Friday, May 17, 2013

हाकिमलाई मोजमस्ती: सिपाहीलाई छैन बास!


काठमाडौं। सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्त नामको अगाडि इन्जीनीयर लेख्न रुचाउँछन्। त्यसैले उनलाई फोर्समा प्राविधिक आइजीपीको संज्ञा दिन थालिएको छ। तिनै प्राविधिक आइजीपी वन्तले नयाँ बर्षको अघिल्लो दिन २०६९ चैत २९ गते राति सशस्त्र प्रहरी बलमा एसएसपीदेखिका हाकिमहरूका लागि लाखौं रुपैयाँको भव्य कक्टेल पार्टी आयोजना गरे। तर उपत्यका गण सिनामंगल, संविधानसभा सचिवालयको सुरक्षार्थ खटिने सशस्त्र प्रहरी बलका सिपाहीहरूले सुत्ने स्थान र शौचालय समेत नपाएको कुरामा कसको ध्यान जाने? उपत्यका गणका एक सशस्त्र अधिकारीले भने–’सिनामंगलमा तीनचार बर्षदेखि सिपाहीले सुत्ने पालसमेत नभएको अवस्था बेहोर्दै सिपाही दिनरात रोएर काटिरहेका छन्। नयाँबानेश्वरमा सशस्त्र प्रहरीका जवान त थोत्रो ट्रलीबसभित्र सुतेको दृश्य त्यहाँ जाने जोकोहीले देख्न सक्छ। मानवका लागि अति आवश्यक शौचालयको प्रबन्ध समेत सिपाहीलाई छैन। तर हलचोकका हाकिमहरूले हातमा ह्वीस्कीको बोतल, बँदेलको मासु सहित नयाँ बर्ष मनाइरहँदा सशस्त्रका ती पीडित सिपाहीहरू खाने, बस्ने र शौचालयको प्रबन्ध नहुँदा विवेकको बिर्को कहिले खुल्ला भन्ने प्रश्न गर्दैछन्। सशस्त्र प्रहरीका सिपाहीहरूले राजधानीमै यति बिघ्न कष्टकर जीवनयापन गरिरहेको कुरा तर्फ प्राविधिक आइजीपीको ध्यान किन जान नसकेको होला? एयरपोर्टमा गण स्थापना भएदेखि सिपाहीहरूले यस्तै भुक्तमान ब्यहोर्दै आएका छन्।


सशस्त्रमा विनियोजित बजेट भन्दा कयौं गुणा बढी रकम अर्थमन्त्रालयबाट थप निकासा हुने र त्यो बजेटको आधा हिस्सा भन्दा बढी भ्रष्टाचार हुने गरेको हेडक्वार्टरभित्रैबाट खुल्न थालेको छ। अर्थमन्त्रालयका उच्च अधिकारीलाई पनि प्रभावमा पारी सशस्त्रले सुरक्षा सुदृढीकरणका लागि भनेर ल्याएको बजेट बोर्डर आउटपोष्ट (बीओपी) र बेसहरूमा गाडीभाडा र तेलका नाममा खर्च भएको देखाएर हाकिमहरूले करोडौं रुपैयाँ भ्रष्टाचार गर्दै आएका छन्। तर काठमाडौं उपत्यकाभित्रैै सिपाहीहरूले खान, सुत्न र मलमूत्र त्याग्न समेत नपाएको अवस्था छ भने ती बीओपी र बेसमा कार्यरत सशस्त्रका प्रहरी कसरी बसेका होलान् भन्ने प्रश्न पनि ज्वलन्त छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, उपत्यका गणका सिपाहीमात्र होइन, सशस्त्र प्रहरी बेस खुमलटारमा कार्यरत सशस्त्र प्रहरीको हालत पनि उस्तै दुरावस्था रहेको ती अधिकारीले बताए। उनले भने–सशस्त्रका हाकिमका घरमा सशस्त्रका ट्यांकरले पानी पुर्‍याएर छेलोखेलो हुन्छ, तर सिपाहीले खानेपानी समेत नपाइरहेको अवस्था छ। ६–७ बर्षदेखि सिपाहीहरू कष्टकर ढंगले जीवन बिताइरहेका छन्। बस्न, खान, सुत्न, शौचालयको न्यूनतम आधारभूत ब्यवस्था समेत नपाएर सिपाहीहरू पशुतुल्य जीवन बाँचिरहँदासुरक्षा सुदृढीकरणका लागि लगेको बजेट कहाँ खर्च गरिन्छ? यसको अनुगमन गृहमन्त्री माधव घिमिरेदेखि गृहसचिव नवीन घिमिरे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्छ। २०६५ देखि विनियोजित बजेट भन्दा बाहेक सुरक्षा सुदृढीकरणको नाममा सशस्त्रमा गएको बजेटमा ठूलो भ्रष्टाचार भएको छ। महालेखा परीक्षक कार्यालयका कर्मचारीलाई समेत मिलाएर अनियमितता गरिएको आरोप छ।
तस्करीमा सशस्त्र प्रहरीकै मिलेमतो
बीरगंजमा सशस्त्र प्रहरी बलकै मिलेमतोमा तस्करी भएको छताछुल्ल भएपछि भ्रष्टाचारविरुद्ध सून्य सहनशीलताको दुहाई दिने आइजीपी वन्तमाथि अर्को प्रश्न खडा भएको छ। जीरो टोलरेन्सको नारा लगाउँदै सीमा सुरक्षा कार्यालयका एसपीहरूलाई दस्तुरी तोक्नाले बीरगंजमा एक करोड रुपैयाँ बराबरको भन्सार नै नतिरी भित्र्याएको कपडा नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। बीरगंज भन्सारमा रहेको सशस्त्रको चेकिङ स्थानबाट पार भइसकेको उक्त ट्रक नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि राजस्व र भन्सारको जिम्मा लिएको सशस्त्र प्रहरीमा कति हदसम्म अनियमितता हुँदोरहेछ भन्ने खुलासा भएको छ। सीमा सुरक्षा कार्यालयका हाकिमहरू एसएसपी बढुवा हुनका लागि पैसा खर्च गर्नुपर्ने भएकाले तस्करहरूबाट मोटो रकम असुल्दै खुलेआम तस्करी गर्न दिइरहेका छन् भन्ने कुरा बीरगंजमा सशस्त्र प्रहरी चेकजाँज गरेर छोडेको कपडा पक्राउ परेपछि खुलासा भएको सशस्त्र प्रहरी स्रोत बताउँछ। स्रोतले भन्यो, जसले बढी बुझाउँछ उही एसपीबाट एसएसपीमा बढुवा हुने भएपछि तस्करी नभए के हुन्छ? सीमा सुरक्षा कार्यालय पर्साका एसपी नगेन्द्र थापा पनि एसएसपी बढुवा हुनकै लागि नगद संकलनको अभियानमा लागेकाले तस्करी लाइन खुला गरेको आरोप भंसारका एक कर्मचारीले बताए। पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठको कार्यकालमा बीरगंज भन्सारमा सिपाहीले पाँच रुपैयाँ लिएको एक टेलिभिजनले प्रशारण गर्दा पूरै टोली नैै परिवर्तन भएको थियो। तर २०७० बैशाख ११ गते भन्सार नतिरी भित्र्याएका करोडौं रुपैयाँको कपडा पक्राउ भएको सार्वजनिक भइसक्दा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षाका हाकिमहरूमाथि कारबाही गरेको जानकारी दिएको छैन।
बीरगंजमा भन्सार छलेर ल्याइएको १ करोड मूल्यबराबरको एक ट्रक कपडा सशस्त्र प्रहरी बलको चेकिङ पार गरेपछि नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीकै सेटिङमा तस्करी हुँदोरहेछ भन्ने कुरा नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको घटनाबाट पुष्टी भएको छ। वीरगन्ज भन्सार कार्यालय र राजस्व र भन्सारको जिम्मा लिएको सशस्त्रको चेकिङ भन्दा पचास मिटर पार गरिसकेपछि नेपाल प्रहरीले कपडासहितको उक्त ट्रक नियन्त्रणमा लिएको जनाइएको छ। वीरगन्ज भन्सार कार्यालयमा राजस्व नै नतिरी जाँचपास गरिएको कपडा बोकेको ट्रक नियन्त्रणमा लिएपछि सशस्त्र र भन्सारका कर्मचारीको मिलेमतोमा खुलेआम तस्करी हुँदोरहेछ भन्ने खुलासा भएको छ। ना ३ ख ४५३९ नम्बरको उक्त ट्रक वीरगन्जमा भन्सारबाट पास हुनेवित्तिकै नेपाल प्रहरीले पक्राउ गरेको हो। राजस्वका लागि बाइससय दरबन्दी स्वीकृत गरिसकेको सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालय र बोर्डरआउटपोष्टहरू तस्करका सहजकर्ता भएका छन्। स्रोतका अनुसार, बीरगंजमा नेपाल प्रहरीले ट्रक नियन्त्रणमा लिन लागेको बेला सशस्त्रको चेकपोष्टका प्रहरीहरू सो ट्रकलाई ‘छिटो जा’ भनिरहेको दृश्य समेत देखिएको थियो।

No comments:

Post a Comment