Friday, April 5, 2013

तिब्वती शरणार्थी पनि चुनावको तयारीमा

काठमाडौं, चैत्र २१ । नेपालमा संविधानसभा निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी अभियानमा जुटिरहेका बेला यसको भुत तिब्वती शरणार्थीसम्म पुगेको छ। नेपालमा चीन विरोधी गतिविधिमा संलग्न तिव्वती शरणार्थीहरू स्थानिय सरकारको निर्वाचन गर्ने तयारीमा ब्यापक जुटेका हुन्।  निर्वाचन तयारीकै विषयमा छलफल गर्न नेपालस्थित दलाई लामाका प्रतिनिधी ताम्दिङ दोर्जे तुलाधर भारतमा निर्वासित जीवन विताइरहेका  दलाई लामालाई भेट्न केही दिन अघि मात्र धर्मशाला पुगेका छन्। तुलाधरले फेव्रुअरी २८ देखि मार्च १२ सम्म सम्पूर्ण तिव्वती शरणार्थीहरूले मतदाता नामावलीमा नाम छुटेको भए समावेश गराउन तथा १८ वर्ष उमेर पुगेका र मृत्यृ तथा बसाँईसराई भएको भए तुरुन्त आफ्ना नजिकका तिव्वती शरणार्थी क्याम्पमा जानकारी गराउन गोप्य सुर्कुलर जारी गरेका थिए।
काठमाडौं उपत्यकामा मात्र २२ हजार तिव्वती शरणार्थीहरू रहेका छन्।  उनीहरूलाई लामाको निर्वासित सरकारद्धारा वितरित ग्रिनकार्डले मात्र चुनावमा भाग लिन पाउने तिव्वती मान्यता छ। स्रोतका अनुसार काठमाडौं उपत्यकालाई मात्र तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। आगामी अप्रिलमा हुने निर्वाचनको पूर्व तयारीमा सवैभन्दा वढी ८ हजार शरणार्थी बसोवास गर्ने बौद्ध, जावलाखेल, स्वयम्भूलगायतका महत्वपूर्ण शरणार्थी क्याम्पहरूमा चलहपहल बढेको छ। निर्वाचनकै तयारीका लागि लामाको निर्वासित सरकारले नेपालमा रहेका सम्पुर्ण शरणार्थी क्याम्पका प्रमुख र पूर्व प्रमुखलाई भारतको धर्मशालामा गोप्य वैठक आह्वान गरेको थियो।  गोप्य वैठकमा लामाका नेपालस्थित प्रतिनिधी ताम्दिङ दोर्जे तुलाधर, बौद्ध क्याम्पका प्रमुख छिरिङ धन्दुप, बौद्धका पूर्व प्रमुख धन्दुप लामा, स्वयम्भू र रसुवा क्याम्पका पूर्व प्रमुख निमा संगाकर, स्वयम्भू क्याम्पका प्रमुख ताम्दिङ ग्याट्सु, नेपाल मानव अधिकार संगठनका सुदिप पाठक र कपिल श्रेष्ठलगायतका व्यक्तिहरूलाई निम्तो दिइएको छ। यसैबीच चीनको स्वसासित क्षेत्र तिव्वतमा चिनिया शासनविरुद्ध आत्मदाह गर्ने सन् २००९ पछिका १०१ औं तिव्वती नागरिक डोमन डुक्चेको लास गत चैत १२ गते पशुपतिस्थित आर्यघाटमा जलाइएको छ। नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोगको निगरानीमा रहेका तिव्वती शरणार्थी डोमन डुक्चेले फागुन ४ गते क्याम्प बाहिर आई बौद्धस्तुपा परिसरमा शरिरमा पेट्रोल खन्याई आगो लगाएका थिए। तर,  प्रहरीले डुक्चेलाई  समाएर आगो निभाई त्रिवि शिक्षण अस्पताल महाराजगंज लगेको थियो। त्यही रात उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

No comments:

Post a Comment