Friday, March 29, 2013

आई लभ यू नमुना - मेरो आँखामा तिम्रै तस्विर आईरहेको छ ।


म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, उक्त आवाज पछ्याउँदै गएँ । जति जति नजिक पुग्यो, त्यति त्यति परिचित लाग्न थाल्यो । भान्सेको परिचय पत्र देखाएर टेन्टको प्वालबाट स्टेजमा चिहाएँ ।


खचाखच भरिएको महाधिवेशनहल । सजिसजावट रोस्टममा उभिएर धाराप्रवाह बोलिरहेकी थिई एउटी महिला नेतृ । नियालेर हेरें, उही मेरो कमाण्डर कमरेड नमुना । उनी बोलिरहेकी थिई अविरल सागर उर्ले सरि । आँधी गर्जे सरि । अनायासै म भने खै कता डुँबे थाहै पाईन । टेन्टको सानो प्वालबाट विस्मृतिमा छोडी आएको तर नमेटिएको पाईतालाका डोबहरु पछ्याउँन पुगेछु ।

पश्चिम नेपालबाट पुर्वको लागि एउटा बटालियन हाम्रो कार्यक्षेत्रमा आईपुग्यो । पहिलो पटक त्यही भेट भएको थियो कमरेड नमुनासँग । पश्चिम नेपालको दुर्गम एउटा दलित बस्तिमा थियो उनको घर । घर नगएको बषौं भएको थियो रे । संयोगबस उनको र मेरो टिम एउटै भयो । उनि मेरो प्लाटुन कमाण्डर थिई । म त्यही प्लाटुनमा सहकमाण्डर थिएँ । हामी अनायासै नजिकिन थालेछौं । कहिले काँही राति कुहिनेटोमा आफ्नो हात जानी जानी मेरो हातमा ठोकाएर कुन्नी के के लेखेको पत्र थमाउँथी । म दिउँसो सेन्ट्रीमा लुकिलुकि पढ्थें । युद्धमा हिंड्दा हिड्दै कुन विसाउनीमा पुगेर हाम्रो मुटुको विचमा प्रेमको लालुपाते फुल्न थालेछ थाहै भएन । सम्झना ताजै छ । उनले भनेकी थिई “कमरेड पल्लव, क्रान्ति भोज भतेर होईन, र होईन कारचोपि भर्नु पनि । यहाँ त अग्रिम हस्ताक्षर गर्नु पर्छ मृत्युको हल्केलामा”। उनि अगाडी भन्दै थिई “हाम्रो प्रेमलाई पुर्णता दिन हामी विवाह बन्धनमा बाँधिनु पर्छ” । हो, तपाई ब्राम्मण हुनु हुन्छ । म दलितकी छोरी । यो विभेदको पर्खाल तोड्न आफैबाट सुरु गर्नु पर्छ पल्लवजी” । म चुपचाप ज्ञानी बालकले झैं उनको कुरा सुनिरहन्थें । उनको मृग नयनी आँखा । हमेसा मुस्कुराई रहने, चन्चले बानी । तर चन्चलता भित्रको गम्भिरता र त्यो दायित्वबोध । दुनियाँलाई बुझ्ने सुस्पष्ट दृष्टिकोण उनिसँग थियो । अझ कम्ब्याड युनिफर्ममा सजिदाँ त,उनि असाध्यै राम्री देखिन्थि । हिजो जस्तो लाग्छ । उनले भनेकी थिई “कमरेड पल्लव के तपाई छुवाछुतको पर्खाल नाघ्न सक्नु हुन्छ ? म निर्रुतरित उनको अगाडी ठिङ्ग उभिरहन्थें । पछि उनैले कुरा सुरु गर्थि “मलाई विश्वास छ पल्लवजी तपाईले त्यो पर्खाल तोड्न सक्नु हुन्छ”। म अनायासै टाउको हल्लाउँथें । तर मन भारी भएर आउँथ्यो ।

फरमेशनमा एकै छिन उनलाई नदेख्दा मन बेचैन भएर आउँथ्यो । उनि भने कहिले संगठन निमार्ण, कहिले शैन्य तालिम, कहिले छलफल बहस त कहिले जनश्रममा ब्यस्त हुन्थि । जुन गाउँमा पुग्यो त्यस गाउँमा स्वास्थ र शिक्षाको बारेमा जानकारी लिएर जनचेतनाको अभियान नै चलाउँथी उनि । महाभारत लेक र चुरेको बस्तिहरुमा उनलाई नचिन्ने को होला र । मेरो मनमा उनि प्रति अगाध स्नेह र सम्मान जागेर आउँथ्यो । हामी दुई अलि नजिक नै भएछौं । हाम्रो उठबस्लाई लिएर हेडक्वाटरमा रिपोर्ट पुगेछ । केही महिना पछि एउटा कार्यक्रममा पार्टीले हामीलाई दाम्पत्य जीवनमा बाधिदियो ।

लडाई झन झन चर्किदै गयो । लाग्न थालेको थियो अव जिवन चाँही सम्योग मात्र हो र  मृत्यु यतै वरिपरि छ । लडाईको दुई दिन अघि हेटक्वाटरले हामीलाई सगै बस्ने प्रवन्ध मिलाई दियो । साँझ ढल्दै थियो । हामीले मिठो भलाकुसारी गरेर त्यस दिनको रात कटाउने योजना बनायौं । माझी बस्तिको एउटा झुपडिको बाहिर बार्दलीमा उदाउँदै गरेको जुन हेर्दै हामीले लामो भलाकुसारी गर्‍यौ । दुई दिन पछि सदरमुकाम कब्जा गर्ने पार्टीको योजना थियो । हामी दुई दिन मात्रै पनि त बाँच्न सक्थ्यौं । तर हाम्रो भलाकुसारी दुई दिनको थिएन । हाम्रो सपना दुई सताब्दीको भन्दा धेरै थियो । उनि भन्दै थिई “पल्लव, अर्को सताब्दीमा हामी हुने छैनौ । तर त्यतिबेला सगरमाथाको चुचुरोमा रातो झण्डा गाडिएको हुनेछ । यस धर्तिमा मान्छेहरु मान्छेद्धारा बेचिने छैनन् । मान्छेले मान्छेको रगत पसिना चुसेर खाने छैन । दुई नदिको किनार जस्तो धनी र गरिवको सिमारेखा हुनेछैन । अनि यो झुपडी निर एउटा चौतारा बन्ने छ र ढुङ्गामा कुँदिएको हुनेछ तिम्रो र मेरो अमर बलिदानको कहानी, अनि तिमी र म, उ त्यो हेर त, जूनको देशमा बसेर धर्तिमा हाम्रो सन्तती हाँसी खुशी भएर बसेको हेर्नेछौं । आहा कति रमाईलो हुनेछ त्यो दिन”। उ जून हेर्दै टोलाउँथी । “त्यो सुनौलो दिनको लागि त हामीले हाम्रो रगत बगाएर यो सताब्दीको कालो मैलो पखाल्नु पर्छ नि त नमुनाजी” । मैले उसको एकाग्रता तोडी दिन्थें । त्यस पछि हामी धेरै बेरसम्म जुनलाई हेर्दै भोलीको सुन्दर संसारको परिकल्पना गर्दै बस्यौं ।

भोलि पल्ट बिहान शाही सेनाले करिव ३ किलो मिटर नजिकबाट घेरा हाल्दै आएको खवर आयो । सदरमुकाम कब्जा गर्ने योजना वैरीहरुले थाहा पाएकी भन्ने शंका लाग्न थाल्यो । त्यस दिन कमरेड नमुनाले मलाई बोलाएर भन्नु भयो “कमरेड पल्लव चुरे शीरबाट बढेको दुश्मनलाई रोक्ने जिम्मा तपाईको भो । तपाईसँग हाम्रो प्लाटुन हुन्छ । जसरी भए पनि तपाईले रोक्नै पर्छ । म व्रिगेटको स्पेशल टाक्स फोर्समा सेलेक्ट भएँ” । हामी दक्षिणबाट बढेको दुश्मनलाई सखाप पारेर आउँछौं”।श्रीमतिले श्रीमानलाई लडाईको मैदानमा खटाउँदैछ । स्वयम श्रीमति पनि गोलीको पर्राहरुमा लुकामारी खेल्न जान तयार छे । यो कस्तो विडम्बना । त्यस दिन कमरेड नमुनाले भनेको याद छ मलाई “पल्लव मैले त्यो आर्कको जिम्मा अरु साथीलाई पनि दिन सक्थें, तर म चाहान्छु मेरो जिवन साथी अरु कोही भन्दा कम नहोस् । युद्धको हरेक यसल्ट केवल तिमी र मैले मात्रै समाह्लुँ । म यस लडाईको पहिलो शहीद भएर देखाउँछु” । उनले आफ्नो कुरा टुङ्ग्याई । म मनमनै अटोठ गर्थें । तिमी भन्दा म पहिला शहीद भएर देखाउँछु नमुना, अनि तिमी गर्वका साथ भन्ने छौ,“म शहीद परिवार” । हात मिलाएर हामी छुट्टियौं ।

लडाई घमासान भयो । दुश्मनलाई हामीले रोक्यौं । मेरो आर्कमा एकजना सहयोद्धालाई गुमाएँ । मैले प्लाटुनलाई तोकिएको स्थानमा पुर्‍याएँ। रै व्रिगेट आउँने क्रम सकिन लाग्यो । लाल सेनाको लस्करमा कमरेड नमुनालाई खोज्दा खोज्र्दै साँझ पर्‍यो । कसैलाई सोध्ने हिम्मत भएन । साथीहरुले दर्जनौं हतियार कब्जा गर्नु भएछ । एक जना साथीले छेउमा भनेको सुने । “चारजना कमरेडहरुलाई गुमायौं आज” । मन झनै भारी भयो । अलिवर झाडिमा आएर नमुनाको बाटो धेरै बेरसम्म हेरीरहें । जुन सदाझैं उदायो । मलाई सोध्न मन लाग्यो “ए जुन, मेरो नमुना  कहाँ छिन भन्देउ न, म उ भन्दा अगाडी शहिद बन्न चाहान्छु” । “तपाईलाई मेडिकल विभागमा आउनु भन्नु भाछ” । एकजना कमरेडले खवर ल्याए पछि मन हलुका भयो । हस्याङ-फस्याङ गर्दै मेडिकल विभागमा पुगें । घाईते साथीहरु छटपटाउँदै हुनुहुन्थ्यो । कुनामा एउटा हसिलो मुखा कृतिले मेरो प्रतिक्षा गरिरहेको थियो । “पल्लवजी साथीहरुले खाना खानु भयो? नमुनाको स्वरमा पिडा र गर्व दुबै पाएँ । “अँ खाई सक्नु भयो, तपाईलाई कस्तो छ ? उनको आँखाबाट बगेको आँशुका बुँधहरु मेरो हत्केलासम्म  आईपुग्यो । ”कहाँ गोली लागेको नमुनाजी ? मेरो प्रश्न नसकिदै डक्टर अगाडी आएर भन्नु भयो “हेर्नुस् न पल्लवजी उहाँ आफ्नो उपचार गराउँनै चाहानु हुन्न । पहिला अरु कमरेडहरुको उपचार गर्नु मात्र भन्नु हुन्छ । फेरी यहाँ मध्ये गम्भिर घाईते उहाँ नै हुनहुन्छ । उहाँको दाँयाहात पुरै माथीबाट यल.यम.जी.को गोलीले छिया छिया पारेको छ” ।म स्टेचर छेउमा बसें । जुन हातले चन्द्रमालाई देखाउँदै धर्तिमा ल्याएर झुपडीमा पोख्ने कुरा गर्नु हुन्थ्यो आज त्यही हात छैन । उनि अगाडी भन्दै थिई“पल्लवजी, मैले पनि मुक्तिको लडाईमा एउटा हात गुमाएँ । आज म असाध्यै खुशीछु” । आफ्नो शरिरको अंग गुमाउदा पिडा होईन गर्वले छाति उँचो बनाएकी कमरेड नमुनाको बारेमा जति भने पनि अपुरो हुन्छ । घाईते साथीहरुलाई थप उपचारको लागि ईन्डिया लानु पर्ने भयो । त्यसदिन साँझ उनले भनि ”पल्लवजी म निको भएर चाँडै आउँछु । अगाडीको पाईलाहरु अव तपाईले पुरा गर्नुपर्छ” । बिदाईको हात मिलायौं । त्यस पछि उनले सम्हालेको प्लाटुन सम्हाल्न थालें ।

युद्ध झन झन चर्किदै गयो । भिडन्त, मुडभेड नभएको कुनै हप्ता रहेन । बिछोडलाई शक्तिमा बदल्ने प्रयन्त गरें तर मन सम्हालिन धेरै गा¥रो भईरहेको थियो । न कुनै सम्पर्क,न कुनै ठेगाना । चिठी पठाउँ त कहाँ पठाउँ । कस्लाई सोधुँ, कहाँ खोजुँ । ईन्डियामा गएका साथीहरु प्रायः सिमानामा मै गिरफ्तार परिरहनु भएको थियो । क्रान्तिकारी सिपाही भावनामा डुब्न नहुने हो । तर मैले सकिन । उनि विनाको प्रत्येक लडाईहरु फिक्का लाग्न थाल्यो । जेनी माक्र्सले त भनेकी थिई“प्रेमले मानिसलाई सुन्दर र सक्रिय बनाउछ”तर मलाई नमुनासँगको विछोडले निष्क्रिय बनाउँदै लग्यो, जुन मैले गल्ति गरिरहेको थिएँ । उनको चन्चल बानी, बुलन्द कासन शैली यो आखाँले खोजीरह्यो । म एकोहोरो बस्न थालिसकेछु । हेडक्वाटरमा बोलाएर कयौं पटक हिम्मत लिएर अगाडी बढ्न सम्झाईयो । अन्तमा मलाई जिल्ला पार्टीमा फिर्ता पठाईयो ।
जिल्ला पार्टीमा पनि मैले अपेक्षाकृत काम गर्न सकिन । जनयुद्धमा हिंडेको एउटा सिपाही पागलप्रेमी भएर स्खलित हुँदै थियो । आँखामा उनकै मात्र तस्विर आईरह्यो । उनी विना अव यो बाटो एक्लै नहिड्ने सोच्न थालें । आफुलाई जनसेनाबाट उही उपाध्याय ब्राम्मण पुत्रको रुपमा पाउँन थालें । एक दिन डिउटी बाटै हातको बन्दुक भुईमा राखेर खोलाको किनारै किनार दक्षिण तिर लागें । भोली पल्ट विहान काठमाण्डु आई पुगेर ब्यूझिएछु ।

काठमाण्डौं आएर धेरै काम खोजें । देशको अवस्था विग्रदो थियो । दिनहुँ आन्दोलन जुलुस चलिरहन्थ्यो । खलासी, कुल्लीकाम, भाडाँ माझ्ने काम भन्दा अरु पाउन सकिन । अन्तमा टेन्ट हाउसमा भाँडा माझ्ने काम गर्न गएँ । ६२/६३ को आन्दोलन पछि युद्ध रोकियो । जनसेनाको ब्यारेक सात ठाउँमा राखेको थाहा पाएँ । नमुनालाई खोज्दै गएँ । तर कतै भेटिन । एक जनाले नमुनालाई देखेकोरे भनेर पोखराको एउटा होटलमा लिएर गयो । कुर्थासुरुवाल लगाएकी, पातलो जिउ, कपाल अनियन्त्रित भएको, कालो सलले थोरै जिउ ढाकेकी, चप्पल लगाएर टेवुल पुछ्दै गरेकी ब्यस्त एउटी युवतीको पछाडी गएर विस्तारै बोलाएँ । उनी उही मेरो जिवन साथी नमुना थिई । म स्तब्ध भएँ । मन थाम्न सकिन । तर उनि भने मलाई देखेर प्रतिकृया विहिन भई । उनको आखाँमा न कुनै हर्ष नै पाएँ न कुनै विष्मात नै । थाहा पाएँ उनको दाँया हात अव काट्नै पर्ने अवस्थामा पुगेछ । ईन्डियाबाट उपचार गरेर फर्किंदै गर्दा नेपाल आई पुगेर गिरफ्तार पर्नु भएछ । शान्ति प्रकृया पछि जेल मुक्त भएर जनसेनाको अस्थायी शिविरमा पुग्नु भएछ । घाईते भएकै कारण जनसेनामा अयोग्य हुनु भएछ । थप उपचारको लागि भौतारिदाँ भौतारिदै अन्तमा होटलमा टेवुल पुछ्न पुग्नु भएछ । नमुना घर आउन मानिन । उ त जीन्दगी देखि नै थाकेकी जस्ति देखिन्थी । जनसेनामा अयोग्य लडाकु, दिनानुदिन विग्रदो घाईते शरिर, पछि थाहा पाएँ, जेलको विषयलाई लिएर पार्टीले निग्रानीमा राखेको रहेछ । धेरै दिन प्रयास गरे पछि बल्ल बल्ल नमुना घर आउन तयार भई । हामी घर आयौं ।

घरको संघारमा पुग्दा नपुग्दै गाउँलेहरुको ठुलो भिड जम्मा भयो । मेरो बुवा जो सातगाउँको पण्डित ढोका छेकेर बस्नु भयो । नमुना र म सगै थिएँ । मलाई नमुनाबाट छुट्यायो । सबै महिलाले नमुनालाई तथानाम गाली गर्न थाल्यो । मेरो माईजुले नमुनाको गालामा एक चड्कन लगाई ।अर्की महिला आएर कपाल समाई भुत्लाउँन थालि । काकी र ठुलीआमा आएर नमुनालाई घोक्क्रयान थाली  कोही कसैले केही बोलेनन् ।गाउँलेहरु मुकदर्शक भएर हेरिरहे । मैले प्रतिवाद गर्न खोजें । गाउँलेहरुले मलाई समायो । म कारयतापुर्वक मेरो कमाण्डरलाई घोक्क्रयाएको हेरीरहें । “डंकीनी, खोरोन्डो, कुकुर्नी, डुमको छोरी भएर मेरो घरमा बुहारी बन्न खोज्ने ? के छ तेरो प्रमाण मेरो छोरासँग विहे गरेको ? मेरी आमा नमुनाको कपाल समाएर एकोहोरो पिट्न थाली । नमुनाको घाईते हातबाट रगत बग्न थाल्यो । कपालमा समाएर घिसार्दै पर चौतारामा लगे । नमुना रक्तमुछेल भई । उ केही पनि बोल्न सकिरहेकी थिईन । उसको पक्षमा बोली दिने त्यहाँ कोही पनि थिएन । यस्तो लाग्थ्यो, नमुना कुनै पाल्तु जनावार हो उसले मालिकको काम विगारेको छ र सजाय भोगिरहेको छ ।म निरिह कायर, लाछी भएर झ्याल भित्रबाट मेरो कमाण्डरलाई पिटेको हेरीरहें । बाहिर निस्कन खोज्थें । फेरी गाउँलेहरुले समाउँथ्यो । अन्तमा नमुना मन भरि अनि तन भरि असङ्ख्य घाउका टाटाहरु बोकेर एक्लैखोलाको किनारै किनार गई । मलाई कसैले सुनपानी छक्र्यो । अनि तान्दै तान्दै चोटा तिर लग्यो ।

तान्नेक्रम रोकिएन । झल्यास्स ब्यूझिंएछु । मलाई स्वयमसेवकले पछाडी कमिजमा समाएर तानिरहेको रहेछ । कमरेड नमुना रोस्टममा बोलिरहेकी थिई । निरन्तर आधी गर्जे सरी । सागर उर्ले सरी । करिव ७ वर्ष पछि उनलाई देखें । तर धित मर्ने गरि हेर्न पनि पाईन । भाँडाको चाङतिर आउँदै गर्दा भनेको सुनें “रिपार्ट सबै भन्दो राम्रो यो केटीले राखी, यिनले पक्कै केही गर्छे । यिनी रोजा लग्जेवर्ग, जेनी माक्र्स भन्दा कम छैन, क्यामिला त के हो र, हेर्दै जाउ यो केटी नेपालको ठुलो मान्छे बन्छे, हेर घाईते भएर पनि कसरी बोल्दैछे . . . .. छोरी मान्छे हुनु त यस्ति पो” । म सुन्दै सुन्दै जुठो भाडाँको डङ्गुरमा आईपुगें । वितेको ७ वर्षमा कालीगण्डकीमा धेरै पानी बग्यो । नमुना कहाँ बाट कहाँ पुगि । म भने उहि जुठे भएर बसेको छु । कारयता, निरिह र आत्मग्लानीले छिया छिया भएँ । आफैसँग टाढा धेरै टाढा भाग्न मन लाग्यो । कुनै कठघरामा गएर बेस्सरी चिच्याँउदै मलाई सजाए देउ भन्न मन लाग्यो । तर आत्म प्रायश्चितको लागि यो दुनियामा कुनै कठघरा बनेको रहेनछ । आफैलाई कोतरेर धुजा धुजा पार्न मन लाग्यो । टेन्ट मालिक आई पुग्यो । “काहाँ गाथिस् तेरो बाउले माझ्छ भाँडो ? टेन्ट मालिकको छुद्र बचन,मैले रोजेको कारयताको बाटो, मेरो अङकारी जात र मेरो पुरुषता देखि आफैले आफैलाई धिक्कारें । भाडाँ माझ्न थालें । आँशुले आँखा भरिएर आयो । दुई थोपा आशुँ तप्प तप्प हत्केलामा खस्यो । एउटा थोपा सम्मानको थियो । अर्को थोपा ग्लानिको थियो ।  मनमनै नमुनालाई स्यालुट गर्दै अलिकति हासें अनि आफै पट्टी फर्केर ग्लानीले बेस्सरी रोएँ . . . . .।

-राजु स्याङतान
Syangtanraju2010@gmail.com    
महोत्तरी खयरमारा ८
हाल काठमाण्डौं 
९८४१८४३४०१

No comments:

Post a Comment