यो वर्ष पहिलो विश्वयुद्ध सुरु भएको सय वर्ष पुग्छ । एक शताब्दी पुरानो युरोपेली महाविध्वंशले आज हामीलाई के शिक्षा दिन्छ भनेर मनन गर्ने यो उपयुक्त अवसर हो।
वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यहरूको विश्व प्रणालीमा यस महायुद्धका परिणामहरू अझै पनि देखा परिरहेकै छन् । सन् १९१४ मा भएको सरकार, संस्थाहरू र अन्तर्राष्ट्रिय कूटनीतिको नीतिगत विफलताबाट हामीले के सिकेका छौँ त?
उत्तरी गोलार्धको ठूलो भागले पहिलो विश्वयुद्धपछि विशाल युरोपेली साम्राज्यहरू हब्सबर्ग, रुसी र अट्टोमनको विघटनको परिणाम अहिले पनि भोगिरहेको छ भने त्यही युद्धबाट बेलायती साम्राज्यको पतन पनि सुरु भएको थियो । त्यही कारणले एक पुस्तापछिको युद्धको अझ बढी रक्तरञ्जित संस्करणको पनि बीजारोपण भएको थियो । त्यसै युद्धका कारण विखण्डित भूभागहरू बाल्कन र मध्यपूर्व क्षेत्र अहिलेका क्षेत्रीय तथा विश्व शान्तिका लागि सबैभन्दा गम्भीर खतराका रूपमा रहनु पनि यसैको परिणाम हो ।
शीतयुद्धको अन्त्य र रुसी साम्राज्यको उत्तराधिकारी सोभियत संघको विखण्डनपछि उग्रराष्ट्रवादको आवरणमा सन् १९१४ भन्दा पहिलेको जस्तै परिस्थितिमा बाल्कन क्षेत्रमा युद्ध दोहोरियो र युगोस्लाभियालाई ६ वटा विभिन्न राष्ट्रमा विखण्डित गरायो। निश्चय पनि, सर्बियाली राष्ट्रपति स्लोबोदान मिलोसेविचको ...विशाल सर्बिया' निर्माणको आह्वानले युद्ध सुरु भएको थियो तर कारण त्योमात्रै भने थिएन । फ्रान्स र संयुक्त अधिराज्यले सर्बियाको र जर्मनी तथा अस्ट्रियाले क्रोएसियाको पक्ष लिएपछि युरोपमा सन् १९१४ कै द्वन्द्व दोहोरिने जोखिम उत्पन्न भएको थियो।
पश्चिमले ऐतिहासिक भुलहरूबाट पाठ सिकिसकेकाले भाग्यवश सन् १९१४ को पुनरावृत्ति भएन । आज, विपत्ति टार्ने कारकका रूपमा मूलतः तीन तत्वको भूमिका रहेको छ : युरोपमा संयुक्त राज्य अमेरिकाको सैनिक उपस्थिति, युरोपेली एकीकरणमा भएको प्रगति र युरोपबाट महाशक्ति राजनीतिको परित्याग । तैपनि अहिले नै आत्मरतिमा रमाउनु मूर्खता हुनेछ । बाल्कन मुलुकहरूले युरोपेली संघ र त्यसको सदस्यताबाट हुने लाभमा विश्वास गरुन्जेलमात्र आज यस क्षेत्रमा रहेको तरल स्थिति स्थायी शान्तिमा परिवर्तित हुने हो ।
पहिलो विश्वयुद्धका क्रममा बेलायत र फ्रान्सका कूटनयिकहरू मार्क साइक्स र फ्रान्कोइस जर्ज पिकोटले अट्टोमन साम्राज्यको विभाजन गर्दा राष्ट्रिय सीमा तय गरेका थिए । तिनले विभाजन गरेको क्षेत्र मध्यपूर्वमा भने अहिले आशाप्रद अवस्था छैन । यसैगरी इजरायलको निर्माणमा सन् १९१७ को बाल्फोर घोषणा प्रतिध्वनित हुन्छ । त्यसपछि प्यालेस्टाइनमा कायम बेलायती प्रभुताले नै यहुदीहरूका लागि उनीहरूकै राज्य स्थापना गर्न सहयोग पुर्यायो ।
त्यतिबेलै बनाइएको मध्यपूर्व नै लगभग अहिलेको मध्यपूर्व हो । हामीले अहिले त्यहाँ विखण्डन देखेका भए पनि साइक्स-पिकोट सहमतिमै त्यस क्षेत्रको आन्तरिक द्वन्द्वलाई साम्य पारेर शान्ति कायम गर्न बाहिरी प्रभुत्ववादी शक्तिको उपस्थिति आवश्यक भइरहने गरी तर्जुमा गरिएको थियो । पुराना प्रभुत्ववादी शक्तिहरू बेलायत र फ्रान्सलाई पहिले अमेरिका र सोभियत संघले प्रतिस्थापित गरेका थिए भने आखिरमा अहिले अमेरिका एक्लैले त्यो ठाउँ लिएको छ ।
इराकमा अमेरिकी प्रयासको असफलता, उसको विश्व शक्तिका हैसियतमा आएको ह्रास र यस क्षेत्रमा पहिलेकै स्तरको प्रतिबद्धता कायम राख्ने विषयमा देखिएको अनिच्छाका कारण त्यहाँ कुनै बाहिरी शक्ति शान्ति -कायम राख्न उपस्थित नहुँदा साइक्स पिकोटले खडा गरेको ढाँचा जोगाउन नसकिने भएको छ । यसबाट त्यस क्षेत्रमा उत्पन्न रिक्ततालाई विभिन्न प्रकारको इस्लामी राजनीति, आतंकवाद, विरोध आन्दोलन, जागरण, राष्ट्रिय वा धार्मिक अल्पसंख्यकको पृथकतावादी आन्दोलन र इरान एवं साउदी अरेबियाको क्षेत्रीय प्रभुत्ववादले पूरा गर्ने प्रयत्न गरेका छन् ।
वास्तवमा अमेरिकाको आंशिक बहिर्गमनले पुरानो मध्यपूर्वमा बलपूर्वक कायम राखिएको स्थिरताको अन्त्यको संकेत गरेको छ र यसबाट साइक्स-पिकोटले निर्धारण गरेको सीमा पनि सुरक्षित रहनेछैन । सिरिया र इराकमा भएका घटनाले यसको पुष्टि गरेका छन् भने लेबनान र जोर्डानको भविष्य पनि थप अनिश्चित् बन्दै गएको छ ।
यस क्षेत्रमा अहिले कुनै पनि विश्व शक्तिको प्रतिस्पर्धा नहुनु चाहिँ सकारात्मक पक्ष हो । तर, क्षेत्रीय प्रभुत्वका लागि इरान र साउदी अरेबियाबीचको तानातानी (तेस्रो पक्षका रूपमा इजरायलको उपस्थिति समेत) त्यस क्षेत्रमा विद्यमान परम्परागत शक्ति राजनीतिको मानसिकताका कारण थप खतरनाक सिद्ध हुनसक्छ । त्यस क्षेत्रमा द्वन्द्व समाधानमा सहयोगी हुनसक्ने संस्था वा परम्परा छैन ।
सन् १९१४ को सम्झना गर्दा पूर्वी एसियाको वर्तमान अवस्थाले पनि चिन्ता उत्पन्न गराउँछ । किनभने, आणविक हतियारको उपलब्धता, विश्व शक्तिका रूपमा चीनको उदय, नसुल्भि्कएको क्षेत्रीय तथा सीमा विवाद, कोरियाली प्रायःद्विपको विभाजन, ऐतिहासिक वैमनस्य, प्रतिष्ठा र हैसियतप्रतिको मोह तथा विवाद समाधान संयन्त्रको अभाव दृष्टिगत गर्ने हो भने विध्वंशकारी युद्धका सबै अवस्था त्यहाँ विद्यमान देखिन्छन् । अविश्वास र शक्ति राजनीति त्यस क्षेत्रमा आजको यथार्थ बनेको छ ।
तैपनि, पूर्वी एसियाप्रति आशावादी हुने ठाउँ चाहिँ छ । सन् १९१४ को गर्मीपछि संसार नाटकीयरूपमा बदलिएको छ । उति बेला संसारको जनसंख्या २ अर्बमात्र थियो भने अहिले जनसंख्या ७ अर्ब पुगेको छ । यसका साथै सञ्चारमा भएको क्रान्ति र अन्तर्निभरता तथा यस क्षेत्रको स्थिरताको कारकका रूपमा अपरिहार्यजस्तो हुन पुगेको अमेरिकी उपस्थितिले सरकारहरूलाई परस्परमा सहयोगका लागि थप बाध्य पारेको छ । यस अतिरिक्त आणविक हतियारले युद्धको जोखिम त बढाउँछ तर शक्ति राजनीतिका लागि त्यसको प्रयोग गरियो भने दुवै पक्षको निश्चित् सर्वनाश हुने खतरा पनि सधैँ सम्झाइरहन्छ ।
प्रथम विश्वयुद्धपछि सैनिक प्रविधि, राजनीतिकर्मी र नागरिकहरूको मानसिकता, अन्तर्राष्ट्रिय कूटनीतिको रूपरेखालगायत धेरै क्षेत्रमा ठूलो परिवर्तन भइसकेको छ । साथै हामीले इतिहासबाट केही पाठ पनि सिकेका छौँ र तिनले विश्वलाई थप सुरक्षित बनाएका छन् । तैपनि,सन् १९१४ मा पनि अधिकांश पात्रले आसन्न विध्वंशलाई असम्भव ठानेका थिए भन्ने चाहिँ बिर्सनु हुँदैन !
२२ माघ, २०७०
फिसर जर्मनीका पूर्व विदेशमन्त्री
No comments:
Post a Comment