तिब्बती शरणार्थीद्वार प्रधानमन्त्री बाबुराम भट्टराईलाई खुलापत्र
काठमाडौ, फाल्गुन २८ : एक महिनाअघि राजधानीको बौद्धमा एक तिब्बतीले आत्मदाह गरेपछि चीनबाट धेरै कूटनीतिक दबाब खेपेको सरकारले आइतबार तिब्बती मुक्ति दिवसमा ठूला घटना हुन नदिन व्यापक कसरत गर्यो । गृह प्रशासनले यस कडाइलाई मार्च महिनाभर कायम राख्ने भएको छ । ल्हासा विद्रोह दिवस मार्च १४ र नयाँ चिनियाँ राष्ट्रपतिले कार्यभार सम्हाल्न सुरु गर्ने दिन मार्च १८ का कारण राजधानीमा तिब्बती गतिविधिमाथि विशेष कडाइ गरिने अधिकारीहरूले बताए ।
प्रहरीले चीनविरोधी गतिविधिमा पछिल्लो समय अग्रसरता देखाइरहेको तिब्बती युथ कांग्रेस (टिवाइसी) का केही कार्यकर्तालाई शनिबार राति नै पक्राउ गर्यो । तीमध्ये तीनजनालाई आइतबार साँझ छाडिदियो । एक जनाबारे भने 'भेरिफिकेसन' भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नायव प्रहरी उपरीक्षक (डीएसपी) मनोजबहादुर केसीले बताए ।
पक्राउमध्ये नाम खुलेका लि से, आइ र यान्केल टिवाइसीका कार्यकारिणी सदस्य भएको तिब्बती स्रोतहरुले दाबी गरे । नेपाल प्रहरीले आफ्नो 'भेरिफिकेसन'बाट त्यस्तो नपाइएको उल्लेख गर्यो । त्यसबाहेक दर्जनभन्दा बढी तिब्बती शरणार्थीहरूलाई बिहानै नियन्त्रणमा लिएर साँझ छाडियो ।
आत्मदाहले फेरेको माहौल
सिन्चुवान प्रान्तबाट एक्लै नेपाल छिरेका २५ वषर्ीय डु्रपचेन छिरिङले स्थानीय तिब्बती समुदायलाई समेत अचम्भित पार्दै गत फेब्रुअरी १३ मा आत्मदाह गरेका थिए । उनको शव त्रिवि शिक्षण अस्पतालको मुर्दाघरमा छ ।
भारतको धर्मशालाबाट केही संख्यामा प्रशिक्षित तिब्बती शरणार्थी आएर राजधानीका गुम्बाहरूमा बसेको सूचना अन्य तिब्बती दिवसको सेरोफेरोमा झैं यस पटक पनि गृह प्रशासनले प्राप्त गर्यो । गत साता केही तिब्बती शरणार्थीले डु्पचेनको शव रहेको शिक्षण अस्पताल परिसरमा पसेर प्रदर्शन गर्न खोजेको घटनाले गृह प्रशासन झनै सशंकित थियो । त्यहाँ पक्राउ गरिएका चारजना अहिले सार्वजनिक अपराध मुद्दा लागेर हिरासतमा छन् ।
यसैबीच गत फेबु्रअरी २७ मा अमेरिकामा मजुदर नेताका रूपमा ख्याति कमाएका तिब्बती शरणार्थी जिग्मे उगेन र क्यानाडामा बस्ने अर्का शरणार्थी टेन्डा डि घासीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई खुलापत्र लेखे । खुलापत्रमा उनीहरूले डु्पचेनको शव अन्तिम संस्कारका लागि स्थानीय तिब्बती समुदायलाई हस्तान्तरण गर्न आग्रह गरेका छन् । गत साता मात्रै टिवाइसी भारतले डु्पचेनको शव स्थानीय तिब्बती समुदायलाई बुझाउन माग गर्दै धर्मशालामा हस्ताक्षर संकलन गरेर नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पठाएको जानकार स्रोतहरूले बताए ।
No comments:
Post a Comment