९ अर्ब ५० करोड प्रचण्डको मुखमा : गजुरेल
काठमाडौं, बैशाख ११ । २०६८ चैत २८ गते एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले सैनिक कु गरी जनमुक्ति सेना बिघटन गरेको भन्दै मोहन वैद्य पक्षले 'कु'को बदला लिने तयारी गरिरहेको छ। विश्वको इतिहासमै कुनै पार्टीको आन्तरिक विवाद समाधान गर्न सैनिक परिचालन गरिएको सम्भवतः यो नै पहिलो घटना भएको बैद्य पक्षको ठहर छ। यही विवादको बीचमा अध्यक्ष प्रचण्डसहित करीव दर्जन नेताहरूमाथि राज्यको साढे नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखासमिति र राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरूलाई छानबिनका लागि दबाब दिइने भएको छ।
ती निकायहरूले राज्य कोषको यति ठूलो भ्रष्टाचार हुँदा पनि हालसम्म यसबारेमा छानबिन अघि नबढाएको र विपक्षी दलहरूले समेत माओवादी संस्थापन पक्षसँग सौदाबाजी गरेको भन्दै संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालले संस्थागत उजुरी हाल्ने भएको छ। माओवादी सचिव एवं संयुक्त जनआन्दोलन नेपालका संयोजक सीपी गजुरेलले लडाकु शिविरहरूमा साढे ९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको र सो रकम अध्यक्ष प्रचण्डसम्म आइपुगेको खुलासा गरेका छन्।
सचिव गजुरेलले हालसम्म आफूहरूलाई बिभिन्न शिविरबाट प्राप्त भएको तथ्यांक अनुसार ९ अर्ब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको खुलासा गरेका छन्। सो रकम शिविरका कमाण्डरदेखि अध्यक्ष प्रचडसम्म पुगेको र लडाकुले कि हिसाब दिनुपर्ने, कि दामासाहीले बाँड्नुपर्ने माग गरेपछि सो रकम पचाउन हतार हतार शिविरमा सेना परिचालन गरिएको समेत गजुरेलले बताएका छन्।
'हामीले शुरुमा त दुई तीन अर्बको हिसाब गोलमाला भएको भन्ने बुझेका थियौं, तर सबै रिपोर्ट आउँदा साढे नौ अर्ब रुपैयाँ हिनामिना भएको छ। यो रकम अध्यक्ष प्रचण्डसम्म पुगेकाले उनीहरूले जनमुक्ति सेना बिघटन गरेर रातारात लडाकु शिविरमा सेना परिचालन गरि साढे नौ अर्ब पचाउन खोजेका छन्' गजुरेलले भने 'यति ठूलो भ्रष्टाचार हुँदा पनि सम्बद्ध संवैधानिक तथा संसदीय निकाय तथा विपक्षी कांग्रेस र एमालेको मौनता हामीलाई झनै रहस्यमय लागेको छ'।
माओवादी नेतृत्वले साढे नौ अर्बको कुरा नउठाउने शर्तमा कांग्रेस र एमालेले भने जसरी आत्मसमर्पण गरेर जनमुक्ति सेना बिघटन गरेको र माओवादीलाई निशस्त्र पारेर जनमुक्ति सेनालाई बिघटन गर्ने मूल्यमा कांग्रेस एमालेले पनि सो भ्रष्टाचारमा आँखा चिम्लिएको आशंका पनि गजुरेलले गरेका छन्। 'अब हामी आफैं अख्तियार लगायत अन्य निकायको ध्यानाकर्षण गराउँदैछौं'। संसदको लेखासमिति र राज्य व्यवस्था समितिमा पनि मोहन वैद्य पक्षधर सभासदहरूले यो भ्रष्टाचार काण्डबारे आवाज उठाउने तयारी गरेका छन्।
सम्बद्ध स्रोतका अनुसार लडाकुहरूबाट मासिक रुपमा उठाइएको १ देखि ५ हजारसम्मको लेबी, हुँदै नभएका करीव ३ हजार लडाकुका नाममा ५ बर्षदेखि नियमित रुपमा गएको तलब भत्ता, भागेका, कारबाहीमा परेका तथा घरविदामा गएका लडाकुहरूको रकमका साथै शिविरको भौतिक पूर्वाधार लगायतका बिभिन्न शीर्षकमा गएको रकमको हिसाब गर्दा ९ अर्ब ५० करोड रुपैयाँ गायब भएको छ। त्यस्तै बिभिन्न एनजीओ र आइएनजीओहरूले शिविरभित्र सन्चालन गरेका साक्षरता, सीप र प्राविधिक विषयका तालिमका लागि गएको करोडौं बजेटको पनि हिसाबकिताब छैन।
जनमुक्ति सेना बिघटन भइसकेको, शिविरमा सेना परिचालन भएर हतियार बुझाइसकिएको र लडाकु कमाण्डहरूले खातापात बोकेर भागिसकेको अवस्थामा करीव दश अर्बको भ्रष्टाचार काण्ड त्यत्तिकै सेलाउने आशंका भएको छ। तर बैद्य पक्षले सो काण्डलाई नछाड्ने संकेत दिएको छ। सबै हिसाबकिताबको लेखापरीक्षण हुनुपर्ने र दोषीहरूलाई तत्कालै कारबाही गर्नुपर्ने विषयलाई पूर्व लडाकुहरूको संगठनले समेत प्राथमिकताका साथ अघि सारेको छ। पूर्व लडाकुका डिभिजन सहायक कमाण्डर उदय चलाउनेका अनुसार सात प्रमुख शिविरका डिभिजन कमाण्डहरूले प्रतिव्यक्ति ४ देखि १२ करोड रुपैयाँसम्म कमाउन सफल भएका छन् यसबीचमा।
करीव १० अर्बको भ्रष्टाचारमा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, लडाकु प्रमुख कमाण्डर नन्दकिशोर पुन, प्रवक्ता चन्द्रप्रसाद खनाल पनि मुछिएका छन्। त्यस्तै डिभिजन कमाण्डहरू यामबहादुर अधिकारी प्रतिक्षा, तेजबहादुर ओली, धनबहादुर मास्की, सन्तु दराई, महेन्द्रबहादुर शाही पनि यो काण्डमा मुछिएका छन्। यदि बैद्य पक्षले अहिले नै अख्तियार र अन्य निकायमा यो भ्रष्टाचारबारे उजुरी गरेर छानबिन अघि बढेमा यी मध्ये कुनै पनि कमाण्डर नेपाली सेनाको समायोजनमा जान पाउने छैनन्। उनीहरूमाथि भ्रष्टाचारको मुद्दा चलेको खण्डमा समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुबाट उपल्लो तहमा जाने कमाण्डरको समेत संंकट पर्न सक्नेछ।
नारायणलाई नगदकाण्ड
काठमाडौं। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालमाथि लडाकु शिविरको १० अर्ब रुपैयाँ भ्रष्टाचारको अभियोग लागिरहेका बेला उनका भाइ एवं चितवनका सभासद नारायण दाहाल पनि ठगीकाण्डमा मुछिएका छन्। चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद दाहाल प्रचण्डका काकाका छोरा हुन्। दाहालले चितवन, नवलपरासी लगायत बिभिन्न जिल्लाका करीव एक सय जना युवालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर जनही एक लाख रुपैयाँ असुल गरेको आरोप लागेको छ। तीमध्ये केही भर्ना भए पनि भर्ना हुन नपाएकाहरूले आफ्नो पैसा फिर्ता माग्न थालेपछि नारायण दाहालले पैसा उठाएको खुलासा भएको हो।
दाहालले पैसा पनि फिर्ता नदिएको र भर्ना पनि नगरेको भन्दै केही युवा चितवनस्थित माओवादीको जिल्ला कार्यालयमा पनि पुगेको स्रोतले जनाएको छ। उनीहरूकै जानकारीका आधारमा दाहाललाई पैसा बुझाउने ८५ जनाको नाम संकलन गरिए पनि माओवादी पार्टीले यो विषयलाई आन्तरिक रुपमै सल्ट्याउने आश्व्ाासन दिएर पीडितहरूलाई राज्यका कुनै पनि निकायमा उजुरी गर्नबाट रोकिराखेको स्रोतले जनाएको छ।
दाहालको ठगीबारे चितवनको माओवादी पार्टीले पनि छानबिन गरिरहेको स्रोतले जनाएको छ। माओवादीका चितवन जिल्ला इन्चार्ज अनिल शर्मा विरहीले दाहालको बारेमा प्रहरी प्रशासनसँग जोडिएका बिभिन्न मौखिक उजुरी आएको स्वीकार गर्दै, यति पैसा ठगियौं भनेर व्यक्तिगत उजुरी भने अहिलेसम्म नआएको बताए।
'उहाँको उच्च प्रहरी अधिकृतहरूसँग उठबस, खानपीन हुने गरेको र पारिवारिक तथा अन्य जमघटमा पनि पार्टीका साथीहरूको साटो प्रहरी अधिकारीहरू हुने गरेको सुनिन्छ' शर्माले भने। यसको मौखिक जानकारी अध्यक्ष प्रचण्डसम्म पनि पुगेको बताइएको छ। नारायण दाहालका छोरा समिर दाहाल अध्यक्ष प्रचण्डका स्वकीय सचिव हुन्। यस विषयमा बुझ्न खोज्दा नारायण दाहालसँग भने सम्पर्क हुन सकेन। दाहालका एक पारिवारिक सदस्यले भने प्रहरीसँगको सम्बन्धका कारण उनले केही युवालाई जागिर लगाइदिए पनि पैसा भने नउठाएको दावी गरे।
No comments:
Post a Comment