पण्डित रविशंकरको वास्तविक नाउँ रविन्द्रशंकर चौधरी हो । ९२ वर्षअघि बंगाली परिवारमा वाराणसीमा जन्मिएका उनी सात दाजुभाइमध्ये कान्छा हुन् । बाबुआमा दुवै वकिल थिए । लन्डन बसाइको क्रममा बाबु श्यामशंकरले दोस्रो बिहे गरेपछि आमा हेमांगिनी देवीले वाराणसीमै राखेर हुर्काइन् । आठ वर्षको उमेरमा नृत्य मण्डलको सदस्य र १३ वर्षको उमेरमा गायन टोलीको सदस्य बनी युरोप, अमेरिका घुमिसकेका उनले १४ वर्षको उमेरमा कोलकाताका उस्ताद अलाउद्दीन खाँको घरमा संगीत सिक्न थाले ।
अन्नपूर्णादेवी उस्तादकी छोरी हुन् । सितारवादक उनी रविभन्दा सात वर्ष कान्छी थिइन् । दुवै काका फकिर अफ्ताउद्दिन र अयत अलि तथा दाजु अलि अकबर पनि शास्त्रीय संगीतमा निपुर्ण थिए । सबैजना महाराजा बृजनाथ सिंहको दरबारमा संगीत र गायन प्रस्तुत गर्थे । रविका दाजु उदयशंकरको मध्यस्थतामा उस्तादले छोरीको बिहे आफूकहाँ सितार सिक्न आएका रविसँग गराइदिए । सन् १९४१ मा बिहे हुँदा रवि २१ र अन्नपूर्णा १४ वर्षकी थिइन् । पछि उनीहरुका एउटा छोरा भए– शुभेन्द्रशंकर । रवि छोरालाई अमेरिका लान चाहन्थे तर अन्नपूर्णाले छोरालाई पनि सितारवादक बनाइन् ।
शुभेन्द्रको निधन सन् १९९२ मा भइसकेको छ । छोरो जन्मिएको केही वर्षपछि नै रविको कमला शास्त्रीसँग प्रेम बस्यो । कमला चर्चित नर्तकी थिइन् । तेस्रो महिलासँग प्रेम गर्न थाले पनि अन्नपूर्ण दुई दशकभन्दा बढी रविकै पत्नीको रुपमा रहिन् । पद्मभुषणलगायत राष्ट्रको तर्फबाट दिइने उच्चपदक प्राप्त गरेकी अन्नपूर्णाले छोडपत्र दिएपछि सन् १९६७ देखि रवि कमलासँगै बस्न थाले । सितारवादनमा विश्वप्रसिद्ध रविको सन् १९७२ मा सुकन्या राजनसँग भेट भयो । एउटा कार्यक्रममा सुकन्या रविकै टोलीमा तानपुरा बजाउन पुगेकी थिइन् । प्रतिष्ठित परिवारमा जन्मेकी उनका बाबु सैनिक कर्नेल भए पनि प्रतिभाशाली गायिका आमाबाट संगीत सिकेकी थिइन् । आठ वर्षको उमेरमा पहिलोपटक आकाशवाणीमार्फत् रविको संगीत सुनेकी थिइन् । अर्थात् कलिलैमा आकाशवाणीमा तरंगित सितारवादनमार्फत् रविप्रति आशक्त बन्न पुगिन् । ती संगीतकारप्रति यति मोहित भइन् कि त्यसपछि रविका धून जुनसुकै बेला रेडियोमा बज्दा, ट्रान्जिस्टरलाई छातीमा टाँसेर सुन्न थालिन् ।
मनमनै ती संगीतकारलाई प्रेमीको रुपमा लिन थालिन् । अनन्य उपासिका बनिन् । १३ वर्षको हुँदा मद्रासमा आयोजित एउटा कार्यक्रममार्फत् प्रत्यक्ष संगीत सुन्ने मौका पाइन् । यद्यपि, रविले त्यहाँ हजारौैंका लागि बाजा बजाएका थिए तर उनलाई लाग्यो– यो उनैका लागि मात्र हो । सितारको रसवन्ती धूनले आमासँग गएकी उनलाई अर्कै लोकमा पु¥याइदियो । यसबीच लन्डन पुगेर एउटा बैंकमा काम गर्न थालिन् । लन्डनमै बस्ने निधो गरिसकेकी उनको भेट एकजना भद्र पुरुषसित भयो । केटोले उनीसित प्रेम गर्न थाल्यो । दाम्पत्य जीवन सुमधुर बन्दै गइरहेको थियो तर अकस्मात बितिसकेको भावना जागृत भयो । पुनः संगीतकार रविको सामिप्यताको चाहना गर्न थालिन् । उनले घरमा सधैँ आइरहने महिला रविको भाउजू हुन् भन्ने थाहा पाइन् । रविसँग नजिकिन ती महिलाकी छोरी बिज्जीलाई साथी बनाइन् । एकदिन रवि लन्डनमा आयोजित कार्यक्रममा भाग लिन आउने थाहा पाइन् । त्यतिन्जेलसम्ममा उनी पनि संगीत क्षेत्रमा उत्रिसकेकी थिइन् र ती संगीतकारसँग प्रतिस्पर्धा गर्ने क्षमता भइ नसके पनि उनीसँग बसेर तानपुरा र सितारवादन गर्नसक्ने स्थितिमा भने पुगिसकेकी थिइन् । यद्यपि, विश्वप्रसिद्ध बनिसकेका ती महान् संगीतकारसँग बसेर तानपुरा बजाउने मौका कहिले पाइएला भन्ने सोचेकी थिइन् ।
तर संयोग, बिज्जी उनको घर आइपुगिन् । रविसँग बसेर तानपुरा बजाउन आग्रह गरिन् । बिज्जीको प्रस्ताव सुनेर सुकन्या औधी खुसी भइन् । तथापि रविले हुन्छ भन्न बाँकी नै थियो । रवि लन्डन पुगेको खबर पाउनेबित्तिकै भेट्न होटल पुगिन् । त्यहाँ निकै बेर कुर्नुप¥यो । जब रवि कक्षमा प्रवेश गरे, ‘सपनाको राजकुमार’लाई देखेर दंग परिन् । दुवै हात जोडेर नमस्कार गरिन् । पण्डित रविले संगीतसम्बन्धी दुई–चारवटा प्रश्न सोधे । जवाफ सही तरिकाले दिएपछि सुकन्यालाई आफ्नो टोलीमा समावेश गर्न उनी राजी भए । पण्डितको सम्मानमा आयोजित मुख्य कार्यक्रममा तानपुरा बजाएर उनलाई रिझाउन सफल भइन् । यसपछि लन्डनमा पण्डितका जति पनि कार्यक्रम भए, सबैमा तानपुरा बजाइन् ।
संगीत र कार्यक्रममार्फत् हुने निरन्तर सम्पर्कबाट दुवै नजिकिँदै गए तर विवाहित थिए । प्रेमभाव प्रकट गर्न दुवैले अप्ठेरो मानिरहेका थिए । एकदिन लन्डनमा अर्को एउटा कार्यक्रम हुँदै थियो । त्यहाँ पनि तानपुरा बजाउने सौभाग्य उनैले पाइन् । ओडियन सभागृहमा आयोजित कार्यक्रममा सितार बजाउँदै गरेका पण्डितले अचानक यमन–कल्याण रागको मधुर धून बजाउन थाले । यो उनको मनपर्ने धून थियो । सुकन्यासँगको प्रेमका खातिर पण्डितले यो धून बजाएका थिए । धूनसम्बन्धी पूर्ण ज्ञान हासिल गरिसकेकी सुकन्याले दंग परेर तानपुरा बजाउँदै नजर पण्डिततर्फ फ्याँकिन् । पण्डित पनि उनैलाई हेरेर सितार बजाइरहेका रहेछन् । एकछिनका लागि दुवैका आँखा जुधे र एक अर्कालाई हेरेर मुसुक्क हाँसे । यो घटना सन् १९७७ को हो, जतिबेला पण्डितको उमेर ५७ पुगिसकेको थियो भने सुकन्या २७ वर्षकी थिइन् । सुकन्या पण्डितको सबै प्रकारको स्नेह प्राप्त गर्न सफल भइन् । पण्डितले आफ्नो स्नेह पाउने सुकन्या पहिलो व्यक्ति नभएको कुरो लुकाएनन् तर बूढा संगीतकारको प्रेममा पागल बनिसकेकी उनका निम्ति सो कुराले कुनै महत्व राखेन । तीन वर्ष यसरी नै बित्यो ।
पण्डितको तर्फबाट अचानक गर्भवती बनिन् । लोग्नेलाई सत्य कुरो भन्नुबाहेक विकल्प रहेन । लोग्ने असाध्यै सोझा र भलाद्मी थिए । उनीबाट पनि चार वर्षसम्म सुकन्याले भरपूर माया, स्नेह पाइरहेकी थिइन् । त्यसैले लोग्नेलाई सत्य कुरो भन्ने आँट गर्न सकिनन् तर समयको अन्तरालमा जब मौका भेट्टाइन्, वास्तविकता खोलिदिइन् । अचम्म ! सुकन्याको त्यत्रो विश्वासघातलाई पनि उनले सहजताका साथ लिए । दाम्पत्य जीवनमा कुनै आँच आउन दिएनन् । सन् १९८१ मा सुकन्याले छोरी जन्माइन् । अनुष्काको जन्मपछि पण्डितको प्रेमप्रसंग बल्ल सार्वजनिक भयो । तहल्का मच्चियो । परिणामतः पत्नीसरह एउटै घरमा बस्दै आएकी कमला शास्त्रीले पण्डितलाई छाडेर हिँडिन् । पछि पण्डितसरह ख्यातिप्राप्त सितारवादक बन्न पुगेकी अनुष्कालाई सुकन्याका पतिले आफ्नै छोरीसरह पाले । एक दुई वर्ष होइन, पूरा सात वर्ष । किनकि उनी सुकन्यालाई अति माया गर्थे ।
हुन त सुकन्यालाई प्रेम गर्न थालेलगत्तै पण्डितले अमेरिकी महिला सुइ जोन्सलाई पनि मन पराएका थिए । न्युयोर्ककी सुइ कन्सर्ट निर्माता थिइन् । पण्डितको तर्फबाट सुइ पनि सन् १९७९ मा आमा बनिन् । उनीहरुकी छोरी नोरा जोन्स पछि निकै चर्चित संगीतकार र गायिका बनिन् । सन्् २००३ मा उनले ग्रामी अवार्ड जितिन् । हुन त अनुस्का पण्डित पनि सोही वर्ष ग्रामी अवार्डको मनोनयनमा परेकी थिइन् । उनको सांगीतिक एल्बम वर्षको सर्वश्रेष्ठ एल्बमको सूचीमा सूचीकृत भएको थियो । पण्डित सुइसँग सन् १९८६ सम्म साथै बसे । सुइसँगको सम्बन्धको अन्त्यपछि पण्डित र सुकन्याको प्रेमप्रसंग अघि बढ्यो । पत्रपत्रिकाले निकट भविष्यमै दुवैको बिहे हुन लागेको खबर छापेपछि बल्ल सुकन्याको दाम्पत्य जीवनमा चिसोपना बढ्यो । पतिको आग्रहलाई लत्याउँदै पारपाचुके मागिन् । दुई वर्षपछि सन् १९८९ को जनवरी २३ मा भारतको आन्ध्रप्रदेशस्थित एउटा मन्दिरमा पण्डितले उनीसँग बिहे गरे । यो बिहेपछि सुइले पण्डितमाथि छोरी नोरालाई भेट्नबाट प्रतिबन्ध लगाइदिइन् ।
भारतीय शास्त्रीय संगीतलाई विश्वमा फैलाउने संगीत राजदूत रविशंकर भन्छन्, ‘मैले विश्वको विभिन्न मुलुक घुम्ने क्रममा भिन्नभिन्नसँग प्रेम गरेँ । मलाई लाग्छ, मैले धेरैसँग प्रेम गरेँ तर यसले मलाई केही फरक पारेको छैन ।’ साथी सोम चटर्जी भन्छन्, ‘पण्डितलाई कमला शास्त्रीले जति प्रेम सायद अरु कसैले गरे होलान् ! उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण वर्ष उनैको प्रेममा न्यौछावर गरिदिएकी थिइन् । त्यसो त पण्डित पनि उनलाई उत्तिकै प्रेम गर्थे तर कमलाले बढी स्वतन्त्रता दिएपछि उनी बिग्रे ।’ पण्डितले बाँकी जीवन क्यालिफोर्नियाको इन्सिनितासस्थित घरमा सुकन्यासँग बिताए । सन् २०१० मा जब त्यसै घरमा ९०औँ जन्मदिन मनाए, सुइ छोरी नोरालाई लिएर त्यहीँ आइपुगिन् । सुकन्या, सुइ, नोरा र अनुष्कासँग जन्मदिन धुमधामसँग मनाए । पछिल्लो समय कहिले छोरी नोरासँग त कहिले छोरी अनुष्कासँग मिलेर कार्यक्रम गर्दै गए । विश्वप्रसिद्ध भ्वाइलेन मास्टर, यहुदी मेनुहिन र रक कलाकार जर्ज ह्यारिसनसँग मिलेर पनि सांगीतिक कार्यक्रम गर्दै गए ।
छोरी अनुस्का र पत्नी सुकन्याको साथमा उनी १४ वर्षअघि नेपाल आएका थिए, भारतीय स्वतन्त्रताको स्वर्णजयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन । भारत सरकारले पण्डितलाई सन् १९८६ मा माथिल्लो सदनमा मनोनित गरेको थियो । संसदमा उनी १९९२ सम्म रहे । तीनवटा ग्रामी अवार्ड र भारतरत्नजस्तो सम्मानजनक पदक जितिसकेका पण्डितको ९२ वर्षको उमेरमा डिसेम्बर ११ मा अमेरिकामा निधन भइसकेको छ । सान डियागोस्थित क्रिप्स मेमोरियल अस्पतालमा भर्ना भएका उनलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न भएको थियो ।
No comments:
Post a Comment