Thursday, May 9, 2013

नेकपा- माओबादी नेता गजुरेलको अपहरण प्रयास!

नयाँदिल्ली, फागुन २५ । 'म तपाईंलाई अपहरण गर्न आएको हिँड्नुस्' युवकले यति भन्दा सीपी गजुरेल 'गौरव' छक्क परे। उनी अकमक्क परिरहँदा युवकले थपे, 'के हेरिरहनुभएको छ, हिंड्नुहोस् तपाईं कब्जामा परिसक्नुभयो।' बौद्धिक डिस्कोर्समा बोलिसकेलगत्तै गजुरेलमाथि कडा रूपमा प्रस्तुत भएका युवक पछि हट्नेवाला थिएनन्। उनले कडा शब्दमा भने, 'तपाईंहरूले धेरैको अपहरण गरी श्रम शिविरमा राख्नुभयो। मचाहिँ बौद्धिक शिविरमा राख्छु।'
गजुरेलको अपहरण प्रयास गर्ने जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका सचिन घिमिरे हुन्। विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी सङ्गठनको हलमा २६ फेब्रुअरीमा गजुरेलले नेकपा-माओवादीको विदेशनीति र नेपालको विद्यमान राजनीतिक परिस्थितिबारे लामो भाषण गरेपछि घिमिरे आश्चर्यजनक ढङ्गले प्रस्तुत भए। अडियो रेकर्ड अन गरेर उनले आफ्नो परिचय दिँदै माओवादीले धेरै नाटक गरिसकेको र अब त्यसको अन्त गर्नका लागि आफू अपहरणको तयारीका साथ आएको बताए

चेतावनीका साथ बोलिरहँदा गजुरेलचाहिँ रातोपीरो भए। कार्यक्रम सञ्चालकले उनको बोली बन्द गर्न खोज्दासमेत रोकिएनन्। उल्टै भने, 'तपाईं कम्तीमा दुई दिन मेरो कोठामा बसेर मार्क्सवादको गहिरो अध्ययन गर्नुपर्छ।' मार्क्सवाद खारेका र त्यसलाई व्यवहारमा उतार्ने दाबीका साथ सक्रिय गजुरेललाई युवकले दिएको चुनौतीले हलमा रहेका सबैलाई आश्चर्यमा पार्यो्। सबै मूकदर्शक भए। अपहरण गरी दुई दिन कोठामा राख्दा सम्मानजनक व्यवहारसमेत गर्ने उनको भनाइ थियो। खाने, बस्ने उचित व्यवस्था सुनिश्चित गर्ने बताए। 
गजुरेललाई अपहरणमुक्त गराउनुअघि ड्यास माओवादी अध्यक्ष मोहन वैद्य किरणले आफूसँग बौद्धिक बहसमा सहभागी हुनुपर्ने माग राखे। उनले 
चुनौतीका साथ भने, 'म तपाईंको पार्टी अध्यक्ष मोहन वैद्य किरणसँग मार्क्सवादबारे बहस गर्न चाहन्छु, यदि उहाँले जित्नुभयो भने म आत्महत्या गर्छु तर हार्नुभयो भने पार्टी अध्यक्ष छाड्नुपर्छ र म तपाईंको पार्टीको नेतृत्व लिन्छु।' नाटकीय शैलीमा प्रस्तुत युवक पार्टी फुटाएर बल्लबल्ल अध्यक्ष बनेका वैद्यको कुर्सीसमेतमा आँखा लगाउँदै थिए। उनी थप्दै थिए, 'मैले घमण्ड गरेको भन्नुहोस् या जे भन्नुहोस् तर मेरो चुनौतीको सामना गर्ने साहस राख्नुहोस्।' 
गजुरेललाई अपहरण गर्ने धम्की आएपछि कार्यक्रममा उनका समर्थकहरूले राम्रै सुरक्षा दिए। कार्यक्रम सकिएपछि समेत युवक जाइलाग्दै अपहरण गरी कोठामा लैजाने बताउँदै नजिकिँदै थिए। गौरवचाहिँ चुपचाप बाटो लागे। 
कार्यक्रममा घडी हेर्दै लामो भाषण गरेका उनले भारतप्रति नरम विचार राखे। देशमा हुँदा भारतको कडा विरोध गर्ने उनको स्वभाव देखिएन। भारतीय कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनामा आक्रमण गर्नुको कारण बार्गेनिङ नै हो भने। तर, त्यो बार्गेनिङ नेपाली जनताको हितका लागि भएको दाबी गरे। भारतीय आयोजना रोक्ने उद्देश्य पार्टीको नभएकोसमेत बताए। देश भुटानीकरणतर्फ उन्मुख भएको र त्यसको प्रमुख जिम्मेवार प्रचण्ड र बाबुराम  भट्टराई नै भएको उनको आरोप थियो। जेएनयूको हलमा आएर उनले विद्यार्थीलाई बाबुरामजस्तो नबन्नसमेत आग्रह गरे। बाबुरामको कडा आलोचना गर्दै देशलाई सिक्किमीकरणतर्फ धकेल्न लागेको आरोप लगाए। चुनाव भइहाले भाग लिने या बिथोल्नेबारे उनी परिस्थिति र चुनावी प्रक्रियाले निर्क्योल गर्ने भन्दै पन्छिए।

No comments:

Post a Comment