काठमाडौं, चैत ३०: प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित संचारकर्मीहरुसँग नववर्ष २०७० को शुभकामना आदान प्रदान गर्नुभएको छ ।
साथै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक केशवप्रसाद अधिकारीले आज प्रहरी प्रधान कार्यालयमा नियमित पत्रकार भेटघाट एवंम् शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक अधिकारीले नववर्ष २०७० सालको सुखद उपलक्ष्यमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै नेपाल प्रहरीको व्यावसायिक गतिवधि र जिम्मेवारीबारे जानकारी दिनुको साथै हाल नेपाल प्रहरीमा ६१ हजार १ सय ७१ जनशक्ति रहेको तर उक्त जनशक्ति जनसंख्याको अनुपातमा न्यून रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
साथै उहाँले नेपाल प्रहरीको अपराध अनुसन्धान तथा व्यवस्थापन, ३ वर्षको शान्ति सुरक्षाको तुलनात्मक अवस्था, सो अवधिमा भएका बन्द हड्ताल, चक्काजाम तथा विरोधजस्ता राजनीतिक कार्यक्रम, गम्भीर प्रकृतिका अपराध, हतियार तथा खरखजना, महिला हिंसा तथा सामाजिक विकृतिविरुद्धको कारवाही, लागूऔषध अपराध विवरण, जातिय सशस्त्र समूहको गतिविधि, सशस्त्र समूहका नेता तथा कार्यकर्ता पक्राउ विवरण, नेकपा चेवादीका अध्यक्ष पक्राउ, सवारी दुर्घटना तथा न्यूनिकरणका प्रयास, प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षति र विपद व्यवस्थापनतर्फ नेपाल प्रहरीले गरेका प्रयासबारे समेत विस्तृत रुपमा जानकारी प्रस्तुत गर्नुभयो ।
प्रहरी नायव महानिरीक्षक अधिकारीले नेपाल प्रहरीले गत कात्तिक १५ गतेबाट लागू गरेको एकवर्षे कार्ययोजनाको कार्यान्वयनको अवस्था, नेपाल प्रहरी सेवामा प्रविधिको प्रयोग तथा पारदर्शी निर्णय प्रणाली लागू गरिएको र गुनासो व्यवस्थापन अन्तर्गत प्रहरी जवानसँग प्रहरी महानिरीक्षक कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो ।
भेटघाट कार्यक्रममा उहाँले नागरिक प्रहरी सहकार्य अभिबृद्धि, मानवअधिकार संरक्षण एवं सम्वद्र्धनमा नेपाल प्रहरीको भूमिका प्रभावकारी बनाउन गरिएका प्रयास, प्रभावकारी मानवस्रोत व्यवस्थापन, कर्मचारीमा उच्च मनोवल कायम गर्न गरिएका कार्य, संघीय प्रहरी सेवाको अभ्यास र तदनुरुपको प्रहरी संरचना निर्माण, प्रभावकारी स्रोत व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण र नेपाल प्रहरीले अवलम्वन गरेका नीतिहरुबारे जानकारी गराउनुभयो ।
नेपाल प्रहरीले संचालन गरेका विशेष कार्यक्रम र उपलब्धीहरु अन्तर्गत अवैध हातहतियार संकलन, लागूऔषध नियन्त्रण, वन्यजन्तु सम्बन्धी अपराध विरुद्धको अभियानबारे चर्चा गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अधिकारीले हाल मतदाता नामावली संकलनको क्रममा भएका अवरोधको क्षेत्रगत विवरण प्रस्तुत गर्नुको साथै आसन्न निर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तयार पारेको योजनाबारे जानकारी दिनुभयो ।
उक्त अवसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाहरु निरुपण गर्नेक्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले नेपाल प्रहरीको फेसबुकलगायतका अन्य साइट सूचना सम्प्रेषण र जानकारी प्राप्त गर्न सहयोगीसिद्ध भएको बताउनुहुँदै मौलिक हकअधिकार हनन गर्ने अधिकार कोहीसँग पनि नभएको र नेपाल प्रहरीमा चेन अफ कमाण्डमा काम भइरहेको समेत उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment