-विजयकुमार
आज स्तम्भ लेख्न मन लागेको छैन । चक्र बाँस्तोलालाई सम्झेर मेरो मन उदास छ । मस्तिष्क पक्षघातका कारण तीन महिनादेखि नयाँदिल्लीमा उपचार गराउँदै गरेका बाँस्तोलालाई शुक्रबार बेहोस अवस्थामा नै नेपाल फर्काइँदैछ भन्ने समाचार पढेदेखि उकुस-मुकुस बढेको हो । चक्र बाँस्तोलासित मेरो परिचय धेरै पछि मात्र भयो । उनको हातबाट सत्ता, शक्ति, मतदाता आदि सबै फुस्किसकेपछि मात्र हाम्रो आत्मीयता बढेको हो । सम्बन्धको लम्बाइ धेरै होइन, भेटघाटको संख्या गनियो भने एक दर्जन पनि मुसकिलले नाघ्छ होला । तर मानवीय सम्बन्धहरूलाई समयको लम्बाइबाट होइन तिनको गहिराइबाट नापियो भने मापन सत्यको बढी नजिक पुग्न सकिन्छ ।
टाढाबाट हेर्दा, अरू धेरै मानिसलाई झैं मलाई पनि लाग्दथ्यो कि चक्र बाँस्तोला गिरिजाप्रसाद कोइरालाका वरिपरि घुम्ने धेरै घरायसी नेताहरूमध्ये एक हुन् । कोइराला निवासको आँगनमा राखिएका गमलामा 'किचेन गार्डेनिङ' गरेर नजाने कति साना-ठूला नेता फले, फलाइए । घरायसी नोकरहरूको जगजगी नेपाली राजनीतिक पार्टीहरूको ठूलो समस्या हो । हुन त, कुनै पनि ठूलो नेताको वरिपरि दुईखाले मानिसहरू सधैं हुन्छन् । टट्टुहरू र सहयोगीहरू । आफ्नो वरिपरि 'टट्टुहरू' कति प्रतिशत र 'सहयोगी' हरू कति प्रतिशत राख्ने ? भन्ने फैसला नेताले बडा विवेकसम्मत ढंगले गर्नुपर्ने हुन्छ । किनभने, हाम्रोजस्तो 'राजनीतिक उद्योग प्रालि'मा नेतालाई, नेता बन्न सहयोगीहरू मात्र होइन टट्टुहरूको पनि त्यत्तिकै आवश्यकता पर्छ ।
गिरिजाबाबुको दरबारमा परजिवी टट्टुहरू धेरै र सहयोगीहरू थोरै थिए भन्ने कुरा समयले आज प्रमाणित गरिसकेको तथ्य हो । एक कालखण्डसम्म चक्र बाँस्तोला कोइरालाका सहयोगी थिए । टट्टु उनी कहिलै भएनन् । किनभने उनलाई कसैको टट्टु बन्नुपर्ने आवश्यकता, परिस्थिति र रुचि नै भएन ।
पत्रकारिताका सुरुवाती वर्षहरूमा चक्र बाँस्तोलाप्रति मेरो दृष्टि दोषको कारण इतिहासको त्यो कालखण्डप्रति अज्ञानता थियो, जहाँ बाँस्तोलाले स्वयं विश्वेश्वरप्रसाद कोइरालाबाट दीक्षित हुने अहोभाग्य पाएका थिए । एक पटक पूर्ण उज्यालोदेखि सकेको मानिस अँध्यारो वा मन्द प्रकाशबाट कहिलै पनि भित्री मनले आकषिर्त हुन सक्दैन । 'मजा त बीपीपछि किशुनजीसँगै आउँछ, जाउ न हो बुढालाई भेट्न' चक्रजीले भनेको सम्झन्छु ।
बाँस्तोला नेपाली राजनीतिका ती बिरलै नेताहरूमध्ये हुनुहुन्छ जोसँग राजनीतिमात्र होइन दर्शन, साहित्य, विज्ञान र यौनका विषयमा घन्टौं सहजतापूर्वक संवाद गर्न सकिन्छ । प्रदीप गिरीजस्तो असाधारण स्तरको अपवादलाई पर राख्ने हो भने अधिकांश कांग्रेसी नेताहरू बौद्धिकताको कसौंटीमा बाँस्तोलाका अगाडि क्षणभर पनि टिक्न सक्दैन । तर राजनीतिमा बौद्धिकताले मात्र नपुग्ने रहेछ । जुन प्रकारको पार्टी निर्णय पद्धति र चुनावी प्रणालीमा हामी बाँचेका छौं, त्यसमा त झनै नपुग्ने रहेछ । त्यसमाथि अनियन्त्रित मदिरापानको नकारात्मक प्रभाव पनि चक्रजी माथि स्वाभाभिक रूपले पर्दै गयो । मलाई बेला-बेलामा सोध्ने 'ए विजय ! पिउन त तिमी पनि ढल्ने गरी पिउँथ्यौ । कसरी च्वाट्टै छाड्यौ हँ ?'
बीपी बनारस निर्वासनमा छँदा, युवक चक्र बाँस्तोला पनि त्यहीं थिए । आजभन्दा तीन, चार वर्षअघि हरि शर्मा र म एकाबिहानै डुंगामा गंगा सयर गर्न निस्कियौं । बनारस घाटको पृष्ठभूमिमा उदाउँदो सूर्यका सुनौला किरणहरू, अलौकिक आकर्षण बोकेकी गंगा नदी छेउ रहेका भवनहरू माथि बिस्तारै-बिस्तारै छरिँदै गइरहेका थिए । एउटा घर देखाउँदै हरिले भने, 'त्यो घरको एउटा कोठामा चक्र दाइ केही समय डेरा लिएर बस्नुहुन्थ्यो । हिप्पी युगका दिनहरू थिए । घाटमा टनाटन विदेशी हुन्थे । धेरै पढ्थे र धेरै मस्ति पनि गर्थे तिनीहरू । तीमध्ये केही चक्र दाइका साथी पनि थिए । त्यसै टोली भित्रका एक दुई जना त पछि गएर विश्व विख्यात लेखक र गायक भनेर पनि चिनिए ।'
पारिवारिक सम्बन्धका हिसाबले चक्र बाँस्तोला कांग्रेस नेतृ शैलजा आचार्यकी बहिनी मधुलाई विवाह गरेका थिए । मधुको देहावसान भएपछि उनले दोस्रो विवाह गरे । एक दिनको कुरा हो, म कहाँ आएर चक्र बाँस्तोलाले एउटा टेप सुनाए जहाँ एउटा सुरिलो आवाज गीत गाउँदै थियो । गीतमा कुनै संगीत थिएन । तर आवाज यति मन स्पर्शी थियो कि संगीतको अनुपस्थिति कसैलाई महसुस नै हुँदैनथ्यो । केही आवाजहरू यस्ता पनि हुन्छन् जसलाई उभिनका निम्ति कुनै बाजागाजाको टेको दिइराख्न पर्दैन । टेप बजिरहँदा चक्र दाइ बडा नोस्टालजिक र भावुक भए । विस्तारै, सानो स्वरमा भने, 'मेरो वाइफले गाएको हो । जो यस दुनियामा रहिनन् ।' उनका दुई छोरीलाई शैलजा आचार्यले आफ्नै सन्तानसरह स्नेह गरेको सम्झन्छु । छोरीहरूको प्रसंग आउनेबित्तिकै शैलजा दीको आँखामा उत्पन्न हुने चमक मेरो सम्झनामा अझै ताजै छ ।
चक्र बाँस्तोलाले भनेको एक महावाक्य सम्झन्छु' कुरो के छ भने नि विजय ! नेपाल न कहिले उदायो न कहिले अस्तायो ! रहीमात्र रह्यो ! बस रहीमात्र रह्यो ! रहीमात्र रहनलाई नै हामीले आफ्नो बहादुरी ठानेका छांै । हाम्रो देशको राजनीतिक, सामाजिक र आर्थिक सबै कुराहरूलाई गहिरिएर हेर्ने हो भने कुनै न कुनै प्रकारले 'सरभाइव' गर्नेभन्दा माथिल्लो स्तरको सोचाइ राखेर काम हामीले गर्दै गर्दैनौं । देशको विकास कसरी गर्नेभन्दा पनि आ-आफ्ना स्वार्थहरूलाई कसरी 'सरभाइव' गराइराख्ने भन्ने कुरामा मात्र हाम्रो समय बितेको छ । न कहिले उदाउने, न कहिले अस्ताउने, खाली रहीमात्र रहने !
परराष्ट्रमन्त्री र भारतमा नेपाली राजदूत रहिसकेका बाँस्तोला, नेपाली राजनीतिमा विदेशी शक्तिहरूको प्रभावबारे व्यावहारिक रूपमा विज्ञ छन् । पछिल्ला घटनाक्रमहरूमा नयाँदिल्लीको र बेइजिङको भूमिकाबारे चक्र बाँस्तोला राम्रैसित वाकिफ नहुने कुरै थिएन । 'दिल्लीबाट नयाँ पुडिया के आएको छ हँ ?' वा 'चाइनिजले चुपचाप के नयाँ डिस पकाएर पठाएको छ ?' भन्दै मसित ठट्टा पनि गर्थे । मलाई लाग्छ, देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबाट उनी निकै फ्रस्टेट भइसकेका थिए । चार महिनाअघि पछिल्लो पटक फोनमा कुरा हुँदा उनी झापामा थिए । त्यस पछि एक्कासि खबर आयो कि उनी बेहोस भए । त्यो बेहोसी आजसम्म कायमै छ ।
मानिसको शरीरलाई कुन बेला के हुन्छ ? भन्नै नसकिने । जगदीश घिमिरेका शब्दहरू सापटी लिएर भन्न चाहन्छु, 'कसैलाई कुनै पनि क्षण केही पनि हुन सक्छ । त्यो नभइकन कसैले त्यस्तो कुरा सोच्दै सोच्दैन । रोग नलागी स्वास्थ चिनिँदैन । जीवनमा स्वास्थ नै सब थोक होइन तर स्वास्थ छैन भने अरू सबै थोक केही होइन । स्वस्थ मन र स्वस्थ शरीर नै जीवनको कसी हो । मेरो जे थियो स्वास्थ थियो । त्यो एकाएक सयबाट शून्यमा झरेको छ । अब मसित केही पनि छैन ।'
सात वर्षअघि आफ्नो शरीरमा माइलोमा क्यान्सर पत्ता लाग्दाका थाकेको क्षणमा अदम्य सहासी जगदीश घिमिरेको निराशापनका अभिव्यक्ति हुन् यी शब्दहरू । तर समयले प्रमाणित गर्यो जगदीश घिमिरे यी पंक्ति लेख्ने बेलामा थाकेका मात्र थिए, हारेका थिएनन् । त्यसैले त उनी आज पनि साहित्य सिर्जनाको आफ्नो पथमा त्यत्तिकै सक्रिय छन् ।
म चाहन्छु, चक्र दाइ ओछ्यानबाट उठून, उनीसित फेरि रमाइलो ठट्टा मजाक गर्न सकियोस्, साहित्य र दर्शन विषयमा गम्भीर संवाद गर्न सकियोस् वा बीपीसित उनका स्मरण श्रवण गर्न सकियोस् । म शैलजा दीलाई पनि सम्झिरहेको छु । कोमाको कोमाबाटै बिदा
भइन् । म चाहन्न, कदापि चाहन्न कि नेपाली प्रजातान्त्रिक इतिहासको यो सिपाहीले पनि त्यही नियति भोगोस् । मलाई थाहा छ, मैले चाहँदैमा केही हुने होइन । म त प्रार्थनामात्र गर्न सक्छु ।
आज स्तम्भ लेखनबाट जाँदाजाँदै, भावनाको 'नोस्टालिक' संसारबाट वर्तमान राजनीतिको कठोर धरातलमा ओर्लन चाहन्छु । अहिले सबैका आँखा निर्वाचन मितिको प्रतीक्षामा छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई राम्ररी थाहा छ, कुन स्तरको जोखिम लिएर उहाँले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ । वहाँलाई यो पनि ज्ञात हुनुपर्छ कि वहाँले निर्वाचन मितिका विषयमा दिने वचन भनेको कुनै राजनीतिक नेताले पटक-पटक फेर्ने अविश्वासनीय बहिखाताको अंक गणितजस्तो हुन सक्दैन । यही बोध अनुभवी प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीमा पनि अवश्यमेव होला ।
उच्च जानकार सूत्रहरूले बताएअनुसार सरकार निर्वाचन मितिको घोषणा तत्काल हतारमा गर्ने मुडमा छैन । चुनावको निम्ति वातावरण तयार गर्न केही कानुन संशोधनको तयारी सरकारले
गर्दैछ । त्यसबाहेक हाल निर्वाचनको पक्षमा नदेखिएका दलहरूसित पनि आगामी दिनहरूमा शान्ति वार्ताको तयारी हुँदैछ ।
यी सबका बाबजुद पनि जुन तीव्रताले देश निर्वाचनतर्फ जानेछ भन्ने भाषणबाजी गरिएको छ, त्यसको तुलनामा कामको गति ज्यादै कम छ । मैले विगत दिनहरूमा केही महत्त्वपूर्ण सरोकारवाला व्यक्तिहरूसित गरेको अनौपचारिक संवादले यस कुराको संकेत पाइन्छ कि हाल मुखले 'असार असार' भनिएता पनि निर्वाचन त्यो मितिमा सम्पन्न गराउन सकिँदैन भनेर सबै पक्ष मनमनै स्वीकार गर्न थालेका छन् । 'चुनाव सार्न नपर्ने मिति को खोजी' गर्ने भन्ने जुन गाइँगुइँ वाक्यांश उच्च राजनीतिक बजारमा चल्न थालेको छ मैले बुझेअनुसार त्यसभित्र लुकेको अर्थ हुन्छ, चुनाव असारमा हुने लक्षण कमै छ । मेरो बुझाइ गलत प्रमाणित भएमा म खुसी हुनेछु । तर मेरो जस्तै आशंका धेरै नेताको मनमा पसेको छ । खुलेर भन्नमात्र नसकेका हुन् । बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने भन्ने कुरामात्र हो । अर्को स्तम्भ लेख्ने बेलासम्म निर्वाचन मितिबारे धेरै कुरा स्पस्ट भइसक्ने छन् ।
No comments:
Post a Comment