Tuesday, March 19, 2013

साँघुका सम्पादकलाई ७ दिनभित्र ज्यान मार्ने धम्की


Gopal-Budathoki

काठमाडौं, २४ माघ । पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई फोनमार्फत लगातार ज्यान मार्ने धम्की आएको छ । धम्की दिनेले आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाको विषयमा सोमबारको अंकमा प्रकाशित समाचारमाथि आपत्ति जनाएका थिए ।विभिन्न देशको नम्बरबाट आफूलाई गालीगलौजसहित मार्ने धम्की आइरहेको बुढाथोकीले जनाएका छन् । उनका अनुसार मंगलबार दिनभर बेग्लाबेग्लै देशका नम्बरबाट अश्लील गालीसहित सात दिनभित्र ज्यान लिने धम्की दिइएको छ । साँघु साप्ताहिकले ‘काजीले कुम्ल्याउँदा महासंघको मौनता शीर्षकमा समाचार छापेको थियो ।
‘आङकाजी शेर्पाका बारेमा किन समाचार छापिस् ? क्षमायाचनासहित माफी माग्छस् कि माग्दैनस् ?’ धम्कीदाताको भनाइ उद्धृत गर्दै बुढाथोकीले भने, ‘नत्र एक हप्ताभित्र तलाई सिध्याइदिनेछौँ ।’
सबैभन्दा पहिलोचोटि करिब पौने एक बजे धम्की आएको थियो भने त्यसपछि चार बजेतिर । उनले मंगलबार दिनभरजस्तै पटकपटक आफूलाई धम्कीका फोन आइरहेको बताए । सम्पादक बुढाथोकीले आफूलाई आएको धम्कीको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा समेत सार्वजनिक गरेका छन् । 
सबैभन्दा पहिला ं४९१५२१२०८१४१० नम्बरको टोलिफोनबाट धम्की आएको थियो । यो नम्बर जर्मनीको रहेको टेलिकमले जनाएको छ । यस्तै, चार बजेर ८ मिनेट जाँदा अर्को धम्की ं६०११२१५४९३२ नम्बरबाट आएको बुढाथोकीले जानकारी दिए । टेलिकमका अनुसार यो मलेसियाको नम्बर हो । सम्पादक बुढाथोकीले यो विषयलाई लिएर आफू प्रहरी–प्रशासनमा नगएको बताए ।
महासचिव शेर्पाले महासंघको नाममा रकम उठाएर दुरुपयोग गरेको समाचार साँघुले प्रकाशित गरेको थियो । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिम्सिनाले सञ्चारकर्मी र सञ्चारमाध्यममाथि अक्रमण गर्न नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै सिकाएको आरोप लगाइन् । ‘देशका कार्यकारी प्रमुख नै सञ्चारकर्मीको हत्यारालाई जोगाउन लागिरहेका बेला अरूले पनि यसको सिको गरेका हुन्,’ उनले भनिन् । उनले सञ्चारकर्मी र सञ्चारमाध्यममा भएका आक्रमण र धम्कीविरुद्ध महासंघ एक भएर अगाडि बढ्ने बताइन् । यद्यपि, बुढाथोकीमाथि आएको धम्कीका सम्बन्धमा महासंघले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
साँघुमा छापिएको समाचार जस्ताको तस्तै
काजीले कुम्ल्याउँदा महासंघको मौनता
काठमाडौं : बाहुन क्षेत्रीलाई काटेर आलो रगत चाट्नुपर्छ भन्दै हिँडेका नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पामाथि महासंघको नाममा विदेशबाट लाखौँ रुपियाँ उठाएको अभियोग लागेको छ । महासंघका विभिन्न देशमा रहेका शाखाबाट उठाइएको रकमको खोजबिन सुरु भएपछि काजी आतंकित बनेका छन् ।
महासंघको संघीय परिषद् सचिवालयका केही जिम्मेवार पदाधिकारीहरूले आङकाजीले गरेको भ्रष्टाचारको खोजबिन गर्न अध्यक्ष राजकुमार लेखीमाथि दबाब दिने भएका छन् । महासंघका एक पदाधिकारीले साँघुसँग कुरा गर्दै आङकाजीले बेल्जियम, पोर्चुगल, हङकङ, जर्मनी, अमेरिकालगायत शाखा र शाखा सम्बद्ध सदस्यबाट संस्थाका नाममा संकलन गरेको रकम आफ्नो निजी प्रयोजन र
संघीय समाजवादी पार्टीको काममा खर्च गरेको पाइएको छ । यसबारे सम्बद्ध शाखाहरूबाट यथार्थ जानकारी लिएर आङकाजीसँग कुरा गरिने उनले बताए ।
जनजाति महासंघको महासचिवका हैसियतमा विदेशका विभिन्न शाखाबाट निम्तो र टिकट मगाएर जाने गरेका काजीले हरेक शाखाबाट संस्थागत तथा व्यक्तिसँगबाट समेत महासंघका लागि भनी पैसा संकलन गर्ने गरेको सूचना संघीय परिषद् सचिवालयमा पुगेपछि उनीमाथि निगरानी राखिएको छ । ‘बाहुन क्षेत्रीहरूसँग भिड्नका लागि आर्थिक स्थिति मजबुत बनाउनुपर्ने भयो, अब जातीय लडाइँ हुन्छ, त्यसैले विदेशबाट पैसा संकलन गरेर लानुपर्छ’ भनेपछि हामीले महासंघको शाखाबाट र व्यक्तिगत तबरबाट पनि करिब २५ लाख नेपाली रुपियाँ संकलन गरेर दिएका थियौँ,’ बेल्जियमका एक जनजाति नेताले भने ‘तर, त्यो रकम केन्द्रीय कोषमा दाखिला भए/नभएको हामीलाई थाहा भएन ।’ बेल्जियममा काजी शेर्पाले जनजाति महासंघ बेल्जियम शाखाका अध्यक्ष पिजी शेर्पासँग मिलेर पैसा उठाएको स्रोतले जनाएको छ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष भएका बेलाको लाखौँ रकम हिनामिना गरेका पिजी शेर्पा र आङकाजी मिलेर पैसा उठाए पनि त्यो पैसा संस्थागत रूपमा महासंघमा नगएको स्रोतले जनाएको छ ।
महासंघका कोषाध्यक्ष डण्डु ढोक्प्याले हालसम्म अस्ट्रेलियाको शाखाबाट बाहेक अन्य कुनै पनि शाखाबाट पैसा प्राप्त नभएको बताए ।
आङकाजीले विदेशबाट विभिन्न कार्यक्रमको निम्तो मगाएर गएपछि त्यहाँ पैसा र महँगा उपहार माग्ने गरेको चर्चा पनि महासंघतिर चल्ने गरेको छ । प्राय: विदेशतिरै घुम्न पल्किएका काजी फेब्रुअरी ६ देखि करिब डेढ महिना कार्यक्रम बनाएर युरोपतिर जान लागेका छन् । भद्र स्वभावका अध्यक्ष राजकुमार लेखीको त्यही भद्रताको फाइदा उठाउँदै काजीले लुट मच्चाएको आरोप महासंघका एकजना सचिवले लगाए । अहिले विदेशमा महासंघका नाममा पैसा उठाउने काजीको एउटा जालो नै तयार भएको स्रोतले जनाएको छ । यो जालोमा बेल्जियमका पिजी शेर्पा, बेलायतमा नरेश काङमाङ, हङकङमा किसन राई, ओमराज तुम्बाहम्फे, जर्मनीमा जेकी चाप्चा राईलगायत छन् ।
त्यसो त काजीको आर्थिक पृष्ठभूमि जहाँ पनि विवादास्पद हुने गरेको छ । नेपाल पर्वतारोहणमा कोषाध्यक्ष हुँदा उनले आर्थिक अराजकता मच्चाएपछि तत्कालीन अध्यक्षले समेत राजीनामा दिनुपरेको थियो । त्यसपछि एक हिमाल एक प्रदेश अभियानमा लागेर हिमाली शेर्पाहरूको संस्था खोल्दा त्यहाँ पनि उनले रकम हिनामिना गरेको आरोप लागेको थियो । कालापत्थरमा माधव नेपाल सरकारले क्याबिनेट मिटिङ राख्दा पनि काजीले पैसा उठाएर खाएको आरोप शेर्पा होटल व्यवसायीहरूले लगाएका थिए । शेर्पा संघ र सेवा केन्द्रमा समेत काजीको आर्थिक अराजकताको चर्चा अहिले पनि हुने गरेको छ ।
उनले अहिले युरोपका सबै देशमा रहेका जनजाति महासंघ सम्बद्ध सदस्यहरूलाई फोन र फेसबुकमार्फत आफू आउन लागेको भन्दै आर्थिक सहयोग तथा उपहारको व्यवस्था गर्न भनिसकेका छन् । विदेश गएका बेला महँगा उपहार भनेपछि काजी हुरुक्कै हुने गर्छन् । केही समयअघि एउटा कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका बेला मुखै फोरेर उनले ‘नेपालबाट अतिथि आएका छन्, उपहार अलि राम्रो व्यवस्था गर्नुहोला’ भनेर आयोजकलाई भनेपछि उनीसँगै रहेका एमाले नेता पृथ्वीसुब्बा गुरुङले काजीलाई हप्काएको अमेरिकामा रहेका एक जनजाति कार्यकर्ताले बताए । ‘मसँग आएका बेला यस्तो वाहियात कुरा नगर, म उपहारका नाममा केही पनि लिन्नँ, जुन कामका लागि आएको हो, त्यही काम गर्ने । यहाँ उपहार र पैसा लिन हामी आएका होइनौँ,’ गुरुङले भनेका थिए । गुरुङले उनलाई हङकङमा पनि गाली गरेको स्रोतले जनाएको छ ।
उता महासचिव शेर्पाले अध्यक्ष बन्नका लागि लबिङ थालेका छन् । तर, उनलाई महासंघको अध्यक्ष बनाउँदा संस्था नै धराशयी हुने र देशमा जातीय द्वन्द्व सिर्जना गर्ने भएकाले उनको प्रयास सफल हुने देखिएको छैन । महासंघका पदाधिकारीभित्रै पनि उपाध्यक्ष इन्दिरा जिमीबाहेक अरू उनको पक्षमा छैनन् । अध्यक्ष राजकुमार लेखी नेपाल नागरिक पार्टीको पनि अध्यक्ष हुन् । उनी एकल जातीय राज्यको विपक्षमा छन् । त्यस्तै, अर्की उपाध्यक्ष टासी स्याङ्बो गुरुङ्सेनी, सचिव विमला सुनुवारलगायत एमालेतिर छन् । अब अध्यक्ष हुने पालो सामान्यत: अल्पसंख्यक जनजातिबाट हो । शेर्पा समुदायबाट पासाङ शेर्पा अध्यक्ष भइसकेकाले पनि काजीले दाबी गर्न मिल्दैन । अहिले जनजाति महासंघका कार्यक्रममा जाँदा पनि उनले ‘महासंघ नै संघीय समाजवादी पार्टीको एउटा अंग हो’ भन्दै महासंघका पदाधिकारी तथा सदस्यलाई संघीय समाजवादी पार्टीको सदस्यता भिराउने गरेको आरोप पनि लागेको छ ।

साथीहरु बहुत रिसाएका थिए, (धम्की) दिए होलान्

आङकाजीको फेसबुक स्टाटस

-आङकाजी शेर्पा, महासचिव, आदिवासी जनजाति महासंघ
angkaji-sherpa
साँघुमा आएको समाचारको विषयमा तपाईंको भनाइ के छ ?
त्यो मेरो चरित्रहत्या गर्न लेखिएको समाचार हो । समाचार लेख्ने गोपाल बुढाथोकी त मेरो साथी नै हो । म उसलाई राम्रोसँग चिन्छु । त्यो एमालेको मान्छे हो । त्यही भएर त्यस्तो गरी समाचार लेखेको हो ।
चरित्रहत्या गरेको भन्नुभयो, मानहानीको मुद्दा हाल्नुहुन्छ त ?
त्यस्ता थोत्रे पत्रकारको पछाडि लागेर नि हुन्छ ? तिनीहरूले त जे पनि लेख्छन् नि । तिनीहरूका समाचार कस्ता हुन्छन्, जनताले बुझेका छन् नि । त्यही भएर कतै जान आवश्यक ठानिनँ ।
भनेपछि समाचार गलत नै हो ?
हो नि, त्यो समाचारलाई महासंघको जर्मनी, बेल्जियम र अमेरिका शाखाले त खण्डन पनि गरिसकेका छन् । म चुरोट, पान पनि नखाने मान्छेले कसरी रकम खान्छ भनेर उनीहरूले खण्डन गरेका छन् ।
आज त गोपाल बुढाथोकीलाई ज्यान मार्ने धम्की आएछ विदेशबाट, तपाईंलाई केही थाहा छ ?
हो र ? मलाई त थाहा भएन । गरे पनि होलान् साथिहरूले, सबै रिसाएका थिए । मसँग समाचारको विषयमा कुरा हुँदा उनीहरु गोपालसित खुब रिसाएका थिए ।
तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ, हो ?
हो । म भोलि बुधबार एक महिना १५ दिनका लागि विदेश यात्रामा जाँदै छु । धेरैवटा देशमा जाने कार्यक्रम छ ।

आङकाजीको फेसबुक स्टाटस
लाखौँ रुपियाँ घुस खाएर प्रतिष्ठित व्यक्तिहरूको चरित्रहत्या गर्ने, पहिचानविरोधी एमाले र कांग्रेसका ब्राह्मणवादी केही पत्रकारहरूको चरित्र हो । आदिवासी जनजातिको आन्दोलनलाई बदनाम गराउन र मेरो चरित्रहत्या गर्न उद्देश्यले पहिचानविरोधी एमाले निकट ब्राह्मणवादी पत्रकारले मेरो चरित्रहत्या गर्न प्रकाशन गरेको समाचारमा कुनै सत्यता नभएको कुरा स्पष्ट गर्न चाहन्छु ।
आदरणीय बाहुन तथा खस क्षत्री मित्रहरू †
१. मैले कहिले पनि बाहुन, खस क्षत्रीलाई काटेर रगत चाट्छु नभनेको कुरा स्पष्ट पार्न चाहन्छु । म कुनै जात, भाषा, धर्म तथा समुदायको विरोधी होइन ।
२. विभिन्न दलहरूमा रहेको आदिवासी जनजाति नेताहरू आफ्नो स्वार्थका लागि आदिवासी जनजातिको पहिचान र अधिकारको विपक्षमा बोल्छ भने त्यस्ता नेताहरूको जिब्रो थुतेर भुस्याहा कुकुरलाई खुवाउँछु भनेको कुराचाहिँ शतप्रतिशत सत्य हो ।
३. म त उत्पीडित उपेक्षित आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगलाई पनि समान अधिकार दिएर समतामूलक समृद्धशाली नेपाली समाज निर्माणको अभियानमा संर्घषरत छु ।
४. वार्गीय रूपमा उत्पीडनमा परेका बाहुन, आर्य, खस र क्षेत्रीको मुक्तिका लागि यो आङकाजी शेर्पा किसानको तन, मन र धन दिन तयार छु ।
पहिचानविरोधी एमाले र कांग्रेसको ब्राह्मणवादी केही पत्रकारले लाखौँ रुपियाँ घुस खाएर प्रतिष्ठित व्यक्तिहरूको चरित्रहत्या गर्न विगतमा पनि कपोलकल्पित निराधार समाचार प्रकाशन गर्ने गरेकोबारे आमन्यायप्रेमी जनसमुदाय र मेरा सम्पूर्ण मित्रहरूलाई जगजाहेर नै छ र जानकारी भएकै कुरा हो ।
महिनाको मात्र ५ हजार तलब खाने पहिचानविरोधी एमाले र कांग्रेसको ब्राह्मणवादी केही पत्रकारहरू लाखौँ रुपियाँ पर्ने मोटरसाइकल चढ्ने, ८० हजार पर्ने आइफोन, ल्यापटप प्रयोग गर्ने र महिनाको १० हजार भाडा पर्ने घरमा विलासी जीवन कसरी बिताउन सकिन्छ ? कुरा दिनको १२ बजेको घामजस्तै छर्लंग छ । धन्यवाद 

No comments:

Post a Comment