Monday, March 25, 2013

राष्ट्रसंघका उप महासचिवबाट अधिकृत क्याडेट समायोजन आधार तालिमको अवलोकन


तालिम कस्तो चल्दैछ

नेपालको तीन दिने भ्रमणका क्रममा रहनु भएका संयुक्त राष्ट्रसंघका उप महासचिव जेफ्री फेल्टमनले आज मिति २०६९ चैत्र ७ गते नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा भ्रमण गर्नु भएको छ ।

उक्त भ्रमणका क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर जबरा र उप महासचिव जेफ्री फेल्टमनबीच संक्षिप्त भेटवार्ता भएको थियो । उक्त भेटवार्ताको दौरान उप महासचिवले “नेपाल र नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय मिशनहरुमा फौज पठाई पुर्‍याएको अतुलनिय योगदान प्रति धन्यबाद व्यक्त गर्दै भविष्यमा यसको निरन्तरताको अपेक्षा गर्नु भएको छ ।” विशेष गरी नेपाली सेनाले विगतदेखि वर्तमान अवस्थासम्म राज्यद्धारा सुम्पिएको जिम्मेवारीलाई  गम्भिरतापूर्वक बहन गरी नेपाल र नेपालीप्रति पुर्‍याएको प्रशंसनिय योगदान, नेपालको वर्तमान शान्ति प्रक्रियाको व्यवस्थापन तथा लडाकु समायोजनमा तटस्थ भुमिका निर्वाह गरी राज्य र जनताप्रति उत्तरदायित्व बोध गर्दै शान्ति प्रक्रियालाई सहज र सकारात्मक तवरले टुंङ्गोमा पुर्‍याउन नेपाली सेनाले खेलेको तटस्थ भुमिका र योगदानप्रति उप महासचिवले आभार व्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा उप महासचिव जेफ्री फेल्टमनलाई सैनिक प्रतिष्ठानका शिक्षाधिकृतले अधिकृत क्याडेट समायोजन आधार तालिमको विषयमा जानकारी गराउनु भएको थियो । साथै उप महासचिवले प्रतिष्ठानमा समायोजनमा तालिमरत अधिकृत क्याडेटहरुलाई भेट्न पाएकोमा खुशी प्रकट गर्दै तालिमका शिक्षार्थीहरुसंग गर्नु भएको प्रत्यक्ष भेटघाटका क्रममा तालिमरत शिक्षार्थीहरुलाई अन्य विकल्पहरु रहंदा रहंदै समायोजन रोज्नुका कारण र तालिमको अनुभवबारे जिज्ञासा राख्नु भएको थियो । तालिमरत समायोजनका शिक्षार्थीहरुले राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेको र तालिम अकल्पनिय रुपमा स्तरिय, सकारात्मक र ज्यादै सौहार्दपूर्ण वातावरणमा संचालन भईरहेको कुरा उप महासचिवलाई प्रतिउत्तरका क्रममा प्रतिक्रिया व्यक्त गरेका थिए ।

No comments:

Post a Comment