Wednesday, April 3, 2013

चुलियो चुलोको खर्च


काठमाडौ, चैत्र १७ - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका वरिष्ठ शाखा अधिकृत विष्णुप्रसाद रेग्मीले शुक्रबार संकलित खाद्य पदार्थको अधिकतम खुद्रा बिक्री मूल्य सुनाएपछि भने, 'महँगी ज्यादै बढ्यो, हरेक महिना २० गतेपछि खल्ती रित्तो हुन थाल्छ ।'


विभाग बजार नियमन गरेर अत्यावश्यकीय उपभोग्य पदार्थको आपूर्ति सहज बनाउने निकाय हो । रेग्मी विभागका लागि अत्यावश्यक खाद्य वस्तुको खुद्रा बिक्री मूल्य संकलन तथा अद्यावधिक गर्ने जिम्मासमेत पाएका अधिकारी हुन् । तर अनुगमन नतिजामुखी नबन्दा फस्टाएको संगठित कालोबजारीका कारण सर्वसाधारण मात्र होइन रेग्मीजस्ता नियमक निकायका अधिकारीसमेत प्रताडित छन् ।

सञ्चय कोष र बिमा कटाएर रेग्मीले मासिक १५ हजार २ सय रुपैयाँ तलब बुझ्छन् । सरकारी सेवामै रहेकी उनकी श्रीमतीकोे सञ्चय कोष तथा बिमाबाहेक मासिक १२ हजार १ सय रुपैयाँ तलब आउँछ । दुवै जनाको तलबमध्ये कम्तीमा ६० प्रतिशत रकम ३ सन्तानसहित ५ जनाको परिवारलाई खाद्यान्न जोहो गर्न खर्च हुन्छ । 'सिंगो परिवार शाकाहारी भएकाले माछा मासुमा खर्च हुँदैन,' रेग्मीले भने, 'छोराछोरीको पढाइमा कमाइको करिब ३५ प्रतिशत रकम सकिन्छ । श्रीमिती दैनिकजसो खर्चले धान्ने नसकिने भो भन्दै चिन्ता गर्छिन् ।'

कोटेश्वरको महादेवस्थानमा आफ्नै घर भएकाले रेग्मीले कोठा भाडा तिर्नु पर्दैन । त्यसबाहेक पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पूर्ण छात्रवृत्ति पाएकाले उनले एउटा छोराको अध्ययन खर्च पनि न्यूनतम गरे पुग्छ । तर रेग्मीजस्ता जागिरे श्रीमती, छात्रवृत्ति पाएका छोरा र काठमाडौंमा घर भएकालाई त यस्तो समस्या छ भने सर्वसाधारणको अवस्था के होला ? सहज अनुमान गर्न सकिन्छ ।

भदौमा चामलको मूल्य बढ्ने र मंसिरपछिका केही महिना नयाँ चालम भित्रिने समय भएकाले अहिले घट्ने समय हो । तर वाणिज्य विभागले संकलन गरेको मूल्य सूचीले गत वर्ष भदौको तुलनामा अहिले सोना मन्सुली (स्टिम) चामलको मूल्य करिब साढे ५४ प्रतिशतले बढेको देखाउँछ । गत साल भदौमा मन्सुली -स्टिम) चामलको मूल्य प्रतिकिलो औसत ३९ रुपैयाँ थियो भने शुक्रबार त्रिपुरेश्वर र अनामनगर क्षेत्रमा संकलित तथ्यांककले किलोकै २२ रुपैयाँले बढेर ६१ पुगेको देखाउँछ । 'नयाँ चामल भर्खर मात्र बजार भित्रेको तथा भारतबाट चोरी पैठारी हुने धानसँग मूल्यमा प्रतिस्पर्धा गर्नुपरेका कारण यतिबेला चामलको मूल्य बढ्नुपर्ने कुनै कारण छैन,' राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन् ।

घट्नुपर्ने भए पनि यो अवधिमा जिरा मसिनो चामलको मूल्य स्थिर छ । तर बासमती चालमको मूल्य भने २१ रुपैयाँले बढेर किलोको औसत ९९ रुपैयाँ पुगेको छ । त्यस्तै बढी खपत हुने दाल, तेल, मैदा र आटाजस्ता खाद्य पदार्थको मूल्य पनि ह्वात्तै बढेको छ ।

खुद्रा मूल्य संकलनले एउटै पदार्थको मूल्यमा भारी अन्तरसमेत देखाएको छ । खुद्रा मूल्य संकलनबाट तोरीको तेल लिटरको १ सय ५० रुपैयाँदेखि १ सय ९५ रुपैयाँसम्म भेटिएको छ । सनफ्लावर तेलको मूल्य मात्र सबै ठाउँमा समान पाइएको छ । सनफ्लावर तेलको मूल्य लिटरको १ सय ४० रुपैयाँ छ । त्यसबाहेकका अन्य पदार्थको मूल्य पसल र ठाउँअनुसार किलो/लिटरको ५ रुपैयाँदेखि १८ रुपैयाँसम्म फरक छ । 'बिक्रेताले कुन खाद्य पदार्थ कतिमा किन्यो र कतिमा बेच्यो भन्ने हेर्न नसक्दा बजारमा मनोमानी भएको हो,' उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुघनप्रसाद देवले भने, 'विभागले मूल्य विश्लेषण गर्न नसक्दा कालोबजारी फस्टाएको छ ।'

खुद्रा बिक्रेता संघका अध्यक्ष पवित्र बज्राचार्यले मूल्य बढ्नुमा खुद्रा बिक्रेताको हात नरहेको दाबी गरे । 'थोक बिक्रेताले जति मूल्य तोक्यो त्यत्तिनै मूल्य कायम हुन्छ,' उनले भने, 'यसमा खुद्रा बिक्रेताको कैफियत छैन ।

तर मूल्य संकलन गर्न थोक बिक्रेताकहाँ कोही जाँदैन । खुद्रा पसल अनुगमन गरेर केही हुँदैन ।' उनले मूल्य माग र आपूर्तिमा निर्भर रहने तथा विज्ञापनलगायत खर्चले पनि ब्रान्डअनुसार खाद्यान्नको मूल्य प्रभावित हुने बताए ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तथ्यांकअनुसार पनि खाद्य क्ष्ाेत्रको औसत मूल्य वृद्धिदर १० दशमलव ६ प्रतिशत छ । जबकि गैरखाद्यको वृद्धि दर ९ दशलमव ६ प्रतिशत मात्रै छ । तरकारीको मात्रै औसतमा १६ प्रतिशतले मूल्य बढेको छ । यसले समग्र मूल्य वृद्धिलाई १० प्रतिशतभन्दा माथि धकेलेको छ ।

पछिल्लो समयमा बजार अनुगमनको संख्या बढे पनि बजार भाउ नियन्त्रण हुन सकेको छैन ।

विभागले फागुनसम्मको ४ महिनाको अवधिमा काठमाडौं उपत्यकामा ५ सय ४४ र उपत्यका बाहिर १ सय ४८ व्यवसाय अनुगमन गरेको छ ।

अध्यक्ष महर्जन र महासचिव देवले अनुगमन बढे पनि विभागले त्यसलाई नतिजामुखी बनाउन नसकेको बताए । 'कार्टेलिङ गरेर अस्वाभाविक रूपमा दाल, चामलजस्ता खाद्य पदार्थ मूल्य वृद्धि गर्ने थोक बिक्रेता ३२/३३ भन्दा बढी छैनन्,' महर्जनले भने, 'हामीले त्यस्ता बिक्रेताको फोन नम्बर र ठेगानासमेत दिएका छौं । तर विभागले साना खुद्रा बिक्रेता मात्र अनुगमन गरेर ठूला बिक्रेतालाई उन्मुक्ति दिइरहेको बुझिनसक्नु छ ।' उनले विभागले चाहने हो भने अस्वाभाविक रूपमा मूल्य बढाएर कालोबजारी गर्ने थोक

बिक्रेतालाई अनुगमन र कारबाही गरी तत्काल खाद्यान्नको मूल्य नियन्त्रण गर्न सक्ने बताए । विभागका निर्देशक प्रेमप्रसाद पौडेलले पनि खाद्यान्नको मूल्य ज्यादै बढेको भन्ने गुनासो आएको बताए । 'हामी खाद्यान्नको मूल्य विश्लेषण गर्न लागिरहेका छौं,' उनले भने, 'मूल्य विश्लेषणको नतिजा आएपछि वृद्धि अस्वाभाविक देखिए आवश्यक कारबाही गछौर्ं ।'

खाद्य पदार्थ    भदौ २०६८    चैत २०६९             वृद्धि ९५०

सोना मन्सुली     ३९               ५९               ५६.४१

जिरा मसिनो     ६०                 ५९              -१.६६

बासमती           ७८                 ९९               २६.९२

आटा                ३५                ४२                २०

मैदा                   ३४              ४३              २६.४७

मास (मझौला)     १०५             १३२              २५.७१

मसुरो (मझौला)   ८७               ९९              १३.७९

तोरी तेल (प्रतिलिटर १२४        १६५              ३७.१०

भटमास तेल         ११८             १३७              १६.१०

सनफ्लावर तेल     १२५             १४०               १२

No comments:

Post a Comment