Friday, May 24, 2013

एक जात, दुई संस्कार

-सानु कान्छा घलान
संसारको धेरै जात र वर्गहरु मध्ये तामाङ मात्र यस्तो जातिय समुदाय हो जस भित्र सदियौं देखी दुई प्रकारको संस्कारको विकास हुन गई उक्त संस्कार जिवन्त रहदै आएको छ । यस जातिय समुदायले दुबै संस्कारलाई आफ्नो धर्म र कर्तव्यको रुपमा लिदै आइरहेको छ । यी संस्कारहरुले गर्दा नै तामाङहरु अरु जात विशेष भन्दा पृथक जातिय समुदायकको रुपमा चिनिदै आएको पाउछौ । तामाङ बाहेकका अन्य जातहरुले हेर्दा यो समुदायलाई एउटै संस्कार भएको जातको रुपमा हेरिने गरिन्छ । यद्यपी यो समुदाय भित्र दुई किसिमको संस्कारहरु जीवन्त रुपमा कयौ बर्ष देखि चल्दै आईरहेको छ । तामाङ समुदाय अन्य समुदाय भन्दा संस्कार र संस्कृतीको हिसावले धनी समुदाय हो । आफ्नै भाषा, धर्म, संस्कृती संस्कार र विधि विधानलाई जीवन्त राखेको हुनाले तामाङ समुदाय संसारको कयौ जातहरु मध्ये एक पृथक जातकोरुपमा स्थापित छन् । धेरै संकट र समस्याहरुको विचमा पनि आफुलाई र आफ्नो समुदायलाई जीवित स्थान दिन सफल यो समुदायमा भने थुप्रै दुविधा पूर्ण परम्पराहरुले ठाउँ ओगटेर बसेको पाईन्छ । फलस्वरुप कता कता हाल आएर तामाङ समुदायमा अलमल्लको स्थिति देखा पर्दै जान थालेको महसुुस भएको पाउँछौ । धेरै खोज अनुसन्धान हुन बाँकी रहेको यो समुदायको जीवन शैलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्दै आएको मृत्यु संस्कारमा गरिने दुई प्रकारको परम्परालाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।
माथि स्थान दिन खोजिएको दुई संस्कारका कुराहरुलाई सन्दर्भको रुपमा जोडेर हेर्दा त्यो बोन(झाक्री) धर्ममा आधारीत संस्कृती र लामा(बौद्ध) धर्ममा आधारीत संस्कृती नै हो । अन्य समुदायद्धारा हेरिदा यो संस्कार र विधि एकै र एउटै संस्कारको रुपमा देखिए पनि यो एकअलग र अत्यन्तै फरक संस्कारका स्वरुपहरु हुन । दुबै संस्कार र परम्पराहरुमा बिपरीत मान्यता र एक आपसमा बाझिने थुप्रै विधि र नियमहरु छन् ,जसले गर्दा हाल आएर नयाँ पुस्ताका जानकारहरु भ्रमित हुदै गईरहेको अवस्था छ । यो युग शिक्षा र प्रविधिको युग हो । यस कारण पनि नयाँ पीढीहरुको बढी चासो र खोज विनको व्यापकताले गर्दा हालै आएर यो एक छलफलको विषय बनेको हुन सक्छ । यो विवादित विषय कालन्तर देखि चल्दै आएको भए पनि हाल आएर मात्र चर्चाको विषय बन्नुमा मानिसहरुमा आएको जनचेतना नै हो, भन्न सकिन्छ ।
कसरी आश्रय पाउन गयो त दुई दुई वटा संस्कारका विधि र विधानहरु एकै जात भित्र ? यो प्रश्नले प्रमुखता पाउँने छन् यस छलफलका  दई चार वाक्यांश भित्र । हुन त यी बोन(झाक्री) वाद र लामा(बौद्ध) वाद, बिच एक अर्का प्रति कुनै समानताको सिद्धान्त नभए पनि सम्मान पूर्वक हेर्ने र लिने गरेको पाईन्छ ।  दुबै पक्ष एक आपसमा को जेठो र को कान्छो भन्ने कुरामा भने सहमत भएको मेरो भोगाईमा पाएको छैन । तैपनि हाल देखिएको विवादित विषयले अलिकता शितलता पाओस भन्ने नै खास उदेश्य रहेको हुँदा, यस तामाङ समुदाय भित्र रहेको विद्यमान दुई बोन (झाँक्री) र लामा(बौद्ध) संस्कारले हाल उठाएको प्रश्न भनेको ‘तामाङ समुदाय बुद्धीष्ट भए पछि कसरी काट मार वा प्राणी हत्यामा सहभागी हुन मिल्छ ?’ अथवा ‘यो प्राणी हत्या गर्नु र सहभागी हुनु तामाङ संस्कार र धर्मको विपरीत एवं विरुद्धमा छ ।’ एक पक्षले भन्छ भने अर्काे पक्षले राख्दै आएको तर्क यस्तो छ ।‘ तामाङ समुदाय भित्र सयौं बर्ष देखि चल्दै आएको विवाह, समारोह, चाड, पर्वहरुमा गरिने पशु बलि, उपहार आदान प्रदानका वस्तुहरु कसरी हाम्रा संस्कारका कुरितीहरु भित्र पर्छ ?’ विषेश गरी विवाहमा चार दाम (विषेश सगुन)को अवसरमा कुखुराको भाले र सगुनको रुपमा रक्सी अनिवार्य लाने चलन प्रति प्रश्न उठने गरेको पाइन्छ ।(हालको यो मध्यपान र यस बाट हुन जाने विभिन्न घटनाहरु साथै बढी खर्चालु किसिमको विहेवारीको कुरा मैले राख्न खोजेको होइन ।) यद्यपी यी प्रश्नहरु कहाँ बाट र कसरी उत्पन्न भए भन्ने नै विषयगत समस्याको समाधान हुनसक्छ । त्यस विषयलाई समाधानार्थ तामाङहरुको इतिहास सँग जोडिएका तथ्यहरुले सहयोग पुग्छ भन्ने यो पंक्तीकारलाई लागेको छ ।
तामाङहरु कालन्तरमा बौद्ध धर्ममा आस्था राख्ने वा आधारीत समुदाय होइनन् । उनीहरु वोन धर्म र संस्कारमा विश्वास राख्दथे । जन्म र मृत्यु मानव जीवन सँग सम्बन्धीत भएको हुँदा यसलाई व्यवस्थित बनाउनका निमित्त वोनहरुद्धारा विषेश विधि र नियमहरु निमार्ण गरिएका हुन्थे । मानिसको जन्म हुँदा, वयस्क हुँदा, विवाह हुँदा, विरामी पर्दा र मृत्यु हुँदा गर्नु पर्ने सम्पूर्ण कार्यहरु वोनहरुले नै गर्दथे । यी सबै कार्य वोनहरुले सम्पन्न गर्ने हुँदा हुँदै पछि लामा(बौद्ध) संस्कारका परम्परा र विधि तामाङ समुदायमा कसरी प्रवेश भयो त ? यो विषयले स्थान पाउनु भन्दा पहिले यसै सँग सम्बन्धीत एउटा रोचक कथा यहाँ प्रस्तुत गरिन्छ ।
वोनहरुका प्रमुख गुरु नरुवोन नै वोन धर्मका प्रवर्तक थिए । जीवन पर्यन्त सबै कार्य वोनहरुले नै गर्ने हुँदा मृत्यु संस्कारका क्रियाकार्यहरु पनि वोनहरुले नै सम्पन्न गर्दथे । क्रिया कर्म गर्ने क्रममा तन्त्र विधिको प्रयोग द्धारा मृतक आत्मलाई केहि समयका लागि जीवित बनाएर सम्पूर्ण आफन्त र शुभ चिन्तकलाई समवेदना र अन्तिम खानपिन एवं वोलचालका लागि मृत्यु शैयाबाट उठाएर राखिन्थ्यो । फलस्वरुप मृत्यु भएको व्यक्तीले अन्तीम पटक सम्पूर्ण आफ्ना आफन्त, शुभ चिन्तकहरु सँग बोलचाल र भेटघाट गर्ने मौका पाउँथ्यो । यसै क्रममा एक दिन नरुवोन लगायत वोनहरु एक जना मृतकको घरमा यस्तै किसिमको काज क्रियाका कार्य सम्पन्न गर्दै  थिए । लामा गुरु रिम्पोर्छे पनि त्यही बाटो भएर कतै जाँदै रहेछन् । उनले मानिस मरेको घरमा यो क्रिया कार्य गरेको देखे । उनलाई अचम्म लागे छ, मरेको मान्छे र जीवीत मान्छे छुटटयाउनै गा¥हो परे छ, कस्को क्रिया गरेको हो भनेर एक जना सँग सोध पुछ  गर्नु परे छ । मृत्यू भएको भन्ने मान्छे जीवित मान्छे जस्तै खाना खाने, बोल्ने, हाँस्ने गरिरहेको देखे पछि लामा गुरु रिम्बोर्छेलाई अनौठो लागे छ । यस्तो पनि काहि हुन्छ ? यो त प्रकृतिको नियम विपरीत भयो । यसो हुनु भनेको सृष्टिको विधानको विरुद्धमा छ । त्यसैले यो हुनु हुदैन । मनमनै यो निर्णय लिए पछि उनले आफ्नो तन्त्र शक्ती द्धारा उक्त मृतकलाई पुन मृतककै रुपमा बनाइ दिएर त्यहाँ बाट हिडे छन् । जव यो घटना भयो त्यहाँ खैला बैला मच्चीए । किन की मृतकले न बोले न खाए न त अरु कुनै कार्य नै गरे । यस्तो अचम्म भए पछि नरुवोन स्वयंले ध्यान दृष्टी गरी तान्त्रिक शक्तिको प्रयोगद्धारा हेर्दा गुरु रिम्र्पाेछे यो कार्य गरि त्यहाँबाट हिडीसकेको थाहा पाए । तत्पश्चात उनले रिम्र्पाेछेलाई तुरुन्त फर्काएर ल्याउन आदेश दिए र आदेश बमोजिम तुरुन्त फिर्ता हाजिर गराए । अनि त्यहाँ दुबै विच धेरै मानव जीवनको बारे वात विवाद चल्यो । जीवन र मृत्युको बारेमा धेरै छलफल पनि चल्यो तर निष्कर्षमा भने पुगेन । अन्तत हिमालयको चुचुरोमा जो पहिले पुग्छ उसैको जीत हुने र उसको नियम यो संसारमा लागुहुने कुरामा सहमती भयो । दुबै हिमालयका यात्रमा निस्के । नरुवोन सँग कुनै कुरामा जित्न नसक्ने भए पछि यो सर्त गुरु रिम्र्पाेछेले नै राखेका थिए तर हिमालयमा तपस्या गरि बस्ने नरुवोन सँग फेरी हार्ने निश्चीत थियो । जब हिमालयको अन्तीम विन्दूमा नरुवोन पुग्नै आँटे तब आफ्नो अस्तित्व समाप्त हुने भए पछि गुरु रिम्र्पाेछेले षडयन्त्र पूर्वक बल प्रयोग गरि आफ्नो प्रतिस्पर्धीलाई सिस्नुको झाङमा धकेली लडाइ दिएर आफु शिखरमा पुग्न सफल भए । भनिन्छ, यस कारण झाँक्रीहरुले सिस्नु कहिल्यै खाँदैनन् ।
यसरी षडयन्त्र पूर्वक जितेको जितलाई नरुवोनले स्वीकार्ने कुरै थिएन । पुन विवाद सुरु भयो । धेरै विवाद भए पछि दुबै फेरी एउटा सम्झौता गर्न पुगे, जुन अन्तिम समझौता नै थियो ।  त्यो समझौताले दुबैको जिम्वेवारी यसरी छुटटयाई दिएको थियो, जव मानिस जन्मिन्छ, ठुलो हुन्छ, विवाह हुन्छ, विरामी पर्छ, अनि मृत्यु वरण गर्छ यस मृत्यु भइसकेको अबस्था वाहेकका सम्पूर्ण अवस्थाको जिम्वेवारी वोनहरुले लिने भए, जसको परिणाम स्वरुप विरामी पर्दा हालसम्म झाँक्री लाउने र अन्य कार्यहरुमा पनि झाँक्री प्रयोग छ दै छ भने मानव शरिर मरी सकेपछिको जिम्वेवारी लामा गुरु रिम्र्पोछेले लिने भए फल स्वरुप जिवित मान्छेलाई लामा लगाउने चलन तामाङ समुदायमा छैन ।
यसरी दुई प्रकारको संस्कृतीको सुत्रपात तामाङ समुदायमा भयो र हाल सम्म यो चल्दै आईरहेको हो भन्ने चलन छ । नभए एउटै संस्कार र संस्कृती हुने थियो र हालको यो स्थितीहुने थिएन भन्ने कथन तामाङ समाजमा छदै छ । केही लामा गुरुहरुले यो कुरा मान्न तयार छैनन् । उहाँहरु तामाङहरु जन्म जात बौद्धमार्गीहुन भन्छन् । यदी यो तर्क ठिक हो भने तामाङहरुको विचमा वोन(झाँक्रीवाद), कुल देवता मान्ने परम्परा, देवालीहरुमा गरिने क्रीया कर्म, त्यती बेला बोलिने भाषा आदीकुराले कसरी प्रशय पायो त ? तामाङहरुको भाषा किन एकै प्रकारको भयो? थुप्रै सवाल यहाँ खडा हुन आउँछ , र यी प्रश्नहरुको जवाफ दिनु पर्ने हुन्छ । यदी बौद्ध धर्म र यसको विकास क्रममा तामाङ जातिलाई जोडेर अध्ययन गर्ने एक तर्फीे खोज हुन सक्छ तसर्थ सीताराम तामाङहरुको अनुुुसन्धानलाई अधुरो मान्ने मेरो उदेश्य नभए पनि तामाङ समुदायमा व्याप्त झाक्रीवादको अध्ययन अनुसन्धानको सुक्ष्म विश्लेषणको आवश्यकता भएको यो पंक्तीकारको आशय रहेको छ । तामाङ समुदाय ताम्बा बाट वोन र वोनबाट बौद्ध धर्ममा विश्वास राख्दै आएको कुरा परशुराम तामाङद्धारा लिखित पुस्तक ‘ताम्बा कइतेन’ मा उल्लेख छ ।
यसरी वोन(झाक्री) धर्ममा आधारीत संस्कृती र लामा(बौद्ध) धर्ममा आधारीत संस्कृती दुवै संस्कारको समिश्रणको मिश्रीत संस्कृतीनै हाल तामाङ समुदायको संस्कृती हो भन्ने गरिएको पाइन्छ । दुवैले दुवैको संस्कार नछोडे पछि को एउटा उदाहरणको रुपमा कुनै ताम्बा वा झाँक्रीको मृत्यु पश्चात गरिने वोन(झाक्री) धर्ममा आधारीत संस्कृती र लामा(बौद्ध) धर्ममा आधारीत संस्कृती दुवै थरीले गर्ने विधिलाई लिन सकिन्छ । तथापी विभिन्न तामाङ विद्धानहरुद्धारा लिखित पुस्तकहरुको अध्ययन गर्दा भने यस समुदायको संस्कार र संस्कृतीको अझै धेरै अनुसन्धान हुन बाँकी नै छ । लामा(बौद्ध) धर्ममा आधारीत संस्कृती भित्र पनि आज भोली अहिंसावादी र हिंसा नगरे पनि माछा मासु खाने दुई खेमा देखा परिसकेको अवस्था छ । मेरो अध्ययन र संकलनहरुमा अनुभवको कुरा गर्नु पर्दा यो संसार डार्विनको सिद्धान्तमा आधार राख्दछ । जो अलिकता जान्ने सुन्ने हुन्छ उसैको भजन यो संसारमा गाउन थाल्छ । यो मानव स्वभाव या गुण जे भने पनि हो । हाम्रो संस्कारले दिएको कुरा र धर्मले सिकाएको कुरा अलग भएको कारणले हामीले गर्न मिल्ने कुराको पहिचान यही हो भनेर कुनै तामाङ विद्धानले किटान गर्न नसकेको हो यसमा दुई मत छैन । विना अध्ययन खोजको आफ्नै तथ्य हिन तर्कमा भ्रमित पार्नेकाम कसै बाट नहोस । हाललाई यही हो भन्ने नभए पनि तुरुन्तै हाम्रो संस्कार प्रति नराम्रो टिप्पणी गर्ने ठाउँ पनि त छैन । त्यसैले अध्ययन अनुसन्धान सवै पक्षबाट भए देखि जातिय संरक्षण र विकासमा सहयोग पुग्ने थियो ।

No comments:

Post a Comment