काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही फागुन ५ गतेदेखि ९ गतेसम्म सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लबको कर्भडहलमा संचालन हुने ‘दशौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७०’ सोमबारबाट सुरु भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच पानसमा द्वीप प्रज्वलन गर्नुका साथै ब्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय रेफ्री लवभक्त श्रेष्ठलाई सटलकर्क हस्तान्तरण गरी प्रतियोगिताको विधिवत रुपमा सुभारम्भ गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले स्वागत मन्तव्यको क्रममा प्रतियोगिताको विविध विषयका बारेमा जानकारी गराउनुभयो ।
प्रतियोगिातको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्गले धनुषाका मनिष ठाकुरलाई २१–५ र २१–९ ले पराजित गरेका छन् भने प्रतियोगिताका अन्य विभिन्न इभेन्ट्सका खेलहरु संचालन भइरहेका छन् ।
सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको सम्झनामा सशस्त्र प्रहरी बलले वि.सं.२०६१ सालदेखि नियमित रुपमा संचालन गर्दै आएको ‘कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता’ को यस संस्करणमा कूल पुरस्कार राशी पाँच लाख १५ हजार रुपैयाँ रहेको छ ।
कूल ११ इभेन्ट्सहरु समावेश रहेको सो प्रतियोगिताका सम्पूर्ण खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालन हुनेछ ।
बीडब्लुएफ र बीएसीको नियमअनुसार संचालन हुने उक्त प्रतियोगिताका सम्पूर्ण इभेन्ट्समा गरी कूल पाँच सय १० जना खेलाडीहरु सहभागि छन् । पुरुष युगलमा सवैभन्दा बढी एक सय ५२ जना, महिला युगलमा २२ जना तथा पुरुष एकलमा ६५ र महिला एकलमा १६ जना खेलाडीहरु सहभागि छन् ।
प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ४५ र ५५ वर्ष माथि भेट्रान्स युगल, मिक्स डबल्स, १७ वर्षमुनीका पुरुष र महिला तथा इन्टर गभर्मेन्टल सर्भिसतर्फ मास्टर ३५ र ४५ वर्षमाथि युगल इभेन्ट्सका खेलहरु संचालन हुनेछ ।
समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय बासुदेव वली र शैलेन्द्रकुमार श्रेष्ठ तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, ऋषभदेव भट्टराई, कृष्णकुमार तामाङ्ग र शुशिलकुमार श्रेष्ठ लगायत बलका बरिष्ठ अधिकृतहरु, नेपाल ब्याडमिन्टन संघका पदाधिकारी एवं विभिन्न खेल संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
२०७०/११/०५ गते ।
www.samabad.com
No comments:
Post a Comment