Wednesday, February 19, 2014

एमाले मुख्यालयमा किन आत्महत्या गरे डिकेन्द्रले ?

नेकपा (एमाले)ले यसपालीको निर्वाचनमा आफनो घोषणा पत्रमा ‘एक घर :एक रोजगार’ कार्यक्रम ल्याएको छ । ‘बेरोजगारीको अन्त्य :व्यापक रोजगारी अभियान’ भन्दै रोजगारी अभिवृद्धिका लागि कृषि, पर्यटन, घरेलु तथा साना उद्योग, विद्युत, लघुवित्त, निर्माण सेवाजस्ता रोजगारी सिर्जना हुनसक्ने सघन क्षेत्रमा राज्यको लगानी केन्द्रीत गर्ने योजना अघि सारेको छ ।हरेक वर्ष लाखौं रोजगारी सिर्जना गर्ने दावी गर्दै आएका एमालेका नेतालाई हालै झापाका केही कार्यकर्ताले भने, ‘कमरेड एउटा डिकेन्द्र थापाको छोरालाई जागिर दिन सक्नुभएन । त्यही भएर उनले एमाले मुख्यालयमै आत्महत्या गरे । तपाईंका रोजगारी सिर्जनाका गफ कसले पत्याउला र ?’ केही दिनअघि चुनावी तयारीका सिलसिलामा काठमाडौं आएका झापाका एमाले प्रतिनिधिमाझ डिकेन्द्र थापाको आत्महत्याको प्रसँग फेरी चर्चामा आयो । किन आत्महत्या गरे डिकेन्द्रले एमाले मुख्यालयमा ?
२०६७ साल वैशाख ३ गते शुक्रवार । झापा विद्रोहका योद्धा डिकेन्द्र राजवंशीले बल्खुस्थित नेकपा (एमाले)को मुख्यालयमा गएर आत्महत्या गरे । कारण थियो, एमाले नेताहरुको हेपाहा व्यवहार र उपेक्षा । आफना छोरा शम्भुको रोजगारीको व्यवस्था होस् भनेर नेताहरुलाई भेटन गएका डिकेन्द्रले चारैतीरबाट नकारात्मक जवाफ मात्र पाए । आफना भाइ भतीजा, भान्जा भान्जी र सालालाइ जागीर खुवाउने एमाले नेताहरुले क्रान्तिकारी योध्दाको घोर अपमान गरे । त्यो अपमान सहन नसकेर डिकेन्द्रले एमालेको निधारमा कलंक र अभिषापको टिका लगाइदिदै केन्द्रीय कार्यालयमै आएर आत्महत्या गरे । विधिको बिडम्वना हेर्नुस् त, बाबुको आत्महत्याको शोक र बेरोजगार हुनुको पिडा खप्न नसकेर डिकेन्द्रका छोरा शम्भुले पनि चार महिनापछि आत्महत्या गरे । यही एमाले अहिले निर्वाचनमा युवाहरुलाई रोजगारी सिर्जना गर्छौं भन्दै भोट माग्न जनताको घर दैलो चहारीरहेको छ ।

वैशाख ३ गते बिहानै डिकेन्द्र छोरा शम्भुको जागिरको व्यवस्था हुने आशमा एमाले नेता केपी ओलीलाई भेट्न उनको भक्तपुर, बालकोटस्थित निवासमा गएका थिए । त्यहाँ पुगेर डिकेन्द्रले ओलीसँग छोराको रोजगारीको याचना गरेका थिए । ओलीबाट उनले सकारात्मक जवाफ पाएनन् । उल्टै अपमान सहनु परेको कुरा कसरी पनि पुष्टि हुन्छ भने त्यसै रात उनले आत्महत्या गरेका थिए । नेताहरुको हेपाहा व्यवहार र उपेक्षा खप्न नसकी एमालेका एक संघर्षशील कार्यकर्ता डिकेन्द्र राजवंशीले बल्खुस्थित पार्टी मुख्यालयमै आत्महत्या गरेको खबर चारैतीर फैलीयो । एमाले नेताहरुले चाहदा चाहदै पनि घटना ढाकछोप हुन सकेन ।

झापा, दुवागढी ५ का ६५ वर्षीय डिकेन्द्रले बल्खु मुख्यालयमा रहेको आरुबखडाको रूखमा गाम्छाको पासो लगाई आत्महत्या गरेका थिए । एमालेका संगठित सदस्य राजवंशी आफ्ना २४ वर्षीय छोरो शम्भुको जागिरका लागि दुई महिनादेखि वरिष्ठ नेता र मन्त्रीका घर ढोका चाहरिरहेका थिए । आत्महत्या गर्ने दिन विहान चार घन्टाभन्दा बढी प्रतीक्षा गरेर ओलीलाई भेटेका डिकेन्द्रले छोरालाई जागिरमा लगाइदिन आग्रह गरेका थिए । ओलीले राजवंशीलाई २०३३ सालमा केन्द्रीय कारागारमा बन्दी हुँदादेखि चिनेका थिए । तर उनले पनि हेरेनन् ।

डिकेन्द्र त्यसबेला एक वर्षदेखि नै छोरालाई जागिर खुवाउनकै लागि झापाबाट पटकपटक एमाले केन्द्रीय कार्यालयमा धाउने गर्थे । ‘पटकपटक आएर पार्टी नेताहरूलाई भेट्ने गरेका थिए’, एमालेका झापाका एक कार्यकर्ता भन्छन, ‘डिकेन्द्रले पटक पटक एमाले नेताहरुलाई हात जोडेर छोराको जागिरको लागि याचना गरेको देखिन्थ्यो । एमाले नेताहरु भने डिकेन्द्रलाई नचिने झैं गरेर तर्कीन्थे ।’ कुनै कुनै बेला उनी पत्रकारहरुलाई पनि जागीरको व्यवस्था मिलाइदिन आग्रह गर्थे । सम्पत्तिको नाममा एक चपरी पनि जग्गा नभएका डिकेन्द्रको जेठो छोरा साउदी अरबमा काम गर्थे । उता पनि राम्रो कमाइ भएन । जीवन चलाउन नसक्ने भएपछि उनी कान्छा छोरालाई जागिर लगाउन काठमाडौं आएका थिए । तीन महिनादेखि छोरालाई जागिर लाउने चक्करमा पार्टी कार्यालयमा काटे । गेष्ट हाउसमा डेरा जमाएर बसे । पछिल्लो पटक उनी एमाले केन्द्रीय कार्यालयकै आवास गृहमा बसेका थिए । छोरा शम्भु पनि जागिरको आसले झन्डै चार महिनादेखि एमाले मुख्यालयमै बस्दै आएका थिए । आत्महत्या गरेको भोलीपल्ट अर्थात बैशाख ४ गते शनिबार बिहान लाइब्रेरियन रामचन्द्र बोहराले बगैंचामा डिकेन्द्र झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शव पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि शनिबारै साँझ झापा लगिएको थियो ।

तात्कालीन प्रधानमन्त्री माधव नेपालले हङकङको महावाणिज्यदुतमा आफ्ना भाइ सरोज उपाध्यायलाई नियमविपरित नियुक्त गरेका थिए । अर्का भाई विनोद उपाध्यायलाई गरिवी निवारण कोषको सदस्य बनाए । पहुँच भएका एमालेका सयौं कार्यकर्ताहरुले आफ्नो सरकार हुनुको फाइदा उठाउँदै विभिन्न सरकारी निकायमा जागिर पाए । अन्य नेताहरुले पनि आफ्ना नातागोतालाई जागीरे वनाएपछि राजवंशीले छोरालाई जागीर लगाइदिन गृहदेखि प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । भागवण्डाका लागी राष्ट्र बैंकको गभर्नर नियुक्तिसमेत तिन महिना रिक्त रहेको अवस्थामा छोरालाइ सामान्य जागीरका लागी राजवंशिले गरेको आग्रहलाई एमालले वेवास्ता गरेपछि आर्थकि कठिनाइका कारण उनले आत्महत्या गरेका थिए । जागिरको सट्टा गृहमन्त्रीले पनि उनलाई उल्टै हप्काएर पठाएका थिए । सबै एमाले नेताहरुका काठमाडौमा महल र छोराछोरीहरु विदेशका महंगा कलेजहरुमा छन भने उनिहरुका नातेदारहरु महत्वपुर्ण पोष्टमा जागीरे छन् । तर १० वर्ष लामो जेल जीवन विताएका राजवंशीको आर्थीक अभावका कारण आत्महत्या गर्नुप¥यो ।

२०२८ सालबाट सुरु भएको झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका डिकेन्द्र २०३३ सालमा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनालीका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो । २०४६ बाट उनी एमाले कार्यकर्ता भएका थिए । तर उनलाई जिल्लास्तरको राजनीतिभन्दा माथि सक्रिय उठन दिइएन । नेकपा मालेका महासचिव सीपी मैनालीले डिकेन्द्र झापा आन्दोलन ताकाका सक्रिय कार्यकर्ता भएको र गरामनीमा भएको प्रदर्शनपछि उनी पक्राउ परेको बताएका थिए । २०६२ सालको जनआन्दोलनको समयमा उनको खुट्टामा गोली लागेको थियो ।

डिकेन्द्रले आत्महत्या गरेको ४ महिनापछि साउनमा राजवंशीका छोरा शम्भुले पनि आत्महत्या गरे । झापा दुवागढीका २२ वर्षका शम्भुले आफ्नै निवासमा आत्महत्या गरेका थिए । पार्टीले सम्पूर्ण जिवन समर्पण गरेर काम गर्दा पनि वेवास्था गरेपछि शम्भुले आत्महत्या गरेका थिए । बाबुको मृत्युपछि विक्षिप्त बनेका शम्भु राजवंशीका दुई छोरामध्ये कान्छा थिए ।

यसरी आफुहरु महलमा बस्ने, आफन्तलाई जागीर खुवाउने एमाले नेताहरुले यसपाली पनि निर्वाचनमा युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने, आर्थिक समृद्धि गर्ने वाचा गर्दै घोषणा पत्र जारी गरेका छन् ।

No comments:

Post a Comment