लाभरेन्ती पाभ्लोभिच बेरिया रुसी नेता जोसेफ स्टालिनका विश्वासपात्र थिए र दुवै जर्जियाका थिए । बेरिया बाकुको प्राविधिक शिक्षालयमा पढ्दै गर्दा रुसमा बोल्सेभिक क्रान्तिको आगो दन्किसकेको थियो । त्यसबेला उनको उमेर १७ वर्ष थियो । तैपनि, उनी सन् १९१७ को मार्चमा क्रान्तिमा सामेल भए । तर, बाकुमा बोल्सेभिक विरोधी मुसाभिस्टहरू सक्रिय थिए । त्यसकारण च्यांखे थाप्ने दाउमा उनी उक्त समूहमा लागे । सन् १९२० को अप्रिलमा बाकु सहर बोल्सेभिकहरूको नियन्त्रणमा गयो । क्रान्तिविरोधी धेरैले मृत्युदण्ड पाए । मृत्युदण्ड पाउने सूचीमा उनको पनि नाउं थियो तर बोल्सेभिक नेता सर्गेई किरोभले बचाए । उनी जेल परे । जेलमै १७ वर्षीया निना गेगेच्कोरीसंग प्रेम बस्यो । निना अर्का एक कैदीकी भतिजी र कुलीन घरानाकी युवा वैज्ञानिक थिइन् ।
जेलबाट छुटेपछि बोल्सेभिक सरकारद्वारा गठित गोप्य प्रहरी संगठन ‘चेका’ मा लागे । त्यतिखेर जर्जिया मेन्सेभिकहरूको नियन्त्रणमा थियो र जर्जिया प्रजातान्त्रिक गणतन्त्र बनेको थियो । तर, लगत्तै लालसेनाले त्यहां हस्तक्षेप ग¥यो । त्यहां भएको झडपमा चेका प्रत्यक्ष संलग्न भयो । सन् १९२१ मा जर्जिया सोभियत गणतन्त्र बन्यो । त्यसवेलासम्ममा चेका एकीकृत राज्यको राजनीतिक निर्देशनालय (ओजिपियु) बनिसकेको थियो । बेरिया उक्त संगठनको जर्जिया शाखाको उपप्रमुख बने । सन् १९२४ मा जर्जियाका राष्ट्रवादीहरूले ठूलो विद्रोह गरे । दश हजार मानिस मारिएको भनिएको यो विद्रोहलाई दबाउन बेरिया सफल भएपछि उनी सो संगठनको क्षेत्रीय प्रमुख मात्र बनेनन्, अर्डर अफ रेड ब्यानरबाट सम्मानित पनि भए । सन् १९३१ मा सत्तारुढ कम्युनिस्ट पार्टीको जर्जिया कमिटी सचिव बने । तीन वर्षपछि केन्द्रीय कमिटीमा पुगेर स्टालिनसंग निकटता सुरु भयो । स्टालिनले सन् १९३८ मा मस्को बोलाए । गुप्तचर संस्था केजिबीको पूर्वरूप एनकेभिडीको उपजनकमिसार बनाए । त्यसवेला उक्त संगठनका प्रमुख थिए– निकोलाई येझोभ । येझोभ र बेरियाकै नेतृत्वमा स्टालिनले सन् १९३८ मा जनताका शत्रुको आरोप लगाउंदै पार्टीभित्रका विरोधीलाई तह लगाए । लगत्तै, बेरिया एनकेभिडीको प्रमुख बने । येझोभले सन् १९४० मा मृत्युदण्ड भोगे । यता, बेरिया सन् १९४१ मा आन्तरिक सुरक्षाको कमिसार जनरल र १९४६ मा पार्टी पोलिटब्युरो सदस्य बने । उनी सुरक्षा मामिला हेर्ने उपप्रधानमन्त्रीसमेत भए ।
सन् १९५३ फेबु्रअरी २८ को सांझ स्टालिन र उनका भित्रियाहरू बेरिया, मालेन्कोभ, निकिता खु्रस्चेभ र बुल्गानिन क्रेमलिन दरबारस्थित स्टालिनको निवासमा चलचित्र हेर्न थाले । सबैजना खांदै, पिउंदै थिए । त्यो दिन स्टालिनले अलि बढी नै पिए । उक्त पार्टी मार्च १ को बिहान ५ बजेसम्म चल्यो । सबैलाई छाडेर छिटो सुत्न गएका स्टालिनलाई बिहान ३ बजे मुटुमा पहिलो झट्का (हृदयाघात) लागिसकेको थियो । तर, सुरक्षा गार्डले खानपिनमा रमाइरहेकाहरूलाई डिस्टर्ब गर्न उपयुक्त ठानेनन् । जसकारण चिकित्सकलाई बोलाउन ढिला भयो । चिकित्सक आइपुग्दासम्म स्टालिन पक्षघातको सिकार भइसकेका थिए । मार्च २ मा अर्को झट्का लाग्यो । घटनास्थलमा खु्रस्चेभ र बुल्गानिन पुगिसकेका थिए तर उनीहरूले स्टालिनको शरीर छुन उपयुक्त ठानेनन् र बेरिया र मालेन्कोभलाई बोलाउन लगाए । सुरुमा बेरियाले स्टालिनलाई विषसेवन गराएको आरोप पुराना बोल्सेभिक नेताद्वय अनास्तास मिकोयान र भ्याचेस्लाभ मोलोतोभमाथि लगाएका थिए, तर दोस्रो हृदयाघातपछि उनले आफ्नो आरोप फिर्ता लिए र बेहोसीको अवस्थामा पुगिसकेका स्टालिनसमक्ष घुंडा टेकेर हातमा म्वाइं खाई स्टालिनभक्त भएको देखाउन खोजे ।
स्टालिनको निधन मार्च ५ मा भयो । बेरियाले सोचे– स्टालिनको स्थान ओगट्ने उपयुक्त समय आइपुग्यो । उनले हत्तपत्त केन्द्रीय कमिटीको बैठक बोलाएर आफ्नो भनाइ मान्ने तथा कमजोर व्यक्तिका रूपमा लिइएका गेर्गी मालेन्कोभलाई प्रधानमन्त्री निर्वाचित गर्न प्रस्ताव राखे । आफू पार्टीको प्रथम सचिव बन्न उनले यो प्रस्ताव अघि सारेका थिए । तर, उक्त पदका अर्का दाबेदार थिए– निकिता खु्रस्चेभ । बेरिया उपप्रधानमन्त्री मात्र भए । यसबाहेक उनी गृह मन्त्रालय (एनभिडी) को प्रमुखमा पुनर्नियुक्त भई मालेन्कोभपछिको शक्तिशाली नेता बने । पार्टी प्रथम सचिव खु्रस्चेभले पाए । खु्रस्चेभले बेरियालाई आफ्नो प्रगतिको बाधक ठानेर बेरिया–मोलन्कोभविरोधी गुट खडा गरे । योजनाअनुसार खु्रस्चेभले जुन २५ को दिन मार्सल किरिल मोस्कालेन्कोलाई फोन गरे । आफू पक्षका मान्छेलाई सतर्क रहन आदेश दिन लगाए । उनले हवाई रक्षा योजना, नक्सा र केही सिगार (चुरोट) ल्याउन पनि भने । उनले सबै हतियारबाट सुसज्जित रहन र आवश्यक पर्दा रक्षामन्त्री बुल्गानिनलाई सम्पर्क गर्न अह्राए । उनले भोलि (जुन २६) को दिन पार्टी केन्द्रीय कमिटीको अध्यक्ष मण्डलको बैठक बोलाएको र त्यहांबाट महत्वपूर्ण निर्णय हुने जानकारी दिए । मार्शल किरिलले खु्रस्चेभको आदेशानुसार मेजर युफेरेभ, सेनाध्यक्ष बास्कोभ, सेनाको राजनीतिक विभागका प्रमुख कर्नेल जुबलाई फोन गरेर हातहतियार र दलबलसहित क्रेमलिनतर्फ रवाना हुन आदेश दिए । त्यसपछि रक्षामन्त्री बुल्गानिनलाई भेट्न गए । उनले आफ्नो टोलीमा गोर्गी झुकोभ पनि भएको कुरा सुनाए । जवाफमा रक्षामन्त्रीले झुकोभलाई हतियार नदिन किरिललाई आदेश दिए ।
जुन २६ को बिहान ११ बजे हतियारसहितको गाडी लिएर क्रेमलिन छिर्न किरिललाई बुल्गानिनले आदेश दिए । उनीहरू त्यहां पुगेपछि किरिल र बुल्गानिन, इलेभेटर र बास्कोभ, युफेरेभ, जुबहरू सिंढी चढेर माथि गए । त्यस्तै अर्को एउटा गाडी चढेर झुकोभ, बे्रझनेभ, सातिलोभ, प्रोनिनहरू क्रेमलिन पुगे । उनीहरू सबैजना मालेन्कोभको कोठा बाहिर बसिराखे । प्रतिक्षालयमा १५–१७ जना सादा पोसाकका अंगरक्षक थिए । उनीहरू सबै बेरियाका मान्छे थिए । भित्र बैठक सुरु हुनेबित्तिकै खु्रस्चेभले बेरियामाथि एकपछि अर्को संगीन आरोप लगाउन थाले । उनलाई गद्दार, बेलायती सरकारको तलब खाइरहेको जासुस, राष्ट्रद्रोहीसम्म भनियो । विरोधीहरूको योजनाबाट पूर्णतः बेखबर बेरिया आरोप सुनेर चकित भए । उनले सोधे– ‘के भयो निकिता सर्गेभिच खु्रस्चेभ, किन तपाईं मेरो पैन्ट (लगाइराखेको ट्राउजर) भित्रको उपियां टिप्दै हुनुहुन्छ ?’ तर भ्याचेस्लाभ मोलोतोभ र अन्य नेताहरू एकपछि अर्को गर्दै बेरियामाथि खनिन थाले । बेरियाले आफ्नोबारे बोल्न प्रधानमन्त्री मालेन्कोभलाई इशारा गरे तर मालेन्कोभ दुवै हातले आफ्नो टाउको समाएर चूप बसिरहे । उल्टो मालेन्कोभले टेबुलमुनि रहेको इमर्जेन्सी स्विच थिचिदिए ।
सिग्नल पाउनेबित्तिकै मार्सल झुकोब, किरिलहरू बैठककक्षमा प्रवेश गरे । उनीहरू ६ जना थिए । झुकोभबाहेक ५ जनासंग स्वचालित हतियार थियो । सैनिक अधिकृतहरू भित्र पसिसकेपछि मालेन्कोभले आदेश दिए– बेरियालाई गिरफ्तार गर । सबैले आ–आफ्नो बन्दुक बेरियातर्फ सोझ्याए र दुवै हात उठाएर आत्मसमर्पण गर्न भने । झुकोभ अघि बढेर बेरियाको तलासी लिए । त्यसपछि बन्दुक तेस्र्याएर उनीहरूले बेरियालाई प्रधानमन्त्रीको कोठामा लगे । अरु नेताहरू त्यहीं बैठकमा व्यस्त भए । उनीहरूले बेरियाविरुद्ध बोलिरहे । बैठकमा रहेका बुल्गानिन, मालेन्कोभ, मोलोतोभ र खु्रस्चेभबाहेक अरू कसैलाई बेरियालाई गिरफ्तार गर्न लागिएको जानकारी थिएन । बेरिया पक्राउ परिसकेपछि पनि बैठक १५–२० मिनेट चल्यो । त्यसपछि अध्यक्षमण्डलका सदस्यहरू र झुकोभ घरतर्फ लागे । बेरियाको साथमा किरिल, बास्कोभ, युफेरेभ, बातित्स्की र जुब बसिराखे । बाहिर ढोकानिर ब्रेझनेभ, गेटम्यान, नेडेलिन, प्रोनिन र सातिलोभ पहरा दिएर बसे । बाहिर बेरियाका समर्थकले उपद्रो नगरून् भन्ने हिसाबले रक्षामन्त्री बुल्गानिनले मस्को सहरभरि टैंक परिचालन गर्न लगाए । आकाशमा हतियारयुक्त विमान उडाए । चिनिएका बेरियाका मान्छेहरू पक्राउ परे । सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र प्राभ्दाले जुलाई १० मा मात्र बेरिया पक्राउ परेको समाचार छाप्यो । समाचारमा बेरियामाथि आरोप लगाइएको थियो– ‘पार्टी र राज्यविरोधी गतिविधिमा संलग्न ।’ पत्रिकाले बेरिया र उनीसमर्थक ६ जना अन्य नेता विदेशी जासुस भएको, उनीहरूले सत्ता हातमा लिएर सोभियत संघमा पुंजीवाद भित्याउन खोजेको आरोप लगाएको थियो ।
उता, षड्यन्त्रबाट बेखबर बेरिया पक्राउ परेपछि नर्भस देखिए । उनी पटक–पटक झ्यालतर्फ जान खोज्थे । शौचालय जान पनि उनले पटक–पटक अनुमति मागे । धेरैपटकको अनुनय–विनयपछि बल्ल उनलाई किरिलहरूले अनुमति दिए, तर उनको पछाडि पांचैजना बन्दुक बोकेर शौचालयमा समेत गए । मालेन्कोभका अंगरक्षक सुखानोभले सबैको लागि चिया ल्याइदिए । राति ११ बजे बेरियाका प्रथम उपप्रमुख, सैनिक जर्नेल, सरकारी सुरक्षा प्रमुख र लेफ्टिनेन्ट जनरल भ्लासिकले बेरियालाई राखेको कोठाबाहिरको प्रतीक्षालयमा बसेर यहां के भइरहेको छ भन्दै हल्ला गरे । किरिल बाहिर आएर रक्षामन्त्रीलाई फोन गरी सत्य–तथ्य बुझ्न आग्रह गरे । रक्षामन्त्री बुल्गानिनले फोनैबाट उनीहरूलाई क्रेमलिनबाट निस्कन आदेश दिए । उनले जर्नेल मास्लेनिकोभसंग लामै कुरा गरे । फोन वार्ता समाप्त भएलगत्तै जर्नेलले आफैंलाई गोली हानेर मरे । १२ बजिसकेपछि किरिलले पांचवटा गाडी मगाए । गाडीमा बेरियालाई पछाडिको सिटमा बीचमा बसालियो । उनको एकातिर बतित्स्की र बास्कोभ बसे भने अर्कोतिर जुब र युफेरेभ । किरिल ड्राइभरसंगैको सिटमा बसे । बेरियालाई उनीहरूले किरोभ सडकस्थित मस्को जिल्ला हवाई सुरक्षा मुख्यालयमा पु¥याए ।
बेरियाविरुद्ध सैनिक न्यायालयमा मुद्दा चलाइयो । न्यायालयको अध्यक्षता मार्शल इभान कोनेभले गरे । उनीमाथि लगाइएको सम्पूर्ण आरोप न्यायालयले प्रमाणित भयो भन्यो । पक्राउ परेका सबै ६ जनालाई मृत्युदण्ड दिने फैसला सुनाइयो । मार्सल किरिलका अनुसार फैसला सुनिसकेपछि घुंडा टेकेर बेरियाले माफी मागे, क्षमादान दिन अनुनय–विनय गरे । तर, फैसला परिवर्तन भएन । सन् १९५३ को डिसेम्बर २३ मा उनीबाहेक अन्य ६ जनालाई फायरिङ स्क्वायडले गोली हानेर मा¥यो । सोही दिन जर्नेल बातित्स्कीले निधारमा गोली ठोकेर बेरियालाई पनि मारे । त्यसदिन बेरिया धेरै बेरसम्म रोएको र रुंदारुंदै शान्त भएपछि गोली हानेको मार्सल किरिलको दाबी छ । उनको लासलाई मस्को सहरनजिकको जंगलमा गाडिएको थियो । उनको पतनपछि धेरैजना महिलाले आफूहरूमाथि यौनजन्य दुव्र्यवहार, बलात्कार गरेको आरोप लगाएका थिए । यहांसम्म कि एकजना कैदीलाई रिहा गर्ने आश्वासनमा उनले कैदीकी एउटी छोरी तथा अभिनेत्रीलाई आफ्नो निवासमै बोलाएर शारीरिक सम्बन्ध राखेको आरोपसमेत उनीमाथि लगाइएको थियो ।
No comments:
Post a Comment