Monday, June 3, 2013

तामाङ्ग जागरणको निम्ति संदेश

तामाङ्ग समुदाय अत्यन्त दुरावस्था तथा अस्तित्व विहिन अवस्थामा छ भन्दा अन्यथा हुने छैन । तामाङ्ग समुदाय आदिबासी मध्ये बहुसंख्यामा भएतापनि किन दयनिय अवस्था छन् सोचनिय विषय छ । तामाङ्ग एक समृद्ध संस्कृति बोकेको जाति भएतापनि राज्यको नियोजित षडयन्त्रका कारण प्रत्येक क्षेत्रमा पछाडी परेका छन् । आदिबासी गुरुङ्ग, शेर्पा, मगर, राई, लिम्बु समुदाय प्रत्येक क्षेत्रमा आफ्नो उपस्थिती बनाउन सफल भएका छन् भने तामाङ्ग समुदाय आफ्नो अस्तित्व संकटमा परेको देख्दा देख्दै किन मुकदर्शक भएका होलान् । तामाङ्ग जीवित जाति हो वा मृत जाति ? तामाङ्ग जीवित जाति हो भनौ भने तामाङ्ग समुदायको स्थिति दलित भन्दा पनि बदतर छ । बिगत देखि हाल सम्म नेपालको कुनै पनि क्षेत्रमा तामाङ्गले शिर उठाएर गर्व गर्ने स्थान छैन । तामाङ्ग समुदायको सरलता तथा सहजता अभिषाप एवं प्रयोगका बस्तु बनेको छ । आखिर तामाङ्ग समुदाय किन प्रयोगका बस्तु बनेका होलान् ? आफ्नो सन्ततीको अस्तित्व दाँवमा लागेको देख्दा देख्दै किन नजागेका होलान् ? तामाङ्ग समुदाय राजनैतिक परिदृश्यमा शुन्य छन्, बहुसंख्यक बौद्ध धर्मावलम्वी भएता पनि तथा कथित अल्प संख्यक बौद्ध धर्मका ठेकेदार समक्ष नतमस्तक भएको देख्दा अत्यन्त पिडा महसुस हुन्छ । निरन्तर रुपमा राज्यको पूर्वनियोजित  प्रहारको पिडा कसरी खप्नु सकेको छ तामाङ्ग समुदायले । बौद्धिकता, जुझारु योद्धा, कुशल संगठक, इमान्दार नागरिक जस्ता सर्वगुण सम्पन्न भएर पनि तामाङ्ग समुदायले आफ्नो विशाल शक्तिको पहिचान गर्न नसक्नु दुर्भाग्य हो । समय द्रुत गतिले अगाडी बढिरहेको भएतापनि तामाङ्ग समुदायको सोच तथा व्यवहार आदिम युगका मानव जस्तै भएको छ । तामाङ्ग चेलीबेटी बेचिएका छन्, यूवा समाज दिशाविहिन अवस्थामा छन्, तामाङ्ग समुदायले नेपाल मेरो पनि देश हो भनि अनुभूति गर्न पाएका छैनन्, तामाङ्ग समाजको योगदान तथा शहादतको अवमुल्यन भएको छ । राज्य संयन्त्रमा तामाङ्गको न्युन उपस्थिति र पहँुच, यस्तो प्रकारको भयावह स्थितिको प्रत्यक्ष अनुभव गर्दा गर्दै तामाङ्ग समुदाय त्यस प्रति किन्चित पनि चिन्तन मनन गर्दैनन् । एमाले, माओवादी, कांग्रेसको पुच्छर समातेर बैतरणी पार गर्ने सोचले गर्दा तामाङ्ग समुदाय क्रमिक रुपमा अस्तित्व विहिन बन्दै गई रहेका छन् । हिजो सम्म एमाले, कांग्रेस, माओवादीको दास बनेका तामाङ्ग समुदाय लाई आजभोलि नव शक्तिको रुपमा उदय भएका मधेसी दलले पनि प्रयोग गर्न खोजिरहेका छन् । बर्तमान नेपालमा तामाङ्ग समुदायको चित्रण अभिभावक गुमाएका अनाथ बालक जस्तै छ । राज्यको तामाङ्ग प्रति कुदृष्टि, राजनीतिक दलको दोयम व्यवहार, एक आपसमा वैमनस्यता, वैरभाव तथा तामाङ्गले तामाङ्गको विरोध तथा अस्तित्वलाई नकार्नुको परिणामले गर्दा तामाङ्ग समुदाय नेपालको मानचित्रको सबै क्षेत्रबाट विलिन हुने स्थितिमा पुगेको छ ।
तामाङ्ग नेपालको सर्वश्रेष्ठ जाति हो तर गुमिएको श्रेष्ठतालाई सत्यतामा परिणत गर्नका लागि विगतको भूललाई सच्याउने तर्फ लाग्नु पर्दछ, तामाङ्ग समुदायले आफ्नो भाग्यको निर्माण स्वयं नै गर्नु पर्छ भन्ने प्रतिज्ञा गर्नु वर्तमान समयको आवश्यकता हो । तामाङ्ग टुटेर होइन जुटेर, एक आपसको टिका टिप्पणीमा समय व्यतित नगरी प्रत्येक क्षेत्रमा आफ्नो सहभागिता तथा अधिकार स्थापित गर्ने तर्फ एकताबद्ध भएर लम्किनु पर्छ, तामाङ्ग लाई पिडा, दुःख परे तामाङ्गलाई नै पिडा तथा तामाङ्गको नै हृदय रुन्छ , तामाङ्गले तामाङ्गमा शत्रु खोज्ने होइन, तामाङ्ग–तामाङ्ग बिच शत्रुता तथा वैरभाव निर्माण गर्ने शत्रुलाई चिन्हित गरि त्यस्ता शत्रुको कुत्सीत मनसायलाई निस्तेज बनाउनु पर्दछ । नेपाल लगायत “विश्वका तामाङ्ग एक हौ” को नारालाई बुलन्द गर्दै तामाङ्ग एकतालाई सत्यतामा परिणत गर्नै पर्दछ । तामाङ्ग बन्धुहरु ! तामाङ्ग स्वाभिमानको झण्डा फहराउने बेला आएको छ । समग्र तामाङ्ग समुदायलाई विनम्र अनुरोध तामाङ्ग–तामाङ्ग विचको एकतालाई प्रगाढतामा परिणत गरांै । तामाङ्ग समुदायले राष्ट्र, समाजमा आई परेको चुनौतिलाई सहर्ष स्विकार गर्दै विजय रथमा सवार भएर विजय पताका फहराउनै पर्छ । तामाङ्ग एकताको संदेश प्रत्येक तामाङ्गको हृदय तथा व्यवहारमा परिणत हुनु नै पर्छ । जागौं तामाङ्ग जागौं, आफ्नो आउने सन्ततिको स्वर्णिम भविष्यको द्वार खोल्ने बेला आएको छ, तामाङ्गको स्वर्णिम इतिहास रच्ने बेला आएको छ । तामाङ्ग एकताको स्वर सम्पूर्ण तामाङ्ग जन–जनमा पु¥याउने अभियानको अभिभारा प्रत्येक तामाङ्गको दायित्व हो । तामाङ्ग एक जीवित जाति हो, तामाङ्गले आफ्नो शक्ति, बुद्धि तथा सिप, देश र समाज हितमा समर्पित गर्ने बेला आएको छ । तामाङ्ग एकताको संदेश भोलिका लागि तामाङ्गको पहिचान तथा अस्तित्व स्थापित हुने ब्रम्हास्त्र हो, तामाङ्ग समुदायले एकबद्ध भएर तामाङ्ग समुदायलाई उच्च शिखरमा पु¥याउनै पर्छ । तामाङ्ग एकता जिन्दावाद, विश्वका तामाङ्ग एक हौं ।    
अमरदिप मोक्तान
डाँडाखर्क, दोलखा 

No comments:

Post a Comment