अबु जफर सिराजुद्दिन मुहम्मद बहादुर साह जफर भारतका अन्तिम मुगल सम्राट हुन् । अकबर साह द्वितीयका छोरा उनी सन् १८३७ को सेप्टेम्बर २८ मा सिंहासनमा बसेका थिए । उनी सम्राट बन्दासम्ममा भारतमाथि नियन्त्रण गरी बसेको ब्रिटेनको इस्ट इन्डिया कम्पनीले सबैतिर आफ्नो पकड जमाइसकेको थियो । र, भारतीय जनता पनि ब्रिटेनको शासनविरुद्ध जुर्मुराउन थालिसकेका थिए । सन् १८५७ मा चारैतिर विद्रोहको आगो दन्किन थाल्यो । हिन्दू–मुस्लिम, विद्रोही, स–साना राजा र सेनाले बहादुर शाह जफरलाई भारतको सम्राट् स्विकारे । यसरी जब एकीतृत भारतीय जनताबाट पराजित हुनुपर्ने मनस्थितिमा वेलायती पुगे, उनीहरूले विद्रोहीमाथि चर्को दमन सुरु गरे । विद्रोहकै क्रममा मंगल पाण्डे, लक्ष्मी बाईहरू मारिए । यसै क्रममा मेजर विलियम हड्सनको नेतृत्वमा खटिएको बेलायती सेनाको हातबाट सम्राट जफरका दुई छोरा मिर्जा मुगल र मिर्जा खिजर तथा नाति मिर्जा अबु बकर पनि दिल्लीगेटमै मारिए । ८२ वर्षीय सम्राट् जफरको शक्ति क्षीण बन्यो । उनी भाग्ने तयारीमा लागे ।
राति राजकुमारी कुल्सुम जमानी बेगमलाई सम्राट्का खास सेवकले बोलाउन आए । कुल्सुमले तीन दिनदेखि केही खाएकी थिइनन् । उनको काखमा डेढ वर्षकी छोरी थिई । कुल्सुम सम्राट जफरकोमा पुग्दा सम्राट् गम्भीर मुद्रामा थिए र बर्बराउंदै थिए । उनले कोठामा आइपुगेकी छोरीको शिरमा हात राख्दै भने, ‘कुल्सुम, मैले तिमीलाई खुदा (भगवान) को हातमा सुम्पिएं । तिमी आफ्नो लोग्नेलाई लिएर कतै गइहाल । हामी पनि जांदै छौं ।’ उनले आफ्ना दुवै हात आकाशतिर उचाल्दै फेरि भने, ‘अल्लाह । तैमुरको इज्जत राख, हाम्रो खानदानका महिलाहरूको रक्षा गर, यिनीहरू म तिमीलाई सुम्पँदैछु ।’ यति भनिसकेपछि ज्वाइँ मिर्जा जियाउद्दिनलाई केही हीराजवाहरात दिएर बिदा गरे । र, उनीहरूसंगै रानी नुरमहललाई पनि पठाइदिए । यसरी दरबारको किल्लाबाट बाहिरिनेमा पहिला मिर्जा जियाउद्दिन, कुल्सुम, नवाब नुरमहल, सम्राट्का बहिनी–ज्वाइं मिर्जा उमर सुल्तान र सम्धिनी नवाब हाफज सुल्तान थिए । पांचजनाको सानो टोली रथमा सवार भयो ।
उनीहरू कौराली गाउं पुगेर रथ हांक्ने व्यक्तिको घरमा अतिथि बने । भोलिपल्टै शाही रथ चालकको घरमा राजकुमारी र रानी बसिरहेको कुरा आगोसरी फैलियो । उनीहरूलाई हेर्न थुप्रै मान्छे जम्मा भए, कतिले सम्पत्ति लुट्न भ्याए । गाउंका एकजना जमिनदारको सहयोगमा भीडलाई हटाउन उनीहरू सफल भए । कुल्सुमको आग्रहमा ती जमिनदारले बैलगाडामा राखेर उनीहरूलाई मेरठ जिल्लाको उजाडा गाउंसम्म पु¥याइदिए । उनीहरू शाही वैद्य फैज अलिकोमा पुगे । तर, हकिमले आफ्नो दुवै कान समात्दै भने, ‘नाइं–नाइं, हामी गोरा सेनासंग शत्रुता मोल्न चाहन्नौं ।’ कौरालीका उनै जमिनदारले उनीहरूलाई हैदरावाद पु¥याए । बाटोमा कोयलका नवाबको फौजसित जम्काभेट भयो । नवाबले उनीहरूलाई स्वागत गरे । उनीहरूकै मद्दतमा राजकुमारीको टोलीले नदी त¥यो । उनीहरू अलि पर मात्र के पुगेका थिए, अंग्रेज सेनासित युद्ध भयो । एउटा बम खेतमा खस्यो र आगो सल्कियो । कुल्सुम बच्चीलाई च्यापेर भाग्न थालिन् । रानी नुरमहल र हाफज सुल्तान बेहोस भएर लडे । कुल्सुम टाउको छोप्ने आफ्नै पछ्यौरामा अल्झेर लडिन् र रुन थालिन् । पति जियाउद्दिन पनि लडेर रगतपच्छे भए तैपनि उनले सबैलाई सान्त्वना दिइरहे । केही दिनपछि अंग्रेज फौजले कोयलका नवाबको सेनालाई पराजित ग¥यो । जमिनदारले डुंगामा राखेर बैलगाडालाई नदी तारे । बाटोमा एक मुसलमानको घरमा बसे । सुत्न उनीहरूलाई परालको बिछ्यौना दिइयो । हैदरावाद पुगेर पनि उनीहरूले शान्तिको श्वास फेर्न पाएनन् । ज्यानको खतरा बढेपछि गेरु वस्त्र लगाएर मक्कातर्फ प्रस्थान गरे । उनीहरूको हालत पछि के भयो कसैलाई थाहा भएन ।
बहादुर साह जफरको दरबारकी अर्की राजकुमारी हुन्, चमनआरा । उनी सम्राट्का नाति जमसेद साहकी बहिनी थिइन् । उनीहरूले डोलीमा बसेर दरबारबाट बाहिर निस्कने योजना बनाए । तर, अंग्रेज सेनाले गेटमा रोक्यो र सोधपुछ ग¥यो । डोलीको तलासी लिइयो । जमसेद साहले म्यानबाट तरबार झिकेर लडे । तर, उनी घाइते भए । उनको त्यहीं मृत्यु भयो । चमनआराका बाबु पहिल्यै अन्धा थिए, छोराको मृत्युको खबर सुनेर उनको पनि मृत्यु भयो । सेनाले सबै सम्पत्ति लुट्यो । तिनीहरूमध्येका एकजना सिपाहीले अंग्रेज सेनाको अधिकृतसंग चमनआरा मागे । यसरी दरबारमा फूलको बिछ्यौनामा सुत्ने र मखमल बिछ्याइएको बाटोमा हिंड्ने चमनआरा साधारण सिपाहीको घरमा पुगिन् । उमेर सानै थियो । तैपनि उनले लोग्ने, सासू–ससुराको गोडा मिच्नेदेखि चुलोचौकाको सबै काम गर्नुप¥यो । दिल्ली दरबारकी अर्की एक राजकुमारी थिइन्, रुखसाना । सन् १८५७ मा विद्रोह हुंदा उनी मात्र १३ वर्षकी थिइन् । आमा आमना बेगमको विद्रोहकै क्रममा मृत्यु भइसकेको थियो । त्यसवेला मुगल दरबारको किल्लाबाट भागेर हुमायुंको मकबरा (समाधिस्थल) पुग्नु शाही परिवारका लागि सजिलो थिएन । तैपनि, सक्नेजति भागिरहेका थिए । उता, अंग्रेज फौजका जासुस सम्राट् जफरलाई जिउंदै पक्रने योजनामा थिए । यस क्रममा राजकुमारी रुख्साना सम्राट्को टोलीसंग जान पाइनन् । उनी आफ्नी ठूली धाइसंगै रहिन् । अन्त्यमा दरबारको किल्ला ध्वस्त भयो । अंग्रेजले किल्लामाथि कब्जा जमाए । त्यसपछि दरबारकी ठूली धाइ रुख्सानालाई लिएर अंग्रेज फौजका एकजना जर्नेलकोमा पुगिन् । जर्नेललाई उनले दुःखपूर्ण व्यथा सुनाइन् । ती जर्नेलले धाइ र रुख्सानालाई त्यो रात आफ्नै क्याम्पमा बस्न दिए । भोलिपल्ट उनले दुवैलाई सैनिक अधिकृत खान मुहम्मद खानको हातमा सुम्पे । र, खानलाई लखनऊ पठाइदिए । त्यहाँ विद्रोहीसंग भएको भिडन्तमा खान मारिए । रुख्साना भागेर उन्नाव पुगिन् । एकजना जमिनदारले उनलाई शरण दिए र आफ्नो छोराको बिहे उनीसित गराइदिए । तर, धेरै समय बिताउन नपाउंदै उनी घरबाट निकालिइन् । फेरि दिल्ली आइपुगिन् र भोक र प्यासले सडकमा भौंतारिन थालिन् । बल्ल उनले अन्नु कहारको घरमा रोटी पकाउने काम पाइन् ।
एकदिन, अन्नुको छोरासंग झगडा प¥यो । छोरोचाहिंले टाउकोमा बांसले हान्यो । उनी बेहोस भइन् । बेहोस रुख्सानालाई अन्नु कहारले यमुना नदीकिनारमा फ्यांकिदिए । त्यसपछि फेरि दुर्दशाका दिन सुरु भए । गुण्डाहरूले उनको इज्जतमाथि धावा बोल्न थाले । उनी भागेर जामा मस्जिद पुगिन् र मस्जिदकै भ¥याङमा बसेर भिख माग्न थालिन् ।
दिल्ली दरबारकी अर्की राजकुमारी हुन्, गुलवदन । दरबारभित्र सबै उनलाई गुलबानोको नाउंले बोलाउंथे । उनी मिर्जा दाराबख्तकी छोरी र सम्राट् जफरकी नातिनी थिइन् । मिर्जा दाराको असामयिक निधनपछि रानी हजरत जिनत महल अंग्रेजसंग मिलेर आफ्नो छोरो जवां बख्तलाई सम्राट् बनाउने षड्यन्त्र रच्दै थिइन् । जिनत बहादुर साह जफरकी मन पर्ने रानी थिइन् । यस कारणले पनि रानी जिनतको मनोमानी दरबारभित्र राम्रैसित चल्थ्यो । यसका बाबजुद बहादुर साह जफर आफ्नी नातिनी गुलवदनलाई औधि मन पराउंथे । गुलबानोलाई उनले अरूलाई भन्दा बढी सुविधा दिंदै आइरहेका थिए । सम्राट्को मन पर्ने राजकुमारी भएकै कारण उनको खुट्टो भुइंमा हुन्नथ्यो । बाबु मिर्जा दाराबख्त परलोक हुंदा उनी मात्र १२ वर्षकी थिइन् । बाबुको मृत्युपछि गुलबानो आफ्नी आमासंग समाधिस्थल जान्थिन् र खुब रुन्थिन् ।
मिर्जा दारा सिकोह गुलबानोकी काकाका छोरा थिए । उनको र सिकोहको बिहे हुन सक्थ्यो, तर गुलबानोकी आमा तल्लो जातकी थिइन् । जसकारण सिकोहकी आमा गुलबानोकी आमालाई फुटेको आंखाले पनि हेर्न चाहंदैन थिइन् । विद्रोहको नौ महिनापश्चात् आमा–छोरी दुःख झेल्दै मिर्जा दारालाई समाधिस्थ गरिएको स्थान हजरत चिरागमा फाटेको र पातलो ओढ्ने ओढेर सुतिरहेका थिए । मध्यराति अचानक आमा कराएको आवाज सुनेर गुलबानोको निद्रा टुट्यो । उनले आफ्नी आमा ज्वरोले थर्थर कांपिरहेको देखिन् । आमाको शरीरको मासु सुकिसकेको थियो । हातखुट्टा दुख्ने रोग त थियो नै । अर्कोतिर भोकले पनि उत्ति नै सताएको थियो । उनीहरूले केही दिनदेखि खानै पाएका थिएनन् । यसैबीच, राति ठूलो पानी प¥यो । बिरामीको जिउ काम्न थाल्यो । तैपनि, गुलबानो असहाय थिइन् । जाडो, पानी र ज्वरोको कारण बिहान हुनै नपाई आमाको मृत्यु भयो । गुलबानो अब एक्ली भइन् । उनी आमाको मृत शरीरलाई अंगालो हालेर रुनसम्म रोइन् । रुंदारुंदै मूर्छा परिन् । उनको कहिल्यै होस खुलेन । भनिन्छ, आमाछोरीको मृत शरीर गिद्ध र कागका लागि एक सातासम्मको आहारा बन्यो ।
उता, दिल्ली दरबारमाथि अंग्रेज फौजको नियन्त्रणपछि बहादुर साह जफर आफ्नी प्रिय पत्नी जिनत महल र राजपरिवारका केही सदस्यलाई लिएर रंगुन (वर्तमान म्यान्मारको राजधानी) मा निर्वासनमा गए । उनको रंगुन पलायन भारतमा तीन सय वर्षभन्दा बढी शासन गरेको मुगल साम्राज्य अन्त्यको सूचक थियो । उनको मृत्यु निर्वासनमा ४ वर्षपछि अर्थात सन् १८६२ को नोभेम्बर ७ मा भयो । शवलाई रंगुनको प्रसिद्ध प्यागोडा श्वेडागोन नजिक समाधिस्थ गरियो । पछि सो स्थानलाई बहादुर साह जफर दरगाह नामकरण गरियो । तेस्री पत्नी जिनत महलको मृत्यु २६ वर्षपछि सन् १८८६ मा रंगुनमै भयो । मृत्युको समय जिनत साह्रै गरिबीको जीवन जिउंदै थिइन् । अन्त्य हुंदा बहादुर साह जफर ८७ र जिनत ६९ वर्षकी थिइन् । जिनत बहादुर साह जफरभन्दा ४८ वर्ष कान्छी थिइन् । बहादुर शाह जफरका जिनतबाहेक पनि अर्की तीनवटी रानी थिए– असरफ महल, अख्तर महल र ताज महल । उनीहरूबाट आठ छोरा र चार छोरी थिए । उनी ६२ वर्षको उमेरमा गद्दीमा बसेका हुन् । उनले भारतमा २१ वर्ष शासन गरेका थिए ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment