Friday, April 26, 2013

जनगणना २०६८, मूलबासीको बिरुद्ध बाहुनबादी षड्यन्त्र

धेरै प्रतिक्षा पश्चात अन्ततः जनगणना २०६८ तथ्यांक सार्वजनिक भएको छ । जनगणना तथ्यांकमा आफ्नो जाती, धर्म जनसंख्याको सहि तथ्यांक विवरणको लागि खासगरी मूलबासी समुदायले चाडपर्व जस्तै गरी गाँउ-गाउँ, शहर-शहरमा पुगेर मूलबासी समुदायमाझ जनचेतनामुलक कार्यक्रम गरेका थिए तर जनगणना पश्चात तथ्यांक आउन धेरै ढिलो गरिदा उत्पन्न भएको शंका आखिर शत प्रतिशत सहि भएको सावित हुन गएको छ ।

जनगणना तथ्यांकमा मूलबासीको धर्म र जनसंख्याको सहि तथ्यांक सार्वजनिक नगरी औपचारीकता मात्र पुर्ण गरी पुनः यस देशका बाहुन क्षेत्रीलाई महत्वपुर्ण शक्तिको रुपमा देखाइएको छ , जो विलकुलै गलत एवं त्रुटिपुर्ण तथ्यांक हो । भ्रमपुर्ण तथ्यांक किन सार्वजनिक गरियो वा भयो भन्ने बारे भन्नु पर्दा नेपालको सत्तामा हाली मुहाली गर्ने चरीत्र बोकेका राजनैतिक नेताको इशारामा मूलबासी समुदायको एकजुटता प्रदर्शित आन्दोलन देखि त्रसित भएर भ्रम पुर्ण तथ्यांक सार्वजनिक भएको हो ।
मूलबासीको जागरणले मनुवादी चरीत्र बोकेकाहरुद्धारा मूलबासीको आन्दोलन र जागरणलाई निस्तेज बनाउन भ्रमपुर्ण तथ्यांक सार्वजनिक गरिएको हो । यदि जनगणनाको सहि तथ्यांक सार्वजनिक भइदिएको भए नेपालको राजनितीमा मूलबासीको वर्चस्व स्थापित हुने भुइँचालोको पुर्व संकेतका कारण मनुवादिहरुद्धारा आफ्नो जनसंख्या शक्ति र धर्म शक्ति ठुलो भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
राणा शाह कालमा दलितनै नभएको देशमा गलत प्रवृतिका बाहुनलाई मृत्युदण्ड दिदा ब्रह्महत्या लाग्ने भयले हुकुमी शैलीमा कामी, दमाई बनाइयो त्यस्तै सुरवीर लडाकु खस मगर, गुरुङ्ग लगायतका मूलबासीलाई तागा लगाई क्षेत्री उपाधी दिएर मूलबासी संख्यालाई कम गर्न र आफ्नो शक्तिलाई मजबुत गर्न हेतु गरेजस्तै जनगणना ०६८ को तथ्यांकमा हिन्दु ८१% र बौद्ध ९% देखाइएको प्रति मूलबासी र बौद्ध धर्मावलम्बी आक्रोशीत बनेका छन् । जनगणना तथ्यांकमा मूलबासीलाई पाखा लगाउन तथ्यांक विवरण कसरी संकलन गरीयो भन्ने बारे भन्नु पर्दा नेपालको मुटु काठमाण्डौ स्थित रामकोट गाविस को डाडागाँउ टोलमा लगभग दुइ तीन सय तामाङ्  समुदाय बसोबास गर्छन् , त्यहाँका तामाङ समुदायले जनगणना तथ्यांक संकलक आएकोनै देखेनन् यस्तै प्रकारको घटना नेपालको खास गरी मूलबासी बसोबास गर्ने क्षेत्रमा भएको देखियो , तसर्थ समग्रमा भन्नुपर्दा जनगणना ०६८ को तथ्यांक मिथ्या र भ्रमको थात्रो पोको मात्रै हो ?
जनगणना ०६८ को तथ्यांक हिन्दुधर्म, बाहुन, क्षेत्रीलाई मात्र स्थापित गराउन खोजेको झुट र भ्रमको दस्ताबेज भन्नका लागि केहि आधारहरु छन् । जाती/धर्म – नेपालमा हिन्दु र बौद्ध धर्मावलम्बी नेपालको पचहत्तरै जिल्लामा घना रुपमा बसोबास गरीएको पाइन्छ । नेपालमा हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बी जातीगत आधारमा सजिलै छुट्याउन सकिन्छ , मूलबासीको प्रतिशत मध्ये धेरै जस्तो गैह्र हिन्दु धर्मावलम्बी छन् । मूलबासीको जनसंख्या ३८ % र मुसलमानको जनसंख्या ४.४% लाई जोड्दा ४२ % जनसंख्या देखिन्छ , ३८ % मध्ये यदि मूलबासीहरुबाटनै इसाई धर्ममा परीणत भई १.४ % गएको हो भने पनि मूलबासी ३६% भएको देखिन्छ । ३६% मध्ये ९% बौद्ध, ३% प्रकृतिपुजक बाहेकका मूलबासी हिन्दु धर्मावलम्बी भएको तथ्यांक आफैमा आधारहिन कपोल कल्पित हो । यसपालीको जनगणनामा विगतमा हिन्दु धर्मावलम्बी भनी लेखिएका मूलबासी मगर, नेवार, थारु समुदायका धेरै जसोले धर्मको महलमा बौद्ध धर्म लेखेका छन् र तराईका दलित अंबेडकर पंथी समुदायले धर्मको महलमा बौद्ध धर्म लेखाएको कुरा सार्वजनिक भएको छ । जनगणना तथ्यांकले तमाङ् ५.८%, गुरुङ्ग ३% लगायत हिमाली जातीको जनसंख्याको पुरानै तथ्यांकबाट इसाई धर्मावलम्बीको १.४ % घटाएर बौद्ध धर्मावलम्बीलाई ११% बाट ९% मा झारेको भ्रामक तथ्य सार्वजनिक गरीएको छ । यसपालीको जनगणनामा बौद्ध धर्मावलम्बीको २० देखि २५ प्रतिशत जनसंख्याको तथ्यांक आउने अनुमान गरीएको थियो ।
प्रथम र दोस्रो विश्वयुद्धमा राणाहरुद्धारा मूलबासी समुदायका होनहार युवा सपुतलाई युद्धमा होम्याएर तथा मगर, गुरुङ्ग, खस जातीहरुलाई तागा लगाई ठकुरी बनाएर मूलबासी जनसंख्याको न्युनीकरण गरी राज्यशक्तिमा आफ्नो पकड गर्न खोजेको जस्तै जनगणना २०६८ को तथ्यांक त्यहि श्रृखंलाको निरन्तरता हो । मूलबासीको एकजुटता, अधिकार स्थापित प्रति गरीएको बुलन्द आवाजलाई निरुत्साहित, निस्तेज एवं कमजोर सावित गर्न गरीएको भयानक षडयन्त्र हो । २०१८ सालको जनगणनामा तमाङ् जातीको जनसंख्या पाँच लाख बीस हजार देखिएको छ भने २०६८ सालको जनगणना लगभग ५१ वर्ष पश्चात मात्र ८ देखि ९ लाख को जनसंख्या वृद्धि हास्यास्पद एवं तर्कहिन देखिन्छ । २०६८ को जनगणना तथ्यांकमा जातीय शक्ति अनुरुप कार्य गरीएको पनि देखियो , आर्थिक , शैक्षिक, राजनैतिक क्षेत्रमा नेवार जाती सबल भएको कारण नेवारको जनसंख्याको तथ्यांकमा फेरबदल नगरी सहि तथ्यांक सार्वजनिक गरीएको त्यस्तै मधेसी समुदायलाई मेरुदण्डको रुपमा पछाडि भारत रहेको हुँदा मधेसी समुदायको तथ्यांक पनि सहि आएको छ । मूलबासी शक्तिको एकजुटता, प्रर्दशन र मूलबासी शक्तिको उदयको कल्पना समेत नगरेका तत्वद्धारा मूलबासीको अधिकार स्थापितप्रति गरिएको जुरमुराहटले त्रसित भएको परिणाम स्वरुप बाहुन, क्षेत्री जाती र हिन्दु धर्मको बर्चस्व देखाउ पुरानो जनगणनालाईनै केहि फेरबदल, थपथाप र नयाँपनका साथ सार्वजनिक गरिएको छ ।
नेपालको  राजनैतिक पार्टि, लोक सेवा आयोग , बाहुन, क्षेत्री र मधेसी उच्च वर्गलाई नेता बनाउने र निजामती सेवक भर्ती केन्द्र भनिन्थ्यो भन अब चाँहि मूलबासी समुदायको दृष्टिमा नेपाल तथ्यांक विभाग हिन्दु र हिन्दु धर्म मान्नालाई नेपालमा शक्तिशाली भएको प्रमाण दिने संस्था बन्न पुगेको छ । मूलबासी समुदायले अब नेपालको कुन संस्था माथि विश्वास गर्ने तर्फ गम्भीर चिन्तन मनन गर्नुपर्ने समय आएको छ । मूलबासी समुदायले औल्याएको कुरा प्रति नेपाल तथ्यांक विभागद्धारा जनगणनामा त्रुटि र पुर्वाग्रही नभएको कुरा प्रमाणित गर्नका लागि ३८% मूलबासी समुदाय मध्येका कुन जातीहरुद्धारा धर्मको महलमा कुन धर्म उल्लेख गरे त्यो विवरण सार्वजनिक गर्न अत्यन्त जरुरी छ । यदि नगरीए मूलबासी भित्र उब्जेका शंका सत्य रहेको आधारको पुष्टि हुनेछ । नेपालका राज्य शत्ताले सोच्नु पर्ने बेला आएको छ , अमेरिका, न्युजील्याण्ड, अष्ट्रलीयाका भुमीपुत्रहरुजस्तै यदि नेपालका मूलबासीलाई इतिहासका पानाबाट विलिन गरी पाखा लगाउन सोचिएको हो भने त्यो सोच कहिले पनि साकार हुन सक्दैन । सैकडो वर्ष देखि आफ्नो भुमीमा दयम दर्जाको नागरीक भएर बाँच्नुको पीडा कस्तो हुन्छ नेपाली मूलबासीको स्थानमा उभ्भिए मात्र थाहा हुनेछ, नेपाली मूलबासीका नेपाल बाहेक विश्वमा कहिपनि मुलभुमी विद्यमान छैन तसर्थ नेपालको भुमीपुत्रलाई निमीट्यान्न पारी इतिहासको पानामा विलिन बनाउने सोचको निरन्तरता भयानक विष्फोटकमा परिणत हुन सक्छ । तसर्थ समयमै विष्फोटलाई न्युनीकरण गर्नुनै नेपाल र नेपालीको कल्याण हो ।
-अमरदिप मोक्तान

No comments:

Post a Comment