अविवाहितको बस्ती
नुवाकोटको घ्याङफेदीमा नौ महिनाअघि आठ वर्षयताको पहिलो विवाह भएको थियो, त्यो पनि चेलीबेटी बेचबिखनको चपेटामा परेर झण्डै टुटेको!
कपिलदेव खनाल, नुवाकोट
तस्बिरहरूः
|
घ्याङफेदी-६ सिसिपुका सेलबोन तामाङ (५२)लाई बिहे नभई मरिने हो कि भन्ने चिन्ता छ। ३४ वर्षदेखि बिहे गर्न खोजिरहेका उनी भन्छन्, “गाउँका सबै केटी दलालले बेचे, छिमेकी गाउँहरूमा समेत केटी पाइएन।” सिसिपुकै कान्छा तामाङ (२७) भन्छन्, “११ वर्षदेखि केटी खोजिरहेको छु, तर गाउँमा नाबालिकाहरू मात्र बाँकी छन्।”
नुवाकोटका घ्याङफेदी र शिखरबेसीमा कान्छा र सेलबोन जस्ता सयभन्दा बढी पुरुष अविवाहित छन्। घ्याङफेदीका कुमार तामाङ आफ्नो गाउँमा केटी नपाएर विवाह नभएका पुरुषको सङ्ख्या ६० भन्दा बढी भएको बताउँछन्। गाउँका विवाहयोग्य प्रायः महिला भारतका वेश्यालयमा बेचिएकाले यस्तो स्थिति आएको हो। रालुकादेवी, गाउँखर्क, राउतबेसी, बेतिनी लगायतका गाविस पनि यो रोगबाट मुक्त छैनन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बालकृष्ण थापा भन्छन्, “घ्याङफेदीमा चाहिँ गाविसभरि नै १० वर्षमुनिका बालबच्चा, पुरुष र वृद्धवृद्धा मात्र छन्।”
घ्याङफेदी र शिखरबेसीका ६, ७, ८ र ९ नम्बर वडा बढी चेलीबेटी बेचबिखनको चपेटामा छन्। घ्याङफेदीबाट ३००० र शिखरबेसीबाट ५०० भन्दा बढी महिला भारतका वेश्यालयमा बेचिएको अनुमान छ। शिखरबेसीका लालबहादुर तामाङ भन्छन्, “दलालहरूले बालबच्चा भएका महिलालाई समेत वेश्यालय पुर्याएका छन्।” महिलाहरू एक-दुई दिन मात्रै घरमा छाडिए भने पनि भगाइन्छन्। तीन वर्षको छोरा र श्रीमती छाडेर गोसाईंकुण्ड गएका घ्याङफेदीका वीरबहादुर तामाङ (४५) फर्किंदा दलालले दुवैलाई भगाइसकेका थिए। “मेरी श्रीमती चार वर्षदेखि कोलकाताको १५ नम्बर गल्लीको कोठीमा छ”, उनी भन्छन्, “उसलाई आफन्तै पर्ने बोलुङ्गका प्रेमबहादुर तामाङ र घ्याङफेदीका छोपा भनिने काले तामाङले बेचेका हुन्।”
शिखरबेसी-८ का मङ्गले तामाङकी श्रीमती कुमारी बिहे भएको ३७ दिनमै बेचिइन्। मानव बेचबिखन विरुद्ध काम गर्दै आएको शक्ति समूह नुवाकोटकी अस्मिता थापाका अनुसार छोपाले नै भगाएको कुमारीलाई कोलकातामा उनकै फुपू माला तामाङको कोठीमा बेचिएको छ।
पतनोन्मुख परिवार
घ्याङफेदी र शिखरबेसीमा बिहेवारी रोकिनु र परिवार तथा समाज तहसनहस हुनुका साथै २०४८ सालदेखि जनसङ्ख्या वृद्धिदर नै घटेको छ। जिल्ला तथ्याङ्क कार्यालय नुवाकोटको आँकडा अनुसार जिल्लाको समग्र जनसङ्ख्या वृद्धिदर १.६२ प्रतिशत रहेकोमा घ्याङफेदीको आधै कम ०.८२ प्रतिशत मात्र छ।
नुवाकोटमा छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट चेलीबेटी बेचबिखन भित्रिएको बताइन्छ। पहिलो पटक २०२२ सालमा सिसिपुबाट भारतमा बेचिएकी सात छोराछोरीकी आमा र उनका सन्तानबारे अहिले कसैलाई थाहा छैन। त्यसपछि बम्बैका कोठीमा बेचिएका केही महिला भने शिखरबेसीमा घरजम गरेर बसेका छन्। तिनताका झयालमा बसेर हाँसेपछि बाटोबाट पैसा फाल्छन् भनेर बम्बै पुर्याइने गरेका महिलामध्ये एक ठूलीमाया (नाम परिवर्तन) २५ वर्षपछि गाउँ फर्केकी हुन्। त्यहाँ पाँच वर्ष अर्काको वेश्यालयमा काम गरेपछि उनले लामो समय आफ्नै कोठी चलाएकी थिइन्।
शिखरबेसीका शिक्षक कमल सिटौला भारत पुगेकाहरूको तडकभडकको देखासिकी गर्न खोज्दा किशोरीदेखि बालबच्चाका आमासम्म दलालहरूको जालमा फँस्ने गरेका बताउँछन्। उनका अनुसार घ्याङफेदीबाट भारत पुर्याइएकामध्ये ६० जना महिलाले आफैं कोठी चलाएका छन् भने ४० भन्दा बढीले देहव्यापार गरेर घरमा श्रीमान्लाई पैसा पठाइरहेका छन्। आफैं कोठी सञ्चालन गर्ने हैसियतमा पुगेकाहरू छुट्टीमा गाउँ आएको बताउँदै अरूलाई पनि लैजान्छन्। गाउँखर्क-४ की याङ्चेन लामा गएको १४ जेठमा सुनी तामाङ (११) र विमला ब्लोन (१२)लाई भगाएर लगिरहेकै बेला पक्राउ परिन्। नुवाकोट प्रहरीका अनुसार, १० वर्षअघि बेचिएकी याङ्चेन कात्तिक २०६७ मा छुट्टीमा आएकी थिइन्।
सुनीका बाबु मानसिंह तामाङले आफ्नै फुपूबाट बेचिएकी याङ्चेनले यसैपालि गाउँमा आएर घ्याङफेदी, गाउँखर्क, शिखरबेसी, बेतिनीलगायतका गाविसमा केटीहरू खोजेको बताए। याङ्चेनबाट खोसेर आफन्तको जिम्मा लगाइएका सुनी र विमला फेरि एकसातामै हराएको उजुरी प्रहरीमा परेको छ। डीएसपी थापा भन्छन्, “कतिका परिवारकै सदस्यहरू छोरी-चेली वेश्यालय पुगिसकेपछि आफू चोखो देखिन हराएको उजुरी लिएर आउँछन्।”
आव २०६७/६८ मा नुवाकोट प्रहरीमा ४९ महिला हराएको उजुरी परेको छ। २०६६/६७ मा ४५ जना हराएका उजुरी परेकामा १३ जनाको उद्धार भएको थियो। २०६५/६६ मा २८ जना हराएकोमा १५ जना फेला परेका थिए। हराउनेमा १० देखि १२ वर्षका बालिका बढी छन्। फेला पारेर आफन्तको जिम्मा लगाइएकाहरू फेरि हराउने क्रम पनि उस्तै छ। डीएसपी थापा भन्छन्, “चेलीबेटी बेचबिखनमा आफन्त नै लागेको यसबाट स्पष्ट हुन्छ।”
आफन्तकै हात
रालुकादेवी-२ चिलाउनेकी २१ वर्षीया सीता (नाम परिवर्तन) तीन वर्षअघि बाबुआमाकै मिलेमतोमा बेचिएको तथ्य उनी फर्केर आएपछि खुल्यो। भारतमा यौनकोठी चलाएकी गाउँकी मैया तामाङले घरपरिवारकै सहमतिमा सीतालाई वेश्यालय पुर्याएकी थिइन्। उनले दिएको उजुरीका आधारमा प्रहरीले मैया र चिलाउने प्राविका प्रधानाध्यापक इन्द्र खतिवडालाई समात्यो। सीतालाई खतिवडाले सदरमुकामसम्म ल्याएर मैयाको जिम्मा लगाएका थिए। बाबुलाई रु.२० हजार दिने सहमतिमा सीतालाई लगेकोे मैयाको भनाइ छ।
सिसिपुकी सेलमेन्दो तामाङ (१८)लाई आफ्नै काका जीतबहादुरले बेच्नलाई गएको १ असारमा रसुवा पुर्याइसकेका थिए। माइत गएकी सेलमेन्दो दुई दिनमा पनि नफर्केपछि चनाखो बनेका उनका श्रीमान् आइतमानले प्रहरी र संघ-संस्थामा हल्लाखल्ला गरेपछि उनी जोगिइन्। त्यस बेला भागेका जीतबहादुर आजभोलि गाउँमै छन्। “गोसाईंकुण्ड हिँड् भनेर रसुवा पुर्याए”, सेलमेन्दो भन्छिन्, “प्रहरी आएपछि पो बेचिन लागेको थाहा पाएँ।” गत मङ्सिरमा भएको आइतमान र सेलमेन्दोको विवाहलाई आठ वर्षयता सिसिपुमा भएको एक मात्र विवाहको रूपमा गाउँलेहरू सम्झ्न्छन्। आइतमानका बाबु वीरमान तामाङ बाँकी जेठा र कान्छा छोराको विवाह हुने सम्भावना कमै देख्छन्।
दलालले गएको चैतमा भारत पुर्याइसकेकी छोरी काठमाडौँमा पढिरहेकी बताउने घ्याङफेदी-४ का मुइचा तामाङ ११ वर्षकी छोरीलाई आफ्नै काकालेे पढाउन काठमाडौं लगेको बताउन छाडेका छैनन्। उनलाई त्यसो भन्न सिकाइएको सहज अनुमान लगाउँछन्, सिम्टाङ प्राविका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य। उनी भन्छन्, “मेरै विद्यालयमा पढिरहेका १५ भन्दा बढी बालिकालाई अभिभावकहरूले काठमाडौँ पढाउने बहानामा अन्तै लगेका छन्।”
रोकथामका प्रयास
सिसिपुका सेलबोनसँगै कुमार, सीताराम, मीनबहादुर, वीरबहादुर, कान्छा, चन्द्रबहादुर, श्यामबहादुर, कर्पु, सिर्जिङ, सोम्वर, सुकराम तामाङ र सेते लामाले सङ्गठित भएर महिला र बालिका बिक्रीको प्रतिकार गर्न शुरु गरेका छन्। मानव बेचबिखनले बिहेवारी, घरपरिवार र सामाजिक व्यवहार बिगारिरहेको, गाउँमा काम गर्ने जनशक्ति पाइन छाडेकाले स्थानीय युवाहरू यसरी रोक्न अग्रसर भएका हुन्। शक्ति समूहले पनि जनचेतनामूलक कार्यक्रमसँगै उद्धार र पुनर्वास गराइरहेको छ। तीन वर्षमा वेश्यालयबाट फर्काइएका २० जनाको पुनर्वास र बेच्न लगिएका ३३ जनाको उद्धार गरिएको शक्ति समूहका नुवाकोट संयोजक अस्मिता थापा बताउँछिन्। पुनर्वास र उद्धार गरिएकामा घ्याङफेदी, शिखरबेसी, रालुकादेवी, उर्लेनी, गाउँखर्क र बालकुमारी गाविसका छन्।
प्रहरीले दलाल समातेको र बेचिन लागेका चेलीहरूको उद्धार गरेको केही घटनालाई छाड्ने हो भने मानव बेचबिखन रोकथाममा सरकारले केही पहल गरेको देखिँदैन। जिविस नुवाकोटले मानव बेचबिखन विरुद्ध अभियानका लागि प्रत्येक वर्ष छुट्याउने रु.३ लाख फ्रिज हुने गरेको छ। चेतना र आर्थिक स्रोतसाधनको अभावसँग जोडिएको महिला र बालिका बिक्रीको समस्या प्रहरीको पातलो उपस्थिति तथा दलालहरूले पाउने राजनीतिक संरक्षणका कारण पनि विकराल बन्दै गएको शिखरबेसीका बुद्धिजीवी कुमार पण्डितको ठम्याइ छ।
रोगको महामारी
शिखरबेसी-१ सिम्टाङकी कान्छीमाया तामाङ (४९) एचआईभी-एड्स सङ्क्रमित हुन्। १८ वर्षको उमेरमा आफन्तद्वारा बेचिएकी उनी बम्बैको वेश्यालयमा सात वर्ष नारकीय जीवन बिताउँदा एचआईभी सङ्क्रमणमा परेपछि फर्काइएकी थिइन्। आफूलाई ठूलो बिमार लागेको बताउने उनी भन्छिन्, “चार वटा बोका र २८ वटा कुखुरा चढाइसकँे, बिसेक हुँदैन।” धामीझाँक्री बसाएर बोका र कुखुरा चढाएपछि दुई-चार दिन निको हुने भ्रम पालेकी कान्छीलाई वास्तविक रोगबारे पत्तो नै छैन।
उनी जस्तै एचआईभी-एड्स भएर फर्काइएका महिलाहरू गाउँमा थुप्रै छन्। शिखरबेसीका शेरबहादुर तामाङ एचआईभी सङ्क्रमणपछि फर्काइएका ४० भन्दा बढीको त गाउँमा विवाह नै भएको बताउँछन्। महिलाहरू मृत्युपछिको संस्कारका लागि बुढेसकालमा भए पनि विवाह गर्न चाहन्छन्। गाउँमा विवाहयोग्य महिलाको अभाव झ्ेलिरहेका पुरुषहरूका लागि भारतबाट आउनेहरूसँग हुने पैसा थप आकर्षणको विषय हुनजान्छ। सिम्टाङ प्राविका प्रअ विष्णुप्रसाद आचार्यका अनुसार, गएको तीन वर्षमा शिखरबेसीमा मात्र १७ जना एचआईभी सङ्क्रमित महिला-पुरुषको मृत्यु भएको छ।
नाइके पक्राउ
२०५३ देखि २०६८ जेठसम्ममा ४०० भन्दा बढी महिला तथा बालिकालाई वेश्यालय पुर्याएका घ्याङफेदी-७ बोलुङका छोपा भनिने काले तामाङ (४१) पक्राउ परेका छन्। तीन वर्षदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका छोपा गएको महिना घरैबाट समातिएका हुन्। मानव बेचबिखनमा संलग्न ३० जना मोस्ट वान्टेड समातिन अझै बाँकी रहेको डीएसपी बालकृष्ण थापा बताउँछन्। तर, छोपाले आफूलाई फँसाइएको दाबी गरेका छन्। घ्याङफेदीका दलालहरूले ६ वर्षअघि खडा गरेको कोषबाट रु.६० लाख खर्चेर उनलाई छुटाउने तयारी हुनथालेको गाउँलेहरू बताउँछन्।
No comments:
Post a Comment