Saturday, March 16, 2013

नेपाली नागरिकलाई आवश्यक पर्ने धनराशी उत्पादन गर्न सक्ने पूर्वाधार तामाङ्सालीङसंग छ ।


तामाङ्सालीङ र तामाङ समुदायको डर लाग्दो अवास्था 
जुन दिन ताम्सालिङ संघर्ष समितिको आयोजनामा  तामाङ्सालीङ बन्द थियो, त्यो दिनका अखबरमा तामाङ्सालीङकी छोरी माया तामाङ र तिनकी बहिनी राधाको दर्दनाक व्यथा छापिएको थियो । त्यसैले आजको यो कथा तामाङ्सालीङको कथा हो भने पनि, होइन भने पनि यो कथा माया तामाङ र राधा तामाङ या सर्मिला र सिता अथवा कान्छी र माइली तामाङ्को  कथा हो । तामाङ्सालीङका बेचिएका र भोलि पर्सि बेचिन फ्याक्ट्रीमा तयार पारिदै गरिएका हजारौ चेलीको कथा पनि हो यो । खलनायक नै नायक हुने यो देशमा चेली बेच्ने तामाङ्सालीङकै पूर्ण बहादुरको पनि कथा हो यो । किन भने यस्तै खलनायकका कारण नै तामाङ्सालीङका चेली बेचिन्छन्, बलात्कृत हुन्छन् । नरकमय जीवन बिताउँछन् । तर, तामाङ्सालीङमै यी पूर्ण बहादुरहरु छात्ती फुलाएर फेरि अर्की निर्दोष तामाङ चेलीलाई जकड्न उद्धत छन् ।
खै यीनका घाउ तामाङ्सालीङलाई दुख्छ कि दुख्दैन ? स्वायत्तता पाइयो भने यी तामाङ चेलीहरु बेचिने क्रम बन्द हुन्छ की हुँदैन ? खै यता वाईसिएल, युथफोर्स, तरुण दलका लाठी किन  बज्रीदैन पूर्णबहादुरहरुका टाउकामा ? बाटो बन्दका ठाउँमा चेलीबेटी बेचबिखन बन्दका कार्यक्रम किन राखिन्नन् तामाङ्सालीङमा ? किन भने तामाङ्सालीङको नक्सामा पनि छोरीहरु पर्दैनन्, नेपालकै नक्सामा छोरी नपरे जस्तै ।  सन्दर्भ यस प्रकार छ । नुवाकोटकी २ वर्षीया छोरीसहितकी माया तामाङ र अढाई  वर्षिया छोरी सहितकी उनकी बहिनी राधा तामाङलाई १० हजार तलब भन्दै, हेटौडाका पूर्ण बहादुर तामाङले ६ महिना अघि दिल्ली जिवी रोडमा २ लाखमा बेचेछन् । मायालाई जिवी रोडबाट फेरि मेरठको कवाडी बजार स्थित जरिना भनिनेको कोठीवालीलाई दिएछ । ६० किलोमिटर परको लोनी भनिने स्थानमा अरु ५०/६० बच्चाहरुसहित थुनिएकी उनकी २ वर्षिया छोरीलाई २ महिनाको एक पटक केही बेर भेट्न ल्याइने र दूध समेत चुसाउन नदिई जबरजस्ती खोसेर रुवाउँदै लगिने गरिन्थ्यो ।
ग्राहक फिर्ता पठाएमा वा नाई भनेमा छोरी मार्ने धम्की दिई १ दिनमा डेढ दर्जन ग्राहक सम्म पनि थेग्नु पर्थ्यो। '११/१२ वर्षका नेपाली बच्चाहरुलाई ल्याएर दैनिक १५/१६ भुसतिग्रेसंग पेशा गराइन्थ्यो र विशेष केमिकलहरु खुवाएर १ महिना भित्रमै जीउ फुलाइ ठूलो बनाइन्थ्यो' मायाले रुँदै भनिन्। माया बच्चा सहित छुटे पनि राधा अझै बेपत्तै छिन्। मायाकै कोठीमा मात्रै २ सय जति ११ वर्ष देखि ५० वर्ष सम्मका नेपाली चेलीहरु छन् रे।
दैनिक दर्जनौ नेपाली चेली भारत लगिन्छन्, नाका नाकामा माइती नेपालका स्वयंसेवक बस्छन्, प्रहरी त हुने नै भो, तर पनि दैनिक राँगाहरु ट्रकमा अमानवीय रुपमा कोचेर नेपाल भित्राएर, राँगाका बदला छोरीहरु भारत लैजान्छन्। कठै, काम दिने भन्दै नेपाली दाजुहरुकै आँखा सामु, नेपाली दाजुहरुले नै, नेपाली भूमिबाटै, नेपाली छोरीहरु, मुम्बई र मेरठमा जिउँदो मासुको ममचा बनाउन लैजान्छन्। यसबारे ताम्सालिङ मौन छ। थारुहट मौन छ, दलित सभासद्हरु मौन छन्। संविधान त हिजै पनि मौन थियो र अब पनि मौन नै हुनेछ। निश्चित छ, किनभने संविधान जनताका लागि बनाइदैन। नेता बन्नका लागि मात्र बनाइन्छ संविधान यो देशमा।  र नेताका चेलीहरु बेचिन्नन्। ५० सालतिर म लाङटाङ राष्टि्रय निकुञ्जको सुरक्षा प्रमुख हुदा रसुवा र माथ्लो नुवाकोट तथा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्रका तामाङहरुको गाउँ गाउँमा घुमेको थिए। देखेको थिए, भोगेको थिए। अल्लारेे ठिटाहरु अल्लारे नै देखिए। बयस्काहरु जाँड या मेलामा मातिएका भेटिए। महिलाहरु कि त ढुंगे पाखा कोर्दै, कि त पसल या भट्टी चलाउँदै, कि त घाँस पात र दाउरा बटुल्दै। तर, किशोरी र तरुनीहरु भने आकल झुकल मात्र। सोध्यो, छोरी कहाँ? बौद्धमा, गार्मेन्टमा। गार्मेन्टबाटै सिधा भूमिगत रेलको लिग बिछाइएको थियो त्यसबेला बम्बईसम्म। छोरा काहाँ? खै गाउँ डुल्दै होला। कामै गर्दैन मोरो। बहिनीको कमाइ घिच्छ बस्छ। घाममा टल्केका टीनका केही छानाहरु थुप्रै खरका छानाहरुबीच गर्वका साथ, भन्दै थिए-हेर अनागरिक छोरीले कमाएको पैसाले खरहरुबीच टिलिक्क टल्केका टिनका घरहरु।
एउटी तामाङ बच्ची डोकामा नाम्ला र हँसियाले हिड्दै गरेकी भेटे। फोटो खिच्दै गरेका मेरा मनमा त्यसबेला उठेका भयानक पीडा आजसम्म पनि घोचिरहन्छन् बेलाबखत, घाउहरु रगतपच्छे धसि्रएका मनहरुमा। मनले सोच्यो, यी निर्दोष आँखाहरु, यी सुको मल अंगहरु, एक दिन चिल्ले उडाएर बम्बै झार्नेछ, गीद्धहरुबाट लुछिन र एउटा अर्को खरको छाप्रो हट्ने छ, मागिन गोठबाट र उठ्नेछ एउटा टीनको छाना टिलिक्क टल्किन। एउटी निष्पाप बालाको अक्षेत योनी र सपाट स्तनबाट बगेका रक्तधार र पीपहरुबाट निर्मित। थाहा छैन कहाँ छिन् तिनी? तर, मलाई पीडित बनाउँछिन् बेलाबखत।  एक ताका पद्यकन्याका जागरुक चेलीहरु चेतना जगाउन नुवाकोट, रसुवा पुगेका थिए। तर, मलाई थाहा थियो त्यहाँ चेतनाले पेट भर्ने, लुगा किन्ने, टिनको छाना हाल्ने सुख्ख किन्ने पैसा दिदैन। त्यहा त आय आर्जनका लागि कार्पेट उद्योग, गार्मेन्ट जस्ता स्थानीय महिला मुखी घरेलु उद्योग, निकुञ्जले ओगटेको बन या सामुदायीक या खेतीबाटै चिराइतो, भिक्स जस्ता औषधी बनाउने हजारौ जडीबुटी झाडीहरु तथा बाँसका व्यवस्थीत खेती र दोहान, तथा हाल लाङटाङका सिमित स्थानमा केन्द्रित ग्रामीण पर्यटनलाई पूरै रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेसम्म एउटै प्याकेजमा समावेश गरी फैलाउन सकिने दह्रो योजना मात्र चाहिन्छ।
मकवानपुर, सिन्धुपाल्चोक र दोलखातर्फ पनि यस्ता जडिबुटी उत्पादन लगायत पर्यटनका पर्याप्त सम्भावना छन्। यी क्षेत्र मैले व्यापक रुपमा घुमेको छु। बाटो घाटो र पूर्वाधार बन्ने हो भने विदेशी पर्यटक मात्रै होइन काठमाडौंबाटै हजारौ परिवार जानेछन्, र विशेष गरी भारतीय पाहुनाहरुको भीड भने थाम्नै नसकिने गरी बढ्नेछ। भारतीय र नेपालीहरु सजिलोसँग पुग्न सकिने प्राकृतिक स्थलका खोजीमा हुन्छन्। यत्ति लाख र उत्ती लाख पर्यटक भित्राउने घोषणा गर्नेहरुलाई थाहा छैन। काठमाडौले थेग्दैन। आधुनिक तारे होटल बन्न सक्दैनन्, गाउँ घरतिर ग्रामीण पर्यटनका लागि स्थानीय बनोटका होटल र लज, तामाङ सेलो र झ्याउरे, मादल र डम्फुहरुले नै धन छर्नेछन्। उपत्याकाको छेउकै ताम्सालिङसित यो पूर्वाधार छ। तर, राजनैतिक स्वायत्तता नाराले मात्र यी बन्दैनन्। यदी गाउँमै कमाइन्छ  भने को जान्छ मुम्बई? को जान्छ मेरठ? घरमै रोजगार छ भने पूर्णबहादुरले फकाउदैमा कुनै मायाहरु, राधा या सर्मिलाहरु पछि-पछि लाग्दैनन्, स्वर्गका सपना बुन्दै, नर्कतर्फ।
अन्तमा यो मुक्तक-
'ताम्सालिङमा प्याउली, पहेलपुर फुल्नै पा' हुन्न।
मुम्बइलाई था हुन्छ, ताम्सालिङलाई थाहा हुन्न।
छोरी उता नरकमा, छोरा यता सडकमा।
अन्तको परिवर्तन, ताम्सालिङमा आ' हुन्न।
स्वतन्त्रता कति प्यारो छ !!
नेपालमा अझै बाँधापनमा
* १७ हजार ४ सय ३५ मुक्त कमैया परिवार छन्।
* ३४ लाख १४ वर्ष मुनिका बालश्रमिक छन्।
* १ लाख २७ हजार जोखिमपूर्ण काममा लागेका बालश्रमिक छन्।
* ४० हजार बँधुवा बालश्रमिक छन्।
* १ लाख ईट्टा भट्टा, गिटी र बालुवा खानीमा काम गर्ने श्रमीक छन्।
* २ लाख हलिया, हरुवा, चरुवा र गोठाला छन्।
* १० देखि १२ हजार चेलीबेटी बर्षेनी भारतका विभिन्न शहरमा बेचिन्छन्।
* ८१ प्रतिशत चेलीबेटी आफन्तबाट बेचिन्छन्।
* भारतका विभिन्न शहरमा २ लाखदेखि २ लाख ५० हजारजत्ति नेपाली
चेली बेचिएका छन्।
बाँधापन सभ्य समाजको कलंक हो।


नोट: २०१० जुलाई २५ का दिन प्रकाशित गरेको यो लेख अन्तर्राष्ट्रिय तामाङ सम्मेलन गर्नेहरुको कानमा या आँखामा परोस भनेर पुना प्रकाशन गरेको छु ।

 अन्तर्राष्ट्रिय तामाङ सम्मेलनका प्रतिनिधी र तामाङ समुदायले बुझ्नु पर्ने कुरा 
कुरा तामाङ्को गर्ने सेवा बाहुनको गर्ने तामाङ समुदायको कथित नेतृत्वबर्गलाई सामजिक बहिस्कार गर्नु पर्छ । 
नामको अन्तिममा थर होईन तामाङ्नै लेख्न लगाउनु पर्छ । जस्तो कुमार योन्जन भन्दा बाहिरी जगतले तामाङ भनेर नबुझ्न सक्छ । यस कारण तामाङनै लेख्नु पर्छ । जस्तो मोक्तनले मोक्तनसंगै बिहे गर्ने पनि देखिएको छ । अनि अर्को कुरा तामाङमा स्वागे भाईको संस्कार छ यो कतिपयमा तोडिदै गएको छ र मोक्तानले स्याङदान र पाखृन संग पनि बिहे गरेको देखिन्छ । अर्को कुरा मोक्तान केटाले योन्जान थरको केटी बिहे गरे पछी केटिको ठर पनी मोक्ताननै लेख्ने संस्कारको बिकास हुँदै गईरहेको छ यस्को अन्त्य हुनु पर्छ । 
अहिले पनि तामाङसालिङ छेत्र बाट ब्यापक मात्रमा तामङसमुदायको चेलीबेटी भारतको बिभिन्न स्थान र अरबमा समेत देहब्यापरको निम्ती किन बेच भईरहेको छ । यसलाई रोकथाम गर्नुको निम्ती कडा कदम चाल्नु पर्छ । र भारतको बिभिन्न ब्यस्यलयमा रहेको १ लाख भन्दा बढी र खाडी मुलुकमा नरकिय जिबन बिताईरहेको १ हजार भन्दा बढी तामाङ समुदायको चेली-बेटीहरुलाई तुरुन्त नेपाल फर्काउने तर्फ ध्यान दिनु पर्छ ।
गुट उपगुट बनाई बिभिन्न संगठन बनाई बिबाद गर्ने र तामाङ घेदुङ र यस्तै संगठन बनाई काठ्माण्डौमा र केही जिल्लाको सदरमुकाममा हल्ला गरेर बस्ने काम गरी रहेको छ । त्यो कामको अन्त्य हुनु पर्छ । र तामाङ घेदुङको नाममा बाहुनहरुको चाकडी गर्ने संस्कार त्याग्नु पर्छ । जस्तोकी अहिले पनि नेपाल तामाङ घेदुङ्को अध्यक्षा कुमार योन्जान लगायत धेरै ब्यक्तिहरु त्यही गरी रहेको छ । हामिले बाहुनबादी राजनीतिक दलहरु सबै त्याग्नु पर्छ । र बाहुनहरुको हनुमान र दास बन्ने अनि उनिहरुको निर्देशनमा तामाङ्ले तामाङ्लाईनै गाली गर्ने संस्कार त्याग्नु पर्छ । 
तामाङ समुदायको बस्तिमा धार्मिक, सामजिक, आर्थिक र अन्य चेतनमुलक कार्यक्रमहरु गर्नु पर्छ । रोजगारको अवसरहरु निर्माण गर्नु पर्छ । र टुडिखेलमा बर्षको एकदिन काराउने कामको अन्त्य गरी सबै छेत्रमा चलयमान हुनुपर्छ । अरुको दास बनेर तामाङ समुदायमा फुट ल्याउन खोज्ने बाहुनको दास र हनुमान बनेर आफ्नो धर्मा संस्कार रितिरिवाज र परमपरालाई त्यागेर तामाङ समुदायमा फुट ल्याउने आरोप प्रत्यरोप लागाउने काम तुरुन्त रोकिनु पर्छ । 
तामाङ्को नाम लिएर संग संगठन निर्माण गर्ने तर बाहुनको दास बन्नेहरुलाई तामाङ समुदायले बहिस्कार गर्नु पर्छ जस्तो नेपाल तामाङ घेदुङ माओबादिको दास बन्ने गरेको छ, तामाङ राष्ट्रीय मुक्ती मोर्चा माओबादिको हनुमान बनेको छ । नेपाल तामाङ संघ नेपाली कंग्रेशको हनुमान बनेको छ । लोकतान्तृक तामाङ संघ एमालेको हनुमान बनेको छ । र तामाङ समुदायमा फुट ल्याउने काम गरेको छ र यस्को अन्त्य गर्ने तर्फ यो सम्मेलनले ध्यान दिनु पर्छ र यो सम्मेलनमा कुरा तामाङको गर्ने सेवा बाहुनकै गर्ने हो भने कुनै अर्थ रहदैन । यस्तोहरुलाई एक दिन अवश्य पनि तामाङ समुदायले बहिस्कार गर्ने छ ।

No comments:

Post a Comment