रसुवा, वैशाख : गुठीपीडितहरूले सरकारले आफूहरूको नाममा जग्गा उपलब्ध नगराए नागरिकता त्याग्ने बताएका छन् । दुर्गम हाकुका स्थानीय बासिन्दाले उक्त चेतावनी दिएका हुन् ।
भूमि अधिकार मञ्चले धुन्चेमा आयोजना गरेको कार्यक्रममा उनीहरूले ६ वर्षदेखि हाकु वडा नं. २ देखि ७ सम्मका ३ सय ३६ जनालाई सरकारले जग्गाधनी पुर्जा नदिए नागरिकता त्याग्ने बताए । 'जग्गाधनी पुर्जा नै नभएपछि नेपाल सरकारको नागरिकता किन चाहियो,' हाकु ३ का निमा कैसाङ तामाङले भने । हाकुवासीले जग्गाधनी लालपुर्जा प्राप्त गर्न धेरै पटक सिंहदरबारको ढोका घच्घच्याएको बताए । 'कति धाउनु जग्गा दिन पर्यो भनेर केन्द्रमा,' तामाङले भने । हाकु २ देखि ७ सम्मका ३ सय ३६ घरपरिवारले काठमाडौंस्थित स्वायम्भू पुरानो घ्याङ गुठीको नाम रहेको जग्गा कमाउदै आएका छन् ।
यहाका भूमिहिनले विक्रम संवत १९७४ देखि नै त्यहाँका प्रमुख लामाको नाममा जग्गा दिएपछि उनीहरूले स्वयम्भू गुठीलाई भगवान् बुद्धको नाममा बत्ती बाल्न गाउँलेले १ सय ४४ रुपैयाँ ३६ पैसा तिरो बुझाउँदै आएका छन् । तिरोको रूपमा कोदो, मकै, केरा, दही, घिउ बुझाउँदै आएको मेन्दो तामाङले बताइन् । 'धेरै पटक राजनीतिक दलको मुख्यालयसम्म पनि पुग्यौं,' मेन्दोले भनिन्, 'चुनाव आएपछि दलका नेताले जग्गा दिलाइदिन आश्वासन दिए पनि खोइ अझैसम्म पाइएन ।'
हाकुका भूमिहीनहरूले राज्यबाट प्राप्त हुने सामान्य सुविधाबाट समेत वञ्चित छन् । बिजुली बाल्न, बैंकबाट ऋण लिन, राज्यबाट लिने अन्य सुविधाबाट समेत उनीहरू वञ्चित छन् । 'केही इलम गरुँ भने पनि बैंकबाट ऋण पाइँदैन,' भूमिपीडित दावानोच्र्युन तामाङले भने, 'रोजगारी गर्न कृषि विकास बैंकले ऋण दिँदोरहेछ तर पुर्जै नभएपछि पाइएन ।' भूमिहीनले गाउँमा नेता भोट माग्न आए लघार्ने बताए ।
पछिल्लो पुस्ताका भूमिपीडित युवाहरूले आ-आफ्ना अभिभावकलाई जग्गाधनी पुर्जा नभए मृत्युपछि काजकिरियासमेत नगर्ने बताएका छन् । 'छोरोले जग्गासमेत नभएको बाउ भन्छन्,' निमा कैसाङले भने, 'पुर्जा नभए छोरोले घेवा (काजकिरिया) समेत गर्दिन भन्न थाल्यो ।' हाकुको पूरै गाउँ गुठीमा छ । यहाँका भूमिपीडित जग्गा प्राप्तिका लागि ६ वर्षदेखि आन्दोलित छन् ।
तर सरकारले उनीहरूको मागलाई सधैं बेवास्ता गर्दै आएको राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । 'भूमिसुधार मन्त्रालय, गुठी संस्थान धाइयो,' उनले भने, 'तर हाकुवासीले भूमिमाथिको अधिकार पाएनन् ।'
No comments:
Post a Comment