-राजेन्द्र महर्जन
दशैंको नाममा राज्यले चलाउने यो धर्म-अस्त्र समस्त देशवासी हिन्दुका विजय र वैभवका लागि होइन, शासन चलाउने पाखण्डका रुपमा विकसित हुँदै आएको छ । यी दुवै वास्तविकता तर्फ हिन्दु र गैरहिन्दु सबैले ध्यान पुर्याउनु र यिनको विरोध गर्नु अत्यन्त आवश्यक छ ।
सबैजसो नेपाली महान् चाडका रुपमा दशैं मनाउँदै गर्दा एक नेपालीले आत्महत्या गरे- गरिबीका कारण दशैं मनाउन नसक्दा । माडी, चितवनमा लोहोरो र सिलौटो बनाएर जीविका चलाउँदै आएका एक दलितले गरिबीमाथि विजय प्राप्त गर्न नसकेपछि विजयादशमीको मुखैमा झुन्डिएर जीवन समाप्त पारे ।
१२ जना छोराछोरीका लागि दशैंको गर्जो टार्न नसकेपछि अयोध्यापुरीका धनबहादुर परियारले मृत्यु आत्मसात् गरे । तर उनले आफ्नो शव उठाउन पनि अरुले चन्दा उठाउनुपरेको तीतो यथार्थ भने देख्नुपरेन । गरिबीका कारण दशैं मनाउन नसक्दा आत्महत्या गरिएको घटना त सार्वजनिक भएको एउटा तथ्यमात्रै हो ।
दिनदिनै मृत्यु भोग्नेहरूको तीतो यथार्थ दशैंमा अझ कहालीलाग्दो हुने अवस्था उजागर भएकै छैन । दशैंमा निधारमा लगाइने अक्षताका रुपमा मात्रै चामल देख्न पाउने बालबालिका र त्यही चामल पनि तिनले टिपेर खालान् कि भन्दै चिन्तित हुने अभिभावकले दिन/रात मृत्यु भोगिरहेको तथ्यतिर राज्यको कमै ध्यान गएको छ ।
१२ जना छोराछोरीका लागि दशैंको गर्जो टार्न नसकेपछि अयोध्यापुरीका धनबहादुर परियारले मृत्यु आत्मसात् गरे । तर उनले आफ्नो शव उठाउन पनि अरुले चन्दा उठाउनुपरेको तीतो यथार्थ भने देख्नुपरेन । गरिबीका कारण दशैं मनाउन नसक्दा आत्महत्या गरिएको घटना त सार्वजनिक भएको एउटा तथ्यमात्रै हो ।
दिनदिनै मृत्यु भोग्नेहरूको तीतो यथार्थ दशैंमा अझ कहालीलाग्दो हुने अवस्था उजागर भएकै छैन । दशैंमा निधारमा लगाइने अक्षताका रुपमा मात्रै चामल देख्न पाउने बालबालिका र त्यही चामल पनि तिनले टिपेर खालान् कि भन्दै चिन्तित हुने अभिभावकले दिन/रात मृत्यु भोगिरहेको तथ्यतिर राज्यको कमै ध्यान गएको छ ।
विजयादशमीको बेलामात्रै भात र मासु खान पाउने जीवनविरोधी दशामा परिवर्तन ल्याउन सकिएन भने महान् पर्व मानिने विजयादशमी धेरैजसो गरिब नेपालीका लागि, गरिबमा पनि गरिब दलितका लागि महादशा भएर वर्षेनि आइ नै रहनेछ ।
दिन/रात मृत्यु भोगिरहेका गरिब र दलितको तीतो दशामा सुधार र परिवर्तन 'शुभकामना' बाट मात्रै प्राप्त हुँदैन, चाहे त्यो दशैंको बेला दिइने शुभविजयाको होस् या नयाँ वर्षमा दिइने शुभवर्षको । 'शुभकामना' बाटै तीतो दशामा सुधार हुने भए यो वर्षको दशैंका चार दिनमा एसएमएस शुभकामना दिने साढे दुई करोड नेपालीमा धनबहादुर परियार पनि पक्कै पर्ने थिए र उनीजस्ता गरिबले दशैं दशा भएकाले आत्महत्या गर्नुपर्ने पनि थिएन । नेपाली राज्य, राज्य नियन्त्रित संस्थान र निजी संस्थानहरूमा गरिबप्रति अलिकति मात्रै सामाजिक जिम्मेवारीको भावना छ भने तिनले तत्कालै परियार परिवारलाई दशैंमा राहत दिने थिए तर तिनीहरू त शुभकामना आदान-प्रदानमै मस्त रहे । अहिले पनि समय छ, तिनीहरूले दशैंको शुभकामनाबापत प्राप्त केही करोड रकममध्ये सानो अंशमात्रै राहतका काममा खर्चने हो भने पनि गरिब परिवारका सदस्यले आत्महत्या गर्नुपर्ने अवस्थामा कमी आउँछ ।
निराशाबाट गाँजिएको नेपाली समाजमा शुभको कामना गर्नु नै सर्वप्रिय मानसिक खेल भएको छ । शुभकामना पूर्तिका लागि गर्नुपर्ने शुभकर्मका लागि कमै पहलकदमी भएको छ । शुभकर्मको ठेक्का वर्तमान जीवनका लागि नेताहरूको हातमा र भविष्यको जीवनका लागि देवीदेवताको हातमा सुम्पनु नै यो मानसिक खेलको विशिष्टता हो । शुभकामना साकार पार्न मानवीय पहल जरुरी छ भन्ने जान्दाजान्दै पनि यस्तो खेलमा रमाउनु नै दशैंको ठूलो सांस्कृतिक पक्ष हो । यस खेलको सबैभन्दा ठूलो संरक्षक र सञ्चालक नेपाली राज्य हुँदै आएको छ, जुन व्यावहारिकरुपमा अझै 'सेकुलर' (धर्मनिरपेक्ष वा लौकिक) हुन सकेको छैन । बीपी कोइरालादेखि हर्क गुरुङसम्मको भाषा सापटी लिएर भन्दा, अझै पनि 'राष्ट्र' बन्न नसकेको नेपाली राज्य संवैधानिकरुपमा धर्मनिरपेक्ष भए पनि व्यावहारिकरुपमा हिन्दु धर्मसापेक्ष नै छ । नेपाली राज्यले अझै पनि त्यस्ता हिन्दु धर्मका मूल्य-मान्यताका आधारमा सांस्कृतिक कर्म गर्दैछ, जसले लोक, लौकिकता, लोकतान्त्रिक पहललाई प्रोत्साहित गर्दैन, बरु शुभकर्म र मानवीय पहलको साटो शुभकामना, आशीर्वाद र चाकरीलाई नै प्रेरित गर्छ ।
दशैं र राष्ट्रपतिको टीका
हुन त 'असली हिन्दुस्थान' बनाउने कसम खाएर गोरखा राज्य विस्तार गरेका शाहवंशीय राजाहरूको राजतन्त्र समाप्त भइसकेको छ । गोरखाली राज्यबाट नेपाली राज्य बने पनि राज्य र राज्यतन्त्रमाथि आसीन हुने पदाधिकारीहरूको हिन्दुवादी मानसिकता भने फेरिएको छैन । शाहवंशीय राजामध्येका अन्तिम राजा ज्ञानेन्द्र शाह जनताको आन्दोलनका कारण गद्दीच्युत भइसेकका छन् तर पनि उनी तेत्तीस करोड देवीदेवताको आशीर्वादले पुनः हिन्दु राजा वा हिन्दुहरूका भगवान् बन्ने दाउमा छन् । सबैभन्दा विडम्बना त धर्मनिरपेक्ष घोषणा गरिएको नेपाली राज्यका प्रमुख डा. रामवरण यादवले गद्दीच्युत राजासँग सांस्कृतिक प्रतिस्पर्धा गर्दै आफूलाई नयाँ राजाका रुपमा उभ्याउन खोज्ने नसुहाउँदो काम गरिरहेका छन् । दशैंमा आम मानिसलाई टीका लगाउने काममा भएको पूर्व राजा र वर्तमान राष्ट्र प्रमुख बीचको लिगलिगे दौडले लोक, लोकतन्त्र र लौकिकता (सेकुलरिज्म)लाई लोप्पा खुवाएको छ । र, गरिबी, उत्पीडन र शोषणको दशामा सुधार र परिवर्तनका लागि मानवीय पहल गर्नु जरुरी छैन, दशा मन्छाउन देवीदेवता भाके हुन्छ, अलौकिक शक्तिको आराधना गरे आशीर्वाद पाइन्छ भन्ने भावधारालाई शीतलनिवासबाट पनि प्रवाहित गरिएको छ, पहिले नारायणहिटी राजदरबारबाट गरिएझैं । यस अर्थमा गणतन्त्रमा नारायणहिटी राजदरबारका राजा शीतल निवास सरे भन्ने अर्थमा कार्टुनिस्ट रविन सायमिले राजाको हातबाट टीका लगाउन चाहने बटुवालाई राष्ट्रपतिकहाँ जाने संकेत गदै व्यंग्य गर्नु यथार्थसम्मत हुन्छ ।
नेपाली राज्यका राष्ट्रपति डा. रामवरण यादव हिन्दु धर्मावलम्बी हुनु, आस्था र उपासनाका हिसाबले आस्तिक हुनु र उनका निजी आचरण गर्ने क्रममा कुनै मठमन्दिर जानु अस्वाभाविक होइन । तर एक जना राष्ट्रपतिका रुपमा गरिने यस्ता धार्मिक र सांस्कृतिक आचरणले धर्मनिरपेक्ष राज्यको धज्जी उडाउँदै आएको छ र व्यक्तिगतरुपमा पनि नेपाली कांग्रेसका महामन्त्री भइसकेका डा. यादवको प्रजातान्त्रिक राजनीतिको अधोवस्त्रलाई पनि उडाउन बाँकी राखेको छैन । सबैखाले दशा र दुर्दशा अन्त्यका लागि देवीदेवताको स्तुति गर्दै, महिषासुरको हत्या गर्ने काली, दुर्गा वा पार्वतीका अर्चना गर्दै राष्ट्रपति निवास शीतलनिवासमा प्रजाहरूलाई टीका लगाइदिनुले हिन्दु अधिराज्यकै दुर्गन्ध सञ्चार गरेको छ । र, राष्ट्रपति डा. यादवमा नयाँ राजा बन्ने सांस्कृतिक मूल्य-मान्यता जब्बरसँग गाँठो परेको तथ्यलाई उजागर गरेको छ ।
'असली हिन्दुस्थान' र दशैं
सांस्कृतिक इतिहाससम्बन्धी लेखक प्रयागराज शर्माका अनुसार नेपालमा साँढे दुई सय वर्षसम्म कायम रहेको शाहवंशीय राजतन्त्रको धार्मिक र सांस्कृतिक आधार हिन्दु धर्म थियो । नेपालको भौगोलिक एकीकरण गरेका गोरखाली राजा पृथ्वीनारायण शाहको लक्ष्य थियो, असली हिन्दुस्थान बनाउने । त्यस लक्ष्यलाई जंगबहादुर राणाले पूरा गरेका थिए, सन् १८५४ मा मुलुकी ऐन बनाएर, जातप्रथालाई संस्थागत गरेर, हिन्दु धर्मका देवीदेवता, मठमन्दिर र चाडबाडलाई महिमामण्डित गरेर । शाहको लक्ष्य र राणाको पहललाई नेपाली राज्य चलाउन शासकहरूले हालसम्म त्याग्न सकेका छैनन्, मुख र अक्षरले जे भने पनि । उनीहरूले नेपाललाई असली हिन्दुस्थान बनाउन गरेका धार्मिक र सांस्कृतिक कसरतकै कारण आज दशैं पनि नेपालकै मुख्य चाडका रुपमा स्थापित भएको छ र दशैंसँगै अलौकिकता र पूजाअर्चनाको बाढी पनि आएको छ । तर, 'हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी' को नेपथ्यमा रहेको सांस्कृतिक राजनीति विचारणीय छ।
आफूलाई हिन्दुपति भन्ने शाहवंशीय राजाहरूको राजतन्त्रअन्तर्गत स्थापित राणा शासनले मूलतः दशैंलाई राज्य र देशकै पर्वका रुपमा फैलाएको थियो । सामाजिक मानवशास्त्री डेविड गेल्नरका अनुसार राणा शासनले मुलुकी ऐनको निर्माण, दशैं पर्वको फैलावट र ब्राह्मणहरूलाई प्रोत्साहनमार्फत् हिन्दु अधिराज्य निर्माण गरेको थियो । एथ्नोग्राफीका प्रोफेसर रिचार्ड बर्घटका अनुसार दशैंकै बेला राजाहरूले ब्राह्मणबाट आशीर्वाद लिने र राजाहरूले आफ्ना भारदार, नातेदार र उच्च प्रजालाई आशीर्वाद दिने काम गर्थे, राजनीतिक-सांस्कृतिक सत्ताको अभ्यासका क्रममा । सबैभन्दा महत्वपूर्ण राज्यको कामका रुपमा राजाहरूसँग विभिन्न ठेक्कापट्टाको वार्षिक नवीकरण र सरकारी जागिरमा थमौती वा बर्खास्तीका लागि गरिने पजनी पनि दशैंमै गरिन्थ्यो । यी सबै कामका लागि शासकहरूको चाकरी गर्ने/गराउने दरबारिया संस्कृति विकास भएको तथ्य डोरबहादुर बिष्टले उल्लेख गरेका थिए ।
सांस्कृतिक साम्राज्य
दशैंसँग जोडिएको अर्को पक्ष हो, गैरहिन्दु धर्मावलम्बीहरूमा जोरजबर्जस्ती गरी दशैं मनाउन बाध्य पारिएको ऐतिहासिक तथ्य । गोरखाली राज्यसँग लामो समयसम्म द्वन्द्वमा रहेका पूर्वका राई र लिम्बूमाथि दशैं लादिएको तथ्य अहिले बिर्सन थालिएको छ । हिन्दु अधिराज्य विस्तार र सुदृढीकरणका लागि गरिएको यस्तो सांस्कृतिक अतिक्रमणका कारण गैरहिन्दु धर्म र संस्कृतिमाथि अत्याचार भएको तथ्य विचारणीय छ ।
समाजशास्त्री चैतन्य मिश्रका अनुसार नेपालमा दशैंको प्रवल पक्ष भनेको हिन्दु राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो । हुन त लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै हिन्दु राज्यको संवैधानिकता समाप्त पारिए पनि राज्यका अंगअंगमा त्यसको रगत बगिरहेको तथ्य राष्ट्रपतिबाट भएको टीकाटालो र राज्यबाट दिइएका लामो बिदा अनि सरकारी कर्मचारीको दशैं खर्चबाट अझै झल्किन्छ नै । मिश्रका अनुसार विगतमा बडादशैंमा राजाको सन्देशदेखि लिएर कार्यालय-विद्यालयको लामो छुट्टी, राज्य संरक्षित बलि र बढाइँ, दरबारदेखि मन्त्रीसम्मको टीकाका लामो टिभी प्रसारण आदि अन्य धर्म र धर्मावलम्बीमाथि साँधिएका शक्तिशाली अस्त्र हुन् । दशैंको नाममा राज्यले चलाउने यो धर्म-अस्त्र समस्त देशवासी हिन्दुका विजय र वैभवका लागि होइन, शासन चलाउने पाखण्डका रुपमा विकसित हुँदै आएको छ । यी दुवै वास्तविकतातर्फ हिन्दु र गैरहिन्दु सबैले ध्यान पुर्याउनु र यिनको विरोध गर्नु अत्यन्त आवश्यक छ ।
नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष लोकतान्त्रिक राष्ट्र बनाउने हो भने नेपाली राज्यले विगतका धार्मिक अत्याचारमा क्षमा माग्नु, नेपालका सबै धर्म, भाषा र जातिका संस्कृतिलाई न्याय र समताको आँखाले हेर्नु र व्यवहार गर्नु जरुरी हुन्छ । तर, राज्य चलाउने सत्तापक्षी र विपक्षी नेताहरूको ध्यान कुर्सीमा मात्रै टाँसिएको बेला दशैं, देवीदेवता, धर्मबारे लोकतान्त्रिक र लौकिक चिन्तनको आशा गर्न सकिँदैन, जसरी देवीदेवताजस्ता अलौकिक शक्तिको अर्चना र आशीर्वादको भरमा वर्तमान दशामा सुधार र परिवर्तनको आस गर्न सकिँदैन । यस अर्थमा वर्तमान जीवनको दशामा सुधार र परिवर्तनका लागि जनताको लौकिक र लोकतान्त्रिक पहल नै वैज्ञानिक दिशा हुनसक्छ । अन्यथा, देवीदेवताको मूर्ति र मन्दिर बनाउने धनबहादुर परियारजस्ता गरिब दलितले दुर्दशाका कारण जीवन त्याग्नुपर्ने बाध्यता आइलागिरहन्छ र उनीहरूलाई देवीदेवताका आशीर्वादले कहिले पनि बचाउने छैनन् ।
No comments:
Post a Comment