Monday, March 25, 2013

गरिब नेपालको तस्बिर देखाउँदै, चन्दा उठाउँदै


काठमाडौं, चैत्र १२ - दक्षिण कोरियाका मुख्य सहरमा गएर नेपाली विपन्न घरपरिवार तथा समाजको तस्बिर देखाउँदै चन्दा उठाउनेहरूलाई सोलस्थित नेपाली दूतावासले स्पष्टीकरण लिदै घर पठाउने अभियान सुरु गरेको छ ।
नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वसहकारी मन्त्री एकनाथ ढकाल, प्राध्यापक किशोर राजभण्डारी र 'स्पिल्न्टर ग्रुप अफ ग्लोबल पिस युथ क्रप'का ध्रुवप्रसाद लामिछानेले आफूहरूलाई यस्तो काम लगाएको बयान चन्दा उठाउनेहरूले दूतावासमा दिएका छन् । 'चन्दा उठाउनेहरूले ढकालको निर्देशनमा यो काम भइरहेको बताएका छन्,' सोलस्थित नेपाली राजदूत कमानसिंह लामाले भने । यस्तो धन्दा गर्नेमध्येका एकलाई स्थानीयवासीले नियन्त्रणमा लिएर दूतावासलाई बुझाएका समेत थिए ।
लामाका अनुसार मन्त्री छँदा पनि ढकाल कोरिया भ्रमण गरेको भए पनि दूतावासलाई त्यसबारे जानकारी गराउँदैन थिए । गत मार्चमा पनि ढकालले ३५ जना लिएर कोरिया आएको सूचना दूतावासमा आएको र पछि तिनै सदस्यहरू चन्दा उठाउन लागिपरेको जानकारी पाइएको लामाले बताए । '९० दिनको पर्यटक भिसामा कोरिया आउने चन्दा संकलकलाई १० दिने तालिमपछि चर्च, युनिभर्सिटी, स्कुल आदिमा पठाइने गरेको पाइयो,' दूतावासका एक अधिकारीले भने, 'त्यसपछिका ८० दिनमा जनही १ हजार डलर दैनिक चन्दा संकलन गर्नुपर्ने सर्त राखेको पाइयो ।' उनीहरूले पूर्वमन्त्री ढकाल ग्लोबल पिस युथ क्रपसम्बद्ध रहेको बयान दिएका छन् । उनीहरूका अनुसार यो क्रिस्चियन धर्म प्रचारसम्बन्धी संस्था हो । यसमा चार्मिङ नेपाल, जीपीवाइसी नेपाललगायत संस्था सम्बद्ध रहेको बयान उनीहरूले दिएका छन् । 'हामीलाई के- कस्तो पृष्ठभूमिका नेपाली कोरिया आइरहेका छन् भन्ने थाहा हुन्न । पछि समस्या आइपरेपछि दूतावासले सहयोगी माध्यम बन्नुपर्ने स्थिति हुन्छ,' राजदूत लामाले भने, 'पछिल्लो पटक गत सेप्टेम्बरमा आनसान (सोलबाट १ घन्टा सवारी दूरी) बाट चन्दा उठाइरहेका केही सदस्यलाई स्थानीय नेपालीले पक्राउ गरेर दूतावास ल्याएका थिए, उनीहरूको बयानबाट धेरै कुरा थाहा भयो ।'
राष्ट्रको इज्जत र प्रतिष्ठासंग जोडिएको यस संवेदनशील विषयबारे परराष्ट्र मन्त्रालय समेतलाई अवगत गराइसकिएको राजदूत लामाले बताए । यो काममा कोरियास्थित ग्लोबल पिस फाउन्डेसनकी एक महिलाले समेत साथ दिएकी छन् । पूर्वमन्त्री ढकालले आफ्नो फेसबुक पेजमा 'सत्य आमा प्रवचन' भनेर यसबारे लिंक राखेका छन् । 'म युनिभर्सल पिस फेडरेसन नामक संस्था सम्बद्ध छु,' फेसबुकमार्फत सम्पर्कमा आएका उनले भने, 'दूतावासले भनेअनुसारको संस्था र त्यस्तो खालको कामबारे मलाई थाहा छैन ।' आफूलाई जानकारी नभएको विषयमा कुनै प्रतिक्रिया दिइरहनुको अर्थ नरहेको उनले बताए ।

No comments:

Post a Comment