Thursday, May 9, 2013

श्रीमती भेट्न जाँदा साथी नै सुराकी


लण्डन, पुस २४ । बेलायतमा अकस्मात् पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती प्रहरीको पन्जामा पुर्‍याउने कार्यमा उनकै दुई सहकर्मीको हात रहेको लामाकै ब्याचका एक सैनिक अधिकृतले बताएका छन्। सुडानमा लामा शान्ति मिसन कार्यको प्रमुख भएर जानुअघि दुईजना उनका समकक्षीले निकै प्रयास गरेका थिए। तर त्यसबेलाका सैनिक सचिव प्रेमप्रकाश थापा मगर, उपरथी बिजय मोक्तान लगायतको जोडबलमा लामालाई त्यो अवसर प्राप्त भएको थियो। त्यतिबेलादेखि नै लामासँग प्रतिशोध लिएका ती दुई अधिकृतको बारेमा सैनिक हेडक्वार्टर जानकार भए पनि उनीहरु नै लामाको सुराकी बनेको भरपर्दो प्रमाण भेटिएको छैन। यसअघि पटक–पटक बेलायत गइसकेका लामालाई सुडानमा शान्ति मिसनको नेतृत्व गरेर जाने बेलामा पनि कुनै रोकटोक गरिएन। 
यसअघि लामालाई सजिलै प्रवेशाज्ञा दिएको बेलायत सरकारले त्यतिकै भिसा दिएको त अवश्य पनि होइन। तर लामा कपिलवस्तुको गोरुसिंगेमा गणपति रहेका बेला हिरासतमा एक युद्धबन्दीको मृत्यु भएको घटनामा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो। तर सैनिक नेतृत्वले कुनै कारबाही नगरेको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगले आफ्नो प्रतिवेदनमा यो कुरा उल्लेख गरेको थियो। त्यही रिपोर्टलाई आधार बनाएर कुमार लामाका प्रतिस्पर्धीले उनी सुडानबाट बेलायत गएको सूचना लिएर यही हो मौका भन्दै सुराक दिएको आशंका गरिएको छ। लामा सुडानमा रहँदा उनका सबै गतिबिधि नियालेर कुन दिन कहाँ जान्छन् भन्ने समेत सूचना संकलन गरेरमात्र यो घटना सम्भव भएको सैनिक स्रोतले जनाएको छ। लामाका परिवारले पनि उनलाई उधृत गर्दै आर्मीभित्रबाटै षडयन्त्र भएको आरोप लगाएका छन्। आर्मीमा आफू माथि जानका लागि सहकर्मीको खुट्टा तान्ने अभ्यास भनें नया होइन। 

लामा बेलायती नागरिकता लिइसकेकी श्रीमती लक्ष्मी श्रेष्ठ लामा र दुई छोरीलाई भेट्न लण्डनको हस्टिङस्थित इष्ट सक्सेसमा रहेको घरमा गएका बेला भरपर्दो सुराकीपछि मात्र बेलायती प्रहरीले पक्राउ गरेको थियो। लामाकी श्रीमती लक्ष्मी पनि विगत डेढ दशकदेखि लण्डनमा नर्सको रुपमा कार्यरत छिन्। उनी पक्राउ पर्नुभन्दा दुई दिनअघिमात्र लण्डनमै लक्ष्मीकी साथी बबिता लामाको परिवारसँग रात्रीभोजमा पुगेका थिए। उनीहरुको रात्रीभोजको फोटो फेसबुकमा समेत सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट ५ जना बन्दूकधारी प्रहरी घरभित्रै गएर बन्दूक तेर्स्याउँदै उनलाई पक्राउ गरेर लैजादा घरमा श्रीमती र छोरीहरुको रुवाबासी चलेको थियो। 
यसैबीच कुमार लामा लण्डनमा पक्राउ परेको बिराधमा नेपालका सबै राजनीतिक दल र सरकारको एक स्वर आएको बेला नेकपा मसालले भने स्वागत गरेको छ। 'जनतामाथिका अपराधपूर्ण कार्यहरु वा मानव अधिकारको हननका लागि जिम्मेवार व्यक्तिहरुलाई कुनै देशको सरकारले तिनीहरुलाई सफाइ दिने निर्णय गरे पनि जनमभरी नै वा संसारको कुनै पनि देशमा गिरफ्तार गरेर कारवाही गर्ने अन्तर्राष्ट्रिय कानून र प्रचलन छ। त्यसप्रकारको पृष्ठभूमिमा कर्णेल लामालाई बेलायतमा गिरफ्तार गरेर उनीमाथि कारवाही चलाउने निर्णयलाई हामीले गलत मान्दैनौं। त्यसका साथै माओवादी र तत्कालीन सत्तापक्ष दुवैतिरबाट द्वन्द्वकालमा भएका मानव अधिकारको हनन र जनतामाथिका अपराधपूर्ण कार्यहरुका लागि सम्बन्धित व्यक्तिहरुलाई न्यायपूर्ण तरिकाले छानवीन गरी अपराध अनुसार सजाय गर्ने र त्यस्ता व्यक्तिहरुमाथि लागेका मुद्दाहरुलाई नेपालका विभिन्न सरकारहरुले फिर्ता लिनका लागि गरिएका निर्णयहरुलाई खारेज गरी पुनः कारवाही अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ।' महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
नेपाली सेनाका कर्णेल कुमार लामा सशस्त्र द्वन्द्वकालमा कपिलवस्तुमा कार्यरत छँदा हिरासतमा रहेका एकजना बन्दीलाई चरम यातना दिएको र मानवअधिकारको हनन् गरेको आरोप थियो। कपिलवस्तुको अदालतले त्यस प्रकारको कारबाहीका लागि दोषि ठहराउँदै उनका विरुद्ध कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति समेत दिने निर्णय गरेको थियो। तर नेपाल सरकारले त्यो फैसला भएको ५ वर्ष बित्दा पनि त्यसबारे कुनै कारवाही गरेको थिएन। 
यता बन्दीलाई यातना दिएको अभियोगमा लण्डन प्रहरीबाट पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको अदालतले थप २० दिन थुनामा राख्न आदेश दिएको छ। 
नेपाली क्यालेन्डर अनुसार पुस २१ गते शनिवार वेष्ट मिनिष्टर मजिष्ट्रेट कोर्टमा भएको सुनुवाईमा कर्णेल लामालाई पेश गरिएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थप अनुसन्धानका लागि थुनामा राख्न र जनवरी २४ तारिखमा पुनः अदालतमा पेश गर्न आदेश दिएको छ। 
कडा सुरक्षावीच उनलाई पुस २१ गते शनिवार बिहान १२ बजे अदालत लगिएको थियो। सुनुवाईका क्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख तेजबहादुर क्षेत्री र सैनिक सहचारी कर्णेल विश्वनाथ घिमिरे पनि उपस्थित थिए। लामामाथि सात बर्षअघि कपिलबस्तुको गोरुसिंगे ब्यारेक कमाण्डर रहेका बेला स्थानीय जनकबहादुर राउतलाई १७ दिनसम्म गैरन्यायिक हिरासतमा राखी यातना दिएको अभियोग लगाइएको छ। राष्ट्रसंघीय सुडान मिसनमा पर्यवेक्षकका रुपमा कार्यरत लामा बिदाका बेला श्रीमतीलाई भेट्न लण्डन पुगेका बेला पुस १९ गते बिहीवार पक्राउ गरिएको थियो।

No comments:

Post a Comment