- क्षितिज मगर 'रायन', तत्कालीन बि्रगेड कमान्डर, ज्वार स्मृति बि्रगेड शनिबारको साँझ छिप्पिँदै गएको छ । आकाशमा ताराहरू चम्किन थालेका छन् । बत्तीको उज्यालोमा झििलमिली चम्किएको छ, काठमाडौं उपत्यका । हामी लुखुर-लुखुर हिँडिरहेका छौँ यातायात व्यवस्था विभागलाई दाहिने पारेर भित्र छिरेको कुसुन्तीको सानो गल्लीमा । बाटो वर्षमान पुन 'अनन्त' शान्तिप्रक्रियापछि बस्न थालेको भव्य भवनको दैलो हुँदै गुज्रन्छ । हामी हिँड्दै जान्छौँ, उनी पुराना दिनहरूको सम्झना गराउँछन् मलाई । तत्कालीन दोस्रो डिभिजनको कमान्डर छँदै सुकबहादुर रोका 'शरद' ले भाडामा लिएको कोठा हिजोआज स्वैच्छिक अवकाश रोजेर हाट हेर्न सहर छिरेका रोल्पालीको, त्यसमा पनि जेलवाङआसपास घर भएका कामरेडहरूको सेल्टर भएको छ । त्यही घरको छतमा बसेर कुरा गरिरहेका छौँ । कुराकानीकै क्रममा पुराना दिन सम्झँदै एकाएक टोलाउन थाल्छन् र बेनी भिडन्तको प्रसंगमा पुगेपछि एकोहोरो हेरिरहन्छन् माथि आकाशमा । उनी अर्थात् क्षितिज मगर 'रायन' । सेना समायोजनका बेला पहिलो चरणमै स्वेच्छिक अवकाश रोज्न चाहन्थे । शैक्षिक योग्यताले सेनामा आफ्नो वरियताले पाउने पदका लागि हक लाग्थेन । मन्त्री रहेका वर्षमान पुनले त्यही कुसुन्तीको घरमा नेत्री ओनसरी घर्तीलाई साक्षी राख्दै भनेका रहेछन्, 'पढाइको अर्थ छैन, तपाईं समायोजन रोज्नुस् । हामी सबै कुरा मिलाउँछौँ ।' नेताहरूले आफ्नालागि सबै कुरा मिलाएपछि क्षितिज मगरहरूको कुनै आवश्यकता रहेन । अनि उनी अपमानित रूपमा निस्किए अवकाश रोजेर दोस्रो चरणमा । जनयुद्धकालमा सयौँ प्रहरी र सैनिक ब्यारेक हमलापूर्व नक्सा र स्यान्ड मोडल बनाउने काम गरेका उनको श्रीमती र छोराछोरीलाई डोर्याउँदै हिँड्ने बाटोको नक्सा च्यातिएको छ । 'म त हाट सकिएर घर फर्किएको रित्तो हटारुजस्तो । सबै-सबै हारेपछि जिन्दगी कसरी बिताउने भनेर लर्बरिँदै यता आइपुगेको छु,' सुनाक्षरीको ऐना र गण्डक अभियान पुस्तकका लेखक क्षितिजले भने, 'जनयुद्धका क्रममा भएका तर बाहिर नआएका महत्त्वपूर्ण सूचना ब्ााँकी दुनियाँलाई चाहिएला भनेर डायरी लेखेको छु, त्यसैलाई मिलाएर संस्मरण निकाल्ने तयारीमा छु ।'
- यादव देवकोटा
० जनयुद्धमा कहिलेदेखि लाग्नुभयो ?
- ०५२ सालदेखि । त्यसपूर्व नै ०४८/४९ सालदेखि विद्यार्थी संगठनमा काम गर्थें । रोल्पा-रुकुममा जनयुद्धपहिले नै वर्गसंघर्ष उठिसकेको थियो । त्यसको पृष्ठभूमि निर्माण गर्न बादल रोल्पामै स्थायी रूपले बस्न थाल्नुभएको थियो । हामी स्कुले विद्यार्थीमाथि समेत एकखाले अघोषित वारेन्ट जारी भएको थियो । पढाइ कहिले छाड्नुपर्ने हो र कहिले लडाइँमा हिँड्नुपर्ने हो भन्ने भइसकेको थियो । माघमा एसएलसी दिएर फागुनदेखि लडाइँमा हिँडियो ।
० के भन्नुहुन्थ्यो बादल लडाइँपूर्व रोल्पा गएर ?
- पार्टीभित्र गोर्खाबाट जनयुद्ध सुरु गर्ने कि रोल्पाबाट भन्नेमा बहस रहेछ । किरण, बादलहरू रोल्पाबाट सुरु गर्न चाहने । बाबुराम गोर्खाबाट । प्रचण्ड बीचमा । जनयुद्धका आधारहरू रोल्पामा तयार हुँदै थिए । प्रहरी दमन नराम्रोसँग बढ्न थालेको पृष्ठभूमिमा जनजाति मगर समुदायका नेता बादल मगरहरूको सघन बस्ती रोल्पा-रुकुम आउनुभएको थियो, जनयुद्धको सशस्त्र आधार तयार गर्न । वाइसिएल र लडाकु दस्ताको भेलामा भन्नुहुन्थ्यो, हतियार बाहिरबाटै आउँछ । लड्न बाहिरबाटै मान्छे आउँछन् । हामीले त यसो सघाइदिने मात्र हो । हो त नि भन्ने थियो हामीलाई । जनताले त यसै पत्याउने भइहाल्यो । लडाइँका क्रममा हामीमध्ये कसैले सोध्यो बादललाई- कमरेड, तपाइर्ं त उसो भन्नुहुन्थ्यो, किन ढाँट्नु'भा हामीलाई ? अनि उहाँले पुरानो कुरा क्रस गर्दै भन्नुभयो- अब हामीले घरेलु सेनासँग मात्रै होइन, विस्तारवाद र साम्राज्यवादका हतियार र सेना दुवैसँग लड्नुपर्ने बेला भएको छ ।
० पार्टीमा लागेपछि कुन क्षेत्रमा काम गर्नुभयो ?
- सुरुमा विद्यार्थी संगठनमा । त्यसपछि केही समय सांस्कृतिक कम्पनीमा । सुरुमा जेलवाङ चौकी र त्यसपछि पाँचकटिया, तकसेरा, रुकुमकोट, खारा, दुनै, महतलगायत मध्यपश्चिममा भएका सबै प्रहरी चौकी हमलामा सामेल भएँ ।
० त्यसमा तपाईंको भूमिका के हुन्थ्यो ?
- म चित्रकलाको राम्रो विद्यार्थी, त्यही क्षमता देखेर पासाङले आफ्नो कार्यालयको स्टाफका रूपमा लिनुभयो अनि सदरमुकाम तथा ब्यारेक हमलापूर्व निशानाको रेकी गर्ने र मोडल नक्सा बनाउने काम गर्न थालँे ।
० कुन-कुन ब्यारेकको स्याम्पल (मोडल) बनाउनुभयो ?
- बेनी हमलाको नक्सा बाग्लुङका प्रभात बुबाले बनाउनुभएको हो । बाँकी सबै भिडन्तका लागि आवश्यक पर्ने पूर्वनक्सा बनाउन म खटिएँ ।
० त्यस्तो काम कत्तिको जटिल हुन्थ्यो ?
- त्यो काम खासमा सुराकीको जस्तो हो । स्थानीय जनताजस्तो सामान्य रूपमा सेनाको ब्यारेकअगाडि गएर भिडियो खिच्ने, नक्सा बनाउने र मिहिन रूपमा ब्यारेकको भौतिक अविस्थितिबारे अध्ययन गरेर स्केच बनाउने काम ख्याल-ख्यालको थिएन ।
० आफैँले तयार गरेको नक्साका आधारमा खोलिएका मोर्चाहरूमा बन्दुक बोकेर आफैं लड्न जाने कामचाहिँ गर्नुभयो कि गर्नुभएन ?
- मैले नलडेको पश्चिमको युद्ध सायद कुनै छैन । दाङ भिडन्तका बेला एउटै कम्पनीमा सामेल भएका बिजोग र सपनाको जोडीको सम्झना होस् या बेनी हमलाको बेला भएको भीषण रक्तपात, ती सबै घटना सम्झिएर अहिले पनि एकखाले भावनामा पुग्छु । बेनीमा लडाइँ सकिएर बिहानीको उज्यालो हुँदै थियो । सैनिक ब्यारेकको आखिरी हमलामा केन्दि्रत थियौँ । म अगाडि विद्रोही हुनुहुन्थ्यो । उहाँ लगातार गि्रनेड चार्ज गरिरहनुभएको थियो । म गनिरहेको थिएँ, एघारौँ गि्रनेड चार्ज गर्ने बेला उहाँको हातैमा पड्कियो । उहाँसँगै रहेका अरू तीनजना साथी एकसाथ गि्रनेडको धुवाँमा हराउनुभयो । ब्यारेकछेउको घरलाई कभर बनाएर चौथोका केही बहिनी फायर खोलिरहनुभएको थियो । एकाएक कतैबाट बत्तिएर आएको गोलीले भकाभक उहाँहरू ढल्नुभयो । बेनी बजारको मध्यभागमा म घाइते भएका केही साथीलाई बोकेर दौडिरहेको थिएँ । नीलो ड्रेस लगाएका स्वयंसेवक साथीहरू झुरुप्प बस्नुभएको थियो । सेनाले हानेको रकेट हुन्हुनिँदै आएर स्वयंसेवकहरूको बीचमा खस्यो । मैले हेर्दाहेर्दै उनीहरू सबै त्यहीँ ढले । जता हेर्यो उतै ढलिरहेका मान्छेहरू, कोही चिच्याइरहेका । बाटोमा, गल्लीमा, कान्लामा, घरमा, खोला किनारमा जता हेर्यो उतै ढलेका मान्छेहरूको ताँती छ । मलाई एकपटक त हामी सबै सकिएछौँ कि जस्तो लाग्यो । लडाइँ सकिएपछि सेनाले ब्यापक हवाई गस्ती गर्यो । जनयुद्धका क्रममा सेनाले सबैभन्दा बढी हवाई हमला गरेको पनि त्यही समय थियो ।
० सँगै लडेका साथीहरू मरे, तपाईं बाँच्नुभो, कैयौँ घाइते भए, त्यसैलाई देखाएर नेताहरू नवधनाढ्य वर्गमा फेरिएका छन्, सम्झँदा कस्तो लाग्छ ?
- नेताहरूले धोका दिए पनि हाम्रै त्याग र तपस्याले आज गणतन्त्र नेपालको नागरिक भएर बाँचेका छाँै । यसमा गर्व लाग्छ तर दुःख पनि लाग्छ । हामी केही नेतालाई सामन्त बनाउन हिँडेका थिएनौँ । घरपरिवार पाल्न लडाइँपछि अरब जाने कबोल गरेर पनि लागेका थिएनौँ । यहीँ रोजगारी र अवसरहरूमा नागरिकको समान अधिकार स्थापित गर्ने र नयाँ नेपाल बनाउने सपना थियो । तर, त्यो सबै बिर्सिए नेताहरूले । दूरदराजका गरिब बस्ती आज पनि उस्तै छन् । मान्छेहरू फेरिएकै छैनन् । बरु युद्धका कारण झन्-झन् गरिब भएका छन् । तर, तिनका नेताहरू ठुल्ठूला दरबार जोड्ने र जनतालाई धोका दिने काममा लागेका छन् । यसको मुल्य नेताजीहरूले विस्तारै चाख्न थालेका छन् । अझै जनतामाथिको धोकाको सिलसिला रोकिएन भने जनताबाट पाउने उपहार उनीहरूले कल्पना गरेको भन्दा भयानक हुनेछ । हामी त यसै पनि बिचल्लीमा परेका मान्छेहरू हौँ । हिजो पनि भुइँमै थियौँ, आज झन् भासिएका छौँ । केही नसके श्रमजीवीको लाममा मिसिएर ट्याक्सी चलाएर या जेलवाङको पखेरामा कोदालो चलाएर पनि जीवन गुजारा गराँैला । तर, देशभरिका हजारौँ जेलवाङजस्ता बस्तीका मान्छेलाई ढाँटेर, छक्याएर नेताजीहरूका गुजारा कतिन्जेल चल्छ ?
० सुरुमा समायोजन रोज्नुभएको थियो, पछि फेरि स्वेच्छिकमा लाग्नुभएछ नि !
- एसएलसी दिएर लडाइँमा हिँडेको थिएँ, परीक्षा बिगि्रएछ । म बि्रगेड कमान्डर, सेनामा जाँदा मेजर पाउने । त्यसनिम्ति कम्तीमा आइए पढेको हुनुपर्ने । मन्त्रीजीको कुरा पत्याएर समायोजन रोजेँ । लडाइँकालमा जुम्रा र लिखा परेका ट्राउजर र गन्जीसमेत धोएर सुरक्षा दिई जोगाएको नेताले म सोझो रोल्पालीलाई ढाँटेछ । पछि के भयो सबैलाई थाहा छ । अनि दोस्रो चरणमा अवकाश रोजेर बाहिरिएँ ।
० सेनाले जनमुक्ति सेनाको ब्यारेक कब्जामा लिने बेला एकखालको तनाव थियो, खासमा भएकोचाहिँ के थियो ?
- कम्युनिस्ट बिगि्रए भने दूध फाटेझैँ बिग्रन्छन् भन्ने सुनेको थिएँ । जब शिविरमा सेना हुलियो अनि थाहा पाएँ, कम्युनिस्ट कसरी बिग्रन्छन् भनेर । हिजोसम्म एउटा कासनको आधारमा मर्न, मार्न तयार हुने साथीहरू आज कसैको कुरा सुनिरहेको छैन । चेन अफ कमान्ड सबै खुस्किएको छ । झ्याल-ढोकाको खापा र जस्तापाता एकएक लग्दै, बेच्दै छेउछाउका पसलमा रक्सी खान थालेका छन् साथीहरू । हिजोसम्म कसैलाई नराम्रो नजरले नहेर्ने कमरेडहरू एकाएक गर्दै शिविरवरपरका गाउँलेको छोरीबुहारीसँग बाटोघाटो खोल्साखोल्सी जताततै झुत्ती खेल्न थालेका छन् । ए साथी, त्यसो नगर्नुस् न भन्यो, तिमी कमान्डरहरूले हाम्रो नाममा आएको करोडौँ खान हुने ? हामीले टिनको पाता लगेर खान नहुने ? भन्दै जाइलाग्ने स्थिति आउन थाल्यो । यसै पनि केही समयदेखि म कमान्ड छाडेर दाङ बस्न थालेको थिएँ । पार्टीभित्र अन्तरसंघर्ष थियो । कतै लागेको थिइनँ । तर, समायोजनलाई अपमानजनक ढंगबाट विघटनमा पुर्याएकोमा मेरो विरोध र आपत्ति थियो । पछि त सेनाका साथीहरू पनि लौ हामीले सकेनाँै भनेर निरीह देखिन थाल्नुभयो । सेना ब्यारेकमा पुर्याउन त्यसको पूर्वसन्ध्यामा के-कस्ता सुनियोजित तयारी गरिएको थियो भन्ने विषयसमेत समेटेर म किताब लेखिरहेको छु ।
० तपाईंको डायरी पढिसकेका मानिसले चाहिँ तपाइर्ंले जनयुद्धकालका केही आन्तरिक घटनाको खुलासा हुनेगरी किताब लेख्नुभएको भन्ने टिप्पणी गरेका छन् नि !
- ठूला कमान्डरहरूको अन्तरसंघर्ष, त्यसले पारेको समस्या, क्षति, पार्टीको आन्तरिक अन्तरकलहदेखि पछिल्लो चरण सेना समायोजनमा भएको सुनियोजित घटनाक्रम र त्यसैको उत्कर्षमा भएको जनमुक्ति सेना विघटनका परिघटनालाई जस्ताको तस्तै लेख्दै छु । यो डायरी हो । लडाइँकालदेखि नै निरन्तर लेखिराखेको । रातरातभर हिँडेर दिउँसो सेल्टरमा आराम गर्ने समय र अरूले आराम गर्दा स्लिपिङ ब्यागभित्र पसेर टर्चलाइटको उज्यालोमा लेखिएको डायरीलाई जस्ताको तस्तै संस्मरणका रूपमा निकाल्ने योजनामा छु ।
० अब जिन्दगी कसरी बिताउने योजना छ ?
- जिन्दगीको सबैभन्दा ऊर्जाशील सत्र वर्ष एकोहोरो रूपमा फौजी बनेर निखारियो । आफूले बाहिर जानेको खास केही छैन । साथीहरूसँग मिलेर केही गर्ने कि भनेर सल्लाह भइरहेको छ । मिलेन भने गाउँ जाने विकल्प पनि छ । बूढो बाउ गाउँमा अझै हलो जोत्दै छन् । मेरो साल उतै गाडिएको छ । उतै गएर हलो-कोदालो गर्न सक्छु । यतै सहरमा ट्याक्सी चलाएर जीवन गुजारा गर्न पनि सकिएला । म साधारण गरिब गाउँले किसानको छोरा । सपनाका लामा-लामा सूची छैनन् । नेताहरूको नातागोता, आसेपासे केहीमा पर्दिनँ । छाताका लागि पार्टीको झन्डा पनि ओढुँला । तर, त्यही राजनीतिले घर न घाटको बनाएपछि अब राजनीतिमा लाग्ने कुनै सम्भावना छैन ।
No comments:
Post a Comment