मर्काजति सबै हामी महिलालाई ?
भनिन्छ, ‘गरिबलाई दिन्छु र रांडीलाई लान्छु नभन्नु ।’ यो भनाइ मात्र होइन, वास्तविकता पनि रहेछ । त्यस्तै वास्तविकताको फन्दामा परेकी अभागी हुं म । प्रेमको बदलामा धोका । यस्ता अनगिन्ती घटना छन् । तर, प्रेमको बदलामा जीवन र सम्पत्ति दुबै एकैपटक लुट्ने फटाहा पनि यही समाजमा छन् ।
मेरो विवाह भुटानको साम्चीमा सन् १९९० मा भएको हो, बिजुली राईसंग । अहिले जेठी छोरी २१, माइली १८, कान्छी १६, जेठो छोरो १२ र कान्छो १० वर्षको छ । बिजुलीले मेरो जीवन र जवानीसंग पांच सन्तान हुंदासम्म खेल्यो । ऊ मसंग धेरै रमायो । कारण, उसलाई श्रीमती होइन, मेरो जवानी मात्र चाहिएको रहेछ । छोरी जन्मिए । त्यसमा म धेरै खुसी थिएं । उसलाई छोरा चाहियो । तीन छोरी जन्मिएपछि बल्ल छोराको जन्म भयो । यसप्रकारले उसको इच्छाका खातिर मैले लगालग लैनो भैंसी जसरी सन्तान जन्माइरहें । तर, जब पांच सन्तानको जन्म भयो, उसले मसंग चाहेको जस्तो यौवन पाएन क्यारे । त्यसैले सौता हाल्यो । पांच सन्तानकी आमामाथि लोग्नेले सौता हाल्दा कस्तो हालत हुन्छ ? त्यो मैले भनिरहनु नपर्ला । यो संसारमा लालाबाला हुर्काउनुजस्तो कष्ट अरू के नै हुन्छ र । उसले सौता ल्यायो । ध्यान–चित्त त्यही सौतामाथि खन्यायो । त्यसमाथि हामी नेपाली जाति । भुटानमा नेपालीले बसिसक्नुको अवस्था रहेन । सन् २००५ मा मैले सम्बन्धविच्छेद गरें । यसपछि म सन्तान च्यापेर धरान गएं । मैले ती सन्तान हुर्काउंदा कस्तो र कति दुःख पाएं, शब्दमा भन्नै सक्दिनं ,।
‘दुःखीलाई प्रभुले हेर्छन्’ भन्थे । कता–कता त्यो कुरामा मलाई विश्वास हुन थाल्यो । युएनएचसिआर (शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग) र आइओएमको सहयोगमा नर्वे जाने सूचीमा नाम निस्कियो । भुटान हुंदै नेपालसम्मको गरिबी र दुःखलाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग र आइओएमले केही राहत दियो । नर्वेको अल्टामा पांच सन्तानसहित हामी बस्न थाल्यौं । छोराछोरीको शिक्षादीक्षाको प्रबन्ध पनि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग र आइओएमले गरिदियो । मैले नियमित शरणार्थी भत्ता पाउंदै आएको छु । त्यसरी जोगाएको पैसाले छोराछोरीको राम्रो भविष्य बनाउने, उनीहरू हुर्के-बढेपछि उनैबाट एउटी आमाले सुखद जिन्दगी पाउनेजस्ता आसमा म नर्वेमा बस्दै आएं ।
लोग्नेले नदिनु धोका दिइहाल्यो । उसले दिएको धोकाबाट जिन्दगीमा कस्ता–कस्ता दुःख खेपें, जुन आज म भन्न पनि सक्दिनं । तर, जिन्दगी दुःखको नाम रहेछ, दुःख नगरी सुख पाइंदैन भन्ने प्रभु यशुको आदर्शलाई पछ्याइरहें । नर्वेको राजधानी ओस्लोमा बस्ने नेपाली तारा भट्टराई (खास नाम गंगाराम) भन्नेले मेरो पैसा चलाएको थियो । तर, पैसा लगेको धेरै दिनमा पनि उसले मेरो पैसा फर्काएन । पराई भूमिमा म एउटी अवाला नारीका लागि त्यसरी पैसा उठाउनु निकै गाह्रो कुरा थियो । म सोझी मान्छेले विश्वासमा परेर पैसा दिइहालें । तर, वापस गर्ने उपाय मसंग केही भएन । यसैबीचमा अर्को नेपाली हरि चुडाल आयो । उसले गंगारामबाट सबै पैसा असुलिदिन्छु भन्यो । मलाई पनि त्यस्तै मान्छे चाहिएको थियो । उसले पैसा असुलिदियो भने बरु, उठेको पैसाबाट उसलाई पनि अलिकति सहयोग गर्छु भन्ने मनमा थियो ।
हामी अल्टामा थियौं तर गंगाराम बस्ने ओस्लोमा । त्यसैले हरिसंगै म पनि गंगारामलाई खोज्न उतै गएं । ऊ बसेको ठाउं पत्ता लाग्यो । तर, हामी पुग्दा पहिल्यै भागिसकेछ । उसलाई भेटिनसक्ने अन्य ठाउंमा पनि खोज्यौं । तर, भेटिएन । ओस्लोमै रात प¥यो । हरिले त्यति राति अल्टा जानुको सट्टा त्यहींको होटलमा बसौं भन्यो । मलाई पनि ‘हो’ जस्तो लागेर त्यहीं बस्यौं । उसले दुईटा रुम लिन्छ होला भनेको त, एउटै रुम पो लियो । महंगो पर्नाले खर्च जोगाउन खोज्यो होला भन्ने लाग्यो । राति सुत्ने बेला भयो । मैले उसलाई अर्को खाटमा सुत भनें । तर, मानेन । जबर्जस्ती शरीरमा हात हाल्यो । मैले भनें, ‘म बालबच्चा भएकी एउटी दुःखी र पांचवटा जीवन धान्ने जिम्मा भएकी आइमाई मान्छे हुं, ममाथि यस्तो खेलबाड नगर्नुस् ।’ तर, उसले छाडेन । ‘म तपाईंलाई जीवनभरका लागि साथ दिन्छु । तपाईं र म आजदेखि बूढा र बूढी भयौं’ भन्यो । यसो सोचें, ‘कसैले राम्रो मनले जीवनमै साथ दिन आउंछु भन्यो भने त्यसलाई किन नराम्रो मान्नु ?’
यसरी त्यो रातबाट हामीबीचमा शारीरिक सम्पर्क मात्र भएन, एकापसमा लोग्नेस्वास्नी हुन राजी पनि भयौं । भोलिपल्टदेखि नै उसले मसंग एउटी श्रीमतीसंग गर्नुपर्ने व्यवहार गर्न थाल्यो । मलाई मात्रै होइन, मेरा पांचैजना छोराछोरीलाई पनि माया ग¥यो । यसबाट उनीहरूलाई पनि विश्वास भयो कि, हामीले देउताजस्तो कान्छो बाउ पायौं भनेर । हरिकी आमा नरमायाले पनि ‘मलाई बुहारी मात्रै चाहिएको हो । नेपाली भए हुन्छ, जात जे भए पनि फरक पर्दैन’ भन्नुभएको थियो ।
नर्वेमा हरि ‘हिमाल’ भन्ने नाममा बसेको थियो । किनभने, ऊ त्यहां अवैधानिक रूपमा बस्दै आएको हो । उसले बैधानिकताका लागि भिसा अप्लाई गर्नुपर्ने काम बांकी थियो । ऊ नर्वेमै बसोस् भनेर मैले उसका लागि लाखौं खर्च गरें । तर, नेपालबाट भिसा अप्लाई गर्नुपर्ने कारण ऊ नेपाल फर्कियो । यतिबेलासम्म ऊमाथि आठ करोड ५० लाख खर्च भइसकेको थियो । भिसा प्रोसेसका लागि त केही लाख रुपैयां मात्र खर्च भएको हो । उसले मसंग सापटी भनेर धेरै पैसा लियो । मलाई पनि जीवनभर साथ दिनेलाई आफूसंग भएको पैसा दिन कुनै किसिमको हिचकिचाहट भएन । ऊ नेपाल गएर भिसा प्रोसेस सिध्याएपछि आउंछ भन्ने विश्वास थियो । तर, फर्किएर आएन । उसको घर झापाको बिर्तामोडमा पर्छ । घरमा सोधिखोजी गर्दा त्यहां छैन भन्ने जवाफ पाएं । काठमाडौंमा मेरो भाइ र सोल्टीहरूलाई उसलाई पत्ता लगाउन भनें । ऊ सुकेधारामा बस्थ्यो भन्ने कुरा उनीहरूले पत्ता लगाए । उसले त्यहां मेरै पैसाले ट्राभल एजेन्सी चलाएर बसेको रहेछ । मैले त्यो कुरा थाहा पाएपछि मेरो पैसा असुल्न वा ऊ नर्वे आउनेमध्ये एउटा कुराका लागि दबाब दिन थालें । त्यसपछि ऊ त्यहांबाट भागेर गोठाटार सरेछ । अहिले पनि गोठाटारमा बस्छ रे । ऊसंग सातवटा मोबाइल नम्बर छ । सातवटामध्ये एकपल्टमा एउटा नम्बर चलाउंछ । यहांदेखि फोन गर्न निकै हैरान भइसक्यो । मान्छे नफर्किए पनि म दुःखीको पैसा फर्काए हुन्थ्यो भनेको तर मैले कहींबाट न्याय पाउन सकिनं । उसले आमाको नाममा खोलेको खातामा पैसा राख्थ्यो । तर, अहिले खाता पनि चेन्ज गरेको छ । उसको कुनै कमाइधमाइ छैन । मबाट लगेको पैसाले अहिले काठमाडौंमा मोज गर्दै छ रे । मेरा छोराछोरीको भविष्यका लागि सांचेर राखेको पैसा विश्वासमा लुटेर लग्यो । म छोराछोरी हुर्काउने र उनीहलाई सुन्दर भविष्य दिलाउने मात्रै इच्छा भएकी आइमाईलाई उसले जीवन साथी बनाउंछु भनेर लुट्यो । म नेपाली दाजुभाइमा बिन्ती गर्छु, मलाई न्याय दिलाइदिनुपर्यो ।
सुकमाया राई, हालः अल्टा, नर्वे,
No comments:
Post a Comment