अल्बर्ट आइन्स्टाइन भौतिक शास्त्रमा न्युटनपछिका ठूला वैज्ञानिक हुन् । उनले २६ वर्षको उमेरमा सापेक्षता र प्रकाशसम्बन्धी सिद्धान्त प्रतिपादन गरे । फलस्वरूप सन् १९२१ भौतिक शास्त्रको नोबेल पुरस्कार पाए । भ्वाइलिन बजाउन सौखिन उनी जर्मनीका यहुदी थिए । बाल्यकालमा उनको पढाइ तेज थिएन । बोल्न पनि ढिलै थालेका हुन् । बेला घर्कंदा पनि नबोलेपछि दिमागी समस्याको आशंका गरियो ।
बाबु हर्मन आइन्सटाइनले चलाएको बिजुली कारखाना धराशायी भएपछि उनीहरू इटली गए । हर्मन छोरालाई इलेक्ट्रिकल इन्जिनियर बनाउन चाहन्थे तर आइन्स्टाइनले ज्युरिच गई पोलिटेक्निकमा इन्जिनियरिङ गर्ने इच्छा देखाए । तर, प्रवेश परीक्षामा अनुत्तीर्ण भए । गणितमा राम्रो अंक ल्याउँदा–ल्याउँदै पनि वर्ष नपुगेपछि परीक्षाबाट फालिए । त्यसबेला उनी १६ वर्षका थिए । इन्जिनियरिङ कलेजको सल्लाहमुताविक आरागुवा क्यान्टन स्कुलमा भर्ना भए । त्यहाँ उनको रेखदेखको जिम्मेवारी गुस्ताभ मायरले लिए । गुस्ताभले उनलाई जोस्ट विन्टलरको परिवारमा बस्ने–खाने व्यवस्था मिलाइदिए । विन्टलर परिवार ठूलो थियो । त्यहाँ रहँदा–बस्दा परिवारकै एक सदस्य मेरी विन्टलरसँग उनको प्रेम बस्यो । मेरी उनीभन्दा दुई वर्षले जेठी थिइन् । आमा पाउलिन मेरीलाई बुहारी बनाउन राजी भइन् ।
मेरी र आइन्स्टाइन दुवैले यसबीच धेरै प्रेमपत्र लेखे । मेरी उनको लुगा धुनदेखि कोठा सफासम्म गर्न तयार थिइन् । अर्को साल, आइन्स्टाइन पोलिटेक्निक इन्जिनियरिङ कलेजमा भर्ना भए । भौतिकशास्त्रको कक्षामा ६ जना विद्यार्थी थिए । तीमध्येकी हुन्, मिलेभा मारिक । उनी गणित र भौतिकशास्त्र पढ्ने युरोपकी प्रथम छात्रा थिइन् । उमेरमा आइन्स्टाइनभन्दा चार वर्षले जेठी र सर्वियन मूलकी, खुट्टो खोच्याएर हिँड्ने । पढाइकै क्रममा दुवै नजिकिए । सन् १८९६ मा १७ वर्षीय आइन्स्टाइन बिदा मनाउन इटली फर्के । लामो बिछोडपछि मिलेभालाई पत्र लेखे, ‘म तिमीलाई नसम्झी बस्न सक्दिनँ । तिमी नजिक नहुँदा दुःखी हुन्छु । तिम्रो नजिक बस्न पाउँदा गौरवान्वित ठान्छु । तिमीसँगको निकटताले मेरो खुसी दोब्बर हुन्छ । तिम्रो आँखाको तेजले उत्साहित हुन्छु ।’ मिलोभाको पत्र पनि कम प्रेमपूर्ण हुँदैनथ्यो । एउटा पत्रमा त आइन्स्टाइनले आफ्नो पाइतालाको चित्रसमेत कोरेर पठाए ताकि मिलेभाले उनका लागि ऊनको मोजा बुन्न सकुन् । पत्रमा उनले लेखेका थिए, ‘मेरी सानी डाली मधुर गीत गाउँछिन्, म आत्मविभोर भएर उसैमा आफ्नो गीत मिसाइदिन्छु ।’ पत्र लेख्दा एकले ‘प्रिय मायालु’ र अर्कोले ‘प्रिय डाली’ भनेर सम्बोधन गर्थे ।
आइन्स्टाइन मिलेभाको छात्रावासमा अबेरसम्म बस्थे । यसनिम्ति अन्य छात्राले आपत्तिसमेत प्रकट गरेका थिए । मिलेभा आइन्स्टाइनको गणितको कापी चेक गरिदिन्थिन् । गणितीय सिद्धान्तसम्बन्धी ठोस आधार प्रस्तुत गर्थिन् । विद्युतीय सिद्धान्तको गहिरो अध्ययन गर्थिन् । हेल्महोल्सको पुस्तक र हेर्जद्वारा प्रतिपादित ‘विद्युतीय शक्तिको उत्पादकत्व’ पढिसकेकी थिइन् । यसबीच सन् १९०१ मा मिलेभा गर्भवती बनिन् । पढाइ बिग्रियो । माइती (नोभिसाड) गइन् । उनले १९०२ को जनवरीमा छोरी लिसेर्ललाई जन्माइन् । उता, मिलेभा र आफू सँगसँगै रहन थालेको कुरालाई लुकाउँदै आएका आइन्स्टाइन आमा–बाबुलाई पत्र लेखी मनाउने कोसिसमा लागे । आमा मिलेभालाई स्विकार्न तयार भइनन् । आमाको पत्रमा लेखिएको थियो, ‘उनी (मिलेभा) पनि तिमीजस्तै किताब हुन् तर तिमीलाई पत्नी चाहिएको छ, किताब होइन । तिमी ३० वर्षको हुँदा उनी बूढी भइसकेकी हुन्छिन् ।’ आमाबाबुको अनिच्छापछि उनी छोरीलाई हेर्न नोभिसाड गएनन् र पत्रमार्फत् छोरीप्रति असीम स्नेह प्रकट गरे । मिलेभाका आमाबाबुले नातिनी कसैलाई दिएर छोरीको समस्या समाधान गरिदिए । उता, मेरी आइन्स्टाइनबाट दुःखी थिइन् ।
सुरु–सुरुमा मिलेभासँग भएको भेटघाट र कुराकानीबारे आइन्स्टाइनले उनलाई जानकारी गराउँथे । मिलेभासँगको सम्बन्ध घनीभूत भइसकेपछि पनि आइन्स्टाइन आफ्ना लुगा उनको घरमा पठाइदिन्थे र मेरीले पनि खुसी मानेरै धोइदिन्थिन् । तर, मेरीको शंका सही निस्कियो । केही समयपछि आइन्स्टाइनले उनलाई चटक्कै छाडिदिए । उनले आइन्स्टाइनलाई धेरै वर्षसम्म पर्खिइन् । अन्ततः केही नलागेपछि सन् १९११ मा अल्बर्ट मुलरसँग बिहे गरिन् । दुई सन्तानको आमा बनिन् । जीवनभरि पहिलो प्रेमको सम्झना गर्दै सन् १९५७ मा उनको निधन भयो । आमाबाबुको सहमतिबिना सन् १९०३ मा आइन्स्टाइन र मिलेभाको बिहे भयो ।
आइन्स्टाइनले बुद्धिजीवी कोष संघीय कार्यालयमा जागिर खाए । एक वर्षपछि मिलेभाले छोरो हान्सलाई जन्माइन् । आइन्स्टाइन, त्यो बेला शोधकार्यमा संलग्न थिए । बर्न (स्विट्जरल्यान्डको) विश्वविद्यालयले उनको शोध अनावश्यक र मनगढन्ते भन्दै फर्काइदियो । यसबाट उनी निराश भए तर पराजयलाई स्विकारेनन् । अध्ययनमा जुट्दै गए । मिलेभाले पतिको व्यस्तताको बाबजुद असन्तोष प्रकट गरिनन् । छोरोलाई हुर्काउने र पतिको शोधलाई मद्दत गर्दै गइन् । उनीहरू सन् १९०९ सम्म बर्नमै रहे र अर्को वर्ष दोस्रो छोरो एडुवार्ड जन्मिएपछि प्राग (चेकोस्लोभाकिया) गए । त्यहाँ एक वर्ष आइन्स्टाइनले चाल्र्स विश्वविद्यालयमा प्राध्यापन गरे । त्यसपछि ज्युरिच फर्के । तीन वर्षपछि बर्लिनको प्रसियन एकेडेमी अफ साइन्सले उनलाई जर्मनी बोलायो । मिलेभा र छोराहरूलाई ज्युरिचमै छाडी उनी बर्लिन गए । मिलेभा पतिदेखि निकै असन्तुष्ट भइन् । सोही वर्षको अगस्तमा आइन्स्टाइन वैज्ञानिक मेरी क्युरी र उनकी दुई छोरीलाई लिएर बिदा मनाउन ज्युरिच पुगे । जेठो छोरो हान्सलाई लिएर ट्रेकिङमा गए तर बिरामी कान्छो छोराले गर्दा मिलेभा घरमै रहन बाध्य भइन् । फर्केर उनीहरू मेलिभाको आमाबाबुको घर गए । त्यहाँबाट भियना गए । आइन्स्टाइन नातेदार भेट्न जर्मनी गएपछि मेलिभा छोराहरूसँग ज्युरिच फर्किइन् ।
बर्लिनमा रहँदा उनको आतेजाते ठूलीआमाकोमा बाक्लिँदै गयो । ठूलीआमाकी छोरी एल्सा बाल्यकालकी साथी थिइन् । उनीहरू पहिला म्युनिखमा थिए । आइन्स्टाइन स्विट्जरल्यान्ड गएपछि उनीहरू बर्लिनमा बसाइँ सरे । एल्सा आइन्स्टाइनभन्दा तीन वर्ष जेठी थिइन् । उनको बिहे कपडा व्यापारी माक्स लोबेन्थलसित भएको हो । तीन सन्तान भएपछि सन् १९०८ मा उनीहरू छुट्टिए । पतिबाट अलग्गिएपछि एल्सा छोराछोरीलाई लिएर आफ्ना आमाबाबुको अपार्टमेन्टमा बस्न गइन् । आइन्स्टाइन त्यहाँ पुगेपछि बाल्यकालका दिदीभाइबीच पुनर्मिलन भयो । प्रगाढता बढ्दै गयो । एउटै कोठामा सुत्न थाले । एल्सासितको सम्बन्धका कारण आइन्स्टाइन दम्पत्तीबीच मनमुटाव सुुरु भयो । मिलेभा बर्लिन आउन चाहिन् । तर, आइन्स्टाइनले सर्तको लामो सूची तेस्र्याएर पत्नीलाई रोक्न सफल भए । उनको सर्त थियो– ‘मेरो कपडा र ओछ्यानको ख्याल राख्नुपर्नेछ । दिनको तीनपटक मेरालागि खाना मेरै कोठामा ल्याइपु¥याउनुपर्नेछ । मेरो सुत्ने कोठा र अध्ययन कोठा सधैँ सफासुग्घर हुनुपर्छ, मेरो डेस्क मैलेबाहेक कसैले छुन पाउने छैन । मसितको सबै व्यक्तिगत सम्बन्ध त्याग्नुपर्नेछ । आवश्यक हुँदा केही सामाजिक उत्सवमा मात्र सँगै जान पाइनेछ । सँगै बसौँ या सँगै यात्रा गरौँ भन्ने आग्रह गर्न पाइने छैन । मेरो नजिक आउँदा मबाट कुनै प्रकारको स्नेह र आत्मीयताको आशा गर्न पाइने छैन, यसका निम्ति मेरो आलोचना पनि गर्न पाउँदिनौ, जब म तिमीसित केही सोध्छु, तिमीले तुरुन्त जवाफ दिनुपर्नेछ । जब तिमीलाई जान भन्छु, तिमी तुरुन्त मेरो शयन र अध्ययन कोठा छाडेर जानुपर्छ, तिमीले आºनो शब्दबाण र कार्यबाट बच्चाहरूको नजरमा मलाई गिराउन पाउँदिनौ ।’
मिलेभा यी सर्त मान्न तयार भइनन् । बरु छुट्टिन चाहिन् । दुवै छोरालाई संघर्ष गरेर पाल्न तयार भइन् । उनले छोराको लालनपोषणका लागि धन मागिन् । आइन्स्टाइनले यसको विरोध गरे, ‘मसित पैसा छैन, भए पठाइदिन्थेँ ।’ उनले अर्को पत्रमा भने, ‘तिमीले मलाई धम्की दिएर हाम्रो सम्बन्धबारे सबैलाई उजागर गर्न चाहिरहेकी छ्यौ, मैले तिमीबाट योभन्दा बढी आशा गर्न सक्दिनँ, तिमीले चाल्ने कुनै पाइलाले मलाई असर पार्ने छैन, तिमीले मेरा छोरालाई मभन्दा टाढा लिएर गयौ, अब उनीहरूलाई मविरुद्ध लडाउन खोज्दै छ्यौ ।’ यो पत्र उनले सन् १९१४ को सेप्टेम्बर १५ मा लेखेका थिए । यसको दुई वर्षपछि आइन्स्टाइन आफैँले कानुनी रूपमा छुट्टिने प्रस्ताव अघि सारे । यसबाट मिलेभाले मानसिक तनाब सहिन् । सम्झौता गर्ने कोसिस गरिन् तर सफल भइनन् । आइन्स्टाइनले सन् १९१८ को जनवरी ३१ मा लेखेको पत्रमा भने, ‘तिमी मसित फेरि सम्बन्ध बढाउने प्रयासमा नलाग । यदि, तिमीले निःसर्त मलाई त्याग्छ्यौ भने बरु नोबेल पुरस्कारबाट प्राप्त हुने सबै धनराशि तिमीलाई दिउँला । नत्र मासिक ६ हजार मार्कभन्दा बढी एक पैसा पनि दिन्नँ ।’ विश्वयुद्ध चलिराखेको समय भएकाले अदालती कारबाहीमा ढिलाइ भयो, तैपनि युद्ध सकिएलगत्तै सन् १९१९ को फेबु्रअरी १४ मा दुवैबीच कानुनी रूपमै पारपाचुके भयो । मिलेभाको निधन ७३ वर्षको उमेरमा सन् १९४८ अगस्त ४ मा भयो । स्मरणीय छ, सन् १९२१ मा नोबेल पुरस्कार प्राप्त गरेपछिको धनराशि उनले मिलेभाको बैंक खातामा जम्मा गरिदिए ।
मिलेभाले त्यो पैसाबाट ज्युरिचमा तीनवटा घर खरिद गरिन् । जसमध्ये दुईवटा घर भाडामा लगाएर जीविका चलाइन् । मिलेभासितको सम्बन्धविच्छेदपछि आइन्स्टाइनले नातामा दिदी पर्ने एल्सासित बिहे गरे । उनका सन्तानलाई आफ्नै सन्तानसरह लालनपोषण गरे । हिटलरको उदयपछि उनीहरू सन् १९३३ मा अमेरिका गए । तीन वर्षपछि मुटु र मिर्गौला रोगबाट पीडित भएर एल्साको निधन अमेरिकामै भयो । अमेरिका पलायनपछि आइन्स्टाइन फेरि जर्मनी फर्किएनन् । सन् १९४० मा अमेरिकी नागरिक बने । सन् १९५५ मा इजरायल राज्य स्थापना भएको सातौँ वार्षिकोत्सवलाई सम्बोधन गर्न तेलअभिभ जान चाहन्थे तर स्वास्थ्य बिग्रिँदै गयो । पेटभित्रको मुख्य नशा फुटेपछि आन्तरिक रक्तस्राव हुन थाल्यो । शल्यक्रिया गर्न मानेनन् । कष्ट सहँदै आधुनिक भौतिकशास्त्रका महान् वैज्ञानिकको निधन ७६ वर्षको उमेरमा सन् १९५५ को अप्रिल १८ मा भयो ।
No comments:
Post a Comment