Friday, April 5, 2013

नेपालीद्वारा भारतमा आत्मदाह


एकै परिवारका तीनको मृत्यु, दुई सख्त-
सुरेन्द्र पौडेल, काठमाडौं, चैत २३ - भारतको गुजरात राज्यस्थित राजकोट नगर निगममा बस्दै आएका एकै परिवारका पाँच आप्रवासी नेपालीले बुधबार आत्मदाह गर्दा तीनजनाको मृत्यु भएको छ। 
करिब ४० वर्षदेखि बस्दै आएको घर भत्काउने प्रयास गरेपछि बुधबार राजकोट नगर निगम परिसरभित्रै उनीहरूले शरीरमा मट्टीतेल छर्केर आगो झोसेका थिए।
अछाम, कालावाल- ५ बाम्नगाउँ पुर्ख्यौली घर भएका पाँचमध्ये तीनजनाको बुधबार नै मृत्यु भएको हो। दुईको स्थिति गम्भीर रहेको जनाइएको छ। मृत्यु हुनेमा ४० वर्षे भरत विश्वकर्मा, श्रीमती ३१ वर्षे सवितादेवी र भाइ ३५ वर्षे गिरीश छन्। 
जलेर गम्भीर घाइते हुनेमा भरतकी ६० वर्षे आमा वासुमतिदेवी र भाइबुहारी २७ वर्षे रेखादेवी छन्। रेखादेवी कान्छाभाइ महेन्द्रकी श्रीमती हुन्।
'तीनजनाको मृत्यु भएको अस्पतालले घोषणा गरेको छ भने दुईजनाको अवस्था अत्यन्त नाजुक भनिएको छ,' घाइतेको उपचार भइरहेको स्थानीय पण्डित दीनदयाल उपाध्याय अस्पताल (राजकोट सिभिल अस्पताल) बाट टेलिफोनमा मृतक गिरीशका भिनाजु टेकबहादुर ताम्राकारले नागरिकसँग भने, 'उपचारमा संलग्न डाक्टरले घाइते दुवैको बाँच्ने सम्भावना न्यून रहेको बताएका छन्।' 
ताम्राकारका अनुसार गिरीशको घटनास्थलमै, भरत र सवितादेवीको अस्पतालमा मृत्यु भएको थियो। केही घन्टा उपचार प्रयासपछि चिकित्सकले बुधबार साँझ नै दुवैको मृत्यु घोषणा गरेका थिए। 
राजकोट नगर निगमपरिसर भित्र आत्मदाह गर्न विश्वकर्मा परिवारका सात सदस्य पाँच लिटर मट्टीतेल लिएर पुगेका थिए। तीमध्ये पाँचजनाले शरीरमा मट्टीतेल खन्याएर आगो लाउन भ्याएका थिए भने अन्य दुईलाई मट्टीतेल छर्कंदै गर्दा सर्वसाधारणले समातेर बचाएका थिए। सर्वसाधारणले मृतक गिरीशकी ७७ वर्षे हजुरआमा कान्तादेवी विश्वकर्मा र ३० वर्षे श्रीमती गौरीदेवी विश्वकर्मालाई आत्मदाह गर्नबाट रोकेका छन्।
'हामीलाई अस्पतालले शव बु‰न भनेको छ, तर बचेका सदस्यलाई उचित बास र घटनाका दोषीलाई कारबाही नभएसम्म शव नबु‰ने भनेर हडताल आह्वान गरेका छौं,' ताम्राकारले भने, 'हाम्रो हडताललाई स्थानीय, राजनीतिक दल, नेपाली समुदायले समर्थन गरेका छन्।'
घटनामा तीनजनाको मृत्यु हुनेबित्तिकै गुजरात राज्यको विपक्षी दल कंग्रेसले सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को घटनामा हात रहेको आरोप लगाउँदै बिहीबार राजकोट बन्द आह्वान गरेको थियो। बन्द आह्वानसँगै बिहीबार राजकोट पूर्ण रुपमा ठप्प भएको थियो।
ताम्राकारका अनुसार विश्वकर्मा परिवार करिब ४० वर्षअघि रोजगारको खोजीमा गुजरातको चौथो ठूलो सहर राजकोट पुगेको थियो। मृतक गिरीशका हजुरबुबा सुरक्षा गार्डको रूपमा परिवारसहित त्यहाँ पुगेका थिए। गिरीशका हजुरबुबा त्यहीँ सुरक्षागार्डको काम गर्दा गर्दै बिते भने बुबाको पनि दुई वर्षअघि मृत्यु भएको थियो।
विश्वकर्मा परिवारको राजकोट गान्धीग्राम छोटुनगर नौ सय स्क्वायर यार्डमा दुईकोठे घर थियो। गिरीशका हजुरबुबाले करिब ३५ वर्षअघि उक्त घर बनाएका थिए। सन् २००१ मा गुजरातमा २० हजारको ज्यान लिने र ४ लाख घर भत्काउने गरी आएको ७.७ रेक्टर स्केलको भूकम्पले विश्वकर्मा परिवारको घर चर्काएको थियो।
'१३ जना सदस्य रहेको घर कुन बेला भत्कने ठेगान नभएपछि तीन कोठाको नयाँ घर बनाउन एक वर्षअघि सुरु गरेका थियौं। पैसा नभएर ढलान गर्न नसकी छतमा जस्ता राखिएको थियो,' घर बनाउनुको कारण ताम्राकारले सुनाए।
विश्वकर्मा परिवारले घर बनाएको समाजका केहीलाई चित्त बुझेको थिएन। दस महिनाजति अघि उनीहरुले नगरपालिकामा उक्त घर भत्काउन उजुरी दिएका थिए। घर अवैध रुपमा बनेको भन्दै राजकोट नगर निगमले भत्काउन आदेश दिएको थियो। केही स्थानीयले गुन्डा लगाई उनीहरुलाई घरबाट लखेट्ने प्रयास गरेका थिए। ताम्राकारका अनुसार प्रहरीले पनि धम्काउने प्रयास गर्दै आएका थिए।
विश्वकर्मा परिवार भने उचित क्षतिपूर्ति र घर बनाउन अर्को ठाउँमा जग्गा नदिएसम्म घर नछाड्ने अडान लिई बसेका थिए। करिब एक महिनाअघि घर खाली गर्न निगमले सूचना टाँसेर गएको थियो। त्यसको १० दिन बित्न नपाउँदै निगमका कर्मचारी घर भत्काउन डोजर लिएर पुगेका थिए। घरको छतमाथि परिवारका सबै सदस्य उभिएर बसेपछि निगमले घर नभत्काई डोजर फर्काएको थियो। 
त्यसपछि पनि बारम्बार गुन्डा, प्रहरी र निगमका कर्मचारी गई घर नछाडे राम्रो नहुने भनी धम्क्याउँदै फर्कने गरेका थिए। दबाब झेल्न नसकेपछि मंगलबार विश्वकर्मा परिवारले घर नभत्काउन र भत्काइहाले पनि उचित क्षतिपूर्ति दिन अन्तिम आग्रह गर्ने निर्णय लिएका थिए। उनीहरुले आफ्नो माग निगमले नसुने निगम परिसरमै आत्मदाह गर्ने घोषणा गरेका थिए। यसको जानकारी उनीहरुले निगमलाई समेत गराएका थिए।
आत्मदाहअघि उनीहरुले निगमका कर्मचारीसँग केहीबेर छलफल गरेका थिए। 'साढे ११ बजेतिर निगम कार्यालयभित्रबाट एकएकजना जल्दै बाहिर निस्केको देखियो। निगमले माग पूरा नगरेपछि उहाँहरुले आत्मदाह गर्नुभएछ,' विश्वकर्मा परिवारका आफन्त कैलाली टीकापुर- ८ का भीम विकल तिरुवाले राजकोट अस्पतालबाट टेलिफोनमा भने, 'जमिन खाली गर्न भनी करिब एक वर्षदेखि दिएका मानसिक यातनाका कारण आत्मदाह गरेका हुन्। त्यत्रो वर्ष चौकीदारी गरेको पगार मागेका थिएनन्, अब बाँचेकालाई खाने व्यवस्था यहाँको सरकारले नगरेसम्म हामी शव बुझ्दैनौं।'
इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले निगमका मेयर जनक कोटाकले पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ र कंग्रेसले एक लाख राहत दिने घोषणा गरेको लेखेको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनामा नेपाली समुदाय परे-नपरेको थाहा नभएको जनायो। यथार्थ बुझ्न भारतीय विदेश मन्त्रालयलाई अनौपचारिक आग्रह गरिएको दूतावासले जानकारी दियो।

No comments:

Post a Comment