध अनुसन्धान र प्रशासनिकसम्बन्धी विभिन्न उच्चस्तरीय तालिम लिएका छन् । उनन्तीस वर्ष लामो प्रहरी वृत्तिभर कुनै गैरव्यावसायिक काममा नमुछिएका उनीमाथि द्वन्द्वकालमा भएको एक घटनालाई लिएर लागेको मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतले गत महिना खारेज गरेको थियो । रानाको नियुक्तिबाट प्रहरी संगठनमा बृहत्तर सकारात्मक सन्देश प्रवाह हुने वरिष्ठ प्रहरी अधिकृतहरूले बताएका छन् । उनको शुक्रबार पदस्थापन हुँदै छ ।
चुनौतीपूर्ण कार्यकाल
रानाको १४ महिने कार्यकाल चुनौतीपूर्ण छ । बिहीबार बिदा भएका प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहबाट प्रहरीमा सुधारको खासै अपेक्षा गरिएको थिएन । 'यसैले उनले थोरै गर्दा पनि वाहवाही पाए,' एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'तर रानाबाट संगठनमात्र होइन बाहिरबाट पनि धेरै अपेक्षा छ ।' राजनीतिकरणका कारण प्रहरी प्रदूषित भएकाले प्रदूषण कम गर्न राजनीतिक हस्तक्षेपसामु अडान लिन सके राना सफल हुने पूर्वएआईजीपी केशव बरालले बताए ।    
'उनको पहिलो चुनौती उनलाई आईजीपी बनाउन अडान लिने प्रधानमन्त्री र उनको दल तथा उनलाई बन्न नदिने अडान लिने गृहमन्त्री नै हुन्,' एकजना वरिष्ठ प्रहरी अधिकृतले टिप्पणी गरे ।  माओवादीले गृहमन्त्रीलाई पछि हट्न बाध्य बनाएर आईजीपी बनाएको 'गुन' तिराउन खोज्न सक्छ । खासगरी सम्भावित निर्वाचनमा प्रहरीको सहयोगको अपेक्षा गरिन सक्छ । 'राजनीतिक रूपमा तटस्थ भूमिका निर्वाह गर्नु उनका लागि चुनौती हुनेछ ।    
प्रधानमन्त्री र माओवादीको अडानका कारण अमिलो मनले गृहमन्त्रीले रानालाई आइजीपी बनाउने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार उनले 'मलाई काम गर्न सजिलो हुन्छ' भनेर भीष्म प्रसाईं र नवराज ढकालको नाम लिएका थिए । 'काम गर्न सजिलो भन्नुको मतलव सरुवा र बढुवा गृहमन्त्रीले भने अनुसार हुनुपर्छ भन्नु हो,' वरिष्ठ प्रहरी अधिकृतले भने । यसैले प्रहरीको सरुवा, बढुवामा गृहमन्त्रीको दबाबको सामना गर्न सजिलो हुने छैन । सरुवा-बढुवामा नेताले आकर्षक भनिएा ठाउँमा खसीबोका छानेजस्तो प्रहरी छान्ने प्रवृत्ति बन्द गर्न उनलाई सजिलो छैन ।
बिहीबारदेखि एआईजीपीको पाँच पदमा रानासँगै सेवा प्रवेशका डीआईजीपीहरू स्वभाविक दाबेदार छन् । यसबाहेक उनीपछिको ब्याचका डीआईजीपीहरू पनि अरूलाई उछिनेर एआईजीपी भई आईजीपी पद सुरक्षित गर्न सक्रिय छन् । गृहमन्त्री र आईजीपी विवादका कारण डीएसपी र त्यस मुनिका पदको बढुवा चार महिनादेखि हुन सकेको छैन । त्यसैगरी राना कार्यकालको परीक्षा सक्षम र व्यावसायिक एआईजीहरूको नियुक्तिबाट सुरु हुनेछ । 'गृहमन्त्रीको इच्छाअनुसार बढुवा गर्दा संगठनमा असन्तुष्टि बढ्नुका साथै आईजीपी बदनाम हुनेछन् ।' प्रहरीमा डीआईजीदेखि तल्लो तहसम्म सरुवा गर्ने बेला भएको छ । सरुवामा राजनीतिक हस्तक्षेपमा घुँडा नटेकी तुलनात्मक रूपमा राम्रो गर्न सकेकाले शाह खराब संगठन प्रमुख हुनबाट बचेका हुन । क्षेत्र र जिल्ला प्रहरी प्रमुखको सरुवा गच्छदार गृहमन्त्री बन्नुअगावै भएको थियो । अबको सरुवामा गृहमन्त्री हावी भए रानाको कार्यकाल बिर्सनलायक हुनेछ । 'उनको नियुक्तिले संगठनमा भएका राम्रालाई उत्साही बनाएको छ,' 'तिनको विश्वास कायम राख्नु चुनौतीपूर्ण छ ।'

'देश, जनता र संगठनको सेवा गर्छु'

- कुवेरसिंह राना, प्रहरी महानिरीक्षक
जनताको सुरक्षित हुने अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?
जनताको शान्तिसुरक्षा नै प्रहरीको मूल कर्तव्य हो । प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित किसिमले जनस्तरमा पुर्‍याउन मैले आफ्नो नेतृत्वलाई भरपूर प्रभावकारी बनाउनेछु । नेतृत्व परिवर्तनलगत्तै हठात् परिवर्तन भन्ने हँुदैन । जिम्मेवारी बाँडफाँड, व्यावसायिकता, कार्यक्षमता, प्रहरी मनोबल, आचरणलगाय तका विष यमा स्पष्ट नतिजाहरू दिन प्रयत्न गर्नेछु ।  
आईजीपी पदका लागि चरम प्रतिस्पर्धा भयो । यस्तो अवस्थामा 'टिम स्पिरिट’ कसरी मिलाउनुहुन्छ ?
म 'पार्टिसिपेटिभ म्यानेजमेन्ट'मा विश्वास राख्छु, यही मेरो कार्यशैली हो । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, त्यो स्वभाविक र व्यावसायिक ढंगबाट भयो । संगठनभित्रको एउटै मात्र स्थानका लागि एकभन्दा बढी दाबेदार हुनु अनौठो होइन । हामी एक ढिक्का भए र काम गर्छौं । त्यो वातावरण बनाउने जिम्मेवारी मेरो हो ।
तपाईंलाई यो पदमा नियुक्त हुन राजनीतिक गुन लागेको हो ?
मलाई पटक्कै त्यस्तो लाग्दैन । बाहिरबाट त्यस्तो 'प्रोजेक्सन' भएको हुनसक्छ । म कर्तव्यनिष्ठ र गैरराजनीतिक पहिचान भएको राष्ट्रसेवक हुँ । म यो कुरा व्यवहारमै पनि देखाउनेछु ।
गृहमन्त्रीसँगको सहकार्य कस्तो रहने अपेक्षा छ ?
म राज्यको एउटा सिपाही हुँ । मलाई राज्यको नीति, कानुनले बाँधेको छ । त्यहीअनुसार देश, जनता र संगठनको सेवा गर्छु । मलाई मेरो जिम्मेवारीमा द्विविधा छैन । म यसबारे स्पष्ट छु ।
तपाईंबाट जनताले तत्काल के आस गर्ने ?
गुनासो सुन्ने, इच्छित सेवा दिने प्रहरी संगठन मेरो सर्वोपरि लक्ष्य हो । यसका लागि म आफ्नो कार्ययोजना शीघ्र सार्वजनिक गर्नेछु ।
' नबनियुक्त आइजीपी कुबेरसिंह रानालाई कार्यसफलताको कामना गर्दै सम्पूर्ण नेपाली नागरिक हृदय देखिनै  हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । '

No comments:

Post a Comment