Wednesday, April 3, 2013

चर्को मूल्यको मारमा उपभोक्ता

देशमा अहिले खाद्य पदार्थलगायत सम्पूर्ण क्षेत्रमा चरम मूल्यवृद्धि भइरहेको छ । नेपाली जनताको आयस्तर दिनका दिन घढ्दै गएको छ भने महँगीले आकाश छुन आँटेको छ । देशमा रोजगारको समस्या उत्तिकै छ । उत्पादित वस्तुहरूको मूल्य पनि कम छ भने किन्नुपर्ने वस्तुको मूल्य अत्यधिक रूपमा बढ्दै गइरहेको छ । यो देशका लागि अत्यन्तै दुःखदायी प्रसंग हो । यदि यही क्रम रहेको खण्डमा राष्ट्रको बजेट अबको दुई वर्षपछि महँगी भत्ताका रूपमा सम्पूर्ण जनतालाई बाँड्नुपर्ने अवस्था बन्छ ।


एकातिर खाद्य सामग्रीको मूल्यमा रातदिन वृद्धि भइरहेको छ भने अर्कोतिर एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाइ इन्धनको हाहाकार भइरहेको छ । सधैं घाटा मात्र हुन्छ भन्ने नेपाल आयल निगमले अहिले पनि पेट्रोलिय पदार्थलाई सहज रूपमा आपूर्ति गर्न सकिरहेको छैन । त्यसैले अबको केही दिनभित्रमा नेपाली जनताको ढाडै भाँचिने गरेर मूल्यवृद्धि गरिँदैछ । अचम्म चाहिँ केमा लाग्छ भने सधैं घाटा र अपुग मात्र भयो भन्ने आयल निगमले तेल बेचेको पैसा चाहिँ कहाँ लान्छ ? तेलमा भइरहेको चुहावटलाई किन नियन्त्रण गर्न सक्दैन ? तेलमा भइरहेको चुहावट र तेलमा राखिएको उच्च कमिसनलाई ख्याल राख्ने हो भने नेपालमा नेपाल आयल निगम घाटामा जाँदैन तर अनावश्यक व्यक्तिलाई मासिक हजार लिटरसम्म निःशुल्क तेल दिने, अनावश्यक रूपमा तेलको प्रयोग गर्ने सरकारी सुविधा सम्पन्न व्यक्तिहरूलाई निःशुल्क सेवा कम गर्दै लाने र बीचमा हुने कमिसन र चुहावटलाई नियन्त्रण गर्ने हो भने यो अवस्था बन्ने थिएन । सधैं अभावै अभावमा मुलुकलाई पु¥याउने नेपाल आयल निगमलाई नै कारबाहीको दायरामा राखेर अगाडि नबढे देशमा यस्ता समस्याहरू झन चर्कंदै जानेछन् ।

एक लिटर पेट्रोल बराबर झन्डै २० रुपैया कमिसन राखिएको हुन्छ । त्यो पनि अन्तराष्ट्रि बजारमा हेर्दा पेट्रोलमा घाटा पनि छैन । त्यो कमिसनको पैसा किन राष्ट्रिय आयमा सम्मिलत गरिँदैन ? एलपी ग्यासलाई भारतमा भारु ६ सय पनि पर्दैन भने नेपालमा कसरी १५०० पर्न जान्छ ? एलपी ग्यास भारतसँग नकिनेर बंगलादेशसँग किन्ने हो भने नेपालमा पनि ९०० को हाराहारीमा उपलब्ध गराउन सकिने अवस्था छ तर नेपाल आयल निगम किन किन्दैन बंगलादेशसँग ? आज जुनसुकै पेट्रोल पम्पहरूमा गाडीहरूको किलोमिटरौंको लाइन लागेका छन् । कतिपय लामो दूरीका गाडीहरूले त अहिले भारतीय बजारबाट तेल लुकाएर ल्याएर पनि गाडी चलाउँदै आएका छन् । यस्तो अवस्था हुँदाहुँदै र सरकारले पटक–पटक ऋण उपलब्ध गराउँदै आए तापनि आयल निगमले किन सहज रुपमा तेल उपलब्ध गराउन सक्र्दैन ? तेल बिक्री गरेको पैसा कहाँ जान्छ ? कि आयल निगमले तेल निःशुल्क बाँड्दै आएको छ ? यी प्रश्नहरू आज आम नेपाली जनताको टाउकोमा घुमिरहेका छन् । साँच्चै तेल बेचेर आएको पैसा आयल निगमले के गर्छ ? उसले त उपभोक्तालाई सित्तैमा तेल आपूर्ति गरेको हुँदैन । सरकारले दिएको अनुदान कहाँ जान्छ र सधैं आयल निगम टाट पल्टन्छ ? यी प्रश्नहरू आम सचेत उपभोक्ताहरूको टाउको रन्थ्याउने प्रश्न बनेका छन् । राजधानीमा हेर्दा थाहा हुन्छ गाडीका लाइनहरू दुई दिन अगाडिदेखि लाइनमा बसेका हुन्छन् ।

तेलका विषयमा बन्दै गएको विवाद

पत्रकार : किन लाइनमा बस्नुभएको ?

उपभोक्ता : तेल किन्न ।

पत्रकार : सित्तैमा हो ?

उपभोक्ता : होइन । किन्न बसेको । आयल निगमले तोकेको मूल्यमा ।

पत्रकार : किन्नु पनि लाइन पनि बस्नु दुई–दुई दिन ?

उपभोक्ता : नेपाल आयल निगमलाई घाटा लागेको छ अरे ।

पत्रकार : तेल बेचेको पैसा के गर्छ आयल निगम ?

उपभोक्ता : हजुर त्यो त नातेदारहरूलाई बाँड्दै सकिन्छ रे ।

पत्रकार : यदि त्यसो हो भने आयल निगमको आवश्यकता नि भयो देशमा ?

उपभोक्ता : यदि त्यसो भएन भने त टाउकेका सन्तानहरू भोकै मरिहाल्छन् नि ।

पत्रकार : उनीहरू मरेर हामीलाई के हुन्छ ?

निगम कर्मचारी : नेपाली भएर नेपालीको मर्म बुझ्नु हुन्न तपार्इं ?

पत्रकार : हाम्रा मर्का बुझेका छन् उनीहरूले ?

उपभोक्ता : तपाईं बकबक नगर्नुहोस् अहिले सिध्याइदेलान नि तिनीहरूले ।

पत्रकार : मलाई सिध्याएर यो समस्या समाधान हुन्छ भने सिध्याउन् न त ।

निगम कर्मचारी : परिवारको माया लाग्दैन ?

पत्रकार : लाग्छ नि त्यसो त ।

निगम कर्मचारी : हो त्यसो हो भने हामीलाई पनि परिवारको माया छ नि ।

पत्रकार : ए त्यसो हो भने परिवारकै मायाले आयल निगम टाट पल्टेको हो ?

निगम कर्मचारी : मिलाएर बुझ्नुहोस् न पत्रकार महाशय ।

यो संवाद अनौठो नमानि पढ्नु होला । अहिले यस्तै छ देशको अवस्था । सबैले आफ्ना परिवार पाल्नुपरेको छ । बिचरा उपभोक्ता पैसा तिरेर दुई दिन लाइन बसेर १० लिटर तेल किन्छ र परिवार पाल्छ । बिचरा पत्रकार यो चरम अन्यायको विरुद्धमा आवाज उठाउँछ र परिवार पाल्न खोज्छ । उता कर्मचारी माथिको आदेशमा पत्रकारलाई सम्झाउन खोज्छ र परिवार पाल्छ । टाउकेहरू गरिब जनताको टाउकोमा क्रिकेट खेल्छन् र परिवार पाल्छन् । गजब छ बा नेपालमा ।

मूल्यवृद्धिको एक दृश्य

खाद्य पसलमा

उपभोक्ता : चामल कसरी केजी ?

व्यापारी : ५० रुपैयाँ ।

उपभोक्ता : यो त अति महँगो भयो नि !

व्यापारी : महँगो भयो भने नलानु नि कसले लैजा भनेको छ र ?

उपभोक्ता : खानेतेल कसरी लिटर ?

व्यापारी : १८० लिटरको ।

उपभोक्ता : आम्मममममममममम कति साह्रो बढेको भाउ ?

व्यापारी : गणतन्त्र पनि आउनु अनि सस्तो पनि खोज्नु यो त मिलेन नि ।

उपभोक्ता : गणतन्त्र हामीले मूल्य वृद्धिका लागि ल्याएको हो त ?

व्यापारी : हो नि किन होइन ?

उपभोक्ता : कसरी ?

व्यापारी : तपाईंले ल्याएको गणतन्त्रले हजारौं टाउके पाल्नु तपाईंले नै पर्दैन ? एक जनालाई ५० हजार दिन तपाईंको टाउको को कपाल दैनिक एक एक उखल्नुहोस् ।

उपभोक्ता : तिनीहरूलाई हामीले भोट दिएर संविधान बनाई देश बनाउन पो पठाएको त हाम्रो टाउकोमा फुटबल खेल्न पठाएको हो र ?

व्यापारी : किन होइन, हो नि ! तिनीहरू पनि तपार्इं करबाट त बाँच्छन् नि ।

उपभोक्ता : त्यसो हो भने त्यक्ति विधि किन चाहियो त हामीलाई त्यस्ता टाउकेहरू ?

व्यापारी : नेपालमा गणतन्त्र आएको थाहा छैन ।

उपभोक्ता : गणतन्त्र आउँदैमा सबैलाई हामीले पाल्नुपर्छ त ?

व्यापारी : पर्छ नि किन पर्दैन । उपभोक्ता : किन पाल्ने हामीले उनीहरूलाई ?

एक टाउकेको पिए भनाउँदो : तपाईलाई परिवारको माया लाग्दैन ?

उपभोक्ता : लाग्छ नि किन लाग्दैन ।

एक टाउकेको पिए भनाउँदो : हाम्र चाहिँ परिवार पाल्नु पर्दैन ।

उपभोक्ता : हाम्रो परिवार पाल्न तपाईंहरूले हामीलाई भत्ता दिनुभएको छ र ?

एक टाउकेको पिए भनाउँदो : चिनेका छौ हामी को हौं ?

उपभोक्ता : चिनेको छ नि किन नचिन्नु त्यही डाँडा गाउँका त हौ नि तिमी ।

एक टाउकेको पिए भनाउँदो : के को डाडागाउँको हुनु अब त म त राष्ट्रिय राजनीतिको केन्द्रको मान्छे ।

व्यापारी : हाम्रा लागि चाहिँ के गर्दै छौ त ।

एक टाउकेको पिए भनाउँदो : त्यत्ति पनि थाहा छैन ? हामीलाई पाल्नुपर्छ र कर पनि बढाउँदैछौं हामी ।

व्यापारी : हाम्रो पनि परिवार पाल्नै पर्छ त्यसैले यसो सामानमा दुईचार पैसा भाउ बढाएको ।

उपभोक्ता : हामीले चाहिँ के बढाउने अब ?

व्यापारी : बढाउने होइन अब घटाउने ?

उपभोक्ता : के घटाउने ?

एक टाउकेको पिए भनाउँदो : पेट र आयु ।

यो संवादले कसैलाई आश्चर्य पार्ला तर आम उपभोक्ताको यो महँगी नियन्त्रण गर्ने कुनै उपाय रहेन अब । उही माथि व्यापारी र एक टाउकेको पिए भनाउँदोले भने जस्तै पेट र आयु घटाउनुको विकल्प छैन अब ।

हामी जस्ता गरिब देशका जनताको आयस्तर दिनका दिन खस्कँदैछ । नखस्क्योस् पनि कसरी । खोइ कसरी बढ्छ त आयस्तर ? पेट पाल्नै प¥यो अकासिएको मूल्यवृद्धिको पर्खाल छ सामु, ज्याला कहिल्यै बढ्ने होइन । सरकारले सुविधामा खाद्यवस्तु उपलब्ध गराउने होइन । चिचिलालाई स्कुल पढाउनै प¥यो सरकारी विद्यालयमा किताबै पाइँदैन । टुक्रे भए पनि बोर्डिङ स्कुलमा पठाउनै प¥यो । किताब र फिले डल्लै पार्छ । आम नेपाली जनता आज यही पिरलोमा रन्थनिएका छन् । नेपाली जनताका हजारौं चाहाना छन्, न त तिनीहरूको सम्बोधन हुन सकेको छ, न त राम्रो रोजगारका अवसरहरू नै उपलब्ध छन् । तलबमा वृद्धि उही सक्षमहरूको भारी वृद्धि हुन्छ गरिब गरिबै हुन्छ । त्यसैले कतारको पालुवासँग जिन्दगी बन्दकी राखेर ऊँट र भेडाको पछि लागेर कतिले त परिवार पाल्ने प्रयास गरेका छन् तर त्यो पनि युगान्तकारी र चिरस्थायी पद्धति भने होइन । यस्तै छ नेपालको अवस्था यस्तै अवस्थामा हामी गुज्रेका छौं । अन्ततः आम नेपाली जनताले पेट घटाउनु र आयु घटाउनुको विकल्प पाउन सकेका छैनन् ।

No comments:

Post a Comment