UNE ACTUALITÉ INSOUPÇONNÉE
Le Népal subit aujourd'hui plus d'un envahisseur idéologique. Les maoïstes ne sont pas les seuls conquérants de ces âmes isolées. Le christianisme fait ravage à Katmandou et dans certaines régions himalayenne.
[मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लो माथी पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि 'क्लिक क्लिक !!' दृश्यलाई कैद गर्न थाल्यो । उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लिँदै पहाडको टुप्पोबाट गुल्टियो ।]
लुना/बेल्जियम: बेल्जियम नागरिक तिंबो पहिलो पटक नेपाल घुम्न आए । आउनुअघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँको अनुपम प्राकृतिक सौन्दर्य, फरक किसिमका आ-आफ्नै सांस्कृतिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो, त्यसलाई प्रत्यक्ष अनुभव गर्न पाउँदा खुशीले हिमाल छोइरहेको थियो । 'क्लिक! क्लिक! क्लिक!' देखे जति दृश्यलाई ऊ क्यामेरामा कैद गरिरहन्थ्यो ।
काठमाडौँ हुँदै गणेश हिमाल छेत्रमा आइपुगेको ७-८ दिन भएको छ । यही क्रममा ऊ धादिङ जिल्लाको उत्तरी गाँउ तिप्लिंग पुगेको छ । तिप्लिंग पुगे लगत्तै त्यहाँ एउटै गाउँमा ५-६ वटा क्रस ठड्याइएको चर्च देख्दा ऊ अचम्ममा पर्यो ।
मनभरी प्रश्नहरु उमार्दै केही बेर हिँड्दा ताल्चा लगाइएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा । बेलुकीपख हुन लागेकोले सायद गाउँका मान्छेहरु आ- आफ्ना घरधन्दामा व्यस्त थिए । उसले गुम्बाको वरिपरी कोही भेटेन । केही मिनेट सुस्ताउने विचार गरी ब्याग गुम्बाको छेउमा राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो । अनि केही सोच्दै गुम्बाको वरिपरी घुमिरह्यो केही बेर, जसरी उसले काठमाडौँमा रहँदा स्वयम्भू घुमेको थियो, घडीको सुई झैँ । केही बेर घुमेपछि फेरि गुम्बाको बन्द ढोका अगाडि टक्क अडियो । अनि ढोकामा प्वाल छ कि खोज्दै ऊ ढोकाको नजिक पुग्यो । भित्रबाट एक किसिमको गन्ध आएको महसुस गर्यो उसले । गुम्बाबाट आएको त्यो गन्ध धुप या तेल-घिउ बत्तिको सुगन्ध थिए ।
स्वयम्भू, बौध्दनाथ घुमी हिँड्दा धुप बत्तिको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बाबाट आएको गन्ध ?! उसलाई कता-कता यो गन्धसंग धेरै पटक परिचित भए झैँ लाग्यो तर ठ्याक्कै ठ्म्याउन भने सकेन । उसको मनमा खुल्दुली मच्चियो ‘के छ होला यो गुम्बाभित्र ‘? मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लोमाथि पर्यो । हत्तपत्त फेरि उसले क्यामेरा सोझ्यायो अनि ‘क्लिक क्लिक !!’ दृश्यलाई कैद गर्न थाल्यो । उसले हेर्दाहेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लँदै पहाडको टुप्पोबाट गुल्टियो । बिस्तारै वातावरण अन्धकारमय हुन खोज्दै थियो, उसको ध्यान पुन: गुम्बाको बन्द ढोकामा पुग्यो । ‘यहाँका स्थानीय बासिन्दासँग सोध्नु पर्ला’ सोच्दै आजको रात यहीँ कतै बास बस्ने निचोडमा पुग्यो र ऊ गुम्बाबाट अलि परको घर अगाडि पुग्यो ।
ढुंगाको गाह्रो, टिनको छानो भएको घरभित्रबाट मान्छेहरु बोलेको आवाज बाहिरसम्म आइरहेको थियो । केही बेरमै ५-६ वर्षको बालक घर बाहिर देखा पर्यो । छेउ-छेउमा छेडेर गुड्ने बनाइएको कोकाकोलाको टिनको क्यानलाई खेल्ने गाडी बनाउँदै ” भूम ! भूम !’ खेल्नमा व्यस्त थियो ।
एउटा फालिएको कोकको क्यानलाई खेलौनाको रुपमा प्रयोग गर्दै असिम सन्तुस्टताकासाथ खेलिरहेको बालक र खेलौनाको दृश्यले तिंबोको ह्रदय छोयो । ‘ क्लिक ! क्लिक ! ‘ उसले उक्त दृश्यलाई क्यामेरामा कैद गरिरहँदा फ्लासको उज्यालो छरिन पुग्दा बालक झस्कियो र तिंबोतिर हेर्न पुग्यो ।
बालक झस्किएको देखेपछि ‘ सरी !!!’ भन्दै अकमक्क पर्यो तिंबो। तिंबोको बोली सुनेपछि बालक ऊ नजिकै आयो र ‘ नमाते ! चक्लेत ! ‘ भन्दै मुसुक्क मुस्कुरायो । बल्ल तिंबोले सहज महसुस गर्यो र ऊ पनि हाँस्यो ‘ हे ! हे ! नमस्ते बाबु’ भन्दै ।
यति बेलासम्म घरबाट २-३ जना बाहिर निस्किसकेका थिए। साँझको बेला आँगनमा उभिएको विदेशीलाई देखेपछि उनीहरु नजिकै आए । तिबोंले नमस्ते अभिभादन गर्यो । आफू घुम्दै आएको र साँझ पर्न लागेकोले बस्ने ठाउँ खोजेको बताएपछि उनीहरुले तिंबोलाई आफ्नै घरमा निम्त्याए ।
केहीबेरको कुराकानीपछि अघि आफूले देखेको गुम्बाको बन्द ढोका सम्झियो अनि उसले आफू बसेको घरका सदस्यसँग त्यस गुम्बाको बारेमा बुझ्न खोज्यो । गुम्बाको साँचो उनीहरुको छिमेकीसँग थियो, अनुरोध गरेपछि छिमेकी आइन् र गुम्बाको ढोका खोलिदिइन् ।
गुम्बाभित्र टन्न आलु थुप्रिएको थियो । केही बेरअघिको त्यो चिरपरिचित गन्ध आलु भण्डारको गन्ध थियो। बेल्जियममा तिंबोका आफन्ती किसानी थिए जसले हरेक बर्ष हजारौँ किलो आलु बेचबिखन गर्थे। आलु भण्डारको गन्धसँग परिचित उसले गुम्बालाई आलु भण्डारको रुपमा प्रयोग गरिएको कल्पना पनि गरेको थिएन।
पुरातन गरिमा बोकेको गुम्बाको त्यो अवस्था-स्थिति देख्दा तिंबोको मन भरि घाउ लाग्यो।
आज बिहान आइतबार, तिंबो बसेको घरका सदस्यहरु चर्चमा प्राथना गर्न जान तयार हुँदै थिए। उनीहरुले तिंबोलाई पनि निमन्त्रणा गरे प्रार्थनामा जानलाई। तिंबो चकित भएको थियो नेपाली क्रिस्टियनहरुको यो बिघ्न तत्परता देखेर। क्याथोलिक परिवेशमै हुर्केको भए पनि क्रिसमसको बेलामा आफन्तीहरुसँग बसेर खानपिनमा रमाउने कामबाहेक यसरी हरेक आइतबार प्रार्थनामा जाने कुरामा उसको कुनै दिलचस्पी थिएन ।
तर अहिले भने उसलाई अनौठो लागिरहेको थियो यी तिबेतन अनुहारका तामाङ परिवारहरु यसरी चर्चमा प्रार्थना गर्न जान लागेको देखेर। उसलाई केही बुझ्ने इच्छा लाग्यो र हुन्छ भनी उनीहरुसँगै चर्चमा पुग्यो।
त्यहाँ धेरै स्थानीय बासिन्दा थिए भने केही चाहिँ काठमाडौँदेखि स्वयंसेवीको रुपमा आएका थिए। प्रार्थना शुरु हुँदै थियो।
‘ओम मणि पद्मे हूम्’ भन्दै शान्त भावमा ओठ चाल्दै जपमाला, माने घुमाउने हातहरु दुवै पन्जा फैलाएर आकाश छोउँला झैँ गरी ‘ हले लुईया ! हले लुईया ! ‘ गर्दै चिच्याई चिच्याई प्रार्थना गरिरहेका थिए। खिन्न मन लिएर हेरिरह्यो तिंबोले यी दृश्य।
केही बेरपछि उसले अर्को दृश्य देख्यो :
काठमाडौँबाट आएका स्वयंसेवीहरुले टिभी-भिडियो देखाउने रहेछन् चर्चमा प्रार्थना गर्न आउने गाउँलेहरुलाई जसमा देखाइएको थियो-
प्रभु जिसस क्राइस्टलाई प्रार्थना गर्दा विभिन्न किसिमका रोगब्याधी हटेर जाने , रोग निको हुने आदि कुराहरुलाई कलाकारमार्फत् जिवन्त अभिनय गरेर देखाइएको थियो।
त्यसपछि तिंबोले अर्को अनौठो दृश्य पनि देख्यो :
गाउँका मान्छेहरु, महिला, बुढाबुढी, केटाकेटी उपचारको लागी चर्चमा आएका थिए। उनीहरु सँगै पास्टर (पादरी) ले जिसस क्राइस्टको प्रार्थना गरिरहेका थिए रोग निवारणको लागि।
त्यो दृश्य सकिएपछि यता-उता टहलिदै तिंबो एक जना १७-१८ वर्षको युवक नजिक पुग्यो। तिंबोले ती युवकसँग केही प्रश्न सोध्यो।
ती प्रश्न मध्ये एक प्रश्नको उत्तर यसरी दिँदै थिए युवक - “हामी यहाँ प्राथना गर्न आउँदा पास्टरले पनि हामीसँगै प्राथना गर्छ, प्रार्थना पछि ‘ नि:शुल्क’ औषधि दिन्छ। प्रार्थना गरेर दिएको औषधि खाएपछि रोग निको हुन्छ। यो धर्ममा लागे निःशुल्क औषधि पाइन्छ।’
चर्चको रमिता हेरेर फर्कदै थियो तिंबो, अघि भर्खर चर्चमा सक्रिय देखिएकी महिलालाई देख्यो उनैको घरमा। तिंबोले त्यहा पनि थुप्रै प्रश्न गर्यो। ती प्रश्न मध्येको एक प्रश्नको उत्तर थियो- ” म क्रिस्टियन बन्नुको कारण मलाई उहाँहरुले खोलेको स्कुलमा काम पाउनु थियो, यो धर्ममा लागे पछि उहाँहरुले विश्वास गर्ने र काम पाउन सजिलो हुने भएकोले… ।
‘ गरिब, विपन्न देशका मान्छेहरुलाई सहयोग गर्ने नाममा धमाधम तिनका सनातन धर्म परिवर्तन गराउँदै क्रिस्टियन धर्मावलम्बी बनाउने क्रिस्टियन मिसनप्रति खेद जनाउँदै मन भरी कुरा खेलाउँदै ऊ पुन : हिजो साँझ देखिएको त्यही पुरानो गुम्बामा आइपुग्यो जुन गुम्बा आलु भण्डारको रुपमा प्रयोग गरिएको थियो। उसको मनको घाउ फेरि चर्कियो गुम्बा नजिक पुगेपछि।
त्यो घाउलाई उसले गणेश हिमाल क्षेत्र वरिपरीका गाउँहरु घुम्दा देखेको दृश्यमा समाहित गरेर भिडियो बनायो यथार्थमा आधारित। कस्तो थियो त्यो यथार्थ घाउ ? बेल्जियम नागरिक तिंबो सार्पँतिए (Thibault Charpentier) मार्फत बनाईएको यो भिडियो हेरेपछी तपाई आफैं अनुमान गर्न सक्नु हुन्छ नेपालमा धर्म परिवर्तनको भयावह स्थितिबारे ।
No comments:
Post a Comment