बाहुनीले भनी– ‘सबै रात बिजुली हुँदैन। बिजुली नभएका रात म यो पर्खालमा भएको भित्री फलामे फाटकको काप–कापमा दाउरा चिरपटहरू राखिदिन्छु। तपाईं त्यसमा टेकेर हात लामो पारी माथि पक्रेर उक्लन सक्नुहुन्छ। यसो गर्दा तपाईंको कोठाको फाटकको ताल्चा छाडी अरू कुनै ताला खोल्नै पर्दैन। तपाईंले तालादेखि हाल्नुभयो, अहिले मैले खोलेर देखाएको।’
मैले उसलाई भनें– ‘मलाई मन लागे म तिमीलाई भनौंला।’
तर मैले भोलिपल्टै जेलरलाई भनें– मलाई काठमाडौं चलान गर्नुस्। मलाई ‘क’ श्रेणीको सिदा दिइएको थियो। तर, मलाई खाना घरबाट आएकाले मैले त्यो चामल र पैसा लिएको थिइनँ।’ मैले जेलरलाई भनें– ‘तपाईंले यो काम गरे। मैले लकडी, मसिनो चामल र पैसा लिएको जेल परेदेखिको भरपाई गरिदिन्छु।
मैले सोचें– काठमाडौं जाँदा मनमोहनजी, मोहनविक्रम सिंह, निर्मल लामा र अरू साथीभाइसँग बस्न पाइन्छ।
मैले बुझिराखेको थिएँ कि मैले अपिल गर्न पैसा दिए मस्यौदा गरेदेखि बाहुनी मलाई के गरी त्यो गुन तिरौं भन्ने सोचिराखेकी थिई।
एक दिन लेखमाया आएर मलाई एउटा बुर्जाको सेन्ट्रीले उनलाई लेखेको पे्रमपत्र दिइन् र भनिन्– ‘हजूर यसको एउटा राम्रो जवाफ लेखिदिनुस्। कहिले बुर्जाबाट चकलेट, लेमन जुस, कहिले चुरोट मलाई फाल्छ। राम्रो मिलाएर जवाफ लेखिदिनुहोला। मनमनै सोचें। अपिलको मस्यौदाकार पछि अब म पे्रमपत्रको जवाफको पनि मस्यौदाकार हुने भएँ। त्यसबखत सिपाही हुन खासै शैक्षिक आवश्यकता थिएन। साक्षर भए पुग्ने थियो। त्यो सेन्ट्रीले लेखेको पे्रमपत्र हेरें। सम्बोधन नै पढ्नासाथ मलाई विचित्र हाँसो लाग्यो। ‘दिदी लेखमाया’ भनी पे्रमपत्रको पहिलो सम्बोधन छ। अब मैले सम्झें– मैले बुर्जा देखेको त्यो अर्धशिक्षित सेन्ट्री ३४/३५ की लेखमाया भन्दा ८/१० वर्ष कान्छो होला। सिपाही जीवन घर गाउँ समाजभन्दा टाढा उसले पे्रमपत्र लेख्न कैदमा परेकी आफू भन्दा यस्तो ठूली लेखमाया भेट्यो।
तर, मनमा मेरो जे लागे पनि मैले लेखमायाको तर्फबाट त्यो लम्फूलाई राम्रै पे्रमपत्रको प्रतिउत्तर लेखिदिएँ। केही दिनपछि लेखमायाले मलाई भनिन्– त्यो बुर्जाको सेन्ट्री भन्छ– ऊ डोरी खसालेर मलाई माथि तानेर भगाइदिन्छ। अनि त्यसको तीन चार घन्टापछि उसको ड्युटी सकेपछि बन्दुक बुझाएर ऊ पनि भागेर जोगबनी पुग्छ। म के गरुँ?’ मैले भनें– ‘त्यो सेन्ट्री तीन चार घन्टापछि ड्युटी सकेर बन्दुक बुझाएर हिँडे पनि त्यो गायब भएपछि त्यसैले तपाईंलाई भगाएको सबैले बुझ्दछन् र तपाईंहरूले सिमाना काटे पनि यस्तो केसमा भारतीय प्रहरीले पक्रेर फेरि चुपचाप बुझाइदिन सक्छ। तपाईंको छुट्न २ वर्ष बाँकी छ, फेरि भागेर पक्राउ परे जीवन बर्बाद हुन्छ। अलि दिनपछि त्यो सेन्ट्रीको बदली हुन्छ। यस्तो केटाकेटी अल्लारे बुद्धि नसोच्नुस्।
‘ठीक भन्नुभो’ लेखमायाले भनिन्। मैले फेरि मनमनै गम्भीरतापूर्वक सोचें कि यसरी जनाना जेलमा म एक्लै बस्नु हुन्न।
एक दिन मैले सुनें अमेरिकनहरूले स्कुललाई उपहार दिएको मट्टीतेलबाट चल्ने रेफ्रिजेटर खोल्दा त्यसमा कसरी लिक भई आगोको लप्काले सारी पक्डदा सुष्मा भाउजु (काकी भए पनि भाउजु भन्ने केटाकेटीदेखिको आदत थियो मेरो) गिरिजाप्रसाद कोइरालाकी पत्नी) र उहाँको दिदी त्यसै बालिका विद्यालयमा पढाउने दुवैजना आगोले जलेर कोसी अञ्चल अस्पताल विराटनगरमा हुनुहुन्छ। जेलको एकदम नजिक छ अस्पताल। मलाई हेर्न जान मन लाग्यो। मैले जेलरलाई भने जेलरले भन्यो तपाईं बिरामी नपरीकन अस्पताल कसैलाई भेट्न जान दिन मिल्दैन।’
मलाई धेरै रिस उठ्यो। मैले भनें– म उपद्रो मच्चाउँछु र उता मर्दानाको कैदीहरूलाई पनि भड्काउँछु। भोलिपल्ट मैले हल्लाखल्ला गरेपछि जेलरले भन्यो– ‘छाती दुःखेको छ भनी निवेदन लेख्नुस् म गार्डहरूको साथ अस्पताल पठाइदिन्छु, तपाईं काकीलाई हेरेर फर्कनुहोला।’
मेरो कान्छो काका गिरिजाप्रसाद कोइरालासँग विवाह नहुँदै उहाँ बालिका विद्यालयमा शिक्षिका भएर वाराणसीबाट आएदेखि नै चिन्दथंे। मलाई देखेर भन्नुभयो– ‘किन आएको यता उतै इन्डिया बसिराखेको भए हुन्थ्यो।’ मैले लामो कुरा गरिनँ। मुख छोडी शरीरको निकै भाग जलेकाले खतरामुक्त हुनुहुन्न भन्ने सुनेको थिएँ। तर यसरी प्रस्टसँग कुरा गरेको देखेर म भ्रममा परें। पर्सिपल्टै उहाँको मृत्यु भएको कुरा सुनें। हुन त मैले फिल्महरूमा आगोले जलेको मान्छे बोल्दाबोल्दै मरेको देखेको थिएँ। दक्षिणपट्टि पर्ने रंगेली रोड भएर नै अस्पतालका घरबाट पनि मशानघाट लाने हुँदा मैले जेलरलाई भनें– आज म छतमा बसेर हेर्छु। जेलरले माने। म मेरो फलामे ढोकाबाट माथि छतमा उक्लें। दिउँसो २/३ बजेको होला। उहाँको शवयात्रामा ७०/८० जनाजतिको लर्को छ। गिरिजाप्रसाद कोइरालालाई त्यस शवयात्रामा कुनै परम मूर्ख परम्पराअनुसार पत्नी मर्दा टाउकोमा कसैले अबिर घसिदिएको छ। गिरिजाप्रसाद कोइराला अनशन गरेर छुटे पनि बीपी कोइराला, मनमोहन अधिकारीहरू काठमाडौंमा थुनामै हुनुहुन्थ्यो। त्यस समय उहाँको परिवारजन पत्नी र छोराछोरीहरू पनि विराटनगरमै बस्दथे।
मैले फेरि जेलरलाई एक्लै भेटी मलाई कसैगरी काठमाडौं चलान गर्न भनें। जेलरले एक दिन मलाई एक्लै अफिसमा बोलाएर भने– ‘म सुरक्षाको कारण देखाएर तपाईंको काठमाडौं चलान माग्छु। तर, तपाईं नरिसाउनुहोला। मैले ‘हुन्छ’ भनें।
No comments:
Post a Comment