Monday, November 25, 2013

तीन युद्धको चिरफार- कमाण्डरका सनकमा मारिन्थे छापामार (हेर्नुस भिडियो सहित)

खारा हमला गर्न जाँदै माओबादी सेना (भिडियो हेर्न माथि क्लिक गर्नु होला) । 
-साम कोवान
आपसी विवाद, त्रुटिपूर्ण योजना र कमान्डरका गलत निर्णयका कारण गणेशपुर, खारा र पिलीमा थुप्रै 'जनमुक्ति सेना' को ज्यान गएको देखिन्छ।
नेपालको सशस्त्र द्वन्द्व (सन् १९९६-२००६) बारे धेरै लेखिए पनि माओवादी जनमुक्ति सेनाको सामरिक प्रभावकारिताबारे थोरै मात्र प्रकाश पारिएको छ। यो विश्लेषण माओवादीले सन् २००६ को अन्त्यतिर केही पत्रकारलाई उपलब्ध गराएको बर्दियाको गणेशपुरमा थापिएको एउटा असफल एम्बुस र खारा तथा पिलीमा भएका दुई महत्वपूर्ण आक्रमणको भिडियो सामग्रीको अध्ययनमा आधारित छ। विश्लेषणमा दुवै पक्षका वरिष्ठ अधिकृतहरूसँगको छलफलबाट प्राप्त विवरण, पङ्क्तिकारको चारदशक लामो सैनिक जीवनको अनुभवका साथै सन् १९६५ यता गरेको नेपालको पटक-पटकको भ्रमण र पदयात्राका क्रममा हासिल जानकारीलाई पनि उपयोग गरिएको छ।
गणेशपुर घटना माओवादीको अक्षम सैन्य कारबाहीका कारण एक अनुभवी कमान्डरसहित केही कुशल लडाकू मारिँदा समग्र जनमुक्ति सेनाको मनोबलमा परेको आघातका लागि उल्लेख्य छ भने खारा र पिली भिडन्त महत्वपूर्ण राजनीतिक परिणामका साथै जनमुक्ति सेना र शाही नेपाली सेनाका प्रमुखहरूको व्यक्तिगत रुचिमा निर्धारित त्रुटिपूर्ण योजनाका कारण भएको पराजय एवं ठूलो मानवीय क्षतिका लागि चर्चित छन्। दुवै पक्षले ती युद्धमा के भएको थियो र किन भन्ने प्रश्नको ढाकछोप गर्दै आएका छन्, आ-आफ्नै निहित स्वार्थका लागि।
माओवादी युद्धनीति 
माओवादी जनमुक्ति सेना र शाही नेपाली सेनाले नितान्त भिन्न युद्ध लडेका थिए। शाही सेनाले मूलतः जिल्ला सदरमुकाम र शहरी इलाका नियन्त्रणमा राखेर शत्रुको भौतिक तथा मानसिक प्रतिरोध क्षमता कमजोर तुल्याउँदै थकाई-थकाई पराजित गर्ने परम्परागत युद्ध लडेको थियो। जनमुक्ति सेनाले माओत्सेतुङको अवधारणाबाट निर्देशित छापामार युद्ध लड्यो, जसमा २५०० वर्षअघिका चिनियाँ युद्धशास्त्री सुनत्सुले विकास गरेका युद्धकला प्रतिबिम्वित थिए।

शत्रुलाई चलाखीपूर्वक अल्झ्ाएर प्रतिरक्षा गर्न नसक्ने अवस्थामा पुर्‍याई विजयका लागि आक्रमण गर्नुपर्नेमा जोड दिने सुनत्सुले बलियो शक्तिसँगको युद्ध छल्नु कायरता होइन बुद्धिमानी हो, किनभने प्रतिकूल समय र ठाउँको युद्ध आत्मघाती हुन्छ भनेका छन्। माओका सामरिक मन्त्र नै छन्ः शत्रु अगाडि बढ्छ, हामी पछि हट्छौं; शत्रु बास बस्छ, हामी हैरान पार्छाैं; शत्रु थाक्छ, हामी आक्रमण गर्छौं; शत्रु पछाडि हट्छ, हामी लखेट्छौं।

माओको दीर्घकालीन जनयुद्धको रणनीतिमा क्रान्तिकारी सेना सधैं युद्ध क्षेत्रका जनतासँग एकाकार हुनुपर्छ। त्यो अवस्थामा जनताले भर्ती, सामग्री र सूचना उपलब्ध गराउँछन्। उनीहरूको राजनीतिक उपयोगबाट पनि सामरिक सफलता हासिल गर्दै समाजको सांस्कृतिक, राजनीतिक संरचना बदल्न सकिन्छ।

माको युद्धनीति अनुसार आधार इलाका निर्माण र मुक्त क्षेत्र स्थापनाका लागि रणनीतिक प्रतिरक्षा, रणनीतिक सन्तुलन र रणनीतिक आक्रमणको चरण पार गर्नुपर्छ। फेब्रुअरी २००१ मा भएको मावादीको दोस्रो राष्ट्रिय सम्मेलनपछि नेपालको द्वन्द्वमा रणनीतिक प्रतिरक्षाको चरण सकिएको बताइन्छ। फेब्रुअरी २००४ मा पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत एउटा प्रतिवेदनमा नोभेम्बर २००१ को घोराहीको शाही नेपाली सैनिक छाउनी आक्रमणसँगै रणनीतिक सन्तुलन हासिल गरेको दाबी छ। ३१ अगष्ट २००४ मा रणनीतिक आक्रमणको उद्घोष गरेको मावादीले त्यसबीचमा रणनीतिक प्रत्याक्रमणको प्रारम्भिक उप-चरण पनि शुरु भएको बताएको थियो।

सामरिक प्रभावकारिता 
उल्लिखित तीन सामरिक कारबाहीमा माओवादी जनमुक्ति सेनाको कार्य-सम्पादनको विश्लेषण गर्नुअघि कुनै पनि सैन्यशक्तिको प्रभावकारिता मापनको चर्चा प्रासङ्गिक हुनेछ। बेलायती सामरिक सिद्धान्तले युद्ध क्षमता वा सामरिक प्रभावकारितामा तीन अलग तर अन्तरसम्बन्धित घटकको चर्चा गरेको छः भौतिक, नैतिक र अवधारणात्मक। 
भौतिक घटक युद्ध लड्ने साधनहरू हुन्। यसमा भर्ती, प्रशिक्षण, हातहतियार प्राप्ति र वितरणका कुरा पर्छन्। नैतिक घटकले सैनिकहरूलाई लड्न तत्पर गराउँछ, जसमा लडाकू जोशको सञ्चार र अनुशासित तवरले लड्ने मानसिक तयारीका साथै जीवनलाई जोखिममा पारेर लडिने युद्धका फाइदाबारे बुझ्ाइन्छ। अरूलाई युद्धमा प्रेरित गर्न सेनाका सबै तहका कमाण्डरमा उच्च नैतिक मनोबलका साथै युद्धको दृढ र स्पष्ट उद्देश्य हुनुपर्छ। नैतिक घटकको अर्को महत्वपूर्ण तत्व नेतृत्वमा जस्तोसुकै कठिनाई र खतरामा पनि सिपाहीबाट काम लिनसक्ने अग्रणी व्यक्तित्व वा चरित्र हुनुपर्छ, जसबाट हरेक तहमा सफलता सम्भव होस्।

खारा आक्रमणमा मारिएका माओवादी लडाकू।
युद्ध लड्ने क्षमताको पछाडि निहित विचार हो, अवधारणात्मक घटक। यसले युद्धका कडा नियम प्रतिपादन र पालना भन्दा पनि साझ्ा समझ्दारी स्थापना गर्छ, जसको अवलम्बन तलदेखि माथिसम्मका कमान्डरमार्फत हुन्छ। सबै सामरिक कारबाही मनोवैज्ञानिक शक्ति र प्रभावसँग जेलिएको हुन्छ भन्ने जर्मन सैन्य सिद्धान्तकार कार्ल भोन क्लाउसविट्जको मान्यतालाई प्रतिबिम्वित गर्ने यो घटकले युद्धमा प्रभावकारी कमाण्ड र मनोवैज्ञानिक कारकहरूलाई प्रधान मान्दछ। किनकि, युद्ध भौतिकसँगै मानसिक सङ्घर्ष पनि हो र यो बलबाट जति नै विचारबाट पनि लडिन्छ। यसका लागि कमान्डरले आफ्नो मनसाय लुकाएर प्रतिद्वन्द्वीको विचार पढ्न सक्नुपर्छ। प्रतिद्वन्द्वी विचारहरूको सङ्घर्ष युद्ध रणनीतिको केन्द्रमा रहन्छ, जसको कौशल बलमाथि बलको प्रयोग हैन कमजोरीमाथि बलको प्रयोग हो। सुनत्सुले यस्तो अवस्थालाई अण्डामाथि ढुङ्गाको प्रहार भनेका छन्।

गणेशपुर एम्बुस 
फेब्रुअरी २००५ को अन्त्यतिर जनमुक्ति सेनाको पश्चिम डिभिजनलाई बर्दिया जिल्ला सदरमुकाम गुलरियामा आक्रमण गर्न भनियो। पछि उक्त योजना रद्द गरेको माओवादीले आफ्नो सेनालाई तुलनात्मक रूपले सुरक्षित पहाडी इलाकातिर फर्काउनुको साटो २८ फेब्रुअरीमा गुलरिया-नेपालगञ्ज सडकको गणेशपुरमा एम्बुस थाप्न भन्यो। तर, एम्बुस थाप्न गएका दोस्रो ब्रिगेडका कमान्डर जीत (जाजरकोट, ध्यार गाउँका प्रेमबहादुर रोका)सहित ३७ लडाकू मारिए। शाही नेपाली सेनाको घेराबन्दीमा परेका अन्य १६ जनाले पनि ज्यान गुमाए। माओवादीको यो मोबाइल ब्रिगेड जनमुक्ति सेनाको अनुभवी दस्ता थियो।

प्रारम्भदेखि नै जनयुद्धमा सहभागी जीत सेप्टेम्बर २००० को दुनै, जुलाई २००१ को होलेरी र फेब्रुअरी २००२ को मङ्गलसेन आक्रमणमा संलग्न थिए। डिसेम्बर २००४ मा कैलालीको पान्डौन वनक्षेत्रमा शाही नेपाली सेनाको रेञ्जर बटालियनमाथि आक्रमण गर्ने मुख्य कमान्डर पनि रहेका उनले मृत्युको दुई साताअघि धनगढी कारागार आक्रमण गरेर १५० बन्दी भगाएका थिए।

गणेशपुर घटनापछि पश्चिम डिभिजन कमान्डर प्रभाकरले वक्तव्यमार्फत गरेको स्वीकारोक्ति थियो, “हामीले यो घटनालाई एकदमै गम्भीर रूपमा लिएका छौं। यसको मानवीय र भौतिक क्षतिबाट पश्चिम डिभिजन गम्भीर रूपले प्रभावित छ। लडाईंसँग सम्बन्धित परिस्थितिको विश्लेषण र संश्लेषणमा हाम्रो तर्फबाट भएका कमि-कमजोरीमाथि गम्भीर विचार-विमर्श गर्दै हामीले यसका नकारात्मक परिणामलाई सकारात्मक बनाउन अझ्ै धेरै बलिदानबाट अगाडि बढ्ने सङ्कल्प गर्नुपर्छ।” 
डिभिजन कमान्डरका रूपमा प्रभाकरले दोस्रो ब्रिगेडलाई एम्बुस थाप्ने स्वीकृति दिए होलान्, तर त्यस्तो त्रुटिपूर्ण योजना कार्यान्वयनमा डिभिजन सह-कमान्डर विविध र ब्रिगेड कमान्डर जीत पनि जिम्मेवार थिए। पहिलो भिडि दृश्यमा एक घाइते लडाकूले आफूहरू योजना कार्यान्वयनमा उच्च लडाकू जोशका साथ लागिपरे पनि योजना दुश्मनले पत्ता लगाउनु, तर दुश्मनलाई बुझन नसक्नु उसको चौतर्फी मुभ हेर्न नसक्नुलाई पार्टीको र योजनाकारहरूको कमजोरी हो भनेका छन्। 
उनले पार्टीको लागि जीवनको बलि दिनसक्ने शक्ति र जोश आफूहरूसँग भएको बताए पनि भिडिमा उनको वरिपरि देखिएकाहरूको शारीरिक अभिव्यक्तिले उनीहरूको मनोबल गिरेको देखाउँथ्यो। अझ् दोस्रो भिडिका दृश्यहरूले माओवादीका क्रान्तिकारी कविता र गीतमा जे दाबी गरिए पनि लडाईंमा भएको क्षति र पराजयबाट जनमुक्ति सेना अछुतो नभएको स्पष्ट गरेका छन्।

भिडिमा विविधले लडाकू समूहमा जीतको प्रतिष्ठा र बलिदानको आडमा प्रभाव पार्न खोजेका तथा सबैलाई कमान्डर बन्ने आकाङ्क्षा राख्न आह्वान गरेका छन्। एउटा समूहलाई सम्बोधन गर्दै उनी भन्छन्, “तयार हुनोस् तपाईंहरू, यही बीचबाट ल्याइन्छ मान्छेहरूलाई। म सक्छु भनेर आउनुहोस्।” कमान्डरहरूले जोशिलो वक्तव्य दिए पनि धेरैजसो लडाकूको अनुहारमा भने त्यति उत्साह देखिएको थिएन।

विविधले लडाकूहरूलाई कारबाहीको सावधानीपूर्वक विस्तृत विश्लेषण गरिने वचन दिएका छन् जुन प्रभाकरको कमि-कमजोरीको पहिचान, विश्लेषण र संश्लेषण गर्ने कुरासँग मेल खान्छ। तर, न यस्तो छानबिनको परिणामबारे थाहा हुनसक्यो, न कसैमाथि कारबाही भयो। बरु, गणेशपुरको मानवीय र भौतिक क्षतिले गम्भीर प्रभाव पारेको पश्चिम डिभिजन त्यसको ३९ दिनपछि रुकुमको खारा हान्ने सैन्य बलको एउटा अंश बन्यो। त्यसमा विविधसहित अरू केही कमाण्डर सहभागी नहुनुको कारण अनुमानकै विषय रहेपनि पश्चिम डिभिजनको खासगरी दोस्रो ब्रिगेडका लडाकूहरूको मनोबलमा गणेशपुरकै प्रभाव रहेको भन्न सकिन्छ।

गणेशपुर घटनामा समतल भूमि र सहज सडक उपयोग गर्दै शाही सेनाले जनमुक्ति सेनामाथि ठूलो अग्रता देखायो। यसबाट जनमुक्ति सेनाका वरिष्ठ कमान्डरहरूको सामरिक कार्यनीति र कारबाहीमा आफ्नो सैन्यबल खतरामा पर्दा पनि बेवास्ता हुने स्तरको अज्ञानता प्रदर्शन भयो। शाही सेनालाई मावादीहरू के गर्दैछन् भन्ने थाहा थियो, तर मावादी कमान्डरहरू सेनाको चालबारे अनभिज्ञ थिए। प्रभाकरले भनेको ठूलो मानवीय र भौतिक क्षति दुई सेनाको परिचालन र गोप्य जानकारी उपयोगमा देखिएको अन्तरकै परिणाम थियो। त्यहाँ लडाकूहरूको आत्मविश्वासमा ह्रास ल्याउने मनोवैज्ञानिक क्षति पनि त्यत्तिकै ठूलो थियो।

खारा हमला 
ब्रिगेड कमाण्डर जीत।
मावादी सेनाले खारास्थित शाही नेपाली सेनाको व्यारेकमा पहिलो पटक मे २००२ मा गरेको आक्रमण १५० भन्दा बढी लडाकूको क्षतिका साथ विफल भएको थियो। त्यसको दुई वर्षपछि, सेनाले खाराको सुरक्षा अझ् सुदृढ बनाएको थाहा हुँदाहुँदै माओवादी उच्च कमान्डरहरूले ७ अप्रिल २००५ मा अर्को आक्रमण सफल हुन्छ भन्ने किन ठाने, बुझन कठिन छ।

भिडिओमा देखिएअनुसार, अग्लो ठाउँमा रहेको खारा व्यारेकमा हमला गर्दा मेसिनगनको सीधा निशानामा पर्दै माइन, काँढेतार र बङ्करहरू छिचोलेर डाँडा चढ्नुपर्थ्यो जहाँ इन्फेन्ट्री र इन्जिनियरिङका २५० सैनिक तैनाथ थिए। परम्परागत सामरिक नियमहरू अनुसार यस्तो अखडामा आक्रमण गर्नेले शुरुमै हवाई हमलासँगै आर्टिलरी र मोर्टारबाट त्यहाँको प्रतिरक्षा कमजोर पार्नुपर्थ्याे। नोभेम्बर २००२ मा जुम्लाको खलङ्गा र मार्च २००४ मा बेनीमा शाही सेनाको प्रतिरक्षा तोड्न नसकेको माओवादी जनमुक्ति सेनाका लागि खारा तीभन्दा निकै कठिन लक्ष्य थियो। फलतः जनयुद्धमा महत्वपूर्ण मोड ल्याउने ठानिएको यो हमलाको असफलताले माओवादीलाई सामरिक विजयको मनोकाङ्क्षाबाट तल र्झ्न बाध्य बनायो। माओवादीले पछि यो कुरा स्वीकार्‍यो।

माओवादीको इतिहासबाटै लगभग मेटिएको खारा आक्रमणबारे पार्टीका कुनै सदस्य बोल्न चाहँदैनन्। हमलाको औचित्य र संवेदनशीलता सबैको स्मृतिबाट कसरी हरायो भन्ने प्रश्नको जवाफ २००४ को अन्तिम र २००५ को शुरुतिरको प्रचण्ड र बाबुराम भट्टराईको विवादसँग जोडिएको छ, जसले मावादीलाई फुटको सँघारमा पुर्‍याएको थियो। त्यही विवादमा जनवरी २००५ को पोलिटब्युरो बैठकले भट्टराई, उनकी पत्नी हिसिला यमीसहित केही भट्टराई समर्थकलाई पार्टीको साधारण सदस्यमा घटुवा गरेको थियो।

माओवादी नेतृत्वले सन् २००४ को प्रारम्भदेखि राज्यसत्ता प्राप्त गर्न सामरिक बाटो बाहेक अर्को बाटो पनि छ भन्ने बुझन थालेको थियो। त्यसवेला अनन्तले सङ्केत गरेअनुसार खलङ्गा आक्रमणको असफलतादेखि केही नेताको दिमागमा यो विचारले डेरा जमाइसकेको थियो। त्यसका लागि सबैले एउटा संयुक्त मोर्चाको आवश्यकता महसुस गरेका थिए, तर त्यो भारतको सहजीकरणमा राजनीतिक दलहरूसँग कि तत्कालीन राजा ज्ञानेन्द्र र उनको सेनासँग भन्नेमा मतभिन्नता थियो। यो विभाजनलाई स्पष्ट गर्ने क्रममा भट्टराईले पार्टीभित्रका आफ्ना विपक्षीहरूलाई पूँजीवादी लोकतन्त्र भन्दा सामन्ती अधिनायकत्वलाई प्रगतिशील मान्नेहरूओ भन्ने संज्ञा दिएका थिए।

प्रचण्डले २००४ को अन्त्यतिर ज्ञानेन्द्रका निजी दूतसँग भेट्दा प्रधानमन्त्री बनाउने आश्वासन पाएको अनुमान गरिएको थियो। तर, १ फेब्रुअरी २००५ मा ज्ञानेन्द्रले कु गरेर सत्ता हत्याइदिए। भट्टराई र उनका समर्थकहरूको विरोध तथा शाही नेपाली सेनाको राम्रो प्रतिरक्षा भएका अखडाहरूमा विगतको असफलतालाई बेवास्ता गर्दै प्रचण्डले ज्ञानेन्द्रलाई जवाफ दिन र राज्यसत्ता प्राप्त गर्ने सामरिक बाटोको औचित्य देखाउन खारा आक्रमणको योजना अघि बढाएको भन्ने आरोप सही हो भने यो जघन्य त्रुटि थियो। भिडिमा देखिएका प्रमाणहरूले उक्त आरोपलाई नै पुष्टि गर्छन्।

आक्रमणमा हिँडेका लडाकूहरूलाई सम्बोधन गर्दा पश्चिम डिभिजन कमान्डर प्रभाकरले त्यसलाई ज्ञानेन्द्रको सत्ता कब्जासँग जोड्दै अन्तिम विजयको ढोका खोल्ने लडाईंको महत्वाकाङ्क्षी उद्देश्य प्रस्ट्याएका थिए। यसलाई छापामार युद्ध र रणनीतिक सन्तुलनको चरणबाट रणनीतिक प्रत्याक्रमणमा प्रवेशको महत्वपूर्ण बिन्दु बताउँदै उनले भनेका छन्ः “हामी फर्केर फेरि छापामार युद्ध लड्न जाने कि अगाडि बढ्ने? हाम्रा आधार इलाकाहरूलाई भत्काएर, त्यहाँका जनताको नरसंहार गरेर क्षतविक्षत हुन दिने कि तीन-चार सय मरेर अन्तिम विजयको ढोका खोल्ने? प्रश्न यहाँ छ।”

लडाईंमा जानुअघि अन्तर्वार्ता दिएका ब्रिगेड कमान्डर र कमिसारहरूले यसलाई चलायमान वा छापामार युद्धबाट परम्परागत मोर्चाबद्ध युद्धको प्रवेश बिन्दु तथा प्रचण्ड र ज्ञानेन्द्रका सैनिक सामर्थ्यको परीक्षाको रूपमा व्याख्या गरेका छन्। त्यो र त्यसपछिका युद्धमा शृङ्खलाबद्ध विजयप्रति विश्वस्त उनीहरूले एकस्वरले यसलाई दिग्विजय अभियान भनेका छन्। तेस्रो ब्रिगेडका कमान्डर जीवनलाई सोधिएको पहिलो प्रश्नले नै लडाईंको योजना निर्माण तथा उद्देश्य निर्धारणमा प्रचण्डको प्रत्यक्ष संलग्नता पुष्टि गर्छ। उनलाई सोधिएको थियो― “अध्यक्ष कमरेड प्रचण्डका भाषामा तपाईं दिग्विजय अभियानको नेतृत्व गर्दै हुनुहुन्छ, यो क्षणलाई कसरी लिनुभएको छ?” उत्तरमा उनले भनेका छन्ः “हामी आक्रमणमाथि आक्रमण, विजयमाथि विजय गर्दै दुश्मनका किल्लाहरू ध्वस्त पार्दै शायद दुश्मनलाई अब बढारेर अगाडि बढ्छौं।” आठौं ब्रिगेडका सह-कमान्डर विकल्पको जवाफ थियो― “अध्यक्षको सपना दिग्विजयको अभियानसहित अगाडि बढ्ने, दिग्विजयको ढोका खोल्ने हो, जुन यथार्थसँग मिसिएको छ। त्यसको लागि मैले धेरै मान्छे, लालयोद्धाहरूसँगै विजय अभियानमा मेशिन गनहरू पड्काउँदै, दुश्मनहरूलाई लखेट्दै, छोप्दै र अघि बढ्दै गरेको, दुश्मनहरू भाग्दै गरेको सपना देखेको छु।”

सामरिक योजना र विजयप्रतिको विश्वास युद्ध सफलताका अति आवश्यक तत्व हुन्। तर, माओवादी कमान्डरहरूले भ्रमपूर्ण विश्वास पालेको देखिन्छ। स्पष्ट छ, प्रचण्डले उनीहरूलाई व्यक्तिगत तहमै लडार्ईं आवश्यक छ, जित्न सकिन्छ र जित्नुपर्छ अनि यो जितले अन्तिम विजयको बाटो तय गर्नेछ भनेर बुझ्ाएका थिए।

लडाकूहरूलाई खाराको भौगोलिक अवस्था र प्रतिरक्षा बन्दोबस्त झ्ल्काउने ठूलो नक्साका अगाडि आक्रमणको अन्तिम आदेश दिइएको थियो। निकै भव्य देखिए पनि नक्सामा आक्रमणका कठिनाईहरू झ्ल्किँदैनथे। आक्रमणको कमाण्ड मध्य डिभिजन कमान्डर पासाङलाई दिइएको थियो। उनले आक्रमणको उच्च उद्देश्य स्पष्ट पार्दै भनेका छन्, “हाम्रो क्रान्तिलाई उचाइमा उठाऔं र साँच्चिकै क्रान्तिको ढोका खोलौं। अध्यक्षको भनाइमा दिग्विजयको ढोका खोलौं। यही प्रतिबद्धतासहित टार्जेट फिक्स गरेका छौं।” नक्सामा रणनीतिक महत्वका ठाउँ देखाउँदै उनले राखेका भनाइहरू युद्धको आदेश भन्दा पनि उपदेश जस्ता थिए।

भिडिमा पासाङ र प्रभाकर सँगसँगै बसेका भए पनि एकअर्काप्रतिको साङ्केतिक अभिव्यक्ति राम्रो थिएन, खासगरी पासाङले बोलिरहेका वेला प्रभाकरको। पछि विकल्पको अन्तर्वार्ताले आक्रमणको योजनामा दुई डिभिजनबीच मतान्तर भएको स्पष्ट पार्‍यो। सैन्य सिद्धान्त अनुसार एकल कमाण्ड पालना गर्न प्रभाकरको डिभिजनअन्तर्गतका ब्रिगेडहरूलाई पासाङको कमाण्डमा राखिनुपर्थ्यो। सामरिक कारबाहीमा एकीकृत प्रयास सुनिश्चित गर्न एकजना मात्र मुख्य कमान्डर हुन्छ, अरू किसिमको व्यवस्थाले भ्रम र बर्बादी निम्त्याउँछ जुन मावादीको हकमा खारामा भएको थियो। 
भिडिमा आक्रमणअघि दिउँसो अग्रपङ्क्तिमा हिँडेका लडाकूहरूलाई देखाइएको छ, जसमा राइफलको कमी खट्किन्थ्यो। परम्परागत सामरिक शब्दावलीमा इञ्जिनियर्स भनिने यस्तो समूहले तारबार काट्दै वा त्यसमुनिको जमिन खन्दै आक्रमणलाई सहज बनाउँछ। यस्तो असुरक्षित काममा धेरै नै महिला पनि थिए। पिठ्युँमा झ्ोला बोकेका उनीहरूसँग सकेट बम देखिन्छ भने अरूसँग तार काट्ने प्लास। भिडिमा लडाईंका दृश्यहरू छैनन्, तर आक्रमण रातको अँध्यारोमा शुरु भएको देखिन्छ। केही दृश्यमा युद्धस्थलमाथि एमआई-१७ हेलिकोप्टरले चक्कर लगाइरहेको, केही मृत र घाइते लडाकू लडिरहेका र एक जना घाइतेको उपचार भइरहेको देखिन्छ। युद्धको कठोरता प्रस्तुत गर्न यी दृश्य काफी छन्।

खारा हमलाको योजना गोप्य राख्न मावादी सेना सफल थियो। शाही सेनाले रोल्पा र प्युठानबाट ठूलो सङ्ख्यामा मावादी लडाकू होर-दोहोर गरेका सूचना तीन दिनअघि नै पाए पनि आक्रमण हुने ठाउँको भेउ हमलापछि मात्रै पायो। तीव्र र चौतर्फी आक्रमण थालेको मावादी सेना एउटा मात्रै ठाउँमा तारबारको घेरा नजिक पुगेर खाल्डो खनी शिविर भित्र छिर्न सफल भएको थियो। बिहानको झ्िसमिसेसम्ममा तारबारको १५ मिटरभित्र पुगेको करिब १० जनाको त्यो समूहका सबै त्यहीं मारिए।

शाही सेनाले माओवादीबाट कब्जा गरेको कागजपत्रमा अर्को रात पुनः आक्रमण गर्ने पासाङको योजना रहेको दाबी गरेको थियो। रातको लडाईंमा एमआई-१७ को सपोर्ट र बिहानीपख अर्को हेलिकोप्टरबाट युद्धस्थलमा रेञ्जर बटालियनका २० जना जति सैनिकहरूको अवतरणले प्रतिरक्षामा रहेको शाही सेनाको मनोबल बढाएकाले लडाईं बिहानै सकियो। नगण्य प्राप्तिको लागि त्यत्रो ठूलो मूल्यमा रातभर लड्नु परेको हमलावार सेनाको मनोबलमा भने यसले ठीक उल्टो असर पारेको हुनुपर्छ। आक्रमण बन्द भएको वेलाको भिडि दृश्यमा तारबार वरिपरि ५० जति मावादी लडाकूको शव देखिन्छ। केही प्रतिवेदनले त्यस भिडन्तमा २०० भन्दा बढी मावादीको मृत्यु र थुप्रै घाइते भएको बताएका छन्। उनीहरूले यति बलियो प्रतिरक्षा भएको सैनिक मोर्चाविरुद्ध चाहिने जति गोला-बारुद नहुँदा नहुँदै पनि लामो र चर्को लडाईं गरे।

लडाईंपछिका दुई अन्तर्वार्तामा विकल्पले जनमुक्ति सेनाको कमाण्ड शृङ्खलामा जरा गाडेको कमजोरीले सम्भावित विजयलाई रोकिदिएको औंल्याएका छन्। पहिलो अन्तर्वार्तामा उनले आक्रमणको योजनामै दुई डिभिजनको मतभेद भएको खुलासा गर्दै प्रचण्डले सबै कामरेडलाई योजनाको मर्मबारे स्पष्ट पारे पनि युद्ध रणनीतिका विषयमा दुई डिभिजनबीच ठूलो र लामो विवाद चलेको बताएका छन्। उनको अन्तरवार्ता अनुसार पासाङ दुई रातमा लडाईं सक्न चाहन्थे भने प्रभाकर मध्य दिनमा शुरु गरेर अर्को मध्यान्हसम्ममाखारा शिविर कब्जा गर्न चाहन्थे।

विकल्पले माओवादी पत्रकारहरूलाई दिएको दोस्रो अन्तर्वार्तामा लडाईंको दौरानमा जनमुक्ति सेनाको कमाण्ड र नियन्त्रणमा कमजोरीका साथै दुई डिभिजनको भूमिकामा भ्रम रहेको औंल्याएका छन्। उनको भनाइमा, पश्चिम डिभिजनको मुख्य भूमिका आक्रमणमा सहयोग गर्नु थियो। आफ्नो कमाण्डका लडाकू लड्न तत्पर छँदाछँदै लडाईं रोकिएको र यसबाट आक्रोश एवं अवज्ञाको खतरा सिर्जना भएको गुनासो पनि गरेका छन्, उनले। यसबाट पश्चिम डिभिजनको ठूलो अंश लडाईंमा प्रतिबद्ध नरहेको स्पष्ट हुन्छ।

विकल्पको मुख्य आलोचना अझ् उल्लेखनीय छ। उनले भनेका छन्, “युद्धमा जाँदाखेरि धेरै समस्याहरू पैदा भए। त्यसलाई लिएर जाने सवालमा केही अपुगताहरूले गर्दा त्यस्तो परिणाम भोग्नु पर्‍यो। त्यहाँ बदमासी, गद्दारी र धोका हुनपुग्यो। ...त्यहाँ कमजोरी लड्ने योद्धाहरूको होइन, सीधा र सपाट भाषामा भन्नुपर्दा कमान्डरहरूको हो― मुख्य कमान्डरको पनि हो र हाम्रो पनि हो। लड्न तयार थिए योद्धाहरू, तर लड्न पाएनन्। वास्तवमा हाम्रो डिभिजनका २१ कम्पनी चोखै रहे। किनभने कमान्डरले फिर्ता गर्‍यो, योजनै फिर्ता गर्‍यो। दोष कसको त? कमान्डरको।”

यद्यपि, विकल्पले गरेको पासाङको आलोचना सही थिएन। उनी प्रभाकरको डिभिजनका ब्रिगेड कमान्डर थिए र भिडि पनि सोही डिभिजनमा आबद्ध पत्रकारले खिचेका थिए। यसबाट आपसी प्रतिद्वन्द्विता र कमाण्डमा एकताको अभाव पुष्टि हुन्छ। पासाङले क्षतिभन्दा बढी सहयोग पाएको भए आक्रमण सफल बनाउँथे होलान्। खारामा सफल हुन आवश्यक गोला-बारुदसँगै जनमुक्ति सेनाका वरिष्ठ कमान्डरहरूमा तालिम, अनुभव र सञ्चार साधनको पनि कमी देखियो। यी कुरा भएको भए ६ ब्रिगेड र दुई डिभिजनका ४००० लडाकूको सही समन्वयबाट आक्रमण सफल हुन्थ्यो होला।
यसमा योजना, कमान्डर वा लडाकूको मात्र कमजोरी थिएन। मूल समस्या जनमुक्ति सेना चलायमान वा छापामार युद्धबाट मोर्चाबद्ध वा परम्परागत युद्धमा जान तथा सुदृढ प्रतिरक्षा भएको मोर्चामा जटिल र उद्देश्यमूलक आक्रमण गर्न सक्षम छ भन्ने मूल्याङ्कनबाट उत्पन्न भएको हो। यस्तो खोटपूर्ण मूल्याङ्कनको उत्तरदायित्व अन्ततः प्रचण्डमा जान्छ। खाराको अन्तिम निष्कर्ष सरल छ। आठौं ब्रिगेडका उप-कमिसार रमेश कोइरालाको शब्दमा, “यथार्थता हो, हामी हारेका छौं। अर्थात् अध्यक्षको भाषामा दिग्विजयको ढोका खोल्न सकेनौं।”
प्रचण्डको लागि यो पराजय कठोर व्यक्तिगत प्रहार बनेको हुनुपर्छ। उनले चर्को उद्घोष गरेको विजयको सपना चकनाचूर भयो। यस अवस्थामा उनी जान सक्ने बाटो एउटै थियो। खारा आक्रमणको चार सातामै साधारण सदस्यमा घटुवा भएकै अवस्थामा बाबुराम भट्टराई प्रचण्डका दाहिने हात कृष्णबहादुर महरासँग दिल्ली झ्रे जसको परिणाम नोभेम्बर २००५ मा १२ बुँदे सहमति भयो।
खारा पराजयको केही महिनाभित्र काठमाडौंको सामन्ती नोकरशाही शासकले माओवादी जनमुक्ति सेनालाई एउटा यस्तो मौका दियोे, जहाँ उसले गुमेको प्रतिष्ठासँगै २०० भन्दा बढी आधुनिक हतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ हासिल गर्‍यो।

पिली आक्रमण 
२४ जुलाई २००५ मा सुर्खेत-जुम्ला सडक निर्माणका लागि शाही नेपाली सेनाको एउटा इञ्जिनियर्स टुकडीलाई इन्फेन्ट्री कम्पनीको सहयोगमा कालीकोटको तिला नदी किनारमा नयाँ छाउनी बनाउन तैनाथ गरियो। मावादी विद्रोह विस्तार र सुदृढ हुँदै जाँदा अधिकांश विकास-निर्माणका काम ठप्प भएकाले आफ्नो प्रतिष्ठा उठाउन राजा ज्ञानेन्द्रले मध्य वर्षामा यस्तो ठाडो आदेश दिएका थिए। आदेशको सम्भावित परिणामबारे उनलाई अवगत नगराई सिपाहीहरूलाई त्यस्तो स्थानमा पठाइयो, जसलाई पछि शाही सेनाका प्रवक्ता ब्रिगेडियर जनरल दीपक गुरुङले रणनीतिक रूपले प्रतिकूल भनेका थिए। एउटा अर्को प्रतिवेदनले उनलाई उद्धृत गर्दै भनेको थियो, “पिलीमा छाउनी बनाउने निर्णय प्राविधिक थियो, रणनीतिक होइन। हामीले त्यस्तो आक्रमण बेहोर्नुपर्ने अपेक्षा गरेका थिएनौं।”
त्यस्तो अपेक्षा नगर्नु शत्रुलाई कहिल्यै कम नआँक्नु भन्ने युद्ध सिद्धान्तको अवहेलना त छँदैथियो, साथै आफ्नो कर्तव्य निर्वाहमा चरम लापरवाहीको नमुना पनि। भिडिमा देखिएअनुसार भिरालो पाखोको छाउनी माथिबाट हुनसक्ने आक्रमणबाट असुरक्षित थियो।
मावादीले पिलीमा शाही सेना तैनाथ हुन लागेको जानकारी पहिलो समूहका सिपाहीहरू त्यहाँ पुगेको १० दिन अर्थात् २ अगष्टमा पाएका थिए। त्यतिवेला प्रभाकर पिलीबाट ७० किमी दक्षिणपूर्व जाजरकोटको दशेरा गाउँमा दोस्रो ब्रिगेडका साथमा थिए। बाजुरा जिल्ला सदरमुकाम मार्तडी आक्रमणको तयारीमा रहेका डिभिजन सह-कमान्डर विविध पिलीदेखि ७० किमी पश्चिम कर्णाली नदीको अर्कोपट्टि अछामको तुर्माखाँदमा थिए। पिलीको पछिल्लो जानकारी पाउनासाथ उनीहरूले यसलाई सहज लक्ष्य ठानेर जतिसक्दो छिटो आक्रमण गर्ने निर्णय लिए।
दिल्लीमा अन्य दलहरूसँगको विचार-विमर्शमा युद्धविराम हुनै लागेकाले पिली आक्रमणको स्वीकृति दिन प्रचण्ड अन्कनाएका थिए। त्यसमाथि खारा पराजय पनि ताजै थियो। कमान्डरहरूले उनलाई सुनिश्चित सफलतामा आश्वस्त गराउँदै ७ अगष्टको मध्यान्हअघि नै तीनवटा ब्रिगेडलाई पिलीदेखि एक घण्टा पूर्व पाखा गाउँको राउत वस्तीमा एकत्रित गरे।

जनमुक्ति सेनाले मुख्य हमलाअघिको तयारीलाई अन्तिम रुप दिन र कमान्डरहरूद्वारा आफू मातहतका लडाकू समूहलाई सम्बोधन गर्न कोचिङ राख्ने गर्छ। त्यस्तै कार्यक्रमको एउटा भिडिमा भेरी-कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज प्रकाण्डको सटिक भनाइ थियो, “जुन सेनाले गल्ती गर्छ, हार हुन्छ। दुश्मनले त्यहाँ ठूलो गल्ती गरेको छ। ...त्यो गल्तीलाई हाम्रा कमान्डर कामरेडले र सेनाले कति छिटो देख्न सक्छन् र आफ्नो पहलकदमीमा लिएर, वैज्ञानिक प्लानमा ढालेर अगाडि जान र एटेक गर्न सक्यो भने हामीले त्यो चिजलाई नियन्त्रणमा लिन सक्छौं।” त्यसअघि प्रभाकरले आफूहरूलाई निर्माणकालदेखि नै राम्रो जानकारी भएको पिलीका बङ्करहरू हिलोमाटोबाट बनाइएको बताए। उनले निर्माण कार्य चलिरहेकाले त्यहाँको प्रतिरक्षा संरचना त्यहीं गएपछि थाह हुने पनि बताए।

सोही दिन १५० किमी पर कालीकोटको रास्कोट-सिउना गाउँस्थित बडीमालिका माविमा तेस्रो र आठौं ब्रिगेडको कोचिङ आयोजना गरियो। आफ्नो २० मिनेट लामो वक्तव्यमा विविधले पिलीको वास्तविक प्रतिरक्षा स्थिति आक्रमणसँगै थाहा हुने भएपनि त्यसको अपूर्ण अवस्थाले विजय सुनिश्चित गरेको बताए। आक्रमणलाई लिएर पार्टी नेतृत्वको डरलाई सङ्केत गर्दै उनले भने, “तपाईंहरूलाई सफल भइँदैन जस्तो लाग्छ भने फर्किनुहोला।” उनले पछिल्लो समयमा जनमुक्ति सेना धेरै ठाउँमा गएको तर पार्टी नेतृत्वमा व्याप्त डरका कारण आक्रमण नगरी फर्केको उल्लेख गर्दै भने, “यो पटक हामीले जस्तै कठिनाई आइपरे पनि लड्नु र जित्नुपर्छ।”

भिडिमा विविधले गरेका बलिदानसम्बन्धी व्यावहारिक कुरामा नेपाली मावादीको प्राज्ञिक विश्लेषण गर्नेहरूले त्यति ख्याल गरेको देखिँदैन। त्यहाँ उनले एकैचोटि अगाडि बढ्दा बलिदान नै मुख्य भएपनि हतियार, प्रविधि र आक्रमणका तौरतरिकालाई सामान्य रूपमा लिनु नहुने स्पष्ट गरेका छन्। “उचित तौरतरिका, नियम र विधिसहितको भयो भने वलिदान सहज रूपमा पचाउन सकिन्छ। कुनै चिजमा हाम्रो ढङ्ग नपुग्ने, प्रक्रिया नपुग्ने अनि त्यसपछि कार्यशैली, विधि र प्रक्रियामा खोट छ भने त्यस्तो अवस्थाको बलिदान स्वीकार गर्न गाह्रो हुनेछ”, उनले भनेका छन्। यो भनाइले विद्रोहमा हुने मृत्युलाई विचारहीन र अन्ध सैद्धान्तिक बलिदानको दृष्टिकोणबाट नभई व्यावहारिक पक्षबाट भिडन्तमा हुने मृत्युलाई विश्लेषण गरिएको देखिन्छ।

विविधले बोल्न निम्त्याएका सम्भवतः बटालियन र कम्पनी तहका कमान्डरहरूको विचार पनि पिली भिडिको महत्वपूर्ण पक्ष हो, जसमा चार जनाले बोलेका देखाइएको छ। युद्धस्थलका अनुभवी कमान्डर लाग्ने उनीहरू सबैको विचार विगतका लडाईंबाट पाठ नसिकिएको वा व्यवहारमा लागू नगरिएकोबारे सीधा, स्पष्ट र आलोचनात्मक थिए। पहिलो वक्ताले योजनाको बुझ्ाइ र त्यसको कार्यान्वयनबीच एकरुपता नभएको बताउँदै त्यो हासिल गर्न सकिए जित्न सकिनेमा जोड दिए। खाराको उदाहरण दिँदै योजनाको फरक बुझ्ाइले कार्यान्वयनमा सामञ्जस्य नहुने बताएका दोस्रो वक्ताले एउटा प्रासङ्गिक प्रश्नका साथ आफ्नो भनाइ राखेका थिए, “खारामा हामीलाई त लाग्छ, एकै ठाउँमा राखेर कोचिङ गरिएको हो। के कारणले विविधता आयो त? युद्धका अगाडि गरिएको निर्णय र फोर्स गरिएको विधिको कार्यान्वयन भइरहेको छैन।”
तेस्रो वक्ताले मोर्चाबद्ध वा परम्परागत युद्धमा प्रवेशको निर्णयमाथि नै प्रश्न उठाउने हिम्मत गर्दै भनेका थिए, “त्यहाँबाट फर्किने हो भने कि त पार्टी केन्द्रले रणनीतिक प्रत्याक्रमणको फौजी ग्राफमा पुनर्विचार गर्नु पर्‍यो। त्यहाँ गल्ती भयो कि भनेर हेर्नु पर्‍यो।” चौथो वक्ताको भनाइले पहिलेका आक्रमणहरूको व्यावहारिक पक्षमा प्रकाश पार्छ। उनले जनमुक्ति सेनासँग भएको सीमित हतियार र प्रविधिको सीमासम्म त्यसको उपयोग गर्नुपर्ने र दुश्मनको हतियार उसकै विरुद्ध प्रयोग गर्नुपर्ने भनाइ राखेका थिए।

No comments:

Post a Comment