Wednesday, November 28, 2012

तमूवानमा फर्फराउँदै छ संघियताको झण्डा

रोबोट चेम्बसले भनेजस्तै समाजमा पछाडि परेका वर्ग, लिंग वा समुदायलाई अगाडि राखेर समाज विकासको परिकल्पना गरिनु पर्छ । राष्ट्र वा समाजमा भएका हरेक पहुँचबाट बन्चित नेपालका मूलवासी मंगोल समुदायलाई अगाडि नराखेसम्म समाज विकासले गति पाउन सक्दैन । नेपालका मंगोल समुदाय यहाँका मूलवासी हुन जसलाई हिन्दू आर्यन बाहुन-क्षेत्रीको आगमन भएपछि उनीहरुले सबै क्षेत्रमा हस्तक्षेप गरेका कारण पछाडि परेका छन् । जो अहिले मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरी राज्य-सत्ता कब्जा गर्ने लक्षसहित आफ्नो अस्तित्व र पहिचानका लागि संघर्ष गरिरहेका छन् ।
Visit us at : www.samabad.com- राजकुमार गुरुङ
 एक भाषा, एक धर्म, एक नीति, एक कर्मकाण्ड, एक चाड-पर्व र संस्कार संस्कृतिजस्तो असमान व्यवहार र नीति हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले नेपालका अहिन्दू मूलवासी मंगोल समुदायमाथि जबरजस्ती लादेको र आफ्नो इतिहास र भूगोल भएको राज्य खोसेका कारण अहिले आएर आफ्नै भूमिमा उपेक्षित भएको महसुस गर्दै तमुवान क्षेत्र मुस्ताङ, मनाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा र तनहुँका तमूलगायत मंगोल समुदायका हजारौँ युवा-युवतीहरु आफ्नो समुदायको अस्तित्व र पहिचानको खोजी गर्दै मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरिरहेका छन् ।
लामो समयदेखि नेपालमा मूलवासी मंगोल समुदाय र हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुबीच द्वन्द्वहरु भइरहेको इतिहास छ । ती द्वन्द्वहरु कुनै भौतिक त कुनै वैचारिक रुपमा भइरहेको हो । यसरी विभिन्न रुपमा विकास हुँदै आएका द्वन्द्वहरु विशेषगरी आफ्नो मौलिक राज्यमा प्रवेश गरेका हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले आफ्नो राज्य खोसेपछि त्यस ठाउँका मूलवासी मंगोल समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, चाडपर्व र रीति-थीतिका साथै आफ्नो ऐतिहासिक थातथलोको सामजिक मूल्य मान्यतामाथि प्रत्यक्ष रुपमा प्रहार भएपछि हिन्दू आर्यन बाहुन-क्षेत्री र अहिन्दू मूलवासी मंगोल समुदायबीच समय-समयमा द्वन्द्वहरु हुने गरेको छ ।
प्राचीन कालदेखि मानव समुदायको विकासक्रमले निरन्तर रुपमा विभिन्न युगहरु पार गर्दै आइरहेको देखिन्छ । ढुंगे युगदेखि कृषि युग हुँदै अहिलेको औद्धोगिक युगसम्म आइपुग्दा मानव समुदायले आफ्नो समुदाय र समुहसँग बस्ने अभ्यास गरिसकेको छ । त्यसैले यो युगसम्म आउँदा एउटा वर्ग वा समुदायको राज्य स्थापित हुँदै आयो । यसरी घुमन्ते-फिरन्तेदेखि विकास भएको मानव समुदायको जीवन आफ्नो उदगम स्थल छोडेर नयाँ-नयाँ ठाउँहरुमा पुगे । यसैगरी तमूहरुले हालको कास्की र लमजुङको सीमानामा पर्ने क्होंलामा समानता र सामुहिकताको व्यवहार अनुसारको राज्य स्थापना गरी अन्तिम पटक राजकाज चलाएको इतिहास पाइन्छ ।
क्होंलामा तमूहरुको राज्य हुन्जेलसम्म गण्डक प्रदेश वा तमुवान राज्यमा तमूहरु बाहेक अन्य कुनै पनि समुदायको बस्ती थिएन । समग्रमा गण्डक प्रदेश नै तमुहरुको "रस्ति-रसाई, बस्ती-बसाई" थियो । क्होंलामा आफ्नो परम्परागत राजनीतिक राज्य व्यवस्थाको राज्य विघटन भएपछि अझै त्यस वरिपरिका ठाउँहरुमा गाउँ बसाली राज्य संचालन गरेको इतिहास पाइन्छ । यसको उदाहरणको रुपमा लिगलिग राज्य गोरखा, पोंचुको राज्य लमजुङ र चुली क्हयाल्सा कास्की सिकलेस हुन् । त्यसैगरी अन्य नौ थुम राज्यहरु पनि थिए यी राज्यहरु पनि अघि क्होंला आउँदासम्मको जस्तै आफ्नो मालिक क्रहोत्होको अगुवाई, पच्यू कल्हेप्रीको पुर्‍यात्याई, म्हिनको सुरक्षा व्यवस्था र नियन्त्रण, म्हिउरे चुपकी जाँचबुझ हेरचाह, दिन ल्हेका दिन-बार छुट्याउने ज्ञान र उपिङग्योपा (आमाहरु) को सीप-कौशलको आधारमा बनेको सामाजिक संरचना थियो ।
यसले आफ्नै मौलिक इतिहास अनुसारको जातीय विश्वास, रीति-थीति, परम्परा आदान-प्रदान , संस्कार, संस्कृति र सामाजिक मूल्य-मान्यता भएको राजनीतिक व्यवस्थाको विकास गरेको थियो । विशेषगरी गोरखा, लमजुङ र कास्कीमा बाहिरबाट आएका हिन्दू आर्यन बाहुन-क्षेत्रीको सम्पर्क भएपछि तमुहरु तितर-बितर भए । छुट्टिने र फुट्ने क्रम बढेपछि तमूहरु सारा गण्डक प्रदेशभरि फैलिए । जसले गर्दा पछि आएका हिन्दू आर्यन बाहुन-क्षेत्रीको सामाजिक व्यवहारबाट तमु समुदाय नराम्रोसँग प्रभावित भयो ।
अन्तिम पटक क्होंला राज्यको विघटन भएपछि तमूहरुलाई हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले चार र सोह्र जातमा विभाजन गरी फुटाए । क्होंला राज्यको विघटनसँगै सबभन्दा पहिला तमू समुदायमा हिन्दू आर्यन बाहुन-क्षेत्रीको प्रभाव परेको देखिन्छ । कालान्तरमा गएर त्यही प्रभाव नै सिंगो तमू समुदायका निम्ति अभिशाप बन्न पुगेको छ । एक अध्ययनले तमूहरु क्होंलामा आजभन्दा करिब १२ सय वर्षअघि बसोबास गरेको देखिन्छ । 
नेपालको इतिहासमा हिन्दू आर्यन बाहुन-क्षेत्रीको नेपाल प्रवेशसँगै यहाँको मूलवासी मंगोल समुदायको इतिहास ओझेलमा परेको देखिन्छ । यहाँ हिन्दू आर्यन बाहुन-क्षेत्रीको प्रवेश हुनुअघि र एक जाति, एक भाषा, एक धर्म, एक संस्कार, संस्कृति र एक चाड-पर्वको अवधारणा आउनुअघि पश्चिममा मगरात, गण्डकमा तमु, पूर्वमा खम्बुवान, लिम्बुवान आदि राज्यको संस्थागत रुपमा विकाश भइसकेको धेरै वर्ष भएको थियो । पछि यिनै जातीय राज्यहरुलाई हराएपछि हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले हरेक क्षेत्रमा आफ्नो सामन्ती र बाहुनवादी नीति अपनाए ।
जसले गर्दा ती जातीय राज्यहरुमा मात्र नभई अन्य जातिहरुमा पनि नराम्रो प्रभाव पर्‍यो । सबै भन्दा पहिले यी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले तमुवान क्षेत्रमा आफ्नो विजय सुनिश्चित गर्नका लागि यहाँका तमूहरुमा विभाजन ल्याए । हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले पहिला जाति वा समुदायलाई विभन्न नाममा विभाजन गराएपछि गाउँ ठाउँ खोला-नाला हिमाल, पहाड, तराई र भन्ज्याङ जस्ता स्रोत-साधन आदिको मौलिक नाम परिवर्तन गरी जबरजस्ती हिन्दू आर्यन खस भाषा अनुसार नामाकरण गरे । मूलवासीहरुको भाषा, धर्म, संस्कार, संस्कृति, चाड-पर्व र लवाई-खवाई सबैलाई ओझेलमा पार्दै आफूअनुकूल हिन्दूकरण गर्दै लगे ।
यसरी तमुवान राज्य प्रदेशका तमूहरुको विभाजन सँगसँगै यहाँको प्राकृतिक स्रोत-साधनको नामलाई हिन्दूकरण गरी तमु समुदायको ऐतिहाकि पहिचान नष्ट गरिएको थियो । अझै पनि हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु पुग्न नसकेका ठाउँहरुको नामाकरण तमू भाषामा नै पाइन्छ । 
जातीय राज्यमा स्वायत्तता, स्वशासन र आत्म-निर्णयको अधिकार हुनलाई भाषाले पनि ठूलो भूमिका खेलेको हुन्छ । तमूहरुले हिन्दू आर्यन बाहुन-क्षेत्रीको आगमन हुनुभन्दा पहिला आफ्नो भाषामा भएको तर यिनीहरुको आगमन भएपछि गुमेको ती गाउ- घर, ठाउँ, नदी-नाला, पाखा-पखेरो, पहाड र हिमाल आदिको नाम पहिलेको जस्तै तमु भाषामा नै लेख्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ । तर यसका लागि आफूलाई दिएको कृतिम नाम थर वा जात पनि छोड्नुपर्छ हाम्रो ठाउँको नामहरु पहिलेको जस्तै हाम्रो आफ्नै भाषामा हुनुपर्छ ।
हिन्दू आर्यन बाहुन-क्षेत्रीको आगमनपछि चुलिलाई सिकलेस बनाइयो, न्तोतिलाई ताङतिङ, कोटलाई घान्द्रुक, ङक्होलालाई आर्मला, पोंचुलाई घनपोखरा, क्लिनुलाई गिलुङ, पचुलाई पास गाउँ बनाइयो । यी सबै पछि बनाइएका हिन्दू भाषाका नामहरु अब हाम्रो आफ्नै भाषामा हुनुपर्छ । नामहरुले नै कुनै समुदाय र समुहहरुलाई फुटाउन र जुटाउन सक्छ । भाषा हामी नेपालका मूलवासीहरुको संस्कृतिको संबाहक हो । यसले कुनै पनि जाति वा समुदायको इतिहासको घटनाक्रमदेखि लिएर उनीहरुको संस्कार, संस्कृति, राज्यमा उनीहरुको पहुँच र अधिकार सम्मको पहिचान गराउँछ । कुनै पनि विषय-वस्तुका नामहरुमा भाषिक परिवर्तन र भाषिकीकरण भएमा त्यसभित्र सामाजिक नामहरुमा द्वन्द्व हुन सक्छ । जसले समाजलाई एकता र अनेकता दुवै बनाउनमा मद्दत गर्छ ।
यी माथिका विषय-वस्तु मात्र नभई यहाँका मूलवासी मंगोल समुदायलाई हिन्दू आर्यन बाहुन-क्षेत्रीले आफ्नो संस्कार, संस्कृति, परम्परा, धर्म आदि पनि जबरजस्ती रुपमा लादिदिएका छन् । दशैँ तिहारजस्तो हिन्दू आर्यनहरुको चाड-पर्वलाई राष्ट्रिय चाड-पर्व बनाएर मनाउन लगाई महिनौँ सरकारी कार्यालयको काम-काज व्यवहारहरु बन्दा गराइनु, दशैँ, तिहार, तीजजस्ता हिन्दू धर्मको मूल्य-मान्यतामा आधारित चाड-पर्वहरु आउनु दुई-तीन महिना अगावैदेखि खासगरी सरकारी संचार माध्यमबाट यसको भजन, कीर्तन, कथा, गीतहरु सुनाउने स्कूल, प्रहरी चौकी, व्यारेक र अन्य सरकारी कार्यालयहरुमा हिन्दू धर्म अनुसारको मठ-मन्दिरहरु बनाइनु यी सबै हिन्दूकरणका उदाहरणहरु हुन् ।
त्यसैले अबको तमुवान प्रदेशलगायत नेपाल राज्यमा भएका यी असमान किसिमका सामाजिक विभेद र मूल्य- मान्यताहरुलाई हटाई सबै समुदाय, भाषा-भाषी र धर्मावलम्बीहरुको हैसियतलाई समान किसिमले लैजान यहाँका मूलवासी मंगोल समुदायले र हिन्दू आर्यन बाहुन-क्षेत्रीले पनि यो राज्य सबैको हो भन्ने ज्ञान दिन-दिलाउनका लागि सबैले आफ्नो पहुँचलाई माथि उठाउनुपर्छ । रोबोट चेम्बसले भनेजस्तै समाजमा पछाडि परेका वर्ग, लिंग वा समुदायलाई अगाडि राखेर समाज विकासको परिकल्पना गरिनु पर्छ । राष्ट्र वा समाजमा भएका हरेक पहुँचबाट बन्चित  नेपालका मूलवासी मंगोल समुदायलाई अगाडि नराखेसम्म समाज विकासले गति पाउन सक्दैन । नेपालका मंगोल समुदाय यहाँका मूलवासी हुन जसलाई हिन्दू आर्यन बाहुन-क्षेत्रीको आगमन भएपछि उनीहरुले सबै क्षेत्रमा हस्तक्षेप गरेका कारण पछाडि परेका छन् । जो अहिले मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरी राज्य-सत्ता कब्जा गर्ने लक्षसहित आफ्नो अस्तित्व र पहिचानका लागि संघर्ष गरिरहेका छन् । 
हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले जबरजस्ती रुपमा नेपालका मूलवासी मंगोल समुदायमाथि हिन्दू आर्यन भाषा, धर्म, संस्कृति र चाड-पर्वजस्तो अति जातिवादी र अतिवादी व्यवहारहरु लादेर मूलवासी मंगोल समुदायलाई आफ्नो भूमिमा मालिक हुनबाट बन्चित गराउने र इतिहास नै नामेट गर्ने तरिकाले नीति-नियमहरु बनाइरहेका छन् । सबै समुदाय र भाषा-भाषीहरुले राज्यमा बराबरी हैसियत पाउनुपर्छ भन्ने यहाँका मूलवासी मंगोल समुदायको भनाइ छ । हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु अहिले पनि नेपालका मूलवासी मंगोल समुदायलाई फुटाउनका लागि जोडदार रुपमा लागि परेका छन् ।
आफ्नै भूमिमा राज्य गरी बसेका तमू समुदायलाई १४औँ शताब्दीपछि मात्र नेपाल भित्रिएका हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले विभिन्न प्रलोभन र षड्यन्त्र गरी आफ्नो नीति-नियमभित्र बसाउन सकेको हो । त्यसअघि मनाङ, मुस्ताङ, कास्की, लमजुङ र गोर्खाका विभिन्न ठाउँहरुमा तमू समुदायको गणराज्य र कोटहरु थिए । अहिले पनि मनाङ, मुस्ताङजस्ता तमुवान राज्यको हिमाली क्षेत्रहरुमा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु सरकारी कामकाजले मात्र बसोबास गर्ने गरेका छन् । ती ठाउँका नामहरु अधिकांश त्यहाँको पुरानो मौलिक भाषामा नै रहेको छ ।
अहिले तमूवान स्वायत्त प्रदेश मुस्ताङ, मनाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा र तनहुँका तमु समुदायलगायत मंगोल समुदायका हजारौँ युवा-युवतीहरु मंगोल डेमोक्रेटिक पार्टीमा आबद्ध भइरहेका छन् ।

No comments:

Post a Comment