Friday, May 17, 2013

थबाङलाई प्रचण्डले पनि धोका दिए

-सन्तोषकुमार बुढा मगर
 यो सत्य हो कि अब थबाङमा प्रचण्डको बास कहिल्यै हुने छैन । गत कात्तिक २१ को कान्तिपुरमा प्रकाशित 'प्रचण्डलाई थबाङमा बास छैन' भन्ने समाचार यसैको अभिव्यक्ति हो र त्यसको भोलिपल्टै निस्केको कान्तिपुरमा 'हामीलाई हिंसा होइन, विकास चाहिएको छ' भन्ने समाचारले माओवादी नेतृत्वमा आएको विचलन र यसले निम्त्याउने भयंकर हिंसालाई इंगित गरेको छ । यी कुरा प्रचण्ड कमरेडहरूले आत्मसमर्पण गरी जनतालाई महाधोका दिएपछि निस्केको जनताको आक्रोश र अपेक्षापूर्ण अभिव्यक्ति हुन् ।
यो स्वाभाविक हो कि थबाङ र थबाङजस्ता थुप्रै पीडित गाउँहरूको अपेक्षा शान्ति र परिवर्तन हो । शान्ति र विकास परिवर्तनकै परिणाम हुन् । तर अहिले शान्ति र परिवर्तनको सुनिश्चितता नहुँदै शान्तिको नाममा आत्मसमर्पण गरियो । थबाङको चाहना परिवर्तन हो । अहिले पनि थबाङको मूल प्रवृत्ति क्रान्तिकारी छ । थबाङ विकास विरोधी होइन । खराब र अन्याय-अत्याचारका विरुद्ध अग्रपंक्तिमा खडा हुने गाउँ
हो । आन्दोलनको केन्द्रमा अवसरवाद हुँदैन भन्ने कुरा पनि सत्य होइन । अवसरवाद थबाङमा हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ । जनता सधैं ठीक र सही ठाउँमा हुन्छन्, तर नेता र कार्यकर्तामा नै अवसरवाद पलाउँछ । नेता र कार्यकर्ता सही ठाउँमा भए जनता सधैं ठीक ठाउँमा रहन्छन् । समग्रमा हेर्दा थबाङका जनता ठीक ठाउँमा छन् । यो कुरा सही हो कि थबाङ्गी जनता दासता र आत्मसमर्पण स्वीकार गर्दैनन् । आत्मसमर्पण र राष्ट्रघातको पक्षमा उभिन तयार छैनन् । कोही एकाधले यसलाई सही भन्न पनि सक्लान् । यो धानको बीचमा साँवाजस्तै हो ।
थबाङमा मगर र दलितहरूमात्र बसोबास गर्छन् । थबाङको राजनीतिक इतिहास क्रान्तिकारी र चाखलाग्दो छ । त्यसैले त धेरैले थबाङबारे चासो राख्छन्, लेख्छन् । २००७ पछिको घटनाक्रमहरूलाई मात्र हेर्दा, २०१५ सालको संसदीय निर्वाचनमा थबाङका जनताले पूरै भोट कम्युनिष्टलाई दिए । थबाङले कम्युनिष्ट गाउँको उपमा भिर्‍यो । २०३७ सालको जनमत संग्रहमा पूरै मत बहुदलमा दियो । बहुदले गाउँको उपमा पायो । त्यसै सालको अन्तिमतिर रोल्पा जिल्ला पञ्चायतको दाङ-घोराहीदेखि सदरमुकाम लिबाङ जोड्ने भनी जारी १०/१० दिने श्रमदान गर्ने उर्दी  बहिस्कार गरे । विकास विरोधी उपमा भिरे । २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावको पूर्ण बहिस्कार गरे, उग्रवादी गाउँको उपमा पायो । यसैको प्रतिशोधमा सोही कात्तिक ५ गते ठूलो सैन्य अप्रेसन गरियो । सयौंले प्रहरी, सेनाको यातना भोगे । म समेतका २४/२५ जनालाई राज्यविप्लव मुद्दामा फँसाइयो । दर्जनले ३० महिना जेल-सजाय भोगे । अरु भूमिगत हुन बाध्य भए । २०४० सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ हेलिकप्टरबाट थबाङ उत्रे । थबाङले विकासको माग गर्‍यो । २०४५ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्य अचानक थबाङ ओर्लिए । राजा वीरेन्द्रसँग पनि सोही माग दोहोर्‍याइयो । सुलीचौरदेखि थबाङसम्मको मोटर बाटो र शैक्षिक विकास । राजाले पनि मरिचमानले जस्तै यो माग तुरुन्त पूरा हुने आश्वासन दिए ।

२०४६ सालमा पञ्चायत गयो । बहुदल आयो । सबैले परिवर्तनको आशा गरे । थबाङले पनि आशा गर्‍यो । तर परिवर्तन कहिल्यै पाएन । अहिले पनि दुई दिन पैदल हिँंडेर थबाङ पुग्नुपर्छ । २०४८ साल आयो, संसदको चुनाव भयो । थबाङले खिर्लिप्प कृष्णबहादुर महरालाई मत दियो । २०५२ सालमा जनयुद्ध सुरु भयो । जनता पूरै दिलोज्यानले लागे जनयुद्धमा । जनयुद्ध कालभरि थबाङले १३ पटक सेनाको अप्रेसन भोग्यो । ३३ जनाले सहादत गरे । निर्दोष लली रोकाहरू प्रहरीका सिकार बने । गाउँ जले, सम्पत्ति लुटिए, धनजनको क्षति भयो । जनयुद्धकालमा थबाङको पोष्टहरूको मेसमा महिनौंसम्म कहिल्यै आगो निभेन । एक महिनामा पोष्टमा खाना खानेहरूको हाजिरी २० हजार पुगेको थियो । घरहरू सबै सेल्टर बने । जनताले आफ्ना घरहरू पूरै माओवादीलाई छाडिदिए । सेना अप्रेसनमा आउँदा पूरै गाउँ जङ्गल पस्थ्यो । महिलाहरू जङ्गलमै बच्चा जन्माउँथे । एक पटकको अप्रेसनमा एकैपटक चार जनाले बच्चा जन्माए । तैपनि थबाङ्गी जनता भोक, प्यास र दुःख-कष्टको कुनै पर्बाह नगरी क्रान्तिको आशामा अविराम जनयुद्धमा लागिरहे । उनीहरूको एकमात्र आशा क्रान्ति थियो । त्याग र बलिदानको मूल्य प्राप्त गर्ने आशामा थिए, उनीहरू । सत्ताको थबाङमाथिको उपेक्षा हट्नेछ र अबका नेताहरूले टेढो आँखाले हेर्नेछैनन् भन्ने धेरैले आशा गरेका थिए । २०६२/६३ को आन्दोलनले संविधानसभाको सुनिश्चितता गर्‍यो । संविधानसभाको चुनाव भयो । प्रचण्डलाई एकछापे मत दिए ।

संविधानसभाले नेकपा (माओवादी) लाई सबभन्दा ठूलो पार्टी बनायो । जनताको यो अभिमत र समर्थनले राजतन्त्रको अन्त्य भयो । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पनि बने- क. प्रचण्ड । तर प्रचण्डले फर्केर पनि हेरेनन् । थबाङ फेरि पनि उपेक्षाको सिकार बन्यो । विकास र परिवर्तनको आशा धरापमा पर्‍यो । अन्ततः जनयुद्धको अन्त्यको घोषणा गरियो । जनमुक्तिका लागि गठित युएनले प्रमाणीकरण गरेका १९,६०४ जना जनमुक्ति सेनाको निर्मममतापूर्वक विघटन गरे । रगतसित साटेका हतियारहरू दुश्मनलाई बुझाइदिए । जनताको एकमात्र अपेक्षा संविधानसभा पनि जनताको संविधान नबनाई विघटन गरे । यतिमात्र होइन, सत्तामा पुगेपछि आफ्नो वर्ग र सहकर्मी, सहयोद्धाहरूप्रति घात गरे । कांग्रेस, एमालेले समेत गर्न नसकेको आत्मसमर्पणवादी सन्धि-सम्झौताहरू गरे । जनविरोधी, राष्ट्रघाती प्रतिगामी विधेयकहरू अध्यादेशबाट पास गरे, जो क्रान्ति विरोधी थिए । यी सबै थबाङ र थबाङ्गी जनताको अपेक्षा विपरीत थियो । यसरी थबाङले न विकास पायो, न क्रान्ति । न सहिदका सपना नै पूरा भयो, न घाइते, बेपत्ताका ? २०६८ फागुन १ मा क. प्रचण्ड हेलिकप्टरमा थबाङ आए । थबाङ्गी जनताले सभाको आयोजना गरी सम्मान गरे र मागपत्र पनि पेस गरे । सुलीचौरदेखि थबाङसम्मको मोटर बाटो, खेलकुद रंगशाला र क्याम्पसको माग गरे । क. प्रचण्डले पनि मरिचमान र वीरेन्द्रको शैलीमा कति सजिलो माग राख्नुभयो, तुरुन्त पूरा गर्न सकिन्छ भने । तर व्यवहारमा उल्टो गरे । अनि कसरी बास पाउँछन् ? थबाङ्गी जनताले बासै दिए पनि उनी अब कहिल्यै थबाङ बास नबस्नेगरी धेरै टाडा पुगिसकेका छन्, थबाङ्गी जनताबाट । थबाङमा बास दिन्छौं भने पनि अब उनी ती ध्वाँसे झुपडीहरूमा कहिल्यै बास बस्ने छैनन् । किनभने उनी अब सर्वहारा वर्गको नेता होइनन्, एउटा सम्भ्रान्त वर्गको नवधनाढ्य नेतामा परिणत भइसकेका छन् ।

त्यसैले आशै-आशमा झुन्डेको थबाङ्गी जनताले न विकास पाए, न क्रान्ति । न वीरेन्द्रहरूले विकास दिए, न प्रचण्ड, बाबुरामहरूले नै दिए र दिनेछन् । यो त नेपाली क्रान्तिले मात्र दिनेछ । यही हृदयको बोली हो, थबाङी जनताको उक्त भनाइ ।

No comments:

Post a Comment