Tuesday, June 25, 2013

संसारभरी परेका कम्युनिज्मका प्रभावहरू

१९१७-१९९० कम्युनिस्ट शासनसत्ता उत्थान र पतनका वर्ष हुन्। २४ वटा देशमा फैलिएको यो शासनको अन्त्यन्त क्रूर वर्ष भनेको १९७० को हाराहारी हो। रूसमा स्टालिन र चीनमा माओको अवशानपछि कम्बोडिया, उत्तरकोरिया र क्युवामा बाहेक यो दशकमा संसारभरि यो शासनमा सुधार आयो। कम्युनिस्ट व्यवस्थाको सार भनेको निजी सम्पत्तिको खारेजी हो। स्टालिनपछि रुसले र माओपछि चीनले त्यही खारेजीलाई खारेज सुरु गरे जसबाट करिब ६० वर्षसम्म निरन्तर मान्छेलाई मुर्दा बनाउने काम केही हदसम्म रोकियो। त्यसपछि राज्यबाटै जिउँदो मान्छेलाई मुर्दा बनाउने कम्युनिस्ट अभियान घट्दै गयो। तर यो बेलासम्म कम्युनिस्टले शासन गरेका यी देशका नागरिकहरू जो बाँचेका थिए आफू जीवनको महसुस गर्न समेत नसक्ने अवस्थामा यन्त्रमानवमा परिणत भइसकेका रहेछन्। यति लामो कालखण्डसम्म शासन गरेको कम्युनिस्ट सिद्धान्तले अन्ततः त्यो समाजलाई कस्तो पारेछ र के उपहार दिएछ भन्ने पक्षबाट अध्ययन हुँदा यस्तो दर्दनाक चित्र प्रकट भएको हो।
रुसले के गुमायो?
रूसको कम्युनिस्ट पार्टीले ७० वर्षसम्म शासन गर्दा त्यहाँको समाजलाई के दियो? यो झन् डरलाग्दो पक्ष छ। विश्वकै कम्युनिज्मको अध्ययन गरेका हावर्ड विश्वविद्धालयका इतिहासका वरिष्ठ प्राध्यापक रिचर्ड पाइप्सले आफ्नो पुस्तक साम्यवाद एक इतिहास नामक पुस्तकमा त्यसको वर्णन गरेका छन्। उनका अनुसार सोभियत संघको अहिलेको समाज अपांगजस्तै भएको छ। सबैभन्दा लामो समयसम्म कम्युनिष्ट शासन व्यवस्था चलेको रूसमा परेका प्रभावहरूमध्ये एउटा के देखिएको छ भने त्यहाँको आम जनसमुदायमा आत्मनिर्भरताको भावना हराउन पुगेको छ। सोभियत शासनअन्तर्गत निजी मामलाबाहेकका हरेक विषयमा माथिबाटै सबै आदेशहरू आउनुपर्दथ्यो र कुनै कुरा आफ्नै सक्रियतामा गर्न खोज्नुलाई अपराध मानिन्थ्यो। यसले गर्दा त्यो राष्ट्रले ठूला वा साना सबै विषयहरूमा निर्णय गर्ने क्षमता गुमाएको छ। आपराधिक क्रियाकलापहरू अपवादमा पर्छन्। मानिसहरू आदेश पर्खेर बसिरहन्छन्।

चीन: चीनको एउटा सिंगो पुस्ता संसारभरि एकलकाटे नागरिक भएर हिँड्न बाध्य भएको छ। माओको शासन अवधिभर र खासगरी महान् छलाङका नाउमा सुरु गरेको सांस्कृतिक क्रान्तिले पूरै १० वर्ष चीनमा थप आतंक मच्चायो। यो पूरै अवधि धेरै विद्धालय बन्द भए। पाठ्यपुस्तक र माओको रातो पुस्तकबाहेक केही पढ्न नपाइने भयो। घरभित्रबाट पुरुष अभिभावकलाई घिसारेर आगनमा ल्याई आफ्नै छोरी र बुहारीमाथि बलात्कार गरेको हुँ भन्ने जस्ता बेइज्जतीपूर्ण कुरा कबोल गर्न लगाइयो र मारियो। माओको मृत्युपछि यसले समाजलाई के दियो भन्ने अध्ययन हुँदा यो बेलासम्मको पूरै पुस्ता अपांगजस्तै बन्यो। यसका असरका बारे पाइप्स साम्यवाद एक इतिहास (१३१) अनुसार 'यसका परिणमहरूमा एउटा पूरै पुस्ताले आफ्नो शिक्षा पाउने अवसर गुमाएको मात्र नभई यसले आफूलाई नैतिक एवं मनोवैज्ञानिक रूपमा पूरै क्षतविक्षत अनुभव गर्‍यो।' यति ठूलो जनसंख्याको देशका जनता भाषाका कारण संसारभरि एक्लो हिँड्न सक्ने अवस्थामा छैन। चीनको समाज यति भ्रष्ट, जुवातासको कुलत तथा वेश्यावृत्तिको उग्र अवस्थामा पुगेको छ प्रत्येक वर्ष यहाँ एक हजारभन्दा बढी यस्ता अपराधीलाई मारिन्छ तर विगतको त्यो विकृत र अपांग समाजमा यी घटना झन्झन् बढिरहेका छन्। करिव ३ करोड ६३ लाख जनताको हत्याको विकृतिको उपज यसरी प्रकट हुँदैछ।
क्युवा: यौन राष्ट्रिय उद्धोग : सन् १९५० मा सुरु भएको क्युवाको कम्युनिस्ट शासन अहिलेसम्म कायम रहनेमध्येको एउटा हो। शासक फिडेल कास्ट्रो सुरुमा सत्ता हत्याउँदा आफैं चाहिँ कम्युनिस्ट थिएनन्। सत्तामा पुगेपछि त्यसलाई टिकाउन उनले शासनको सोभियत मोडल रोजे। कास्ट्रोले शासन थाल्दासम्म यो देश सम्पन्न थियो। साक्षरता र आत्मनिर्भरताको एउटा उदाहरण नै मानिन्थ्यो। तर उनले एकदलीय अधिनायकवाद शासन सुरु गरेपछि विरोधीहरूमध्ये केहीलाई देश छाड्न र केहीलाई श्रम शिविरमा बस्न वाध्य पारियो। देश छाड्नेहरू अधिकांश व्यवसायी थिए जसले उत्पादनमा व्यापक असर पार्‍यो र देश पूरै सोभियत संघमाथि निर्भरमा पर्‍यो। सोभियत संघमा परिवर्तन भएपछि यो देश यति संकटमा पर्‍यो कि आम्दानीका लागि सस्ता विश्रामस्थल र त्यहाँ सुन्दरीहरूको बन्दोबस्त मिलाउन थालियो। त्यसलाई आकर्षण भर्न औपचारिक संख्या राष्ट्रिय सभामा १९९२ मा कास्ट्रोले घोषणा नै गरे-हाम्रो देशमा वेश्यावृत्ति संसारभरिकै राम्रो छ, किनभने यहाँ एड्स संक्रमणको दर विश्वमै सबैभन्दा कम छ। क्युवा “यौनको आनन्द लुट्नका लागि छुट्टी मनाउन जाने ठाउँहरूमध्ये एउटा सबैभन्दा लोकप्रिय स्थल बनाइदियो जुन थाइल्यान्डको हाराहारीमा पुगेको छ-
(सिल्भाना पेटर नोस्ट्रो, दिन्यु रिपब्लिका जुलाई १०-१७, २०००)”
शोभाकरको लोकतन्त्र र समाजवाद नामक पुस्तकमा क्यास्ट्रो आफैं यौनका सौखिन रहेको उल्लेख छ। उनले आफ्नो कम्युनिस्ट दरबारमा ३५ हजार सुन्दरीहरू राखेका थिए। यसरी कम्युनिस्ट अधिनायकवादअघिको त्यस्तो सम्पन्न मुलुकलाई यो व्यवस्थाले कस्तो गतिमा पुर्‍याएछ भन्ने बुझ्न सकिन्छ।
उत्तरकोरिया: मान्छेलाई मेसिन बनाउने कारखाना
६६ वर्ष (१९४९-२०११) कम्युनिस्ट पार्टीका वादमा एउटै परिवारको त्यस्तो पुस्ता शासन गरिरहेको छ। आफ्नो जहानियाँ शासनको ६६ औं वर्ष मनाइरहँदा यता विश्वव्यापी रूपमा सार्वजनिक भएका तथ्यांकले गरिबी र भ्रष्टाचारमा संसारभरिकै एक नम्बरमा रहेको देखायो। यो अवधिमा यो देशमा बाहिरबाट विशेष रूपले बोलाइएका व्यक्तिलाई केही निश्चित ठाउँ घुमाउनुबाहेक कोही पनि एउटा स्वतन्त्र व्यक्ति यहाँ प्रवेश नै पाउँदैन। एउटा नागरिकले विदेश त परै जाओस् आफ्नै देशको अर्को जिल्ला र आफ्नै जिल्लाको अर्को गाउँ जान पाउँदैन। न उसले टीभी हेर्न पाउँछ न अखबार पढ्न नै। कम्युनिस्ट पार्टीले जे पढ र हेर भन्यो त्योबाहेक उसको संसार कतै छैन। भाषा छैन मात्र होइन बाहिरी संसारको मान्छेसमेत देख्न नपाएको एउटा नागरिकले कथंकाल कुनै दिन यो देश त्यो कम्युनिस्ट पार्टीबाट मुख्य भएर खुला समाजमा आयो भने त्यसको हविगत के होला? प्रभाव खोज्दा यसको कल्पनामात्रै गर्न सकिन्छ।
कम्बोडिया दक्षताविहीन देश
यो देश अहिले सबैभन्दा पीडित कुनै पनि क्षेत्रको दक्षता शून्य अवस्थाबाट भएको छ। एउटा राज्यमा हुनुपर्ने डाक्टर, इन्जिनियर, वकिल शिक्षक प्राध्यापकलगायत हरेक क्षेत्र र विषयमा सम्बन्धित विषयको प्रमाणपत्र धारी दक्षता प्राप्त व्यक्तिको आवश्यकता पर्छ। १९७६-१९७९ को अवधिमा कम्युनिस्ट शासक पोलपोटले सर्वप्रथम यही दक्षतालाई समाप्त गर्‍यो। १९७५ मा ७३ लाख जनसंख्या रहेको यो देशमा पोलपोटको समयमा त्यो संख्या घटेर ५८ लाखमा झरेको थियो। जनसंख्या वृद्धिको तह हेर्दा ८० लाख पुग्न पर्दथ्यो। यसरी करिब २० लाखको संख्याका व्यक्तिलाई मुर्दा बनाइयो। यो मानव त्रासदीमा परेका मध्ये यो देशका सबभन्दा सुशिक्षित दक्ष र नभई नहुने व्यवसायी थिए। काममा ढिलो पुगेको, खानेकुरा मीठा नभएको भन्ने गुनासो गरेको र विवाहअघि यौन सम्बन्ध राखेको जस्ता आरोपमा शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर आदिको कत्लेआम गरिदाको परिणाम कस्तो आयो भने यी सबै व्यवसायीहरु पोलपोटपछि सन २०१२ सम्ममा पनि अर्को देशबाट झिकाउन परेको छ। त्यो व्यवसायिकताको आंशिक भएपनि क्षतिपूर्ति हुन अझै केही बर्ष लाग्ने छ।
त्यो नरसंहारबाट बचेको एउटा जीवित नागरिक यो त्रासदीको ३०औं बर्षपनि राति सुत्न सकिरहेको अवस्था छैन। त्यसबेला कतिपय बालबालिकाहरुलाई ठूलो डर, त्रास र पीडा दिएर बालबालिकाहरुलाई आफ्नै बाबु, आमा मार्न लगाइएको थियो। यो पीडित ब्यवस्था त भयो तर त्यससंग उसले व्यक्तिगत रुपमा आत्मग्लानी व्यहोरिरहेको छ। उसकै हातबाट आफ्ना बाबु, आमा मारिएको घटना व्यक्तिगत जीवनमा बाचुन्जेल अपराधको श्रृंखलामा अंकित भइरहने छ।

No comments:

Post a Comment