आइतबार १७ कार्तिक, २०७०
थवाङ (रोल्पा) : थवाङले 'जनयुद्ध'लाई के दिएन ? सिंगो बस्ती खरानी बनायो, ३३ सहिद तुल्यायो । 'जनयुद्ध'ले थवाङलाई के दियो ? 'केही दिएन, न बाटो दियो, न
क्याम्पस, न अस्पताल, न कार्यकर्तालाई भरोसा,' निराश थवाङबासी भन्छन्, 'त्यसैले यसपालि कुनै दललाई मत नहाल्ने।'
चुनाव बहिष्कारवादी नेकपा-माओवादीको रणनीति 'शून्य मतदान' मा गाउँका सबै एकोहोरिएका छन् । मतदान नगरेर एकातिर उनीहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थवाङको योगदान सम्झाउन चाहन्छन्, अर्कातिर पार्टी फुटाएको र कार्यकर्ताको चित्त नबुझाएकोमा आक्रोश व्यक्त गर्न ।
१८ सय मतदाता रहेको थवाङमा २० प्रतिशतजति अन्यत्र छन्, बाँकी बहिष्कारवादी नेकपा-माओवादीतिर । २ नम्बर क्षेत्रकी एमाओवादी उम्मेदवार ओनसरी घर्तीमगर अहिलेसम्म थवाङ छिर्न सकेकी छैनन् ।
अघिल्लो संविधानसभा निर्वाचनमा पार्टी अध्यक्ष दाहाललाई अत्यधिक मतले जिताउन रोल्पा २ अन्तर्गतको थवाङका जुझारु कार्यकर्ता उत्साहसाथ खटिएका थिए । अहिले तीनै नेकपा-माओवादीको बहिष्कार पक्षमा सक्रिय छन् ।
युद्धकालमा अध्यक्ष दाहाललगायत केन्द्रीय नेताहरु बस्ने, रणनीति बनाउने र युद्ध परिचालन गर्ने अखडा थवाङमा अहिले जताततै वैद्य माओवादीको 'प्रचार निषेधक्षेत्र' नाराले भरिएका छन् ।
एमाओवादी थवाङ संयोजक ग्रिस पुनमगर द्वन्द्व नहोस् भनेर आफूहरु चुनाव प्रचारमा सक्रिय हुन नचाहेको बताउँछन् । नेकपा-माओवादी मगरात राज्यसमिति सदस्य जयप्रकाश रोका भन्छन्, 'हाम्रो नीति शून्य भोटको हो । जनता स्वेच्छाले नै मतदानमा जाँदैनन् ।'
राजनीतिक गणितमा माओवादी सशस्त्र युद्धमा महत्वपूर्ण स्थान ओगटेको थवाङमा २० प्रतिशतजति कार्यकर्ता-मतदाता एमाओवादीतिर छन्, बाँकी सबै वैद्यतिर । मगर र दलितहरुको बस्तीमा नेपाली कांग्रेस, एमालेजस्ता दलको समर्थक 'टर्च बालेर खोजे पनि नभेटिने' स्थानीय बताउँछन् । राष्ट्रिय जनमोर्चाका सात परिवारले पनि बहिष्कारमा साथ दिने रोकाको विश्वास छ ।
थवाङबासीले वैद्य माओवादीको बहिष्कार नीतिको समर्थन गर्नुका पछाडि सांगठनिक आधार प्रमुख कारण होइन । युद्धकालमा पार्टीका लागि ज्यान फाल्न तयार यहाँका बासिन्दा पार्टी शान्ति प्रक्रियामा आइसकेपछि आफूहरुलाई बेवास्ता भएको महसुस गरिरहेका छन् । पार्टीमा आएको विभाजनबाट रुष्ठ उनीहरु माओवादी अध्यक्ष दाहाल आफैंले दिएका आश्वासन पूरा नभएकाले तीव्र आक्रोशित छन् ।
'जनयुद्ध' कालमा ३३ सहिद जन्माएको थवाङसँग संकटकालको भोगाइ सम्झनामा आलै छ । त्यतिबेला सेनाले थवाङको ठूलोगाउँमा रकेट लन्चर प्रहार गरेर आधा दर्जन बढी घर खरानी बनाएको थियो । एमाओवादी संयोजक पुन राजनीतिक योगदानको तुलनामा थवाङले केही नपाएकाले जनतामा निराशा छाएको बताउँछन् । त्यहीकारण उनीहरु बहिष्कार राजनीतिलाई मलजल गरिरहेको उनको बुझाइ छ । 'जनयुद्धपछि युद्धमा लागेका कार्यकर्ताहरुको व्यवस्थापन हुन सकेन, त्यसले ठूलो निराशा जन्माएको छ,' उनी नागरिकसँग गुनासो बिसाउँछन् ।
चुनाव बहिष्कारको राजनीतिका पछाडि थवाङलगायत रोल्पाका धेरै गाउँमा विगतदेखि नै एकोहोरो राजनीति छाएको र एकैखालको सामाजिक बनोट कारण ठान्छन् । उनले भने, 'यहाँ विशेष गरेर कम्युनिस्ट विचार समूहको पकड रह्यो । अन्य पार्टीले गतिविधि गर्न गाह्रो छ । राजनीतिक कल्चर बस्न सकेन,' शिक्षण पेसाका पुन थप्छन्, 'राजनीतिमा प्रतिस्पर्धा भएन भने त्यसले व्यक्ति पनि, समाज पनि पछि पार्नेरहेछ ।'
थवाङबासी पार्टी विभाजनको पीडाबाट ग्रस्त छन् । उनीहरुको चुनाव बहिष्कार योजना एकताका लागि सन्देश पनि हो । स्थानीय शिक्षक रेशमकुमार शाह भन्छन्, 'हामी विभाजित छैनौं, हामी एकै ठाउँमा छौं भनेर सन्देश दिन बहिष्कार रोजेका हौं ।'
थवाङका जुझारु कार्यकर्तामध्येकी तिजमाया रोका प्रश्न गर्छिन्, 'किन विभाजन गरियो पार्टी ? प्रचण्डलाई माथि पुर्याउन थवाङबासीले रगत-पसिना बगाएको हो र ? गाउँलेले के पाए ?'
अघिल्लो संविधानसभामा दाहाललाई जिताउन तीनतीनपटक भोट हालेको सम्झन्छिन् उनी । संविधानसभाको पहिलो निर्वाचनमा दाहालले ४८ हजार ५ सय ४६ खसेको मतमध्ये ३४ हजार २ सय २० पाएका थिए । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शान्तकुमार वलीले ६ हजार २९ र कांग्रेसका भिमकुमारी बुढामगरले ४ हजार ८ सय ८८ मत ल्याएका थिए ।
पहिलो संविधानसभाका बेला करिब ३ हजार ६ सय मतदाता रहेको थवाङमा अहिले करिव १ हजार ८ सयले मात्र फोटो खिचाए । स्थानीयमा छाएको निराशालाई यसले पनि उजागर गर्छ ।
थवाङबासीको असन्तोषको अर्का कारण विकासका आश्वासन पूरा नहुनु पनि हो । उनीहरुको मुख्य आशा हो-सुलीचौर-फुलिवन-थवाङ मोटरबाटो । संविधानसभा निर्वाचनपछि 'जनयुद्ध'को वार्षिकोत्सव मनाउन हेलिकप्टरमा आएका दाहालसँग थवाङबासीले मोटरबाटो, क्याम्पस र स्वास्थ्य सुविधा मागेका थिए । दाहालले त्यतिबेला दिएको आश्वासन अहिलेसम्म उनीहरुका कानमा गुन्जिरहेको छ । दाहालले त्यतिबेला भनेको स्थानीय सुनाउँछन्, 'थवाङबासीले अहिले केके न भन्लान् भनेको त सडक, क्याम्पस र अस्पताल पो मागे । यी त आधारभूत माग हुन् । यी त पूरा भइहाल्छन् ।'
दाहालको आश्वासन जहाँको त्यहीँ छ । जर्मन प्राविधिक संस्था (जिआइजेड) को सहयोगमा निर्माणाधीन सुलीचौर-थवाङ करिब ९० किलोमिटर सडक करिब ३० किलोमिटर फुलिबनसम्म बनेपछि निर्माण ठप्प छ ।
No comments:
Post a Comment