पाँचखाल, काभ्रे, चैत्र २६ - नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले नेपाली सेनालाई एक करोड ७० लाख अमेरिकी डलर (करिव ९४ करोड नेपाली रुपैयाँ) बराबरको सहयोगको घोषणा गरेका छन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा अभ्यास 'शान्ति प्रयास-२' को समापन कार्यक्रममा बोल्दै आइतबार उनले अमेरिकी सरकारका तर्फबाट हुने सहयोगको घोषणा गरेका हुन् । नेपाली शान्ति सेनाको क्षमता अभिबृद्धि र तालिम केन्द्रको भौतिक संरचना, सुविधा, तालिम र तालिम सामाग्रीका लागि सहयोग दिन लागिएको उनले जनाए ।
राजदुत बोडीले राष्ट्रसंघको उद्देश्य प्राप्ती र अन्तर्राष्ट्रिय जगतमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकामा आपसी स्वार्थ र विश्व शान्तिको लागि अमेरिकी सरकारले सदैव सकारात्मक सहयोग गर्ने बताए । राजदूत बोडीले शान्ति मिसनमा योगदान दिने प्रमुख मुलुकका सेनामध्ये एक नेपाली सेना भएको र विश्व शान्ति स्थापनाका लागि ५ दशकभन्दा बढी समयदेखि पुर्याउंदै आएको सहयोगको प्रंशसा गरेका थिए ।
प्रधानसेनापति गौरवशमशेर जबराले दुई साताअघि चैत १२ गतेबाट सुरु भएको अभ्यासको समापन गरेका हुन् । अभ्यास नेपाली सेना र संयुक्त राज्य अमेरिकाको युनाइटेड स्टेट प्यासिफिक कमाण्डको संयुक्त संयोजकत्वमा ग्लोबल पिस अपरेसन इनिसियटिभअन्तर्गत संचालित भएको हो ।
कार्यक्रममा प्रधानसेनापति जबराले राष्ट्रसंघका महासचिव वान कि मुनको एक अभिव्यक्तिको स्मरण गर्दै अहिलेको बृहत परिप्रेक्ष्यमा शान्ति स्थापनामा सहभागी हुने शान्ति सैनिक कार्य सम्पादन गर्न पेशेवर, घुलनशील र दूरदर्शी क्षमताले परिपूर्ण हुनुपर्ने आवश्यकता औल्याए । 'सोही उद्देश्य प्राप्तिका लागि संचालित यस तालिम अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि क्रियाशील मित्रराष्ट्रबीच बलियो साझेदारी कायम गर्न र विभिन्न शान्ति स्थापना कार्यमा प्राप्त अनुभवहरुलाई एक आपसमा बाड्ने सन्दर्भमा सफल भएको छ,' उनको भनाइ थियो ।
समापन कार्यक्रममा नेपाली सेनाको तर्फबाट अभ्यासको प्रमुख संयोजक रहेका बलाध्यक्षरथी नेत्रबहादुर थापाले संलग्न मित्रराष्ट्रका सहभागी सैनिक सदस्यहरुको बहुआयामिक क्षमता अभिबृद्धि गर्न यस अभ्यासले महत्वपूर्ण योगदान पुर्याएको बताए । अभ्यासमा बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा, थाईल्याण्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अष्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र अमेरिकासहित २३ राष्ट्रका ४ सय ५५ र नेपाली सेनाका ४१६ गरी ८ सय ७१ सैनिक सहभागी थिए ।
No comments:
Post a Comment