Wednesday, April 3, 2013

आमने-सामने दुई कोरिया : नेपालीहरुलाई पनि असार पर्ने

उत्तर कोरियाको सेना मार्चपास गर्दै 
काठमाडौ, चैत्र १६ - 

उत्तर र दक्षिण दुवै कोरिया नेपाली मस्तिष्कमा विशिष्ट विम्बका रूपमा छन् । रेमिट्यान्सवालाको सपना हो- दक्षिण कोरिया । 
अमेरिका/युरोप हानिन नसक्ने, खाडी/मलेसिया के जानु ! भन्ने मध्यम वर्गको 'लाहुर गन्तव्य' । जब त्यता जोतिन जान पाउने योग्यता नाप्न मुलुकमा परीक्षा खुल्छ, हाम्रा युवाको अभूतपूर्व ताँती लाग्छ । शक्तिशाली क्यामराको 'फिस लेन्स' ले खिच्न पनि हम्मे पर्ने त्यही दृश्य हाम्रो मानसपटलमा दक्षिण कोरिया बुझ्ने गहिरो छाप हो । त्यस्तै, जतिखेर यहाँ संविधानसभा जिउँदै थियो, गरमागरम सैद्धान्तिक बातचित चल्दथे । कम्युनिस्ट अगुवा मोहन वैद्य र बाबुराम भट्टराई, विद्यावारिधिका बहुलवादको खिलाफमा संकथनहरू बजारमा आउँथे, अनि पढेलेखेका नेपाली उत्तर कोरिया नसम्झी धर पाउँदैनथे । यसरी फरक-फरक प्रसंगमा दुवै कोेरिया हाम्रो दिमागमा जबर्जस्त उपस्थित छन् ।
एउटै कोरियाली प्रायद्वीपका यी दुई मुलुकको सम्बन्ध दुश्मनजत्तिकै छ । हालै मात्र उत्तर कोरियाले पुरानो युद्धविरामको औचित्य नभएको भन्दै दह्रो धम्की दिएको छ । आणविक शस्त्र सम्पन्न उसको यस्तो चेतावनीले के साँच्चिकै युद्ध निम्त्याउला ? कदाचित त्यस्तो भइहाले यिनीहरूको वास्तविक शक्ति के-कस्तो छ ? र, अरू नालिबेली के-के हुन् ? प्रस्तुत छ यिनै दुई कोरियाको सम्बन्ध सार ः

जन्मजात झगडा 
उदार पुँजीवादी दक्षिण र 'आत्म-निर्भर' दर्शन नाम दिइएको कम्युनिस्ट वंशवादी उत्तर कोरियाबीच झगडाको ऐतिहासिक विरासत छ । यसलाई बुझ्न यी दुई मुलुकको जन्मसम्म पुग्नुपर्ने हुन्छ ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धपछि कोरियाली प्रायद्वीपमा जापानी उपनिवेश समाप्त भयो । उत्तर कोरियामा रुसी सेनाले कब्जा जमाए, दक्षिणमा अमेरिकी सेनाले । त्यसको अर्को वर्ष कोरियाली मजदुर पार्टीका नाममा उत्तर कोरियामा कम्युनिस्ट पार्टी जन्मियो । रुसको सहयोगमा नेतृत्व स्थापना गरियो । नेता किम इल सुङलाई लालसेनाले तालिम दियो । १९४८ मा जनतान्त्रिक गणतन्त्र कोरिया -उत्तर) घोषणा भयो । सोभियत सेना फर्कियो । १९५० मा दक्षिणले पनि गणतन्त्र कोरियाका नाममा आफूलाई स्वतन्त्र घोषणा गर्‍यो । दुवै मुलुकले कोरियाली प्रायद्वीपमाथि आफ्नो सम्प्रभुता भएको दाबी गरिरहे । जुन युद्धको कारण बन्यो । १९५० जुन २५ मा उत्तर कोरियालले अचानक दक्षिणतिर छिरेर धावा बोल्यो । दक्षिणी फौज सजिलै पराजित भयो । उसको सहयोगका लागि अमेरिका आयो । राष्ट्रसंघ, दक्षिण कोरिया र अमेरिकाले जवाफी कारबाही थाले र उत्तरको भूमि कब्जामा लिए । त्यसपछि उत्तरको साथ दिन माओत्सेतुङले चीनबाट फौज पठाए । अनि, सुरुमा युद्धको समर्थन गर्न हिच्किचाएका रुसी शासन जोसेफ स्टालिनले पनि उत्तरको आक्रमणलाई अनुमोदन गरे । आजपर्यन्त चीन उत्तर कोरियाको साथी हो भने अमेरिकाले दक्षिणलाई सघाउँछ ।
उक्त युद्धले भयंकर क्षति पुर्‍यायो । झन्डै ३० लाखको ज्यान लियोे । १२ लाख जति दक्षिण कोरियाली, १० लाख उत्तर कोरियाली, झन्डै ४० हजार अमेरिकी र ६ लाख चिनियाँ फौज मारिए । हजारौं परिवार विच्छेद भए । अन्तमा दुई देशको सीमाबीच अढाइ माइल चौडा र १ सय ५५ माइल लामो 'डिमिलिटिराइज्ड जोन' सिर्जना गरी जुलाई २७, १९५३ मा युद्धविराम सम्झौता भयो । तर शान्ति सम्झौता भएन । त्यसैले प्राविधिक रूपमा दुई कोरिया सधैं युद्धमा रहे/छन् । 

तनावका पछिल्ला कोसेढुंगा
२००२ जनवरीमा अमेरिकाका तत्कालीन राष्टपति जर्ज डब्लु बुसले उत्तर कोरियालाई इराक र इरानसँगै 'दुष्टको सूची' मा राखे । प्योङयाङ -उत्तर कोरियाली राजधानी) ले बुसले युद्ध घोषणा गर्न नरोकेको प्रतिक्रिया दियो । त्यही जुनमा 'यलो सी'मा दुई कोरियाको भिडन्त भयो । उत्तरका ३० र दक्षिणका ४ नाविक मारिए । त्यसै अक्टोबरदेखि तनाव बढ्यो । अमेरिकाले उत्तर कोरियाले गोप्य हतियार कार्यक्रम बनाएको आरोप लगायो । पानीजहाजबाट त्यहाँ सामान लैजान अवरुद्ध गर्ने निर्णय गर्‍यो । प्योङयाङले पनि डिसेम्बरमा योङब्योन भट्टी सुरु गर्‍यो । अन्तराष्ट्रिय निरीक्षकहरूलाई निकालिदियो । अर्को वर्ष उसले परमाणु प्रसार निरोधक सन्धिबाटै हात झिक्यो । अनि, आफूसँग आणविक बम बनाउन प्रशस्त प्लुटोनियम रहेको दाबी गर्‍यो ।
प्योङयाङले सन् २००६ मा सफलतापूर्वक आणविक हतियार परीक्षण गरेको बतायो । त्यसले विश्व राजनीतिक मञ्चमा ठूलो तरंग ल्यायो । त्यसयता उसको विश्वशक्ति र दक्षिण कोरियाबीच यसै विषयलाई लिएर माथापच्ची चलिरहेको छ । 
सन् २००८ मा आएर खासगरी दक्षिण कोरियाका तत्कालीन राष्टपति ली म्युअङ बाकले उत्तरप्रति अलि कडा रबैया अपनाउन थाले । नरम नीति अख्तियार गर्ने आफ्ना पूर्ववर्तीहरूको 'सनसाइन पोलिसी' अन्त्य गरी उनी नयाँ ढंगले अघि बढ्न चाहे । त्यसले तनाव अझ बढाउँदै लग्यो । 
२००९ अपि्रलमा उत्तर कोरिया आफ्नो आणविक गतिविधि बन्द गर्नका खातिर भइरहेको अन्तर्राष्ट्रिय वार्ताबाट पछि हट्यो । त्यसको अर्को महिना उसले दोस्रो भूमिगत आणविक परीक्षण गर्‍यो । त्यतिमात्र होइन, उसले सन् १९५३ को युद्धविरामबाट आगामी दिनमा नबाँधिनेसमेत बतायो । २०१० मा दुई देशबीचको तनाव फेरि उचाइमा पुग्यो, जब दक्षिणले उसलाई आफ्नो युद्धपोत 'चेनोन' डुबाएको आरोप लगायो । उत्तरले उक्त आरोपको प्रतिवाद मात्र गरेन सोल -दक्षिण कोरियाली राजधानी) सँगको सबै सम्बन्धसमेत तोड्यो । त्यसै वर्षको अगस्टमा अमेरिकाले कडा प्रतिबन्ध लगाएपछि उसले फेरि सम्बन्ध बढाउन सुरु गर्‍यो । आफ्नो चीन भ्रमणका क्रममा तत्कालीन नेता किम जोङ-इलले ६ शक्ति  -दुई कोरिया, चीन, अमेरिका, रुस र जापान) को वार्ता फेरि सुरु गर्ने संकेत दिए । र, आफ्नो देशको बाढीपीडितका लागि दक्षिणी सहयोग लिन राजी भए । 
यसैबीच २०११ डिसेम्बरमा किम जोङ-इलको निधन भयो । उनका साइला छोरा किम जोङ-उनले शासन सम्हाले । अमेरिकाबाट खाद्यान्न सहयोग पाउन उनले फेब्रुअरी २०१२ मा लामो दूरीका मिसाइल परीक्षण स्थगित गरे । विडम्बना, लगत्तै अपि्रलमा किम इल सुङको जन्मदिन मनाउन क्षेप्यास्त्र परीक्षण गर्ने घोषणा गरे । भलै, त्यो परीक्षण सफल भएन । अक्टोबरमा उनले आफूसँग अमेरिकाको मुख्य भूमिमै प्रहार गर्न सक्ने मिसाइल भएको उद्घोष गरे, जसले सोल र वासिंटनलाई नराम्ररी झस्कायो । लगत्तै डिसेम्बरमा प्योङयाङले उपग्रह प्रक्षेपण गर्‍यो र शक्तिशाली क्षेप्यास्त्र बनाइरहेको संकेत दियो । जसको राष्ट्रसंघ, अमेरिका, जपान र चीनले समेत आलोचना गरे । सिलसिला त्यत्तिकै रोकिएन । ऊ बाँकी विश्वलाई बिच्काउन डटेर लागिरह्यो । 
२०१३ जनवरीमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यसको निन्दा गर्नेबित्तिकै उसले उसले उच्चस्तरीय आणविक परीक्षण सञ्चालनकै तयारी गरिरहेको घोषणा गर्‍यो । र, लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपणको अभ्यास गर्‍यो, जुन अमेरिकाप्रति लक्षित थियो । त्यसको एक महिनापछि फेब्रुअरीमा उसले पूर्वघोषणाबमोजिमै तेस्रो आणविक परीक्षण गरेर आफ्नो 'ताकत' दुनियाँलाई देखाइदियो । त्यसको परिणामस्वरूप उसले  सुरक्षा परिषद्को प्रतिबन्ध बेहोरिरहेको छ, मुद्रा ओसारपसार र आफ्ना कुूटनीतिज्ञको यात्रामाथि ।

ताजा धम्की
फेब्रुअरी १२ को आणविक परीक्षणविरुद्ध सुरक्षा परिषद्ले कडा प्रतिबन्ध लगाएपछि दुई साताअघि उत्तर कोरियाली सेनाले १९५३ को युद्धविराम सम्झौता अमान्य भइसकेको दोहोर्‍यायो । सत्तारुढ मजदुर पार्टीको मुखपत्रले नै उक्त खबर छापेको थियो । त्यतिमात्र होइन, उसले दक्षिण कोरियासँगको प्रत्यक्ष टेलिफोन सम्पर्कसमेत विच्छेद गर्‍यो । अमेरिकाले युद्धविराम सम्झौतालाई मृत्यु पत्रका रूपमा सीमिति गरेको आरोप लगायो । 'सर्वोच्च कमान्डले जहाँ जतिबेला पनि न्यायको मार हान्न तयार रहेको र त्यसलाई युद्धविराम सम्झौताले नछेक्ने बताएको' सरकारी मुखपत्र 'द रोडोङ सिन्मुन' मा उल्लेख छ । त्यसो त, उसले यसअघि पनि उक्त सम्झौतालाई पटक-पटक अमान्य घोषणा गरेको थियो । २००९ मा र त्यसअघि २००३ मा उसले युद्धविराम सम्झौतालाई सम्मान गर्न छोड्नुबाहेक आफ्नो मुलुकसँग अन्य विकल्प नभएको जनाएको थियो ।

अब के होला ?
युद्धविराम सम्झौताको औचित्य सकिएको भन्दै आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थर्काएपछि अब के होला ? 'दुई देशबीच द्वन्द्व सुरु हुन्छ, यदि उनीहरू त्यस्तै चाहन्छन् भने,' सीएनएनले आफ्नो वेबसाइटमा लेखेको छ, 'सैनिक झडप भयो भने त्यसले अमेरिकालाई निम्ता दिने खतरा हुन्छ । दक्षिण कोरियमा साढे २८ हजार अमेरिकी सैनिक तैनाथ छन्, दुई देशबीचको सुरक्षा गठबन्धनको एक भागका रूपमा ।' 
कतिपय विश्लेषक दक्षिण कोरियाले भने यस धम्कीलाई 'प्योङयाङको परिचित लबज' का रूपमा लिएको बताएका छन् । तर दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता किम मिन-सोकको सार्वजनिक भनाइ भने निकै कडा छ । 'यदि उत्तर कोरियाले आफ्नो आणविक हतियारले दक्षिणमा आक्रमण गर्छ भने यस पृथ्वीको मुहारमा किम जोङ उनको सत्ताको अस्तित्व नै मेटिनेछ,' उनले भनेका छन् । त्यसो त, उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेपछि दक्षिणले पनि क्रुज मिसाइल परीक्षण गर्‍यो । चुस्त भनिएको यो हतियारबारे कतिसम्म दाबी गरिएको छ भने, यसले उत्तर कोरियाली सैन्य कमान्डरको झ्यालमै ताकेर प्रहार गर्न सक्छ । प्योङयाङको निरन्तर धम्कीका कारण दक्षिणमा पनि आणविक हतियार बनाउनुपर्ने आवाज केही टिप्पणीकारले उठाएका छन् । यसका लागि मुलुक साधन स्रोतले सम्पन्न भएको उनीहरूको भनाइ छ ।

कसको ताकत कति ? 
धम्की त प्योङयाङले सोललाई मात्र हैन, अमेरिकालाई नै दिइसकेको छ । भलै, विश्लेषकहरू यसलाई चाहिँ अलि खोक्रो ध्वाँस मान्छन् । उनीहरूका अनुसार वास्तविक चुनौती दक्षिण कोरियालाई छ । प्योङयाङका आणविक हतियार र क्षेप्यास्त्रबाट कोही बढी डराउनुपर्छ भने त्यो सोल नै हो । उत्तर कोरियाली सेना ऊभन्दा धेरै गुणा समृद्ध दक्षिणका भन्दा 'डरलाग्दा' छन् । उनीहरू संख्यामा धेरै छन् । हतियार तथा उपकरणमा पनि । उत्तरका करिब १२ लाख सक्रिय सेना दक्षिणका ६ लाख ४० हजार समकक्षीहरूसित भिड्न तम्तयार छन् । दक्षिणका साथमा थप साढे २८ हजार अमेरिकी सैनिक तैनाथ छन् । 
उत्तरको युद्ध-शक्तिको भय दक्षिणलाई सधैं छ । गएको डिसेम्बरमा जारी उसको रक्षा नीतिमा उत्तरसँग अग्रपंक्तिमा रहेका हतियारले 'अचानक र भारी' मात्रामा आफ्नो राजधानी सोलमा गोलाबारी गर्न सक्ने उल्लेख छ । सोल दुई कोरियालाई छुट्याउने 'डिमिलिटिराइज्ड जोन' बाट केवल ५० किलोमिटर मात्र टाढा छ । 'उदेकलाग्दो सत्य के हो भने उत्तर कोरियाको सैन्य शक्ति हाम्रोभन्दा बलियो छ,' सोलस्थित कोरिया इकोनोमिक रिसर्च इन्स्िटच्युटले आफ्नो प्रतिवेदनमा भनेको छ, 'हामीले के सम्झनुपर्छ भने सैनिक संख्या र आक्रामक युद्धका लागि तिनको संरचना र तैनाथि ।' 
उत्तर कोरियासँग तोप मात्रै १२ हजार छन् । तीमध्ये धेरैलाई सीमा नजिकै राखिएको छ । ऊसँग मध्यम दूरीमा हान्न सकिने मिसाइलको शस्त्रागारसमेत छ । तीमध्ये केहीले ३ हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइन्छ । यसको मतलब, ती मिसाइलले दक्षिण कोरिया, जापान र अमेरिकी टापु गुआमसम्म हान्न सक्छन् । ऊसँग पनडुब्बीसमेत छन् ।
सन् २०१० मा ४६ माझीको ज्यान जानेगरी उत्तर कोरियालीे पनडुब्बीले दक्षिणको जहाज डुबाएको विश्वास गरिन्छ । प्योङयाङले भने यो मान्दैन । त्यसै वर्ष उत्तरले दक्षिणको टापुमा गोलावारी गर्दा सर्वसाधारणको ज्यानसमेत गएको थियो । तर उत्तर कोरियाली सेनाको शक्तिलाई लिएर भने प्रश्न गरिन्छ । उनीहरूको तालिम कमजोर छ । टन्न खाना पाउँदैनन् । कडा परिश्रम र खेतीमा लगाइन्छ । स्रोतहरू प्रशस्त छैनन् ।
उत्तर कोरियाली हवाई बलसँग ८ सय २० वटाभन्दा बढी लडाकु जेट छन् । तर, दक्षिण केरियाली रक्षा मन्त्रालयका अनुसार ती विमानलाई सामरिक उडानका लागि प्रशस्त इन्धन छैन । दक्षिणसँग भने यस्ता विमान ४ सय ६० वटा छन् । दक्षिण कोरियाका अनुसार उत्तर कोरियासँग ४ हजार २ सय ट्यांक छन् । तर सोलसँग भने २ हजार ४ सयवटा मात्र छन् । तर आफ्ना थोरै भए जति सबै आधुनिक र दुरुस्त भएको दक्षिणको दाबी छ । 
प्योङयाङसँग ६ देखि ८ वटा आणविक हतियार र पाँच हजार मेटि्रक टनसम्म जैविक तथा रासायनिक हतियार छन्, जसले मध्यम खालको औद्योगिक सहर ध्वस्त गर्न सक्छ । त्यसैले त्यहाँको आणविक -गैरपरम्परागत) सेनालाई आफ्ना हतियार भण्डार गरेर राख्ने चुनौती छ । उत्तर कोरियाले गत डिसेम्बरमा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दा साना आणविक हतियार पनि विकास गरेको दाबी गरेको थियो । उक्त क्षेप्यास्त्र उसले पहिलोचोटि पृथ्वीको कक्षमा राखेको थियो । यस घटनाले प्योङयाङले अन्तरमहादेशीय आणविक मिसाइल बनाउन सक्ने गरी प्रगति गरिरहेको देखाएको थियो । तर दक्षिण कोरियाली विशेषज्ञ गत डिसेम्बर १२ मा लन्च गरिएको भनिएको उन्हा-३ प्रति शंका गर्छन् । विश्लेषकहरूका अनुसार उसले आफ्नो आणविक क्षमतामा जति विस्तार गरेको भए पनि अमेरिकी महादेशमै आक्रणम गर्न भने अझ निकै वर्ष लाग्नेछ ।
विज्ञहरूका अनुसार प्योङयाङको क्षमता तथ्यांकले बोल्ने जत्तिकै भने छैन । परम्परागत सेना स्रोतको कमीले गर्दा युद्धमा अल्भिरहन मात्र सक्छ । 'उत्तर कोरियाका लागि परम्परागत सेना धेरै महँगो र धानिनसक्नु हुन्छ । लडाइँ चलेमा यो चाँडै धन युद्ध बन्नेछ र त्यो उत्तरले जित्नेछैन,' सोलस्थित कोरिया डिफेन्स नेटवर्कका रक्षा विशेषज्ञ सिन इन-क्युनलेको दाबी छ । त्यसमाथि उत्तरले आणविक हतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रविधिमा जोड दिइरहेको छ ।  

सम्बन्ध सुधारका प्रयन्न 
त्यसो त दुई कोरियाले मित्रवत सम्बन्ध विस्तार गर्न खोजेको पनि देखिन्छ । सन् १९७२ मा उनीहरूले यसका लागि गोप्य वार्तासमेत गरे । १९९१ मा दुवै मुलुकले राष्ट्रसंघको सदस्यता लिए । त्यसको अर्को वर्ष 'इन्टरनेसनल एटमिक इनर्जी एजेन्सी' को अनुगनका लागि उत्तर कोरिया राजी भयो । तर त्यसको दुई वर्षसम्म उसले आफ्ना हतियार उत्पादनस्थल भनेर शंका गरिएका ठाउँहरू देखाएन । सन् १९९४ मा उत्तर कोरिया आफ्ना आणविक कार्यक्रम रोक्न तयार भयो, तर ५ अर्ब अमेरिकी डलर बराबरको निःशुल्क इन्धन र दुईवटा आणविक भट्टी उपलब्ध गराउने सर्तमा । अर्को वर्ष अमेरिका उसलाईर् दुईवटा आधुनिक आणविक भट्टी -कम हतियार उत्पादन गर्ने रेडियोधर्मी बनाउने) उपलब्ध गराउन तयारसमेत भयो । 
सन् २००० मा यी दुई देशबीच प्योङयाङमा किम जोङ इल र दक्षिण कोरियाली राष्ट्रपति किम दाइ जुङबीच ऐतिहासिक 'ह्यान्डसेक' समेत भयो । उत्तरले दक्षिणविरुद्धको प्रोपोगान्डा प्रसारण रोक्यो । खुला सञ्चारका लागि दक्षिण कोरियाली पत्रकारले उत्तरको भ्रमण गरे । दुई देशबीचको 'नो म्यान जोन'मा सम्पर्क कार्यालय फेरि खोलिए । दक्षिण कोरियाले ३ हजार ५ सयभन्दा बढी बन्दीलाई आममाफी दियो । एक सय उत्तर कोरियालीले दक्षिणमा रहेका आफ्ना आफन्त भेटे । एकदमै भावुक क्षण थियो, त्यो । त्यसो त, २ हजार दक्षिण कोरियालीबीच गरिएको एक सर्वेक्षणमा एक तिहाइले उत्तर कोरियालाई छिमेकीका रूपमा लिएका थिए । त्यस्तै त्योभन्दा केही कमले उत्तरलाई 'आफूहरूमध्येको एक'का बुझेका थिए । केवल १९ प्रतिशतले शत्रु, १० प्रतिशतले अपरिचित भनेका थिए भने ६ प्रतिशतले उत्तर दिन चाहेका थिएनन् । 
सन २००१ मा स्विडेनका तत्कालीन प्रधानमन्त्री गोरान पेर्सन नेतृत्वको टोलीले उत्तर कोरिया भ्रमण गर्‍यो, उसको दक्षिणसँगको सम्बन्ध सुधार्न । त्यो प्योङयाङ भ्रमण गर्ने अहिलसम्मकै उच्च पश्चिमा टोली हो । त्यस्तै, सन २००७ मा ५६ वर्षपछि दुई देशका रेलहरूले एक अर्काको सिमाना पार गरे । दक्षिण कोरियाले उत्तरलाई मल, चामललगायतका आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । केही दक्षिण कोरियाली कम्पनीले उत्तरका हजारौं कामदारलाई रोजगारीसमेत दिएका छन् ।
यसबीचमा ६ शक्ति राष्ट्रले उत्तर कोरियाली परमाणु समस्या सल्टाउने प्रयास नगरेका पनि होइनन् । तर प्योङयाङको तीव्र महत्त्वाकांक्षाका कारण उनीहरूले दीर्घकालीन समाधान निकाल्न सकेका छैनन् ।

वियुक्त र विपन्न उत्तर 
उत्तर कोरियामा संस्थापक नेता किम इल- सुङको गहिरो राजनीतिक छाप छ । उनले जुचे -आत्म-निर्भर) नामक व्यक्तिगत दर्शन प्रतिपादन गरे र त्यसैअनुसार मुलुकको विकास चलाए । सन् १९९४ मा उनको निधन भयो, छोरा किम जोङ इलले शासन गरे । गत वर्ष तिनी पनि बिते, नाति शासनमा छन् । तर राष्ट्रपतिको पदचाहिँ सधैंका लागि उनकै नाममा सुम्पिइएको छ । १९७२ मा मुलुकले नयाँ संविधान अँगालेसँगै माक्र्सवादी लेनिनवादी सिद्धान्त प्रतिस्थापन गर्दै आधिकारिक रूपमै जुचे अँगाल्यो । २००९ सम्म आइपुग्दा उसले आफ्ना संवैधानिक तथा कानुनी दस्तावेजबाट साम्यवाद पनि हटाइसक्योे । रुसी महासंघको पतनसँगै उत्तर कोरियाले महत्त्वपूर्ण व्यापारिक तथा रणनीतिक साझेदार गुमायो । मुलुकको प्राथमिकता विकास र समृद्धिभन्दा पनि किम जोङ इलले अँगालेको 'सेना पहिला' भन्ने नीतिमा छ । उसको विश्व परिचय नै सर्वसत्तावादी, स्टालिनिस्ट र तानशाही बनेको छ । ऊ विश्वकै सबैभन्दा कम प्रजातान्त्रिक सूचकांक भएको मुलुकका रूपमा चिनिन्छ । दातृ निकायहरू भन्छन्, 'उत्तर कोरिया तन्नम छ ।' प्राकृतिक विपत्ति, आर्थिक अव्यवस्थापनका कारण खाद्यान्न अभावले सन् १९९० को दशकको मध्यदेखि यता मात्रै बीस लाखले ज्यान गुमाएको उनीहरूको अनुमान छ । अढाइ करोड जनसंख्या भएको मुलुकमा पुरुषको सरदर आयु ६६ र महिलाको ७२ वर्ष छ । प्रतिव्यक्ति आय १ हजार ८ सय अमेरिकी डलर छ । उसले निर्यात गर्ने वस्तु भनेको खनिज, धातु र सिमेन्ट मात्र हुन् । 
दमनको कुरा गरिसाध्ये नभएको आरोप अधिकारवादीहरूको छ । यातना, सार्वजनिक मृत्युदण्ड, दास श्रम, जबर्जस्ती भू्रण हत्या, कैद शिविरहरूमा शिशुहत्या गरिने आरोप पश्चिमा मानवअधिकारवादी संगठनहरू लगाउँछन् । त्यहाँको कैद शिविरमा दुई लाखभन्दा बढी राजनीतिक बन्दी रहेको अनुमान छ । 
अभाव पनि अचाक्ली छ । विद्युत पर्याप्त छैन । अहिलेसम्म ब्रोडब्याड डाटा नेटवर्क नै छैन । सीआईएको फ्याक्टबुकअनुसार देशका सबै भाग एनालग प्रविधि छ । निश्चित सम्भ्रान्त वर्गसँग कम्प्युटर र 'इन्ट्रानेट' सुविधा छ । इन्टरनेट र अन्तर्राष्टिय मोबाइल फोनमा प्रतिबन्ध छ । मुलुकमा भएका करिब साढे ४ लाख मोबाइल टेलिफोनबाट देशभित्र मात्र कुरा गर्न मिल्छ । स्वतन्त्र सञ्चार माध्यम छैनन् । विदेशी प्रसारण सुन्नसमेत प्रतिबन्ध छ ।
बाहिरी विश्वसँग अन्तरक्रिया गर्न नचाहने भए पनि उसको दौत्य सम्बन्ध भने १ सय ६१ देशसँग छ । तीमध्येका ४२ देशमा उसको दूतावासै छन् । बेलायत र जर्मनीलगायत करिब दुई दर्जन मुलुकको प्योङयाङमा आवासीय मिसन छ । युरोपेली मुलकमध्ये पान्स र इस्टोनियाको मात्रै उत्तरसित दौत्य सम्बन्ध छैन ।
पर्यटन सरकार नियन्त्रित छ । भलै प्योङयाङले हालैका दिनमा यसको महत्त्व बुझेको देखिन्छ । बीबीसीका अनुसार बर्सेनि सालाखाला १ हजार ५ सय पश्चिमा पर्यटकले यो देश घुम्छन् । अधिकांश विदेशी पत्रकारलाई विमानस्थलबाटै आफ्नो मोबाइल फोन लान दिइन्न । तर एपीका अनुसार यो व्यवस्थालाई केही खुकुलो बनाइँदै गएको देखिन्छ ।

उदार र समृद्ध दक्षिण
दक्षिण कोरिया भने एसियाकै एक उदियमान राष्ट्र हो । सुरुवाती चार दशक त्यहाँ तानाशाही शासन चले पनि सरकार प्रायोजित योजनाले व्यावसायिक घरानालाई प्रोत्साहन दियो । फलस्वरूप स्यामसुङ, हुन्डाईजस्ता समूह जन्मिए । जसले दक्षिण कोरियालाई संसारकै ठूलामध्येको एक अर्थतन्त्र र कार तथा विद्युतीय सामानको अग्रणी निर्यातकर्ता बनायो । अहिले यस मुलुकको अर्थतन्त्र एसियामा चौथोे -चीन, जापान र भारतपछि) र विश्वमा तेह्रौं स्थानमा छ । 

दक्षिण कोरियामा सन् १९८७ मा आएर मात्रै बहुदलीय प्रणाली पुनः स्थापना भयो । र, तत्कालीन राष्ट्रपति तेइ-वुले आफ्नै दल अनि पूर्ववर्तीहरूमाथि भ्रष्टाचारविरोधी अभियान थाले । जसले मुलुक शुद्धीकरणमा मलजल गर्‍यो । सन् १९८८ मा उसले मुलुकमै पहिलो स्वतन्त्र संसदीय चुनाव मात्र गरेन, सोलमा ओलम्पिक खेलसमेत आयोजना गर्‍यो ।
करिब ५ करोड जनसंख्या भएको दक्षिण कोरियामा पुरुषको औसत आयु ७७ र महिलाको ८४ वर्ष छ । दुवैमा उत्तरको तुलनामा दस वर्षभन्दा बढी अन्तर छ । प्रतिव्यक्ति आय उत्तरको भन्दा दसौं गुणा बढी करिब २३ हजार अमेरिकी डलर छ । विद्युतीय सामान, मेसिन र यातायातजन्य सामग्री उसले निर्यात गर्ने मुख्य वस्तु हुन् ।


                             -एजेन्सीहरुको सहयोगमा)

No comments:

Post a Comment