काठमाडौ, चैत्र ३० । जेठ असारमा संविधानसभाको चुनाव नभए पनि मिनी आमचुनाव भने जेठमै हुने भएको छ। देशको युवा जनमत कता छ भनेर देखाउन महत्वपूर्ण मानिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७० जेठ १३ हुने निश्चित भएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र मान्यताप्राप्त क्याम्पसहरुमा हुने चुनावले युवा जनमत कुन दलको पक्षमा छ भन्ने सामान्य सर्वेक्षण देखाउनेछ। चैत २३ गतेको त्रिवि सभाले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन प्रणाली मिश्रित हुने व्यवस्था गरेको छ। सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र आधा सदस्य प्रत्यक्ष निर्वाचित र उपाध्यक्ष, सहसचिवसहित आधा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको छ। उपाध्यक्ष र सहसचिवको चयन निर्वाचित कार्यसमितिले गर्नेछ। सभाको निर्णयसँगै चैत २४ गते विहान बसेको कार्यकारी परिषद्को बैठकले जेठ १३ स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो। विद्यार्थी नेताहरुका बीचमा निर्वाचन प्रणालीको विषयमा दुई बर्षदेखि चर्को विवाद थियो। त्यही विवादले दुई बर्षसम्म निर्वाचन हुन सकेको थिएन।
त्रिविले स्ववियु निर्वाचन मिति घोषणासँगै विद्यार्थी संगठनमा चुनावी सरगर्मी बढ्न थालेको छ। यो चुनावमा विगतमा जस्तै एमाले सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेविसंघ, एम्ााओवादी सम्बद्ध अखिल क्रान्तिकारी, नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारी र तराईका जिल्लामा मधेशी विद्यार्थी संगठनबीच नै प्रतिस्पर्धा हुनेछ। सबै विद्यार्थी संगठनका नेता कार्यकर्ताबीच स्ववियुको निर्वाचनमा उम्मेदवार हुने होडबाजी पनि सुरु भएको छ। गुटलाई रिझाउनेदेखि नेताको घरमा धाउने क्रममा पनि विद्यार्थी नेताहरु लागिसकेका छन। प्रायः सबै विद्यार्थी संगठनहरु आन्तरिक विवादको सामना गरिरहेका बेला चुनाव हुन लागेकाले त्यसको असर उम्मेदवारी छनोटमा पनि देखिने छ।
एमालेनिकट विद्यार्थी संगठन अखिल र एमाओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु भने चुनावी प्रचारप्रसारमा जुटिसकेका छन। उनीहरुले अनौपचारिक रुपमा उम्मेदवारी घोषणा पनि गर्न थालेका छन। साथै, नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारी पनि चुनावमा सहभागी हुने मनस्थितिमा पुगेको छ। केही साना विद्यार्थी संगठनसँग मोर्चाबन्दी गरी चुनावमा जाने मनस्थितिमा क्रान्तिकारी पुगेको हो। निर्वाचन प्रणाली मिश्रित हुने निर्णय त्रिवि सभाले गरेपछि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएको वैद्यनिकट अखिल क्रान्तिकारीले केही दिनमा बैठक बसेर चुनावमा जाने निर्णय गर्न लागेको छ। यता, नेविसंघका नेताहरु भने चुनावी माहोलमा जुटिसकेका छैनन्। संघभित्रको विवाद र पार्टीको महासमिति बैठकका कारण विद्यार्थी नेताहरु चुनावी माहौलमा सहभागी छैनन्।
No comments:
Post a Comment