-जिमी कार्टर
सन् २००७ मा मैले नेपालको भ्रमण गर्दा यो सुन्दर राष्ट्रले दशक लामो सशस्त्र द्वन्द्व तथा अति गम्भीर र प्रकट रूपमा असहज संकटबाट भर्खरै छुटकारा पाएको थियो । कार्टर सेन्टरले सरकार, राजनीतिक दल तथा निर्वाचन आयोगको आग्रहमा सन् २००८ को संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि एक कार्यालय स्थापना गर्यो र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको समूहलाई देशभरि खटायो ।
त्यसपश्चात्, शान्ति तथा संविधान निर्माण प्रक्रियामा भएका प्रगतिबारे जानकारी दिनका लागि हामीले आफ्नो उपस्थिति विस्तार गर्यौं ।
नोभेम्बर २०१३ को संविधानसभा निर्वाचन पर्यवेक्षण गर्ने क्रममा भएको मेरो पछिल्लो भ्रमणमा नेपाल अझ समावेशी तथा लोकतान्त्रिक राज्य निर्माणको मार्गतर्फको संक्रमणमा कति अगाडि बढेको छ भन्ने देख्न पाउँदा म खुसी भएको थिएँ । संविधानसभा निर्वाचन सुसञ्चालित तथा शान्तिपूर्ण थियो र त्यसले मौलिक लोकतान्त्रिक निर्वाचनबारेका अन्तर्राष्ट्रिय दायित्वहरूलाई सम्मान गर्ने कार्यमा एक जिम्मेवार प्रयास प्रतिबिम्बित गरेको थियो । सबैभन्दा महत्त्वपूर्ण रूपमा, उक्त प्रक्रियाले नेपाली जनताको सन् २००६ को विस्तृत शान्ति सम्झौताप्रतिको प्रतिबद्धतालाई एकपटक फेरि प्रदर्शन गर्यो ।
सँगसँगै, सबै तहका निर्वाचित अंगहरूमा महिला र पुरुषको समता प्रबर्द्धन र बृहत्तर समावेशिता सुनिश्चित गर्नका लागि थप प्रावधान विकास गर्नेजस्ता सुधार गर्न सकिने क्षेत्रहरू छँदै छन् ।
एक निराश अवधिपश्चात् भएको निर्वाचनले नेपाली जनतालाई आफ्ना इच्छा व्यक्त गर्ने एक अवसर प्रदान गर्यो र गतिहीन भएका वार्ता तथा राजनीतिक शक्ति संघर्षहरूको अन्त्य गर्दै शान्ति प्रक्रियाका सम्बन्धमा उच्च महत्त्वका सहमतिहरू निर्माण गर्यो । यो निर्वाचन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि लोकतान्त्रिक निर्वाचनका माध्यमबाट भएको दोस्रो शान्तिपूर्ण शक्ति हस्तान्तरण थियो ।
म नयाँ सरकारलाई बधाई ज्ञापन गर्न चाहन्छु र निर्वाचनबाट प्राप्त सकारात्मक प्रेरणाको जगमा आगामी प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्नका लागि यथाशक्य चाँडो निणर्ायक तवरमा अघि बढ्न आग्रह गर्दछु । विशेष रूपमा, निर्वाचित प्रतिनिधिहरूले पार्टीगत मतभेदहरूलाई टाढा राखी सामाजिक समावेशिता, संघीयतामा आधारित नयाँ संविधानको मस्यौदा गर्ने कार्य सम्पन्न गर्नुपर्छ । र, अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न तथा पीडितका चिन्ताहरूका सम्बन्धमा यथार्थ प्रत्युत्तर दिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठनजस्ता शान्ति प्रक्रियामा उल्लिखित बाँकी मुद्दाहरूको सम्बोधन पनि गर्नुपर्छ ।
यसबाहेक, १५ वर्षदेखि नभएको स्थानीय निर्वाचन पनि ढिलोमा शरद ऋतुसम्म गरिसक्नुपर्छ । स्थानीय तहमा लोकतान्त्रिक ढंगमा निर्वाचित नेताहरूको स्थापनासँगै नेपालका लोकतान्त्रिक उपलब्धिहरू थप सशक्त हुनेछन् । नयाँ सरकारले भ्रष्टाचारसँग मुकाबिला गर्दै, महिला, युवा तथा सीमान्तकृत समुदायहरूका लागि शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्दै, पूर्वाधार विकास गर्दै तथा स्वतन्त्र एवं प्रभावकारी न्यायालयद्वारा कानुनको कार्यान्वयनमार्फत सकारात्मक व्यावसायिक वातावरण र स्थिर सुरक्षा वातावरणलाई बढावा दिनुपर्छ । र, लामो समयदेखि अपेक्षा गरिएको देशको आर्थिक विकासलाई प्राथमिकता प्रदान गर्नुपर्छ । नेपालको विकासलाई दीर्घकालीन रूपमा कायम राख्नका लागि व्यापक साझा आर्थिक विकास र उच्च सामाजिक तथा राजनीतिक समावेशिताको टड्कारो खाँचो छ ।
नेपालको राजनीतिक प्रणाली, संघीयता, भूमिसुधार, नागरिकता, निर्वाचन प्रणालीमा सुधार तथा अन्य मुद्दाहरूका सम्बन्धमा कठिन निर्णयहरू गर्न बँँकी नै छन् । आगामी मार्ग सहज छैन । तथापि, विगतका घटनाहरूले छलफल र सहमतिद्वारा असहज मुद्दाहरूको सम्बोधन गर्न सकिन्छ भन्ने साबित गरेका छन् ।
मेरो मानसपटलमा आएका यिनै सोचहरूका कारण म यस समयमा नेपालमा कार्टर सेन्टरको प्रत्यक्ष उपस्थिति आवश्यक नरहेको निष्कर्षमा पुगेको छु । कार्टर सेन्टर बितेका नौ वर्षहरूमा भएका उल्लेखयोग्य उपलब्धिहरूको साक्षी हुन पाएकामा गौरवान्वित छ । हाम्रा निष्पक्ष पर्यवेक्षण तथा प्रतिवेदनहरूले अझ लोकतान्त्रिक, सामाजिक समावेशी तथा आर्थिक समतामूलक राज्य निर्माण गर्ने नेपालीहरूको प्रयासमा योगदान गरेको मैले ठानेको छु ।
मेरी श्रीमती रोजालिन र म तथा कार्टर सेन्टरका हाम्रा कर्मचारीहरूलाई नेपालभरि नै न्यानो स्वागत गरिएको छ । हामी यो अत्यन्त सुन्दर राष्ट्र तथा यहाँका जनतासँगको प्रत्यक्ष सम्पर्कबाट आनन्दित भएका छौं । हाम्रो कार्यालय बन्द भए पनि म र कार्टर सेन्टर आगामी विकासक्रमहरूलाई पछ्याइरहनेछौं र नेपालको प्रगतिमा हरसम्भव सघाउने प्रयास गर्नेछौं । बितेका वर्षहरूमा हामीलाई स्वागत गर्ने र हामीसँगै काम गर्ने धेरै नेपालीको कृतज्ञताको म ठूलो ऋणीछु । मैले धेरैपटक वार्ता गरेका प्रमुख राजनीतिक तथा नागरिक समाजका नेताहरूलाई मात्र नभई कर्मचारी सदस्यका रूपमा वा नेपालको भविष्यलाई उन्नत बनाउन समर्पित नागरिकका रूपमा कार्टर सेन्टरलाई सघाउने असंख्य नेपाली नागरिकलाई पनि म यसमा समेट्न चाहन्छु ।
मेरा नेपाल भ्रमणहरूका दौरानमा मैले यहाँका जनतामा महान् भविष्यको तीव्र इच्छाको अनुभव गरेको छु, जसका लागि नेपालजस्तो सम्पन्न राष्ट्र लायक छ र नेपाली नागरिकहरूले एक समावेशी, लोकतान्त्रिक र शान्तिपूर्ण समाज निर्माण गर्ने आफ्ना आकांक्षालाई पूरा गर्नेमा म विश्वस्त छु ।
पूर्व अमेरिकी राष्ट्रपति कार्टर विश्वव्यापी रूपमा शान्ति तथा स्वास्थ्य प्रबर्द्धनको कार्य गर्ने 'द कार्टर सेन्टर' का संस्थापक हुन् ।
No comments:
Post a Comment