Thursday, May 9, 2013

सशस्त्र प्रहरी महानिरीक्षक वन्तबाट शुभकामना तथा निर्देशन सम्बोधन


काठमाडौं, चैत्र ३० :  सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आसन्न सम्बिधान सभाको निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन ध्यान केन्द्रीत गर्नको लागि सम्पूर्ण एपीएफ इकाईहरुलाई निर्देशन दिनुभएको छ । 
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले नयाँ वर्षको अवसरमा मातहत अधिकृत तथा जवानहरुलाई शुभकामना दिने क्रममा सवैमा व्यक्तिगत, पारिवारिक एवं पेशागत तवरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको कामना गर्नुहुँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रप्रतिको कर्तव्यमा कृयाशिल रहँदा जस्तोसुकै चुनौतीलाई पनि सामना गर्न सफल हुने बताउनुभयो । 
वर्ष दिनमा एपीएफबाट भएका प्रमुख कामकारवाहीबारे संक्षिप्त जानकारी गराउँदै आगामी दिनमा बलको कार्यदिशातर्फ मातहतलाई निर्देशित समेत गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट गर्नुभएको सम्बोधनलाई इन्ट्रानेटको माध्यमबाट मातहत इकाईमा श्रव्यदृश्य रुपमा तथा सशस्त्र प्रहरी संचारबाट मातहत सम्पूर्ण इकाईमा प्रत्यक्ष प्रशारण गरिएको थियो । हालैमात्र सशस्त्र प्रहरी बलमा प्रवेश गरेको यस प्रविधिमार्फत सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट प्रत्यक्ष रुपमा सम्बोधान गर्ने कार्य यसै वर्षबाट थालनी गरिएको छ । 
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सम्बोधनको क्रममा सशस्त्र प्रहरी बलको तैनाथी नरहेको जिल्ला र स्थानहरुमा समेत निर्वाचनको वेलामा पचहत्तरै जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा परिचालित भई सशस्त्र प्रहरी बलले आफ्नोतर्फबाट शान्ति सुरक्षार्थ विशिष्ट योगदान पुर्‍याउने बताउनुभयो ।
विगतको सम्बिधान सभा निर्वाचनमा बलले निर्वाह गरेको प्रभावकारी भूमिकाको स्मरण गराउँदै निर्वाचनमा योगदान पुर्‍याउन मानसिक एवं शारीरिक रुपमा तयार रहन निर्देशन दिनुहुँदै उहाँले भन्नुभयो-‘निर्वाचन कार्यमा सम्बद्ध रहने सवै निकायसँग राम्रो समन्वय कायम गर्दै पेशागत जिम्मेवारी निर्वाह गर्नुहोला ।’
देशका विभिन्न भागमा रहेका एपीएफ इकाईको भ्रमण गरी आफुले त्यहाँको वास्तविकता बुझेको तथा सिमित श्रोतसाधनको बावजुद सशस्त्र प्रहरी बलले अधिकतम उपलब्धीमूलक कार्य गरेको पाइएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भन्नुभयो-‘जुन विश्वासका साथ संगठनले जिम्मेवारी प्राप्त गरेको छ, त्यसमा सशस्त्र प्रहरी बलले पेशागत निपूर्णताका साथ योगदान पुर्‍याएको छ ।’ उहाँले सम्पूर्ण एपीएफ अधिकृत तथा जवानहरुले आफ्नो तैनाथीको क्षेत्रमा अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भएर गरेको कार्यले संगठनप्रति जनविश्वास अभिबृद्धि भएको कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भन्नुभयो-‘हामीले जनताको विश्वास प्राप्त गरीरहन हामी सधैं निजी स्वार्थभन्दा माथि उठेर देश सेवाको भावनाले ओतप्रोत हुनै पर्दछ, अनि जनताको नजिकको सहयोगी हौ भन्ने भावनाका साथ नरम र शिष्ट बोली व्यवहारले नागरिकमा सशस्त्र प्रहरी सेवा पुर्‍याउनु पर्दछ ।’
उहाँले सशस्त्र प्रहरी बलले पेशागत जिम्मेवारी निर्वाहमा विशिष्ट योगदान पुर्‍याउनुको साथै संगठनले आफ्नो राष्ट्रसेवकको हित कल्याणमा समेत ध्यान पुर्‍याएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्र मार्फत विभिन्न कल्याणकारी नविन योजनाहरु समेत कार्यान्वयन भइरहेको तथा नेपाल एपीएफ स्कुल र अस्पताललाई विस्तार गर्ने कार्य भइरहेको, नियुक्ती तथा सरुवा बढुवा सम्बन्धी सामान्य सिद्धान्त, तीन वर्षे रणनीतिक योजना र दीर्घकालिन योजना अन्तर्गत १० वर्षे पुनर्संरचना तथा बृत्ति विकास योजना निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी समेत गराउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानलाई सुविधा सम्पन्न भौतिक पूर्वाधारको रुपमा विकास गर्ने प्रयास भइरहेको, उपत्यकामा महानगरीय सशस्त्र प्रहरी कार्यालय स्थापना भएको, संगठनले औद्योगिक सुरक्षाको जिम्मेवारी प्राप्त गरेको, बलमा थप दुईवटा निर्देशनालय स्थापना भएको, विपत्ती पीडित नागरिकको उद्धार कार्यको लागि क्षेत्रीयस्तरमा तालिम प्राप्त दक्ष जनशक्ति तैनाथी कार्य पुरा भएको लगाएतका वर्ष दिनमा भएगरेका महत्वपूर्ण कामकारवाहीबारे छोटकरीमा जानकारी समेत गराउनुभयो । 


No comments:

Post a Comment