Saturday, April 27, 2013

कान्तिपुरका चुलबुल पाण्डेको रामकहानी



डेकेन्द्र हत्याकाण्डका आरोपीलाई पक्रने प्रहरी निरीक्षकले किन नाम बदले ?

विराटनगर, माघ ३ – सशस्त्र द्वन्द्वको समयमा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गर्ने दैलेख प्रहरीका प्रहरी निरीक्षक विनोद शर्मा अहिले चर्चामा छन् ।
प्रहरीको उपल्लो निकायको निर्देशन अवज्ञा गर्दै घटनाको छानविन गरिरहेको अन्तर्वार्ता मिडियाहरुलाई दिने प्रहरी निरीक्षक शर्मा साहसी, हिम्मतिलो र इमान्दार प्रहरी अधिकृत रहेको चर्चा मिडियाहरुमा आइरहेको छ । राष्ट्रिय दैनिक कान्तिपुरले शर्माको गुणगान गाउँदै एउटा समाचारनै तयार पारेको थियो ।  तर मिडियाहरुले दबङ्ग फिल्मका निडर चुलबुल पाण्डेजस्तै चित्रण गरिएका प्रहरी निरिक्षक शर्माको भित्री कहानी फेलापरेको छ ।
विराटनगर घर भएका प्रहरी निरीक्षक शर्माको थर भने भण्डारी हो । तर, उनी अहिले किन विनोद शर्मा भनेर आफ्नो परिचय दिइरहेका छन् भन्ने बारेमा एक तथ्य फेला परेको छ । २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका भण्डारी १२ वर्षसम्म प्रहरी निरीक्षकबाट बढुवा नहुनुको कारण पनि फेला पारेको छ ।
प्रहरी निरीक्षक भण्डारी २०६२/०६३ को जनआन्दोलनमा विराटनगरमा कार्यरत रहँदा आन्दोलनमाथि दमन गरेकोले कालो सूचिमा परेका व्यक्ति रहेछन् । विराटनगर १६ पाञ्चाली घर भएका भण्डारीले जनआन्दोलनमा हिंसक रुपमा आन्दोलनकारीलाई दमन गरेकोले कानुन व्यवसायी जगत थापा नेतृत्वको स्थानीय छानविन समितिले उनलाई दमनकारीको अग्रसूचीमा राखेर कार्वाहीको सिफारिस गरेको थियो ।
जनआन्दोलनको समाचार संकलन गर्ने क्रममा अन्नपूर्ण पोष्ट दैनिकका विराटनगर संवाददाता मनोज श्रेष्ठमाथि भण्डारीले निर्घात आक्रमण गरेका थिए । भण्डारीकै नेतृत्वमा रहेको प्रहरीले उनकै अगुवाईमा विराटनगर बसपार्कमा पत्रकार श्रेष्ठमाथि कुटपिट गर्दै उनको क्यामरासमेत फुटाईदिएको थियो । उक्त घटनामा घाइते भएका पत्रकार श्रेष्ठ उपचारपछि क्षतिपूर्तिकालागि अदालतसम्म पुगेका थिए ।
क्याम्पस अध्ययन गर्दा नेपाल विद्यार्थी संघका कार्यकर्ता रहेका भण्डारी प्रहरी निरीक्षकमा भर्ना भए सँधै गिरिजाप्रसाद कोइरालाको सेवा गर्ने बताउने गर्दथे । सहकर्मीहरुसँग प्रहरी निरीक्षकमा भर्ना भए कोइरालाको खुट्टाको पानी खान तयार रहेको बताउने भण्डारी काँग्रेसकै सोर्सको आधारमा प्रहरी निरीक्षक बनेका थिए । काँग्रेसको आशिर्वादमा प्रहरी निरीक्षक बनेका उनले जनआन्दोलनमा भने काँग्रेसलाई पनि छाड्नन् ।
जनआन्दोलन दबाउन उग्र रुपमा प्रस्तु हुने उनले आन्दोलनकारीलाई घाइते बनाएर अस्पताल पुगेपछि त्यही पुगेर आक्रमणको प्रयाससमेत गरेका थिए । जनआन्दोलनका बेला ८ विद्यार्थी संगठनको प्रदर्शनमा २०६३ वैशाख ११ गते अन्धाधुन्ध आक्रमण गरेर उनले दर्जनौं विद्यार्थीलाई घाइते बनाएका थिए । उनको पिटाईबाट मोरङ क्याम्पसका विद्यार्थीहरु नविन ढुंगाना, सञ्जीव पोखरेल, सञ्जिव भट्टराई, मुन्ना मिश्र, अशोक अग्रवाललगायत गम्भीर घाइते भएका थिए । घाइतेहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको बेला उनले अस्पतालमै पुगेर ‘यिनीहरुको जिल्ला प्रहरी कार्यालयमा उपचार हुन्छ’ भन्दै पक्राउ गर्ने प्रयास गरेपछि चिकित्सक दिपक सिग्देलहरुले प्रतिवाद गरेका थिए ।
भण्डारीको जनआन्दोलन विरोधी हिंसक आक्रमणको ८ विद्यार्थी संगठनले विज्ञप्ती निकालेर भत्र्सना गरेका थिए । उनलाई सञ्चारकर्मी, नागरिक समाज र जनआन्दोलन समितिले पनि कार्वाहीको माग गरेको थियो ।
जनआन्दोलन सम्पन्न भएपछि छानविन समितिले प्रहरी निरीक्षक भण्डारीलाई जनआन्दोलन विरोधीको पहिलो नम्वरमा राखेर कार्वाहीको सिफारिस गरेको सो समितिका सदस्य रहनुभएका शिवबहादुर कार्कीले जानकारी दिनुभयो । सोही सिफारिसको कारण उनको अहिलेसम्म प्रहरी निरीक्षकबाट बढुवा नभएको बुझिएको छ ।
जनआन्दोलन सम्पन्न भएपछि उनलाई झापाको विर्तामोडमा ट्राफिक प्रहरी इञ्चार्ज बनाएर वैशाख १९ गते पठाइएको थियो । विर्तामोडमा स्थानीयले जनआन्दोलन विरोधी भन्दै कालोमोसो दल्ने प्रयास गरेपछि उनी २ दिनपछि डिउटी छाडेर भागेका थिए ।
जनआन्दोलन विरोधी र पत्रकारमाथि निर्घात आक्रमण गर्ने प्रहरी निरीक्षक विनोद भण्डारीले पत्रकार डेकेन्द्र थापाका परिवारलाई कसरी न्याय देलान् भन्ने प्रश्न विराटनगरवासीबीच चर्चामा रहेको छ ।
यिनै प्रहरी निरिक्षकको गुणगान गाउँदै कान्तिपुरमा छापिएको समाचार पढ्न तल क्लिक गर्नुहोस्

 http://www.ekantipur.com/nep/2069/10/2/full-story/360906.html

Binod Sharma 002

No comments:

Post a Comment