काठमाडौ ।

कानुनको पालना र जनधनको सुरक्षामा खटिने नेपाल प्रहरी नै बर्बर आतंकको नमूना बनेपछि कसको के लाग्छ? क्यासिनोमा नेपाली प्रवेश रोक्ने नाममा नेपाल प्रहरीका केही बर्दीधारीले सडकमा हिँडिरहेका सर्वसाधारणलाई धरपकड गर्ने, भएको रकमकलम लुट्ने र कृत्रिम मुचुल्का खडा गरेर मुद्दा लगाउने शृंखला चलाएका छन्। प्रहरीको यस्तै राज्यआतंकको शिकार बनेका छन्, अरुण सेढाईँ, जोगबहादुर गुरुङ र श्यामहरि थापामगर।
बौद्ध प्रहरीको टोलीले वैशाख १३ गते साँझ चाबहिलस्थित ओम नरसिंह होम क्षेत्रबाट उनीहरूलाई धरपकड गरी खानतलासी लिएको थियो। उनीहरूको साथबाट क्रमशः ४ लाख ५० हजार, २५ हजार र २६ हजार रुपियाँ फेला परेपछि त्यसैलाई आधार मानी प्रहरीले क्यासिनोमा जुवा खेलाउने काल्पनिक अभियोग खडा गर्यो। ओम नरसिंह होमबाट पक्राउ परेका उनीहरूलाई होटल हायात रिजेन्सीको गेटनजिकै सडक पेटीबाट पक्राउ गरेको भनी नक्कली मुचुल्का खडा गर्यो। उनीहरूको साथबाट बरामद गरिएको नगद रकम समेत घटाएर मुचुल्कामा राखियो र बाँकी रकम प्रहरीले नै गोलमाल गर्यो। अहिले उनीहरू जुवा मुद्दामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा धाइरहेका छन्।
जनताको जिउधनको सुरक्षा गर्ने, सडकमा स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने र स्वतन्त्र रूपमा वैधानिक व्यवसाय गर्न पाउने संवैधानिक हकविरुद्ध प्रहरी नै उत्रेपछि नागरिकले सुरक्षा र न्याय माग्न कहाँ जाने? र, यो प्रहरी कति भ्रष्ट भएको छ भन्ने कुराको उदाहरण पनि हो। यसले प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नारालाई समेत चुनौती दिएको छ। यस्ता घटना दोहोरिँदै जाने हुन् र यस्ता घटनाका दोषीलाई कारवाही नगरिने हो भने प्रहरी संगठन नै बद्नाम बन्नेछ। प्रहरीको अभियोगपत्र र अभियुक्तको बयानमा भारी रकम फरक परेको छ। यो झनै संवेदनशील विषय हो।
क्यासिनोमा नेपाली प्रवेशको मुद्दा जहिले पनि विवादित बन्दै आएको छ। यसो हुनुमा प्रहरीकै संरक्षणमा नेपाली जुवाडे क्यासिनो प्रवेश हुनु नै हो। प्रहरीले संरक्षण नदिने हो भने क्यासिनोमा नेपाली छिर्नै नपाउने निश्चित छ। तर, प्रहरी र राज्यका उच्च अधिकारीले यसलाई आफ्नो नियमित आम्दानीको स्रोतका रूपमा उपयोग गर्न खोज्दा क्यासिनो सञ्चालक र प्रहरीबीचको लडाइँजस्तो देखिन्छ।
विगतमा विजयकुमार गच्छदार मन्त्री हुँदा हरेक क्यासिनोबाट मन्त्रीले मासिक १० लाख, प्रहरी महानिरीक्षकले ५ लाख र त्यति नै रकम उपत्यका प्रहरी प्रमुख (एआजईजीपी), प्रहरी परिसर प्रमुख (एसएसपी) र सम्बन्धित प्रहरी प्रभागका इन्स्पेक्टरसम्मलाई बाँड्ने गरिएको प्रहरी स्रोत बताउँछ। अहिले पनि यसरी अवैध रूपमा रकम असुलीका लागि बार्गेनिङ गर्न प्रहरीले जथाभावी गर्न थालेको छ। विगतमा भ्रष्ट अनुहारहरू सरकारमा भएकाले सबै खालका अवैध धन्दा रोक्न प्रहरीलाई मुस्किल थियो। तर, अहिले स्वतन्त्र सरकार रहेको र स्वच्छ छविको प्रहरी नेतृत्व रहेको अवस्थामा पनि विगतकै विसंगत अभ्यासले निरन्तरता पाउने हो भने मुलुकमा विधिको शासन र स्वच्छ प्रहरीको अपेक्षा गरेका नागरिकलाई निराश बनाउनेछ।
व्यवहारतः क्यासिनो अपराधका अखडा भएका छन्। हतियारसहित भित्र जाने र आतंक मच्चाउने गिरोह नै काठमाडौँमा सक्रिय छ। तर, प्रहरीले यस्ता तत्त्वहरूलाई नियन्त्रण गर्न छाडेर तरकारी, दूध र अन्य सामान डेलिभरी दिन पुग्नेलाई दुःख दिने, पक्रने र मुद्दा चलाउने समेत गर्दै आएको छ। यति मात्र होइन, कतिपय क्यासिनोलाई प्रहरीका केही अधिकारीहरूले आफ्नो पैतृक प्रतिष्ठानजस्तो व्यवहार गर्ने गरेका छन्। र, ती क्यासिनोभित्र हुने अवैध गतिविधिप्रति आँखा चिम्लिने गरेका छन्। तर, राज्यले लाइसेन्स नै जारी गरेर, कर तिरेर मुलुकमा पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने उद्देश्यले सञ्चालित विशुद्ध मनोरञ्जात्मक व्यवसायका रूपमा सञ्चालन गर्न खोज्ने व्यवसायीहरूलाई प्रहरीले बारम्बार हतोत्साहित बनाउँदै आएको छ। अवैध गतिविधि रोकेर यसलाई मर्यादित व्यवसायका रूपमा स्थापित गर्न चाहने सञ्चालकहरूलाई अवैध रूपमा नजराना दिलाउन दबाब दिने र अवैध क्रियाकलाप गर्न बाध्य पार्ने पनि प्रहरी नै रहेको आरोप व्यवसायीहरूको छ। यसरी प्रहरी बद्नामीको टीको लगाउने कि सबैको आस्था र विश्वासको धरोहर बनाउने भन्ने प्रश्न समेत खडा गरिदिएको छ। माथिको घटनामा समेत हायात होटलस्थित क्यासिनो स्टारका सञ्चालक किशोर सिलवाललाई जबरजस्ती मुछिएको छ र मुद्दामा विपक्षी बनाइएको छ। सडकमा को मान्छे कसरी हिँड्छ, उसले के सामान बोक्छ र के पेसा गर्छ भन्ने कुराको समेत जिम्मेवारी लिनुपर्ने कस्तो नियम र व्यवस्था प्रहरीले बसाल्न खोजेको हो भन्ने समेत प्रश्न यस प्रकरणले उठाइदिएको छ। दृष्टि
No comments:
Post a Comment