Tuesday, March 19, 2013

अस्तित्वको निम्ती ह्योल्मो समुदायको ऐतिहासिक संघर्ष


 ह्योल्मो समुदायले बिगत र बर्तमानमा गरेको ऐतिहासिक संघर्ष
 नाम : छावागिर्मी ह्योल्मो
जन्म: २०१५ पौष १०(१९५९ डिसेम्बर २५)
अध्यक्ष: नेपाल ह्योल्मो समाज सेवा संघ
कोषध्यक्ष: ह्योल्मो समाज सेवा केन्द्रिय गुम्ब 
उपाध्यक्ष: नेपाल ह्योल्मो झ्याबा परिषद
सल्लहकार: नेपाल स्काउट

२०६३ देखी  ह्योल्मो समाज सेवा संघको केन्द्रिय  समिति सदश्य रहनु भएका छावागिर्मी ह्योल्मो २०६६ मा तेश्रो महाधिबेशन आयोजक समितिको सदश्य र २०६६ मंसिरमा भएको महाधिबेशना बाट सर्बसम्मत रुपमा केन्द्रिय अध्यक्षमा निर्बाचित हुनु भयो । प्रतिगामी तत्वको ईसारामा ह्योल्मोलाई योल्मो बनाउने खेल पनि यही समयमा भयो । ति सबैलाई संगठित गर्ने र ह्योल्मो समुदायलाई योल्मो बनाउने प्रतिगामी तत्वको गतिबिधी र कृयाकलापलाई छावागिर्मी ह्योल्मोले असफल बनाईदिनु भयो । 

नेपाल ह्योल्मो समाज सेवा संघको अध्यक्षको सन्देस 

आदरणीय ह्योल्मो दाजू भाइ तथा दिदी बहिनीहरु, नेपाल ह्योल्मो समाज सेवा संघ, ह्योल्मो आदिवासी समुदायको एक मात्र प्रतिनिधि जातिय संगठन हो । ह्योल्मो समुदायको हिचान र अस्तित्व बोक्ने आधिकारिक सँस्थानै यही भएकाले यसको आफ्नो विशिष्ट महत्व छ । यसैले पनि हामीले नेपाल ह्योल्मो समाज सेवा संघको मुद्दालाई  ह्योल्मो समुदायको पहिचान र अस्तित्वको मुद्दाको रुपमा लिएका छौं ।
२०६७/०१/१५ को सम्मानित श्री सर्वोच्च अदालतको निर्णयले नेपाल योल्मो समाज सेवा संघलाई खारेज गर्दै हामीलाई बैधानिकता प्रदान गरेको छ । यसले संघलाई सँस्थाको उद्देश्य अनुसार कार्य गर्न अझ धेरै बाटो खुलाएको छ, जुन सफलता पाउन प्रत्येक ह्योल्मो दाजूभाइ तथा दिदीबहिनीहरुले आ-आफ्नो क्षेत्रबाट अमूल्य योगदान दिएको छ । यसको लागि म लगायत हामी सम्पूर्ण केन्द्रिय कार्य समिति यहाँहरु समक्ष हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । वास्तवमै हामी सबैको सहकार्य, सहयोग, योगदान र एकताले नै यो सम्भव भएको हो । यसैले संघका जिल्ला कार्य समितिहरु, भातृ संगठनहरु विदेशमा रहनु भएका ह्योल्मो समुदाय तथा संगठनहरु एवं सँस्थाका सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरु लगायत आम ह्योल्मोहरुबाट निकट भविष्यमा पनि यस्तै अमूल्य सल्लाह सुझाव तथा सहयोगको आशा लिएको छु ।
ह्योल्मो समाजलाई प्रगति र विकासको मार्गमा डोर्‍याउनु हामी सबैको कर्तव्य हो । मुलुकमा ह्योल्मो समुदायको अधिकार स्थापना गर्न सक्यौ भने मात्रै वास्तविक रुपले राज्यमा हामीले पनि सम्मानित नागरिकको हैसियतले बाँच्न सक्छौँ । जसको दायित्व र कर्तव्य हामी सबैको हो । यसैले सम्पूर्ण ह्योल्मो दाजुभाइ तथा दिदी बहिनीहरुमा एकता र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

साथै, हामीले हाम्रो कार्यकालमा संघलाई स्वच्छ रुपले विशुद्ध जातिय सँस्थाको रुपमा विकासित गर्न आफ्नो दायित्व कर्तव्यमा कमी आउन नदिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

थुजिक्षे
केन्द्रिय सभापति
छावा गिर्मी ह्योल्मो
काठमाण्डौ नेपाल
फोन : ९८४१२७३३७४ 

बहुजातिय ,बहुभाषिक,बहुधार्मिक र विविध संस्कृती नेपालका धरातलिय यथार्थता हो। साथै बिभिन्न समुदायको सामाजिक आस्था र परम्परामा पनि विविधता रहेको छ। , नेपालको यी विविध जातिय समुहहरु मध्ये “ह्योल्मो ” समुदाय पनि एक हो ।
जुन समुदाय विशेष गरि लाङटाङ, गणेश हिमाल ,रसुवागढि जस्ता महत्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक स्थल र गोसाइकुण्डा, सिङगोम्बा , ह्योल्मो न्होर्छो, आमायाङरी जस्ता पवित्र धार्मिक स्थलको आसपासमा रहेको ह्योल्मो भूमि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक तीन जिल्लाहरुमा आफ्नै मौलिक पहिचान बोकेर परापुर्वकालदेखि बसोबास गरी आएको समुदाय हो। साथै यो समुदाय नेपालको हिमाली तथा पहाडी अन्य जिल्लाहरु कास्की, लम्जुङ, इलाम, गोरखा, रामेछाप, चितवन, लगाएत १५ जिल्लाहरुमा बसोबास गर्दछ। यो समुदाय नेपालको सुचिकृत ५९ आदिबासी मध्ये ५९ औँ नम्बरमा सुचिकृत भएको ह्योल्मो आदिबासी भएता पनि यस अघि एक धर्म, एक भाषा, एक समुदायको नामबाट सिङ्गो राष्ट्रलाई चिनाएको कारण देशको अन्या समुदाय, धर्म, भाषा र चाढपर्वहरु ओझेलमा परेको थियो जस मध्ये ह्योल्मो समुदायको पहिचान र यसका परम्पार पनि  पर्दछ। परापुर्वकाल देखि नेपालको उच्च हिमाली भू–भागमा बसोवास गर्दै आएका आदिबासी ह्योल्मोहरु आफ्ना इमान्दारी, परिश्रम, अहिंशावादी छवीका कारण विभिन्न क्षेत्रमा परिचित छन्। आफ्ना विशिष्ठ जातीय, भाषिक, धार्मिक र संस्कृतीक पहिचान भएका ह्योल्मोहरु बौद्ध धर्म र त्यससँग सम्बन्धित संस्कृतीक परम्परामा आधारीत जीवनशैली अपनाउदै आएका छन्। ह्योल्मोहरुको अधिकांश संस्कृति, परम्परा र व्यवहार बौद्ध दर्शनमा आधारित छ। ह्योल्मोहरु तिब्वत–बर्मेली भाषा परिवार अर्न्तगतको ह्योल्मो भाषामा बोलचाल गर्दछन् र लेखनमा सम्भोटा लिपी प्रयोग गर्दछन्। मंगोलाइड मूलका भएको हुनाले प्रयाः ह्योल्मोहरु मझौला कदका, शारीरिक रुपमा हृष्ट–पुष्ट र बलिया हुन्छन्। कालो कपाल, कालो  आँखा, पातला दाह्रीजुङ, चौडा अनुहार , केही थेप्चो नाक र रातो वर्ण ह्योल्मोहरुको शारीरिक संरचनाको परिचाएक हो। तर बसोबासको क्षेत्र एवं स्थानीय वातावरणको प्रभावका कारण छालाको रङ्गमा भने भिन्नता पनि देख्न सकिन्छ।
 
वर्तमान नेपालको अन्तरिम संविधानबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्मनिरपेक्षा राष्ट्र नेपाल भनि घोषणा गर्नुको साथै हाल नेपालमा नयाँ संविधान निर्माण गर्न गईरहेको  अवस्थामा, राज्यको हरेक क्षेत्रमा पछाडी परेका  ह्योल्मो समुदायको आफ्नो परम्परागत चाढपर्व, लोक संस्कृती, धर्म, भाषा आदिको पहिचान सहित नयाँ  संविधानमा ह्योल्मो समुदायको पनि अधिकार सुनिश्चित गराउन राज्यको संविधान निर्माणकर्ताहरु माथि जोडदार माग गर्दछौँ र नेपालको नयाँ  संविधानमा हामी आदिबासी ह्योल्मो समुदायको हक अधिकार सम्मान जनक रुपमा सुनिश्चित भएको हेर्न चाहान्छौँ।

विसं २०४६/४७ सालको राजनितिक परिवर्तन पश्चात विभिन्न जातिया संस्थाहरु दर्ता भई आदिवासी जनजाति महासंघमा गोलबन्द हुने लहरको क्रममा केहि ह्योल्मो बुद्धिजिविहरुले पनि आफ्नो मौलिकतालाई नछोडिएका कारण, मौलिकपन लोप हुन नदिई बचाई राख्न सकेको आधार प्रमाणमा  ढिलै भए पनि  ह्योल्मो बुद्धिजिविहरु, लामा तथा यूवाहरु बीच भएको वृहत छलफल, अनुसन्धान र लगतारको अन्तरक्रियात्मक कार्याक्रमहरुको छलफल पश्चाल गहन सोचबिचार गरी २०४७ साल जेष्ठ २ गते ह्योल्मो भूमिमा बस्नेहरु ह्योल्मो हौं' भनेर परिचय गर्दै सम्पूर्ण ह्योल्मो आदिवासी जनजातिहरुको जातिया प्रतिनिधिको रुपमा नेपाल ह्योल्मो समाज सेवा संघको गठन भएको थियो भने विधिवत् रुपमा संस्था ऐन २०३४ अनुसार श्री कान्छा लामाज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०५५/४/३ गते दर्ता नं.०३-५५-५६ मा “नेपाल ह्योल्मो समाज सेवा संघ नामबाट दर्ता भई विधान अनुरुप महाधिवेशनहरु सम्पन्न गरी गतिविधिहरु अगाडी बडाउदै अउने क्रममा ह्योल्मो समूदायकै केहि व्यक्तिहरुलाई बिभिन्न भ्रम परेको तथा अज्ञानताका कारण ह्योल्मोको सट्टा 'योल्मो' लेख्नु पर्छ भन्ने विबाद उठाई तमाम् ह्योल्मो आदिवासिहरुको जातिया संस्था 'नेपाल ह्योल्मो समाज सेवा संघ' लाई 'नेपाल योल्मो समाज सेवा संघ' मा परिर्वतन गरेको तितो सत्य परिस्थितिमा, बास्ताविक ऐतिहासिक उच्चारण रहेको ह्योल्मो समूदायको अस्तित्वनै संकटमा परिरहेको थियो। तत्कालिन संघको वास्तविक्तालाई नजिकबाट नियालेर बुझ्दा संघलाई जीवन्त र क्रियाशिल बनाई राख्न सहज भन्दा बढी असहज वातावरण व्याप्त रहेको उक्त अवस्थामा विभिन्न जिल्लाका ह्योल्मो समुदायहरुबाट आएको सल्लाह सुझाबलाई मनन् गर्दै ने.ह्यो.स.से.संघको तत्कालिन कार्यबाहक अध्यक्ष श्री निमा लामा ह्योल्मोको अध्यक्षतामा २०६६/०२/२० गते बसेको केन्द्रिय बैठकबाट पारित निर्णयनुसार ह्योल्मो समुदायका गन्य मान्नेहरु श्री विनोद लामा ह्योल्मो, जितमान ह्योल्मो र छावा गिर्मी ह्योल्मो लगायत विभिन्न बुद्धिजिवीहरुको २०६६।०२।३० गते भएको भेलाबाट  तमाम् ह्योल्मोहरुको वास्तविक पहिचान र अस्तित्वको संरक्षण तथा थप प्रवर्दन गर्न र सर्वेच्च अदालतमा विचारधिन रहेको 'नेपाल ह्योल्मो समाज सेवा संघ' को मुद्दाको पक्षमा लड्नका एक सवल, सुदृढ र सक्षम कार्यसमिति विशाल ह्योल्मोहरुको उपस्थितिबाट निर्माण गर्नु पर्ने महशुस गरी ह्योल्मो समूदायकै सामाजिक क्रियाकलापको मूल्यांकनमा तत्कालिन 'नेपाल ह्योल्मो समाज सेवा संघ' का केन्द्रीय सदस्य श्री छावा गिर्मीज्यूको संयोजकत्वमा केन्द्रीय स्तरको नेपाल ह्योल्मो समाज सेवा संघको मूल आयोजक समिति गठन भए थियो।

मूल आयोजक समितिलेनै जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशन सम्पन्न गराउने निर्णय अनुसार रसुवा मा बहुसांख्याक ह्योल्मो आदिवासीहरुको बसोबास रहेको हुदाँ ह्योल्मो अदिवासीहरुको अस्तित्व जोगाउन रसुवाबाट थप ऊर्जा संघलाई मिल्ने बिचारका साथ रसुवा जिल्लाको १२ गाविसहरु जस्तै, स्याफ्रु, धुन्चे, लाङटाङ, बृदिम, थुमन, गत्लङ, गोल्जुङ्, यार्सा, टिमुरे, हाक्कु, राम्चे र चिलिमे आदिलाई समेटेर रसुवाका लोक प्रिया युवा नेता श्री लामा कार्पु ह्योल्मो, अधिवक्ता फुर्पा ह्योल्मो र क्षोक्याल दोर्जे लामा ह्योल्मोको विषेश सक्रियतामा श्री लामा रिन्जेन घले ह्योल्मोको अध्यक्षतामा रसूवा जिल्ला कार्यसमिति गठन गरियो। यसरी जिल्ला अधिवेशन गर्ने क्रममा नुवाकोटमा निमा ग्याल्बो ह्योल्मो, सिन्धुपाल्चोकमा ल्हानम ह्योल्मो, काठमाण्डौंमा छिरिङ लामा ह्योल्मोको नेतृत्वमा कार्यसमितिहरुको निर्वचित गराउनुका साथै कास्की र अन्य केहि जिल्लाहरुमा पनि अधिवेशन समपन्न गराई तेस्रो महाधिवेशनको लागि व्यपक तयारीमा जुटियो। यसै क्रममा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा ज्ञापन-पत्र बुझाई घेराऊ कार्यक्रम गर्नुका साथै नेपाल आदिवासी जनजाति महासंघमा र अन्य समबन्धित निकायहरुमा पनि ज्ञापन-पत्र बुझाउने कार्यहरु सम्पन्न गर्दै तमाम् ह्योल्मो आदिवासीहरुको अस्तित्व जोगाउन कार्यसमितिको निर्माण गर्नु पर्ने तत्कालिन अवस्थालाई मध्यनजर गरी विधान संवत तरिकाले मूल आयोजक समितिको निर्माण गर्नु पर्ने तत्कालिन अवस्थालाई मध्यनजर गरी विधान संवत तरिकाले मूल आयोजक समितिको संयोजक श्री सुरेस आले मगरज्यूको प्रमुख अतिथ्यामा २०६६ मंसिर १३ गते बौद्ध स्थीत शेर्पा गोम्पामा ह्योल्मोहरुको विशाल उपस्थितिमा सम्पन्न भई निर्वाचित नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रीय कार्यसमितिले सम्पूर्ण ह्योल्मोहरुका हक हितका लागि क्रियाशील हुदै, अफ्नो अस्तित्व जोगाउन सफल भई आएको छ।

नेपाल ह्योल्मो समाज सेवा संघलाई सर्वोच्च अदालतद्वारा आधिकारिक मान्यता प्रदान 

ह्योल्मो आदिवासी जातीको एक मात्र राष्ट्रिय स्तरको जातीय संगठन नेपाल ह्योल्मो समाज सेवा संघमा विगत ५ बर्ष देखि विवादित रहँदै आएको “ह्योल्मो” लेखाइको मुद्दालाई सम्माननीय श्री सवोच्च अदालतको मिति २०६७।०१।१५ गतेको निर्णयले यस संघलाई आधिकारिक मान्यता प्रदान भनि सँस्थाको उद्देश्य अनुसार पूर्ववत ढङ्गले कार्य गर्न दिनु परमादेश जारी गरेको छ ।

जातीय पहिचानको नाममा केही व्यक्तीहरुले “ह्योल्मो” को सट्टा “योल्मो” लेखिनु पर्ने भन्दै यस सँस्थाको छाप, लेटरप्याड तथा दर्ता नं । ०३ को दुरुपयोग गर्दै सँस्थाको विधान विपरित जथाभावी रुपले नेपाल योल्मो समाज सेवा संघको नाममा अधिवशन बोलाउने आदि जस्ता कार्य गरेकोमा सो विरुद्ध सँस्थाको तत्कालिन दोश्रो कार्य समितिका कार्यबाहक सभापति श्री निमा लामा ह्योल्मो लगायतले श्री सवोच्च अदालतमा मिति २०६५।०६।०३ गते रिट निवेदन पेश गरेको थियो । सोही कारबाही उपर सवोच्च अदालतले यस्तो निर्णय दिएको हो ।
त्यति बेला रिट निवेदन कर्ताहरु दोश्रो कार्यसमितिका तत्कालिन कार्यवाहक सभापति श्री निमा लामा ह्योल्मो (सेर्माथाङ), पूर्व सभापति श्री विनोद लामा ह्योल्मो (श्योमखर्क), केन्द्रीय महासचिव श्री निमा छिरिङ लामा ह्योल्मो (तक्पाखर्का-निङ्गाले), केन्द्रीय सचिव श्री टासी लामा ह्योल्मो (थाङपालकोट-नाँगी), केन्द्रीय कोषाध्यक्ष सुश्री किन्जो ओमु लामा ह्योल्मो (नेङेम्बा), केन्द्रीय सदस्यहरु श्री छावा गिर्मी शेर्पा ह्योल्मो (घ्याङफेदी), श्री ग्याल्बो लामा ह्योल्मो (श्युगेन्चे), श्री दोर्जे लामा ह्योल्मो (ताखोर-कुटुम्साङ), श्री छिरिङ लामा ह्योल्मो (श्युगेन्चे) तथा पूर्व केन्द्रीय सचिव एवं आजीवन सदस्य श्री टासी दोङबा ह्योल्मो (सेर्माथाङ) रहेको थियो ।
सो रिट निवेदन सँस्थाको उद्देश्य तथा विधान विपरित कार्य गर्ने तथाकथित नेपाल योल्मो समाज सेवा संघका पेमा दोर्जे लामा (कज्ये), दावा साङबो लामा (गेल्दर), दावा ग्याल्बु लामा (च्योमथिली), ल्हाक्पा लामा (रसुवा) का विरुद्ध दिइएको थियो भने “ह्योल्मो” लाई अवैधानिक ढङ्गले “योल्मो” भनी सिफारिस गर्ने नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, सिंहदरबार, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सनेपा-ललितपुर, जिल्ला प्रशासन कार्यलय, बबरमहल-काठमाडौ, त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग-काठमाडौ, गुम्बा व्यवस्था तथा विकास समिति, पुल्चोक-ललितपुर तथा नेपाल प्राध्यपक संघ त्रिभुवन विश्वविद्यालय विरुद्ध पनि रिट निवेदन हालिएको थियो ।

सो मुद्दामा नेपाल ह्योल्मो समाज सेवा संघको तर्फबाट अधिवक्तहरु रबिराज भण्डारी, पन्नामान तुलाधार, शंकर लिम्बु, फुर्पा ह्योल्मो तथा सन्तोष राना मगरले बहस गरेका थिए ।
यस नेपाल ह्योल्मो समाज सेवा संघ मिति २०४७।०२।०२ गतेका दिन नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध भएको थियो । यसरी २०५४।०३।२३ मा राष्ट्रिय जनजाति विकास समिति (हालको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)को गठन आदेश जारी भएकोमा सोको अनुसुची १ मा सुचिकृत गरिएको थियो भने जिल्ला प्रशासन कार्यलय, काठमाडौमा मिति २०५५।०४।०३ मा दर्ता नं । ०३।०५५।५६ मा दर्ता गरिएको थियो । नेपाल सरकारको मिति २०५४।३।२३ को राजपत्र भाग ३ मा प्रकाशित जनजातिको अनुसुचिमा ह्योल्मो समुदाय नेपालको आदिवासी जनजाति हुनुको साथै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लिखित ५९ आदिवासी जनजाति हो ।

नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशन सम्पन्न

आदिबासी ह्योल्मो समुदायको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधिमूलक जातिय संस्था नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशन यही २०६६ मंसीर १३ गते बृहद ह्योल्मो समुदायको सहभागितामा भब्यताकासाथ काठमाडौमा सम्पन्न भएको छ । ह्योल्मोहरुको बाहुल्यता रहेको सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र काठमाडौ लगायत बिभिन्न जिल्लाहरुमा रहेका आदिबासी ह्योल्मोहरुको सक्रिय सहभागितामा सम्पन्न सो केन्द्रिय महाधिवेशनले श्री छावा गिर्मी ह्योल्मोको नेतृत्वमा २५ सदस्यीय केन्द्रिय कार्य समिति तीन वर्षको लागि चयन गरेको छ । तेस्रो केन्द्रीय महाधिवेशनबाट सभापतिमा श्री छावा गिर्मी ह्योल्मो (नुवाकोट), प्रथम उपसभापतिमा शंकर लामा ह्योल्मो (सिन्धुपाल्चोक), द्वितीय उपसभापतिमा सुश्री किन्जो ओमु ह्योल्मो (नुवाकोट), तृतीय उपसभापतिमा बाबुलाल तितुङ ह्योल्मो(रसुवा), महासचिवमा अधिवक्ता फुर्पा ह्योल्मो (रसुवा), सचिवमा टसीछिरिङ ह्योल्मो (सिन्धुपाल्चोक), कोषाध्यक्षमा दावा दोङ्बा ह्योल्मो (सिन्धुपाल्चोक) र सदस्यहरुमा श्री ल्हानम लामा ह्योल्मो, श्रीमती कर्बु लामा ह्योल्मो, श्रीमती नोर्बु डोल्मा ह्योल्मो, पेमा लामा ह्योल्मो, क्षेक्याल दोर्जे लामा ह्योल्मो, लाक्पा लामा ह्योल्मो, छेदेन (सदेन) लामा ह्योल्मो, दावाग्याल्सेन लामा ह्योल्मो, रेन्जेन लामा ह्योल्मो, श्रीमती मिङ्मार ओमु ह्योल्मो, राजाराम थोक्र ह्योल्मो, पासाङ फुर्वा ह्योल्मो र प्रभात लामा ह्योल्मो सहित २५ सदस्यीय तेस्रो केन्द्रिय कार्यसमितिको चयन भएको निर्वाचन मण्डलका मुख्य अधिकृत अधिवक्ता श्री सन्तोष राना मगरले जानकारी दिनु भयो ।

तेस्रो राष्ट्रिय महाधिवेशन संघका कार्यवहाक सभापति तथा नेपाल जनजाति महसंघका विदेश विभाग सचिव श्री निमा लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिति नेपाल जनजाति महासंघका संस्थापक महासचिव तथा एकिकृत माओबादीका केन्द्रीय सदस्य श्री सुरेश आले मगरज्यूले भगवान  बुद्धको प्रतिमा अगाडि छेमी प्रज्वलन गरि समुत्घाटन गर्नु भएको थियो । सोही अवसरमा निर्वतमान अध्यक्ष श्री बिनोद लामा ह्योल्मोले ह्योल्मो आदिबासी जनजातिको जतीय संस्था नेपाल ह्योल्मो समाज सेव संघको स्थापनाको औचित्य एवं २०६३ सालदेखि महाधिवेशन हुदाको मितिसम्म भएका घटनाको बिवरण समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा श्री सुरज लामा ह्योल्मोले स्वागत मन्तव्य दिनु भको थियो भने संघका पूर्व महासचिव एवं नेपाली काग्रेसका महासमिति सदस्य श्री निमा ग्याल्जेन ह्योल्मो, ह्योल्मो समाज सेवा केन्द्रका अध्यक्ष श्री दावा दोर्जे ह्योल्मो, संघका पूर्व उपसभापति श्री रेन्जेन लामा ह्योल्मो लगायत अन्य महानुभावहरुले महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यतm गर्नु भएको थियो । प्रमुख अथिति श्री सुरेश आले मगरज्यूले जनजातिहरुको हकहितको लागि सम्पूर्ण आदिबासी जनजातिहरु एक हुनु पर्ने कुरालाई अघि सार्दै नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशनको सफल्ताको लागि शुभकामना ब्यतm गर्नु भएको थियो ।

कार्यक्रमको उत्घाटन सत्रमा नेपाल ह्योल्मो समाज सेवा संघको तेस्रो केन्द्रिय महाधिवेशन मुलआयोजक समितिका संयोजक श्री छावा गिर्मी ह्योल्मोले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सभापतिको आशनबाट श्री निमा लामा ह्योल्मोले मन्तव्य सहित सभा बिसर्जन गर्नु भएको थियो ।

कार्यक्रमको दोसो सत्रमा पनि कार्यवहाक सभापतिबाट सभापतिको आशन ग्रहण भएको थियो र सो सत्रमा महासचिव श्री निमा छिरीङ लामा ह्योल्मोज्यूबाट आर्थिक बर्ष २०६३ देखि २०६६ साल सम्मको संघका गतिविधिको सम्बन्धमा प्रकाश पार्दै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सुश्री किञ्जो ओमो ह्योल्मोज्यूले आर्थिक बर्ष २०६३ देखि २०६६ साल सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस पछि सभापतिबाट निर्वाचन आयोगका मुख्य अधिकृतलाई संघको तेस्रो केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गराउनको लागि जिम्मेवारी सुम्पदै संघको दोस्रो कार्य समिति बिगटन भएको घोषणा गर्नु भएको थियो । केन्द्रिय अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष पदहरुमा एक भन्दा बढीको मनोनयन पत्र परेको भएतापनि अन्तमा सहमतिको आधारमा बिन मतदान निर्बिरोध रुपमा निर्वाचन सम्पन्न भएको छ ।

कार्यक्रमा तेस्रो महाधिवेशन मूल आयोजक समिति अन्तर्गतको साँस्कृतिक उपसमितिले आदिबासी ह्योल्मो जातिको परम्परागत भेषभूषामा सुसजित भएर ह्योल्मो स्ह्याब्रु सहित विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।


नेपाल ह्योल्मो समाज सेवा संघ                                          मितिः २०६९/०३/३१

श्रीमान् सम्पादक ज्यू

विषय : पत्रकार सम्मेलन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल ह्योल्मो समाज सेवा संघमा विगत २०६३ साल देखि जातिय पहिचानको सम्बन्धमा विवाद सृजना भई सर्बोच्च अदालत सम्म उक्त विवाद पुग्यो । सर्बोच्च अदालतबाट उक्त विषयमा २०६७ वैशाख १५ गते अन्तिम फैसला भएको थियो । उक्त फैसलाबाट पनि जातिय पहिचान नटुङ्गीएकोले सम्बन्धित पक्षहरु बीच भएको सहमतिको बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

कार्यक्रम
२०६९/०३/३१
दिउँसो २ बजे
स्थानः जनसञ्चार अभियान नेपाल, अनामनगर
छाबा गिर्मी ह्योल्मो
भापति
नेपाल ह्योल्मो समाज सेवा संघ

ह्योल्मो समुदायको निम्ती केहि नयाँ तथ्य, समाचार र प्रतिकृयाहरु भए हामिलाई पठाउनु होला । 
फोन : ९७४१०७८६९९ र ९८४१४२४५७१
E-mail : news.mongol@gmail.com

No comments:

Post a Comment